काठमाडौँ- जनकपुरधामस्थित राजदेवी मन्दिरमा प्रसाद चढाउन बिहानैदेखि भक्तजनहरूको लाइन लागेको छ। राजदेवी मन्दिरमा प्रसाद चढाउन मध्यरात १२ बजेदेखि श्रद्धालुहरू लाइनमा लागेका हुन्।
राजदेवी मन्दिरमा सप्तमी र अष्टमी तिथिका दिन ठूलो संख्यामा श्रद्धालुहरू प्रसाद चढाउन पुग्ने गर्छन्। मिथिला पञ्चाङअनुसार आजै सप्तमी र अष्टमी तिथि परेको राजदेवी मन्दिरमा पूजा व्यवस्थापन गरिरहेको महावीर युवा कमिटीका अध्यक्ष अजयकुमार साहले बताए।
राजा जनकको कुलदेवता भनिएकी राजदेवीमाताको पूजाअर्चना र प्रसाद चढाउनेको हरेक वर्ष ठूलो संख्यामा भीड हुने गरेको छ।
राजदेवी मन्दिरमा गएराति १२ बजेदेखि प्रसाद चढाउन सुरू भएको र त्यही बेलादेखि श्रद्धालुहरू लाइनमा उभिएको अध्यक्ष साहले जानकारी दिए।
राजदेवी मन्दिरमा अष्टमीका दिन प्रसाद चढाउन जनकपुरधामसहित नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालुहरू आउने गरेका छन्। महाष्टमीका दिनमात्रै एक लाखभन्दा बढी श्रद्धालुले प्रसाद चढाउनुका साथै पूजाआजा गर्ने अनुमान रहेको महावीर युवा कमिटीले जनाएको छ।
दसैँको महाष्टमीको दिन राजदेवी मन्दिरमा प्रसाद चढाउने र पूजाआजा गर्ने श्रद्धालुहरूको संख्या बढ्दै गएको अनुमान महावीर युवा कमिटीको छ। अष्टमीका दिनमात्रै पाँच टनभन्दा बढी लड्डुको बिक्री हुने गरेको अनुमान गरिएको छ।
आज राति बोकाबली
राजदेवी मन्दिरमा आज राति बोकाबलि हुने भएको छ। हरेक वर्ष अष्टमीका दिन बोकाबलि हुने गरे पनि यसपालि तिथिका कारण आजै हुन लागेको हो।
राजदेवी मन्दिरमा वर्षमा एकपटक अष्टमीको दिनमात्रै बोकाबलि हुने गरेको छ। आज राति हुने बोकाबलिका लागि बिहानैदेखि श्रद्धालुहरू लाइन लागेर बसेका छन्।
भाकल गरेका साथै अन्य व्यक्तिहरूले समेत महाष्टमीका राति राजदेवी मन्दिरमा बोकाबलि गर्ने गरेका छन्। बोकाबलिका लागि नेपालको विभिन्न स्थानका साथै भारतबाट समेत श्रद्धालुहरू पुग्ने गरेका छन्।
अन्य वर्ष झैँ यसपालि पनि हजारौँको संख्या बोकाबलि हुने महावीर युवा कमिटीका पदाधिकारीहरूको अनुमान छ। बोकाबलिका लागि एक साताअगाडिदेखि रसिद काट्न सुरू भइसकेको महावीर युवा कमिटीले जनाएको छ।
मन्दिर परिसरमै रहेको गुठी संस्थान कार्यालयले प्रतिबोका रू. ३ सयको दरले रसिद काटिरहेको कमिटीले जनाएको छ। यसअघि रू. २ सय रहेकोमा गुठी संस्थानले यसपालि सय रूपैया वृद्धि गरेको छ। बोकाबलिका लागि शुल्क वृद्धि भएपछि कतिपयले विरोधसमेत गरेका छन्।
तर, महावीर युवा कमिटीले भने बोकाबलिका लागि दश वर्षपछि सय रूपैयाँ वृद्धि गरिएकोले विरोध गर्न नहुने बताएको छ। अध्यक्ष साहले पूजा व्यवस्थापन, सरसज्जालगायतका कार्यका लागि खर्च बढेको अवस्थामा बोकाबलिको शुल्क वृद्धि गरिएको बताए।
बोकाबलिबाट उठ्ने पैसा गुठी संस्थान, महावीर युवा कमिटी र राम युवा कमिटीबीच भागबन्डा हुने गरेको छ।
महावीर युवा कमिटीका अध्यक्ष साहले यसपालि राजदेवी मन्दिरमा पूजाआजाका लागि सरसजावटलगायतका शीर्षकमा ४५ लाखभन्दा बढी खर्च हुने अनुमान रहेको बताए। बोकाबलि र स्थानीय व्यवसायी तथा महानगरपालिकाबाट प्राप्त भएको चन्दा सहयोगबाट यो खर्च व्यवस्थापन गरिने उनले जानकारी दिए।
साहका अनुसार यसपालि गत वर्षको भन्दा बढी बोकाबलि हुने अनुमान गरिएको छ। गत वर्ष राजदेवी मन्दिरमा १५ हजारभन्दा बढी बोकाबलि भएको थियो।
बोकाबलिमा अत्याधिक भीडभाड हुने गरेकाले व्यवस्थापनका लागि जनकपुरधामका सबै युवा क्लबहरूको सहयोग लिने गरिएको अध्यक्ष साहले बताए।
बोकाबलिलाई व्यवस्थित रूपमा सम्पन्न गर्न एक हजारभन्दा बढी स्वयंसेवक परिचालन गर्ने तयारी रहेको उनको भनाइ छ।