लिम्बुवान र खम्बुवानलाई पृथ्वीनारायण शाहले दिएको निशान

हिमाल प्रेस २५ असोज २०८१ १२:००
20
SHARES
लिम्बुवान र खम्बुवानलाई पृथ्वीनारायण शाहले दिएको निशान

काठमाडौँ- लिम्बुवानमा निशान नाच १ सय ९९ वर्ष अघिदेखि नचाउँदै आएको इतिहास छ। पाँचथरको याङवरक गाउँपालिका थर्पु पञ्चकन्या कालिकाधाममा हरेक वर्ष महानवमीका दिन निशान नचाउने चलन छ।

लिम्बुवान र खम्बुवानसँग १७ पटक युद्ध लड्दा पनि राजा पृथ्वीनारायण शाहले जित्न नसकेपछि लिम्बुवानलाई राज्य सुम्पिँदै निशान प्रदर्शन गर्न दिएको इतिहासकार हर्क योङहाङ बताउँछन्।

निशानमा विभिन्न किसिमका ऐतिहासिक हतियारसमेत प्रदर्शन गर्दै युवा नाच्ने गर्छन्। पछिल्लो समय वैदेशिक रोजगारीका कारण निशान नचाउने युवा पाउन छाडेको याङवरक गाँउपालिकाकी उपाध्यक्षा बाबा मन्याङ्बो बताउँछिन्।

भाले र पोथी निशान एउटा स्थानमा फरक ढंगले नचाइन्छ। निशानलाई महानवमीका दिन नचाउन प्रचलन छ। यो लिम्बुहरुको इतिहास भएको उनले जानकारी दिइन्।
‘थर्पु कालिकाधाममा लिम्बुवान क्षेत्रका सरदार भेला भई १० लिम्बुवानको ठेक्का, रीतिथिति, सुभांगी निश्चित गरेको इतिहासका रूपमा निशान नाच जिम्मा लिने चलन संस्कृति भएको हो’, उनले भनिन्।

पृथ्वीनारायण शाहले दिएको माथिल्लो फाल्गुनन्द श्री कम्फु निशान १८८० सालमा मतवल सिह मावो (थर्पु)ले जिम्मा लिएका थिए। तल्लोको श्रीजंगे निशान १९१२ मा बागदल सेलिङ (ओयाम)ले लिएपछि निशानलाई भाले र पोथीको परिचय दिएर नचाउन थालिएको इतिहासकार योङहाङ बताउँछन्।

उनका अनुसार निशानमा प्रदर्शन गरिने हतियार ताम्रपत्र, तरबार, खुँडा, खुकुरी, नगरा, चमर बन्दुक, त्रिशूललगायतका समग्रीहरु पालैपालो एक वर्षका लागि ५२ सुब्बाले चाउने चलन छ।

‘नेपाल एकीकरणको इतिहास बोको निशान नाचले एकीकरणको झल्को दिने गरेको छ। आज निशान मात्र उपहार छ। लिम्बुवान र खम्बुवानको महत्त्व भने हराएको छ’, उनले भने। सरकारले निशानलाई संरक्षण गर्नुपर्ने उनको माग छ।

पछिल्लो समय वैदेशिक रोजगारीका कारण निशान नचाउने युवाको अभाव भएको लिम्बुवानका बुढापाकाको गुनासो छ। निशान घुमाउनेहरु ५ दिनदेखि व्रत बस्नुपर्ने धार्मिक मान्यता छ। ब्रतालु युवाले धामको वरपर निशान बोकेर होहल्ला गर्दै कराउँदै कुद्नुपर्ने उनीहरु बताउँछन्।

कालिकादेवी माताको धामसमेत रहेको त्यस स्थानमा ठूलो काभ्रोको फेदमा, काभ्राको जराको थाम, भित्ता, भुइँ र छानो प्राकृतिकसँगै अलौकिक थानसमेत रहेको छ। निशान बडादसैँको अष्टमीका दिन थर्पुको कालिकाधाममा हाजिर गराई एकरात कारबारीमा राख्ने र भोलिपल्ट नवमीको दिन २ बजे मौलो डाँडामा भोग दिने चलन छ।

पहिला निशान नचाउने युवाको भीड लाग्ने गरेको थियो। विगत १० वर्षदेखि निशान नचाउन युवाहरुको अभाव भएको याङवरक गाउँपालिका-६ का हर्कलाल योङहाङले जानकारी दिए। निशान नाच स्थानीय तहले दिएको रकम र मेलाबाट उठेको भेटीले चल्दै आएको छ।

प्रकाशित: २५ असोज २०८१ १२:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =