अर्थतन्त्रमा ‘इम्प्याक्ट’ सिर्जना गर्न कृषि, पर्यटन र जलविद्युत्‌मा लगानी केन्द्रित गरेका छौँ

हिमाल प्रेस २५ असोज २०८१ १६:१९
386
SHARES
अर्थतन्त्रमा ‘इम्प्याक्ट’ सिर्जना गर्न कृषि, पर्यटन र जलविद्युत्‌मा लगानी केन्द्रित गरेका छौँ

व्यवसाय र राजनीतिमा उमेश श्रेष्ठ परिचित नाम हो। शिक्षा क्षेत्रमा चार दशक काम गरेपश्चात श्रेष्ठले व्यवसाय विविधीकरण गर्दै पर्यटन, जलविद्युत् तथा कृषि क्षेत्रमा लगानीलाई व्यापकता दिएका छन्। निर्वाहमुखी कृषिलाई रूपान्तरण गरी व्यवसायिक कृषिको जग निर्माणका लागि श्रेष्ठ संस्थापक रहेको एलए ग्रुप र मीनबहादुर गुरुङको भाटभटेनी ग्रुपबीच सहकार्य सुरु भएको छ। हस्पिट्यालिटीका क्षेत्रमा पनि यी दुई व्यवसायिक घरानाले सहकार्य गरेका छन्। यसै विषयमा एलए ग्रुपका संस्थापक, पूर्व स्वास्थ्य राज्यमन्त्री तथा संविधानसभा सदस्य उमेश श्रेष्ठसँग हिमाल प्रेसले गरेको संवाद:

कृषिको व्यावसायीकरणका लागि निजी क्षेत्रले चुनौतीका चाङमात्र देखाइरहेका बेला यहाँले कृषि व्यवसायमा ठूलो लगानी गर्दै हुनुहुन्छ यहाँले कृषिमा कस्तो व्यवसाय सुरु गर्न लाग्नुभएको हो?

नेपालको दुईतिहाई अर्थात् ६५ प्रतिशत जनसंख्या कृषिमा आश्रित छन्। कृषिमा आश्रित ठूलो जनसंख्या भए पनि कृषिको व्यवसायीकरण हुन नसक्दा पछिल्लो दशकमा कृषि वस्तुको आयात उल्लेख्य बढेको छ। वार्षिक झण्डै चार खर्ब रुपैयाँको कृषि वस्तु आयात भइरहेको छ। डेढ खर्ब रुपैयाँको पनि वार्षिक कुल निर्यात गर्न नसक्ने हाम्रो जस्तो मुलुकले ठूलो परिमाणमा व्यापारघाटाको सामना गर्नुपरिरहेको छ। कृषि क्षेत्रमा अवसर छैन भन्ने आममानिसको धारणा बनेको छ। त्यसकारण कृषिलाई व्यवसायिकरण गर्न यसमा ठूलो लगानी चाहिएको छ।

जोसँग स्रोतसाधान छ, उनीहरू पनि आयात गरेर छिटो मुनाफा आर्जन गर्नेतर्फ केन्द्रित भए। नेपालमा उत्पादन गर्ने किसानहरूलाई पनि बिचौलियाहरूले दोहन गरेका छन्। उपभोक्ता महँगोमा किनेर उपभोग गर्न बाध्य छन् तर किसानले उत्पादनको मूल्य पाइरहेको छैन। त्यसकारण किसान उत्पादनका लागि निरुत्साहित भइहेको छ। त्यसकारण उपभोक्ताले तिर्ने मूल्यको ठूलो हिस्सा किसानसम्म पुर्‍याएर उनीहरूलाई उत्पादनका लागि उत्प्रेरित गर्नुपर्छ।

कृषिका लागि हाम्रो हावापानी वरदानतुल्य छ। यहाँ ‘ट्रपिकल’देखि हिमालमा उत्पादन हुने फसल जेसुकै पनि उत्पादन गर्न सकिन्छ। प्रांगारिक उत्पादनको सम्भावना त्यत्तिकै अथाह छ। त्यसकारण कृषिमा एउटा ‘डेमोनेस्ट्रेटीभ इफेक्ट’ को रूपमा काम गरेर देखाऔँ भनेर हामीले लगानी गरेका हौँ। स्रोतसाधन सम्पन्नहरूलाई पनि कृषिमा अथाह सम्भावना छ र यसमा नयाँ सोच, नवप्रवर्तन र प्रविधि उपयोगमार्फत काम गरियो भने नसोचेको लाभ हासिल हुनेछ साथै राष्ट्रका लागि पनि योगदान हुनेछ भनेर प्रेरित गर्न पनि खोजेका हौँ।

कृषिमा यहाँहरूले उत्पादकदेखि उपभोक्तासम्मलाई जोड्ने ‘इकोसिस्टम’कै परिकल्पना गर्नुभएको छ। यो कत्तिको सम्भव होला?

मूल्य शृ‌ंखला र भण्डारण एवं शीत भण्डारण नभई कृषिमा ठूलो परिवर्तन केही ल्याउन सकिँदैन। गत आमनिर्वाचनपछि म जुम्ला र मुस्ताङ पुगेको थिएँ। मेरो आँखाले जुम्ला र मुस्ताङमा स्याउको ठूलो सम्भावना देख्यो। अहिले हामीकहाँ वार्षिक १२ देखि १५ अर्ब रुपैयाँको स्याउ आयात हुन्छ। अझ न्यून मूल्यांकन नहुने हो भने यो परिमाण वार्षिक २५ अर्ब रुपैयाँ नै रहेको अनुमान छ। जुम्ला र मुस्ताङमा साढे दुई वर्षमै उत्पादन हुने नयाँ बिरुवा लगाउन सकिन्छ। चीन र भारतमा कृषि उत्पादनमा सरकारले व्यापक सहुलियत दिएको छ।

त्यसकारण हामीले प्रतिस्पर्धी र तुलनात्मक लाभका उत्पादनमा केन्द्रित गर्नुपर्छ। उदाहरणका लागि एउटा पालिकाले दसवटा बालीलाई प्राथमिकतामा राखेर त्यसलाई सहुलियत दिने र त्यसको बजारको व्यवस्था गरिदिनुपर्छ। अर्थात मूल्य शृंखला विकासलाई प्रवर्द्धन गर्नुपर्छ। त्यसलाई दृष्टिगत गर्दै हामीले भाटभटेनी ग्रुपसँग मिलेर कृषि क्षेत्रको रूपान्तरणबाट इम्प्याक्ट सिर्जना गर्न ‘ह्युमिडिफाइड एट्मसफियरिभ मल्टिच्याम्बर कोल्डस्टोर’ (शीत भण्डारण) निर्माण गर्ने भनेर सुरु गरेका छौँ। कृषिबाट हामीले नाफा कमाउनेभन्दा पनि इम्प्याक्टमा काम गर्न खोजेका हौँ। हामीले सुरु गरेको एग्रोवस्तुले खाद्य एवं उपभोग्य सामग्रीको ससानो स्टोर खोलेर जनताको घरदैलोमा पुग्ने पद्धति निर्माण गरेका छौँ। यसका साथै भाटभटेनीका २७ भन्दा बढी सुपरस्टोरमा पनि एग्रो वस्तुका उत्पादन पाइन्छ।

उत्पादनमा किसानहरूसँग कसरी काम गर्दै हुनुहुन्छ?

यसका लागि हामीले तीनथरी मोडल बनाएका छौँ। उनीहरूको जग्गा लिजमा लिने, साझेदारी पनि गर्नका लागि पैसा लगानी गर्न नसक्ने हो भने त्यसको सट्टामा काम गर्दा पनि हुन्छ र तेश्रो यदि किसान ऋणमा छन् भने ऋण हामीले तिरिदिएर तीस वर्षसम्म उत्पादनको नाफा आधा-आधा बाँड्ने भनेका छौँ। यसका साथै पालिकाभित्रका उत्पादन हामीले तोकेको मापदण्ड अनुसार भए किनिदिने भनेका छौँ।

अहिले पहाडी र हिमाली क्षेत्रमा मात्र होइन, तराईमा समेत कृषि व्यवसायमा मानिसहरू निरुत्साहीत भैरहेका छन्। त्यसकारण बीउविजन, कृषिप्रसार सेवा, वित्तीय पहुँच लगायतमा ध्यान दिनुपर्छ। उदाहरणका लागि बंगलादेशले उन्नत बीउबिजन भित्र्याएर उत्पादन बढाएको छ। यदि अहिले एक विगाहमा २० मुरी धान उत्पादन भैरहेको छ भने त्यसलाई तीन गुणा पुर्‍याउन सकियो भने किसान पक्कै आकर्षित हुन्छन्। त्यस्तै, तराईमा धेरै उत्पादन हुने आँप एकैपटक नभएर चार महिनासम्म बजारमा पठाउन सक्ने गरी ‘अर्ली’ र ‘लेट भेराइटी’का आँपहरू विकास गर्नसकिन्छ।

हामी अहिले तराई, पहाड, मध्यपहाड र हिमालमा पुगेर त्यहाँका तरकारी र फलफूलको उत्पादन र त्यसको मूल्यश्रृंखला विकासमा काम गरिरहेका छौँ। आलु, प्याज, लसुन, हरियो सागपात, किवि, एभोकाडो, स्याउ, आँप, केरा, कागती लगायतका उत्पादनमा केन्द्रीत गरिरहेका छौँ।

कृषिको व्यवसायिकरणका लागि सरकारले कस्ता नीतिगत प्रबन्धहरू गर्नुपर्ला?

कृषिको व्यवसायिकरणका लागि जग्गाको खण्डीकरणका चुनौतीका सम्बन्धमा धेरै बहसहरू यसअघि देखि नै हुँदै आएको छ।सरकारले ठूलो स्केलमा काम गर्न चाहनेहरूका लागि जग्गा लिजमा लिनका लागि सहज नीतिगत र कानुनी व्यवस्था गर्नुपर्छ।

एलए ग्रुप र भाटभटेनीबीच धेरै क्षेत्रमा सहकार्य देखिन्छ । यहाँहरूको सहकार्यबारे बताइदिनुस् न।

अहिले हामी मुलुकको समृद्धिका लागि ‘इम्प्याक्ट’ सिर्जना गर्न सहकार्य गरेका हौँ। मीनबहादुर गुरुङजी र म दुवैजना मेहनत र संघर्षले यहाँसम्म आइपुगेका हौँ।त्यसकारण मेहनत गर्नेहरूले त्यसको लाभ प्राप्त गरून् भन्ने हाम्रो उद्देश्य हो। भाटभटेनीसँग मिलेर हामीले आपूर्ति श्रृंखला निर्माण गरिरहेका छौँ। यहाँका रैथाने तरकारी र खानाहरू जस्तो तामा, अचार, गुन्द्रुक, मस्यौरा लगायत एग्रो वस्तुको ब्राण्डमा नेपालमा र विदेशमा पनि बेच्ने योजना छ।

नेपाली डायस्पोरा विस्तार भैरहेको सन्दर्भमा विभिन्न स्थानहरूको माग हेरेर हामी विदेशका नेपाली समुदायलाई पनि लक्षित गरेका छौँ।यस्ता उत्पादन तोकिएको मापदण्डमा महिलाहरूले उत्पादन गर्ने हुँदा उनीहरूको आयआर्जनका अवसर सिर्जना भई आर्थिक सशक्तीरणमा टेवा पुग्ने ठानेका छौँ। भाटभटेनीसँग मिलेर हामी पर्यटन, हस्पिट्यालिटी, ऊर्जा क्षेत्रका साथै उद्योग सञ्चालन लगायतका क्षेत्रमा काम गर्ने सोचका सात सहकार्य अघि बढाएका छौँ।

हस्पिट्यालिटीमा यहाँसँग आधा दर्जन प्रोजेक्ट थिए। अहिले भाटभटेनीसँगको सहकार्यमा अन्नपूर्ण होटलको नयाँ ‘प्रोजेक्ट’मा काम गर्दै हुनुहुन्छ होइन?

पर्यटन नेपालको प्रचुर सम्भावना भएको क्षेत्र हो। विश्वका उत्कृष्ट गन्तव्यहरू यहाँ छन्। हामी नेपालीहरू अतिथिहरूको स्वागत संस्कारमा अब्बल छौँ भने कला संस्कृति र प्राकृतिक सौन्दर्यमा धनी छौँ। तर सरकारले मुख्य पूर्वाधारहरू निर्माण गर्न सकेको छैन। हामीले विमानस्थल त बनायौँ तर त्यसलाई सञ्चालन गर्न सकिएको छैन। यदि हामीले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौँदेखि तराई जोड्ने फास्ट ट्रयाक निर्माण गर्नुका साथै लुम्बिनी र पोखराका लागि पनि रेलमार्गद्वारा जोड्ने वा एक्सप्रेस वे निर्माण गर्न सकेको भए अहिले भन्दा १० गुणा धेरै पर्यटक ल्याउन सकिन्थ्यो।

निजी क्षेत्रले पर्यटनका क्षेत्रमा ठूलो लगानी गरेको छ। हामीले अहिले अन्नपूर्ण होटल प्रोजेक्ट पर्यटन क्षेत्रका लागि अर्को ठूलो लगानी हो। हामी दुवैबीच सल्लाह भएर त्यसलाई ३५ वर्षको लिजमा लिएर ह्यापेनिङ प्लेस बनाउन खोजेका छौँ। त्यहाँ हामीले १५०० सवारीसाधन पार्किङ गर्न सक्ने सुविधाका साथै मिटीङ, इन्सेन्टिभ, कन्फरेन्स र ससानो एक्जिविसनका लागि चार ठूला हलहरू हुनेछन् भने स-साना बैठकका लागि ४० भन्दा बढी मिटीङ हल, ३३० कोठाको होटलका साथै ३० अपार्टमेन्ट शैलीका कोठाहरू हुनेछन्। चार लाख वर्गफुटको डिपार्टमेन्टल स्टोर, अफिस कम्प्लेक्स तथा फुड कोर्टहरू रहनेछन्।

४२ रोपनी कुल जमिनमध्ये २५ रोपनी खुला रहनेगरी अन्डर ग्राउन्ड र हाइराइजमा गएका छौँ। यसबाहेक हामीले सिद्धार्थ हस्पिट्यालिटीमा पनि सानो सेयर लिएर पर्यटन क्षेत्रमा हाम्रो लगानी विस्तार गरेका छौँ। सिद्धार्थ पनि सानो स्केलबाट सुरु गरेर आज देशभर चेन निर्माण गर्न सफल भएको छ।

नयाँ होटल व्यवस्थापन लागि आइटीसीलाई भित्र्याउन सहमति पनि भैसक्यो होइन?

अहिलेको समयमा व्यवस्थापन महत्वपूर्ण छ। सबै काम आफैँले गर्न सम्भव हुँदैन। आईटीसी इन्डियाको १५० भन्दा धेरै होटलहरू छन्। उनीहरूलाई व्यवस्थापनका लागि हामीले जिम्मेवारी दिन सहमति गरिसकेका छौँ।

भाटभटेनीका थप स्टोरहरू खोल्न पनि सहकार्य गर्न लाग्नुभएको हो?

भाटभटेनीलाई देशभर विस्तार गर्ने योजना अनुरूप मीनबहादुरजी र उहाँको टिम लागिरहेको छ। यससँगै हामीले एग्रो वस्तुलाई पनि प्रवर्द्धन गर्न स-साना स्टोर खोल्न लागेका छौँ। हामीले सहकार्य गरिसकेपछि चितवनमा सात विघा जमिनमा भाटभटेनी र एग्रोवस्तुको ठूलो कोल्डस्टोर चितवनको टाँडीमा रहन्छ। चार रोपनीमा निर्माण हुने भाटभटेनी नेपालकै सबैभन्दा ठूलो भाटभटेनी सुपरमार्केट हुनेछ र त्यसको पछाडि सबैभन्दा ठूलो कोल्डस्टोर रहनेछ।

१० हजार मेट्रिक टन क्षमताको २७ वटा मल्टिच्याम्बर भएको नेपालकै ठूलो कोल्डस्टोर त्यहाँ रहनेछ। यसको शिलान्यास भैसकेको छ र एक वर्षभित्र निर्माण सम्पन्न गर्नेछौँ। एग्रो वस्तुबाट हामीले नेपाललाई चिनाउने र स्थानीय वस्तुको ब्राण्डिङ गर्नेछौँ। जस्तो मुस्ताङको स्याउ, जुम्लाको सिमी, भोजपुरको अकबरे खुर्सानी भनेरै ब्राण्डिङ गर्नेछौँ।

यहाँले शिक्षा क्षेत्रमा चार दशक काम गर्नुभयो। शिक्षाकै व्यवसायलाई विस्तार गर्नेभन्दा पनि पछिल्लो समय नयाँनयाँ क्षेत्रमा जानुभयो। शिक्षामा काम गर्ने वातावरण नभएर हो अथवा लगानी विविधिकरणको रणनीतिबाट प्रेरित हुनुभएको हो?

कुनै पनि क्षेत्रमा कसैले सफलतापूर्वक काम गरेको छ भने प्रोत्साहीत गर्नुको सट्टा विरोध गर्ने, नकारात्मक भाष्य सिर्जना गर्ने काम भैरहेको छ। ठूलो संख्यामा विद्यार्थी उच्च शिक्षा अध्ययनका लागि बाह्य मुलुकमा गइरहेका छन् र ठूलो परिमाणमा विदेशी मुद्रा बाहिरिएको छ। गत आर्थिक वर्षमा मात्रै १ लाख १२ हजार भन्दा बढी नो अब्जेक्सन लेटर जारी गरिएको छ। ४२ वर्ष शिक्षा क्षेत्रमा काम गर्दा मैले विद्यालय शिक्षा कस्तो हुनुपर्छ, प्राविधिक तथा व्यवसायिक शिक्षा कस्तो हुनुपर्छ अनि उच्च शिक्षा कस्तो हुनुपर्छ भनेर संसारभर देखेको छु।

नेपालमा विश्वका ख्यातिप्राप्त विश्वविद्यालयको सम्बन्धनमा शिक्षण संस्थाहरू स्थापना गर्न सकिन्छ भनेर पनि सोच बनाएको थिएँ। तर यो क्षेत्रमा नकारात्मक भावना फैलाउनेहरू धेरै भए। हुन त अन्य क्षेत्रमा पनि व्यवसाय गर्न सहज छैन। जलविद्युतमा त्यत्तिकै अप्ठ्याराहरू छन्। पर्यटनकै कुरा गर्ने हो भने विद्युतमा प्रतियुनिट २२ रुपैयाँ महशुल तिर्नुपर्छ, विमानस्थल र बाटोको अवस्था दयनीय छ। भाटभटेनी, सिद्धार्थ र हामी मिलेर पर्यटन पूर्वाधार ट्रेकिङ ट्रेलहरू र ट्रेल क्षेत्रमा बसोबास र विश्राम समेतका पूर्वाधार निर्माण गर्ने भनेर मुन्धुम ट्रेल, कर्णाली सर्किट, धौलागिरी सर्किट तथा सगरमाथा सर्किटमा निजी क्षेत्र मिलेर काम गर्नुपर्छ भनेर हामीले छलफल गरिरहेका छौँ।

भाटभटेनी, सिद्धार्थ र हामी सबै भुइँबाट उठेको हो। हामीलाई यहाँको वस्तुस्थिति थाहा छ। मुलुकका प्रति हाम्रो कर्तव्य पनि छ। यहाँ कमाएर हामीलाई दुबई या सिंगापुर वा अन्यत्र कतै लैजानु छैन नेपालमै लगानी गरौं, यही व्यवसाय र रोजगारी बढाउँ, जानेको र सिकेको नेपालमै लगाउँ भन्ने सोच राख्‍नेहरू मिलेर काम गर्न खोजेका हौँ।

आम निर्वाचनपछि यहाँको राजनीतिक सक्रियता कम भएको हो त?

म राजनीतिमा सक्रिय छु। निर्वाचनको परिणाम सोचेजस्तो नआए पनि म जनताको बीचमा रहेर जनताको लागि काम गरिरहेको छु। नयाँ-नयाँ काम गरिरहेको छु। मुलुक समृद्ध बनाउनुपर्छ भनेर नेपाली कांग्रेसभित्र पनि सोही अनुरूपको आर्थिक नीति अबलम्बन गर्न निरन्तर पैरवी गरिरहेको छु। नेपाली कांग्रेसको अन्तिम गन्तव्य भनेको समाजवाद हो। तर समाजवादमा पुग्नका लागि त पहिले देश समृद्ध हुनुपर्‍यो, वेल्थ सिर्जना हुनुपर्‍यो। तबमात्र मुलुकले समाजवाद अनुरूपका लोककल्याणकारी काम गर्न सकिन्छ।

नेपाली कांग्रेसको कोषाध्यक्षका रूपमा पनि यहाँको नाम चर्चामा छ नि?

यसबारेमा मैले त्यस्तो जानकारी पाएको छैन। म आस्थाका आधारमा नेपाली कांग्रेसको राजनीतिमा लागेको हुँ। सभापतिज्यूले पनि मलाई अत्यन्तै माया गर्नुहुन्छ, म उहाँलाई अत्यन्त श्रद्धा पनि गर्छु। कोषाध्यक्षका लागि मैले दाबेदारी गरेको छैन। तर उहाँले म भन्दा योग्य व्यक्तिहरू हुनुहुन्छ। अहिले पार्टीभित्र कोषको अवस्था दयनीय छ तर व्यवस्थापन गर्ने जिम्मेवार व्यक्तिको नियुक्ति भएको छैन। त्यसकारण कोषाध्यक्षको नियुक्ती यथाशक्य हुन जरुरी छ।

हाम्रो पार्टीको कोषलाई पनि बलियो बनाउन जरुरी छ। पार्टीमा स्रोत परिचालनका लागि यसमा योगदान गर्न चाहाने सबैको स-सानो योगदानलाई पनि स्वीकार गरेर पार्टीको कोष बलियो बनाउनुपर्छ। यदि सभापतिज्यूले मलाई नै योग्य ठानेर उक्त जिम्मेवारी प्रदान गर्नुभयो भने पनि उक्त जिम्मेवारी पूरा गर्न म तत्पर छु।

प्रकाशित: २५ असोज २०८१ १६:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast