खेतीकिसानी

दसैँमा तीन अर्बभन्दा बढीको मासु खान्छन् नेपाली

रमेश भारती २३ असोज २०८१ ७:१२
28
SHARES
दसैँमा तीन अर्बभन्दा बढीको मासु खान्छन् नेपाली

काठमाडौँ- दसैँमा तीन अर्बभन्दा बढीको मासु खपत हुने गरेको छ। पशुपक्षी सेवा विभागको तथ्यांकअनुसार दसैँमा नेपालभर खसी, बोका, राँगा, च्यांग्रा र माछाको गरी तीन लाख ९० हजार मेट्रिक टन मासु खपत हुन्छ। यसरी खपत हुनेमध्ये आधाभन्दा बढी मासु भारत र चीनबाट आयात हुने विभागका सूचना अधिकारी डा. सुधीरकुमार सिंहले बताए।

नेपालमा वार्षिक तीन लाख ४० हजार टन मासु उत्पादन हुन्छ। वार्षिक नौ लाख टन मासुको माग छ। नेपालमा वार्षिक रूपमा १ करोड ४० लाख ५० हजारको हाराहारीमा खसीबोका र बाख्रा उत्पादन हुन्छ। दसैँमा मासुका लागि ५० लाख मात्रै योग्य हुने विभागको तथ्यांक छ। पशुसेवा विभागका अनुसार दसैँमा ५४ प्रतिशत खसीबोका, २१ प्रतिशत राँगाभैँसी, १७ प्रतिशत कुखुरा, सात प्रतिशत बंगुर, अन्य पशुपन्छीको एक प्रतिशत मासु व्यापार हुन्छ।

काठमाडौँ उपत्यकामा सामान्य समयमा दैनिक तीन हजारभन्दा बढी खसी काटिन्छ। दसैँमा यो संख्या निकै बढ्ने सिंहले बताए। उनले भने, ‘दसैँमा काठमाडौँ उपत्यकामा करिब ५० हजार खसीबोका खपत हुन्छ। देशभर तीन लाखभन्दा बढी खसीबोका खपत हुने अनुमान छ।’ उपत्यकामा दैनिक आठ सय वटा राँगाभैँसी, छसय वटा बंगुर र पाँच हजार किलो माछा खपत हुन्छ। सिंहले भने, ‘दसैँमा यो ५० प्रतिशत वृद्धि हुने हाम्रो अनुमान छ।’

 फूलपाती र महाअष्टमीका दिन बलि दिने प्रचलन छ। यस्तो समयमा मानिसले आफ्नै घरमा खसी, बोका, राँगा, च्यांग्रा आदि काटेर मासु खाने गर्दछन्।

सामान्य समयमा काठमाडौँ उपत्यकामा सबैभन्दा बढी मासुको खपत हुने गरेको छ। दसैँमा भने काठमाडौँ उपत्यकाबाहिर मासुको खपत बढी हुन्छ।

काठमाडौँ उपत्यकाका लागि सरकारले हरेक वर्ष बाहिरी बजार मूल्यभन्दा सहुलियत मूल्यमा खसीबोका बिक्री गर्दै आएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दसैँमा खसीबोका र भेडाच्यांग्रा आइतबारदेखि बेच्न सुरु गरेको छ।

५० हजार खसी बोका भित्रिए

दसैँको समयमा ५० हजारभन्दा बढी खसी बोका काठमाडौँ उपत्यका भित्रिने गरेका छन्। उपत्यकामा दसैँकै लागि भनेर देशका विभिन्न स्थानबाट ५० हजार खसीबोका ल्याएर बिक्री गर्ने गरेको चौपाया खरिदबिक्री सघंका अध्यक्ष सन्तोषबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार बाढीपहिरोका कारण बाटो अवरुद्धका बीच पनि यस पटक उपत्यका ५० हजार खसी बोका भित्रिएका छन्।

काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट आउँछन्। खोटाङ, ओखलढुंगा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याएर किसान आफैँले बिक्री गर्दै आएको संघका अध्यक्ष खत्रीले जानकारी दिए। उपत्यकाका बजारमा बिक्री हुने खसी, बोका र भेडाच्यांग्रा स्वदेशी उत्पादन भएको उनको भनाइ छ।

काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो सात सय २० देखि सात सय ५५, पहाडका खसी छ सय ७० देखि सात सय पाँच, बोका छ सय ७० देखि सात सय २० सम्म र च्यांग्रा प्रतिकिलो एक हजार तीन सयमा बिक्री भइरहेको संघले जनाएको छ। संघका अनुसार मनाङ र मुस्ताङबाट भेडाच्यांग्रा पनि ५ हजारभन्दा बढी ल्याइएको छ।

सरकारले दूध, अण्डा र मासुमा आत्मनिर्भर घोषणा गरे पनि वार्षिक ९० करोडभन्दा बढीको खसीबोका, राँगा र च्या‌ंग्रा आयात गर्दै आएको छ। दसैँमा मात्र ६० करोड रुपैयाँभन्दा बढीको माछा, राँगा, भेडा च्यांग्रा, खसी र बोका भारतबाट आयात हुने गरेको नेपाल पशुपालन ट्रेडर्स संघका अध्यक्ष जनकबहादुर रावलले जानकारी दिए। उनका अनुुसार सरकारले च्यांग्रा भारत तथा चीनबाट आयात गरेर सहुलियत मूल्यमा बेच्ने गरेको छ।

राँगाभैँसी र माछा भने भारतबाट भित्रिने गरेको उनले बताए। ‘मासुमा कसरी आत्मानिर्भर भन्ने हो? अहिले पनि ६० प्रतिशत हामी परनिर्भर छौँ। कुखुरा, अण्डा र बंगुरमा मात्र नेपाल आत्मनिर्भर भए पनि माछा, राँगा र खसीबोकामा निर्भर भएको छैन’, उनले भने।

नेपालमा उत्पादित खसीबोकाले ४० प्रतिशत माग धान्ने गरेको छ। ६० प्रतिशत खसीबोकाको मासु भारत र चीनबाट आयात गर्नुपर्ने संघले जनाएको छ। नेपालमा सबैभन्दा बढी खसी, कुखुरा, राँगा, भैँसी, बँदेल र बंगुरको मासु खपत हुन्छ।

ब्रोइलरका व्यापार ५० प्रतिशत घट्छ

उपत्यकामा दसैँतिहारबाहेक अन्य सामान्य समयमा दैनिक तीनदेखि तीन लाख ५० हजार किलोसम्म ब्रोइलर कुखुराको मासु खपत हुन्छ। दसैँमा ब्रोइलरको मासु ५० प्रतिशत काम कम व्यापार हुने गरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ।

दसैँमा होटल, रेस्टुराँ, पार्टी प्यालेस, होस्टल र खाजा घर बन्द हुँदा कुखुराको मासु कम खपत हुने गरेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए। ‘दसैँका बेला सबै जना गाउँघरमा  जाने भएकाले काठमाडौँ उपत्यकामा सञ्चालनमा रहेका होटल, रेस्टुराँ तथा पार्टी प्यालेस बन्द हुन्छन्। जसका कारण ब्रोइलरको मासु काम खपत हुन्छ’, उनले भने।

प्रकाशित: २३ असोज २०८१ ७:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 14 =