मेरो दसैँ

डा. बाबुराम भट्टराई २४ असोज २०८१ १९:२५
18
SHARES
मेरो दसैँ

नेपाल विभिन्न जाति र समुदायका भिन्नाभिन्नै चाडपर्व भएको इन्द्रधनुषी राष्ट्र हो। सबै जातिजनजातिले परम्परादेखि आफ्नो रीतिअनुसार चाडपर्व मनाउँदै आएका छन्। तीमध्ये धेरै नेपालीले मनाउने चाड दसैँ हो। दसैँ भन्नेबित्तिकै हामीलाई बाल्यकालतिर फर्काउँछ। मलाई पनि बाल्यकालको दसैँको खुबै याद आउँछ। दसैँका ती दिन सम्झनुअघि मेरो बाल्यकालका केही प्रसंग पनि सान्दर्भिक हुन सक्छन्।

म आजभन्दा ७० वर्षअघि गोरखाको खसआर्य परिवारमा जन्मिएको हुँ। म जन्मँदा हाम्रो समाज निकै पिछडिएको थियो। बाटोघाटो, शिक्षा, स्वास्थ्यमा असाध्यै थोरै मानिसको मात्रै पहुँच थियो। सूचना सञ्चार त विकास भएकै थिएन। त्यसैले ७० वर्षअगाडिको समय मध्ययुग नै थियो।

हामी लिगलिगकोटको भट्टराई परिवारका खलक हौँ। इतिहाकारहरूले भनेका छन्- १६ औँ शताब्दीमा द्रव्य शाहलाई लिगलिगकोटमा ल्याएर राजा बसाल्नेमध्येका पाण्डे, अर्याल र भट्टराई हुन्। यिनै ब्राह्मणले आफ्नै जातिका राजा ल्याएर त्यहाँका घले, मगर राजालाई विस्थापित गरेको कथा पनि छ। तिनै घटनासँग हाम्रा पुर्खाहरू पनि जोडिएका छन्।

हाम्रो घर पालुङटार नगरपालिका-१ बेलबासमा पर्छ। नजिकको बजार खोप्लाङ हो। ऐतिहासिक ढंगले लिगलिगकोट खुर्पाजुङ थुम भन्ने चलन थियो। त्यही खुर्पाजुङ थुम गाउँमा म २०११ साल असार ४ गते जन्मेको रहेछु।

मलाई आफू तीन वर्ष हुँदासम्मको याद छ। २०१४ सालमा अहिलेको जुन घरमा म हुर्किएँ त्यो घर निर्माण हुँदाको टुकटुक आवाज सम्झन्छु। म जन्मेको घर भत्किसकेको छ। ठूलोबा र हामीले आधाआधा बाँडेको घर थियो। म घरको सानो प्वालबाट छिरेर यताउता गरेको सम्झन्छु। प्वाल भन्नाले बाँसको बार लगाएजस्तो हुन्छ नि, त्यस्तै।

हाम्रो किसान परिवार हो। बाआमा मात्रै हुनुहुन्थ्यो। मभन्दा अगाडि डेढ वर्ष जेठी दिदी हुनुहुन्थ्यो। मभन्दा पछाडिकी एक बहिनीको निधन भयो। त्यसपछिको भाइबहिनी र मेरोबीचमा ६-७ वर्षको अन्तर छ। त्यसैले दिदी र म समवयी थियौँ।

किसान परिवार भएको हुनाले गाउँ-बेँसी गथ्र्यौँ। बेँसीमा पशुपालन, खेतीकिसानी हुन्थ्यो। घरमा चाहिँ एउटा भैँसी, एक हल गोरु र बाख्रा पालेका थियौँ। चिसो हावापानी र मलेरियाबाट छल्न गाउँमा बसिन्थ्यो। गाउँले परिपाटी त्यस्तै हुन्छ। बाआमा बेँसी जानुहुन्थ्यो। हामी दिदीभाइ गोठालो गएर र गाउँका केटाकेटीसँग धूलोमा खेलेर समय बिताउँथ्यौँ।

हाम्रो गाउँ मिश्रित खालको छ। तीनचार घर ब्राह्मण, ८/१० घर क्षेत्री, १/२ घर गुरुङ परिवार, ८/१० घर तामाङ अनि २/४ घर दलित परिवार। उतिबेला सबैभन्दा नजिकै तामाङ गाउँ थियो। गाउँकी एकजना आमालाई हामी लाहुर्नी आमा भन्थ्यौँ। उहाँका छोरा लाहुरे थिए। त्यहाँ गएर दिनभरि धूलोमा खेल्थ्यौँ। बेलुका आमा आइसकेपछि घर आउँथ्यौँ। आमाले भात पकाएर खान दिनुहुन्थ्यो।

हामी ठूलो हुँदै गएपछि दिनचर्या फेरियो। स्कुल थिएन। भक्तबहादुर भुजेल (अवकाशप्राप्त सिपाही) ले चौतारामा राखेर हामीलाई कखरा सिकाउन थाल्नुभयो। मेरा ठूलोबा पढेलेखेका ज्योतिष हुनुहन्थ्यो। सायद उहाँले नै मलाई अक्षरारम्भ गराउनुभएजस्तो लाग्छ।

मलाई सानैदेखि गोठालो गएको सम्झना छ। ठूलोबा र हाम्रा गरी ५०/६० वटा गाई थिए। ठूलोबा र हामी अलग भएपछि गाई पनि घटे। दुहुनो भैँसी र बाख्रा प्रायः गाउँमै राखिन्थ्यो। बेँसीमा गाई, केही भैँसी हुन्थे। तिनीहरूलाई चराउन फाँट र थानमालीको जंगलमा लगिन्थ्यो।

पिङ खेल्न डर लाग्थ्यो

दसैँ खसआर्यको सबैभन्दा ठूलो चाड हो। यसका मिथक रामले रावणमाथि विजय गरेको भने पनि अथवा देवीले असुरमाथि विजय हासिल गरेको सन्दर्भमा उत्सव गरेको भने पनि दसैँ भनेको विजय उत्सव, खुसीयालीका रूपमा मनाउने, ठूलाबडाबाट टीका लगाएर आशीर्वाद लिने चाड हो।

कृषिप्रधान अर्थतन्त्र भएको हाम्रो गाउँमा त्यतिबेला बजार हुँदैनथ्यो। किनमेल गरेर खाने चलन थिएन। घरमा जे उत्पादन हुन्छ त्यही खाइन्थ्यो। ब्राह्मण, क्षेत्री परिवारमा खसीबोकाको मात्रै मासु खाने चलन थियो। सधैँ काटेर खान पनि पाइँदैनथ्यो। अन्य जनजातिले चाहिँ कुखुरा, राँगा, सुँगुर खाने भएकाले प्रायः मासु खाइराख्थे।

हामी परेवा पाल्थ्यौँ। परेवा काटेर खाएको म पनि सम्झन्छु। खसीबोकाको मासु खान भने दसैँ पर्खनुपर्दथ्यो। दसैँमा प्रत्येकको घरमा बोकाकै बलि चढाइन्थ्यो। बलि दिने बोको घरमै पालिन्थ्यो। ब्राह्मणको घरमा अष्टमीको दिनमा बलि दिने चलन छ। नवमीमा क्षेत्रीहरूले बली दिन्छन्। हामी बोका बलि दिएर मासु खान्थ्यौँ।

दसैँमा पिङ खेल्ने चलन छ। गाउँमा रोटेपिङ हाल्थे। म पिङ खेल्नभन्दा पनि हेर्न बढी रुचाउँथेँ। वर्षको एकपटक जमिन छोड्नुपर्छ भनेर पिङ खेलेको मलाई सम्झना छ। ६-७ वर्ष हुँदाको कुरा हो, घरघरमा बनाउने पिर्केपिङ हुन्थ्यो। तामाङ गाउँका दाजुभाइले लिंगेपिङ हाल्थे। लिंगेपिङ खेल्न मलाई डर लाग्यो। त्यत्ति खेलिनँ।

दशमीको दिन घरमा टीका लगाएर अन्त जाने चलन छ। सबै जम्मा भएर ठूलोबाको घरमा टीका लगाउँथ्यौँ। ठूलोबाको घर तल र हाम्रो माथि थियो। त्यहाँ टीका लगाइसकेपछि आमासँग मावल हिँडेको मलाई याद छ।

मावल

दसैँमा मावल जाने र टीका लगाउने परम्परा छ। मेरो मावल तनहुँको पुर्कोट उखुबारी भण्डारी गाउँमा पर्छ। अहिले त्यो गाउँ भानु नगरपालिकामा पर्छ। मावलीमा मेरा हजुरबा र हजुरआमा मात्रै हुनुहुन्थ्यो।मेरी आमा उहाँहरूको एकमात्रै सन्तान हुनुहुन्थ्यो। हामी प्रत्येक दसैँमा हजुरबाहजुरआमाको हातको टीका लगाउन जान्थ्यौँ।

चार-पाँच वर्ष हुँदा पनि हामीलाई आमाले मावलमा लगेर राख्नुहुन्थ्यो पालैपालो। कहिले दिदी, कहिले म, कहिले भाइबहिनी। आमासँगै मावल गएको मलाई सम्झना छ। बिहान १०-११ बजे हिँड्दा मावल पुग्दा साँझ पर्थ्यो। मावल जाँदा चेपे र मर्याङ्दी नदी तर्नुपर्थ्यो। हिउँदमा मर्स्याङ्दीमा डुंगा चल्थ्यो पालुङटारको ठाँटीपोखरी नजिकैबाट।

दसैँमा चाहिँ कहिले डुंगा लागेको हुन्थ्यो, कहिले लाग्थेन। डुंगा नलागेका बेला लमजुङको तार्कुघाटपट्टिबाट घुमेर मावल गइन्थ्यो। तार्कुघाट पुग्दा अँध्यारो भएपछि धानखेतको डिलडिलै, जुनकिरीको पिलपिलसँगै बाटो पछ्याउँदै हिँडेको याद छ। मावल पुग्ने बेलामा चितिखोला भन्ने ठाउँ छ बेँसीमा। त्यहाँबाट ठाडो बाटो उक्लेपछि घरमा पुगिन्थ्यो।

हजुरबाहजुरआमाले छोरीनाति आउँछन् भनेर कुरेर बस्नुभएको याद छ। उहाँहरू छोरीका छोराछोरीलाई खुब माया गर्नुहुन्थ्यो। दसैँको टीका टीकाकै दिन लगाउने चलन थियो। टीका लगाएर छोरीपट्टिका नातिलाई दक्षिणा दिइन्छ। मैले दक्षिणा कति पाउँथेँ भन्नेचाहिँ याद छैन। सायद सुका, मोहोर दिनुहुन्थ्यो होला। नोटको चलन थिएन।

अझ रमाइलो कुरा के छ भने मेरा हजुरबा गाउँभरकै टाठाबाठोमा पर्नुहुन्थ्यो। उहाँको नाम विष्णुदत्त भण्डारी हो। बर्माबाट फर्केर आएको हुनाले उहाँलाई बर्मेली पनि भन्थे। मावलको भण्डारी गाउँमा सबैतिर टीका लगाउन त जानुपर्‍यो। टीकाकै दिन मावलमा टीका लगाएर भोलिपल्ट डाँडाघरे हजुरबा, माझघरे हजुरबा, पुछारघरे हजुरबाकहाँ गएको सम्झन्छु। उहाँहरूले पनि दक्षिणा, केरा, सुन्तला दिनुहुन्थ्यो। भण्डारीका १०-१५ घर थिए।

त्यतिबेला दक्षिणाको हिसाब भएन। मैले पाएको सबै दक्षिणा आमालाई दिन्थेँ। आफैँ राख्ने मेरो स्वभाव थिएन। अर्काले दिए खाने, आफूले मागेर केही नखाने स्वभावको थिएँ। पाउन पनि के पाइन्थ्यो र! बाटोमा हिँड्दा पेपलमेठ किनेर खान्थेँ। अंग्रेजी शब्दचाहिँ पेप्परमिन्ट रहेछ। नेपाली जनबोलीमा पेपलमेठ भएको रहेछ। मावल जाँदा बाटोमा खोप्लाङ, लुइँटेल भन्ज्याङ, बाह्रपिर्के, ठाँटीपोखरी, तार्कुघाट बजार पार गर्नुपर्थ्यो। बजारमा आमाले खत्र्याखुत्रुक सामान किन्नुहुन्थ्यो। पेपलमेठ र मिस्री किनेको सम्झन्छु। हजुरबाहजुरआमाको निधन भइसकेपछि मावल जान बन्द भयो।

बूढो मावली

मेरी आमाको मामाघर लमजुङ र तनहुँबीचको पाउँदीमा हो। गाउँ तनहुँपट्टि र बेँसी लमजुङपट्टि थियो। जुन अहिले सुन्दर बजार नगरपालिकामा पर्छ। त्यहाँका पोखरेलहरू मेरा बूढो मावली खलक हुनुहुन्छ। म आमाको पछि लागेर बूढो मावल जान्थेँ। त्यहाँ पनि हजुरबा, मामा, माइजूहरूसँग टीकोटालो गरेको सम्झन्छु। सुन्तलाको बगैँचा थियो। सुन्तला खाएको रमाइलो याद छ।

म ९ वर्ष भएपछि स्कुल गएँ। शनिबार र आइतबार दुई दिन छुट्टी हुन्थ्यो। घरबाट दुई घण्टा टाढा स्कुल भएको हुनाले लुइँटेल भन्ज्याङमा डेरा गरेर बस्थ्यौँ हामी। घर आएका बेला म गोठालो जान्थेँ। गाउँघरमा गोठालो र हली राख्ने चलन थियो। मैले पालो दिएपछि उनीहरूले अरू काम गर्न सक्थे। स्कुल बिदा हुने भएकाले शनिबार र आइतबार सधैँ गोठालो जान्थेँ। असार र साउनमा छुट्टी हुन्थ्यो। त्यतिबेला गोठालो गएर बाआमालाई पालो दिन्थेँ।

म घाँस काट्न पनि सोखिन थिएँ। चिन्तनमनन गर्ने, सोच्ने, पढ्नेतिरै ध्यान पुग्ने भएको हुनाले मेरा लागि काम सानाठूलो भन्ने कहिल्यै भएन। मेरो रोजाइमा छिटो सक्ने काम पर्थ्यो। अरू गोबर फ्याँक्न हिचकिचाउँथे। म अगाडि सर्थेँ। एकछिन फ्याँकेपछि सकिइहाल्थ्यो। घरमा भैँसी र बेँसीमा गाईको गोबर फ्याँकेको म सम्झन्छु।

स्कुलमा संयुक्त डेरा थियो। त्यहाँ पनि म भाँडा माझ्न अघि सर्थेँ। त्यो काम पनि छिटो सकिन्थ्यो। अहिले पनि घरमा केही गर्न पर्‍यो भने म ट्वाइलेट सफा गर्छु। म किन यस्तो गर्छु भने समयको बचत हुन्छ।

नयाँ लुगा सिलाउन जान्थेँ

दसैँका बेला स्कुलमा एक साता छुट्टी हुन्थ्यो। छुट्टीमा घर जाँदा पिङ खेलेको हेर्थेँ। बाटोमा बोडी, अम्बा र केरा खाएको अनि गाउँमा सबैको घरमा पुग्ने गरेको सम्झना छ।

गाउँमा गरिबी थियो। निर्वाहमुखी अर्थतन्त्रले टिकेको थियो। त्यो भनेको आफैँ उब्जाउने र खपत गर्ने हो। किन्ने भनेको एक जोर लुगा, नुन, मट्टीतेल यस्तै हो। लुगा वर्षको दुईचोटि अथवा एकचोटि मात्र फेर्ने गरिन्थ्यो। अहिलेजस्तो सुविधा थिएन। आर्थिक हैसियत पनि थिएन। आवश्यक पनि हुँदैनथ्यो। दुई जोर लुगा हुँदा एकजोर धोएर सुकायो, अर्को लगायो।

दसैँमा चाहिँ नयाँ लुगा लगाउनैपर्ने चलन थियो। यो त संस्कृति नै बनेको छ। नयाँ लुगा पाएपछि बालबच्चा स्वतः खुसी हुने भए। एकैपटक किनमेल गरेपछि अरूलाई पनि सजिलो हुने। लत्ताकपडा र चाहिने सामान बजारमा गएर उधारोमा किन्ने चलन थियो। भुक्तानीका लागि माघेसंक्रान्ति र श्रीपञ्चमीको भाका राखिन्थ्यो। म खोप्लाङ बजारमा बाको पछि लागेर लुगा किन्न गएको सम्झन्छु।

लुगा किनेर सिलाउनुपर्थ्यो। अहिलेजस्तो रेडिमेड पाइन्नथ्यो। बालीघरे प्रथा थियो। सूचीकारकहाँ म आफैँ लुगा सिलाउन जान्थेँ। हाम्रो खुर्पाजुङका परियार जो अहिले पालुङटार नगरपालिका-१ का वडाअध्यक्ष हुनुहुन्छ कृष्णबहादुर परियार। मसँगै बस्ने लक्ष्मण परियार (सुरक्षाकर्मी) हुनुहुन्छ। उहाँहरूका बाउबाजेसँग पहिलेदेखिकै सम्बन्ध रहेछ। उहाँहरूले हाम्रो लुगाफाटो सिउने, हामीले उहाँहरूलाई धानलगायत दिने। बाउबाजेको चलन भएको हुनाले म बच्चा बेलामा लुगा लिएर सिलाउन गएको सम्झना छ। बाले लुगा किनेर ल्याउनुहुन्थ्यो। उहाँले ‘सिलाउन जा बाबु’ भनेपछि जान्थेँ।

मेरो मनमस्तिष्कमा दलितप्रतिको विभेद त्यहीँबाट परेको हो। हामी लुगा सिलाउन जान्थ्यौँ। त्यहाँ उहाँहरूको घरमा पनि बस्न हुँदनथ्यो। हामीलाई ‘तलै बस’ भन्थे। उहाँहरूले दिएको पानी पनि खान हुँदैनथ्यो। उहाँहरू पनि हाम्रो घरमा आउँदा आँगनमा मात्रै बस्नुहुन्थ्यो। पिँढीमा बस्न दिँदैनथे। किन यस्तो भयो भनेर मेरो ६-७ वर्षको बालमस्तिष्कमा पर्थ्यो।

टीकाटालो गर्दिनँ

दसैँको अर्को रमाइलो पक्ष आफन्तसँग भेटघाट हो। हामी मावल जान्थ्यौँ। बाका भान्जाभान्जी, हाम्रा फुपूचेली, नातागोताको सञ्जाल ठूलै थियो। सबैसँग भेटघाट हुन्थ्यो। कृषिप्रधान अर्थतन्त्रमा खेतीपाती लगाइसकेपछि जम्मा हुने, भेटघाट हुने, रमाइलो गर्ने, खानपान गर्ने, विश्राम गर्ने र ऋतु परिवर्तनका हिसाबले पनि उपयुक्त बेला हो यो। त्यसैले दसैँ रमाइलो पर्वका रूपमा सम्झने गरिन्छ।

अहिले धार्मिक आस्था नहुँदानहुँदै पनि सांस्कृतिक पर्वका रूपमा दसैँ मनाउँदै आएको छु। म पूजाआजा गर्दिनँ। बाले गर्नुहुन्छ। आमा बित्नुभयो। ९५ वर्षका बा हुनुहुन्छ। म उहाँको हातबाट टीका लगाउँछु।

पूजाको खास अर्थ छैन भन्ने बुझिसकेपछि मैले अरू कसैलाई टीका लगाइदिने र आशीर्वाद दिने गर्दिनँ। यसो भन्दै गर्दा चाडबाड, संस्कृति, परम्परा आदिको विरोध गरेको होइन। मलाई दसैँ सांस्कृतिक पर्व, रमाइलो, भेटघाट पर्वका रूपमा मनाउनु उपयुक्त लाग्छ।

समाजको उत्पादन प्रणाली, जीवनशैली, मान्छेको मनोविज्ञान स्वतः परिवर्तन हुँदै जान्छ। त्यसअनुसार यस्ता सांस्कृतिक पर्वहरूको रूपान्तरण हुँदै जान्छन्। अहिले दसैँ-तिहारलाई ठूलै सांस्कृतिक पर्वका रूपमा मान्ने चलन छ। अरू बेला गाउँगाउँबाट मानिस सहर आउने तर यस्ता ठूला चाडपर्वको बेलामा धेरै मानिस गाउँघर जाने प्रचलन छ। हामी पनि बाआमा छँदा त्यसो गर्थ्यौँ।

धेरै वर्षपछि पुर्ख्यौली घरमा दसैँ

यस वर्ष बासँगै गोरखा घरमा दसैँ मनाउँदैछौँ। बाआमा छउन्जेल जान्थ्यौँ। ३० वर्ष हुन लागेछ गाउँमा दसैँ नमनाएको। दसैँको राम्रो पक्ष घुमफिर हो। आफ्नै देशमा पनि कतिपय रमणीय ठाउँ छन्। युवापुस्ता त्यतातिर रमाइरहेको देख्छु। सहरीकरणमा हुर्केका र देशविदेश घुमेका युवा पनि स्वदेशका विभिन्न ठाउँमा घुम्न रुचाइरहेका छन्।

यसो गर्दा आफ्नै देशलाई बुझ्न पनि पाइन्छ, खुसी अनुभूतिको कुरा पनि हुन्छ, आन्तरिक पर्यटन प्रवर्धन पनि हुन्छ। त्यसैले दसैँलाई समयअनुकूल, युगअनुकूल परिमार्जन गरेर लैजानुपर्छ।

नेपाल विविध, जाति, धर्म, संस्कृतिले बनेको मुलुक हो। यस्ता पर्वलाई ठूलोसानो मान्नुहुँदैन। आफ्नो संस्कारअनुसारको पर्व आफूले मनाउने हो। अर्काको पर्वलाई होच्याउने आदि गर्नु हुँदैन। समुदायको इतिहास, परम्परा र खानपिन पनि आफ्नै प्रकृतिका हुन्छन्। कसैलाई पनि ठूलोसानो भनेर विभेदपूर्ण सोच राख्नुहुँदैन।

हाम्रो तीनवटा मुख्य जातीय क्लस्टर छन्। खसआर्यको एउटा संस्कृति छ अनि आदिवासी जनजातिको संस्कृति। अर्को, तराईमधेशका थारू र मधेशीहरू। यी सबै मिलेर नेपाल इन्द्रधनुषी राज्य बनेको हुनाले भाषा संस्कृति, परम्परा, चाडपर्व सबैका साझा हुन्। त्यसैले आफू मनाउने र अरूलाई मनाउन दिनुपर्छ।

आफ्ना पर्वमा अरूलाई सम्मिलित गराउनुपर्छ र अरूकहाँ पनि आफू सम्मिलित हुनुपर्छ। यस्तो गर्दै गइयो भने सांस्कृतिक अन्तरघुलनले एकीकृत इन्द्रधनुषी राष्ट्रियता निर्माणमा मद्दत पुग्छ।

नेपालीलाई बीचको कालखण्डमा राजामहाराजाले स्वार्थका निम्ति आफ्नो संस्कृति, भाषा मात्रै नेपाली अरूको चाहिँ अनेपाली गर्दिएर जनतामा विभाजन ल्याइदिए। ठूलो राजनीतिक परिवर्तनपछि संघीय ढाँचामा गएर सबैको संस्कृति, भाषा, पहिचानलाई स्वीकार गर्ने, राष्ट्रिय संस्कृति मान्ने कुरा संविधानमा गरेका छौँ। म आफूले पनि त्यो दिशामा योगदान गर्ने अवसर पाएकोमा गर्वको अनुभूति हुन्छ। म सबैसँग आग्रह गर्न चाहन्छु, यस्ता सभ्यता, संस्कृतिको जगेर्ना गर्नुपर्छ।

सभ्यता, संस्कृति समयनुकूल परिवर्तन हुँदै पनि जान्छन्। त्यसभित्र जानेर नजानेर घुसाइएका कतिपय अन्धविश्वास, विभेदपूर्ण कुरा हुन्छन् त्यसलाई समयनुकूल परिमार्जन गर्दै लैजानुपर्छ। सभ्यता र संस्कृतिको एउटा भावनात्मक पाटो पनि हुन्छ। त्यसको संरक्षणका निम्ति सबैले ध्यान दिनुपर्छ। दसैँ, तिहार, छठ, नेपाल संवत् लगायत सबै चाडपर्व अगाडि आएका छन्। सबै चाडपर्वलाई साझा रूपमा मनाऔँ। सबैमा शुभकामना व्यक्त गर्दछु।

[नेपाल समाजवादी पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग रमेश दवाडीले गरेको कुराकानीमा आधारित]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + thirteen =