गुमनाम हाम्रो गल्ली

हरिकुमार श्रेष्ठ ३ कार्तिक २०८१ १०:५०
54
SHARES
गुमनाम हाम्रो गल्ली

कवि भूपी शेरचनले लेखेका छन् :

‘साँघुरो गल्लीमा मेरो चोक छ
त्यहाँ के छैन, सब सबथोक छ
असंख्य रोग छ, अनन्त भोक छ।’

त्यस्तै छ हाम्रो गल्लीको नियति पनि। राजधानीको चक्रपथ नजिकै भनेर के गर्नु? हाम्रो साँघुरो गल्लीको अवस्था भने जस्ताको तस्तै छ। मुलुकमा लोकतन्त्र आयो, गणतन्त्र आयो तर हाम्रो गल्लीमा केही आएन। तीन दशकअघि हामीले देख्दा त्यो जस्तो थियो, अहिले पनि उस्तै छ। यतिका वर्ष बितिसक्दा पनि हाम्रो गल्लीले केही परिवर्तन देख्न पाएन। गुमनामजस्तै छ हाम्रो गल्ली।

नाम त उसले कति राम्रो पाएको छ- शान्तिदीप गल्ली। तर त्यो टोलमा बस्ने हामी गल्लीवासीले कहिल्यै शान्तिको सास फेर्न पाएनौँ। छिमेकीमा मनमुटाव वा झगडा भएर हैन, त्यसको मूल कारण गल्ली हो। दिनभरको कामले थकित भई घर फर्कँदा गल्लीभित्र छिर्नासाथ मुड खराब हुन्छ। फोहर फ्याँक्ने डम्पिङसाइट भएको छ, हाम्रो गल्ली। आज बढाऱ्यो, भोलि जस्ताको तस्तै। बाटो हिँड्नेको पनि सोमत छैन- चाउचाउ, बिस्कुट, चुनासुर्ती जेको पनि खोस्टो हाम्रै गल्लीले व्यहोर्नुपर्छ। गल्लीमा फोहर फ्याँक्नेलाई पाँच सय जरिबाना गरिनेछ भनेर गल्लीको मुखको पर्खालमा टाँसेको पनि केही सीप लागेन। त्यही साइनबोर्डको मुन्तिर झन् ठूलो फोहरको डुंगुर थुप्रिएको हुन्छ। गल्लीको त्यस्तो दूरवस्थाले हामी आजित भएको वर्षौँ भइसक्यो।

हामीलाई अरू धेरै कुराले पनि आजित बनाएको छ। गल्लीमा भुस्याहा कुकुरको बिगबिगी छ। रातभर भुकेर, आपसमा झगडा गरेर हामीलाई सुत्न दिँदैनन्। दिउँसो लखरलखर हुल बाँधेर लठारिएर हिँड्छन्। घरमा पालेको कुकुर होस् वा अरू टोलबाट झुक्किएर आएका नौलो कुकुर देख्नासाथ एकैसाथ झम्टिन्छन्। शान्तिपूर्ण सहअस्तित्वको सिद्धान्त हाम्रो गल्लीको भुस्याहा कुकुरलाई के थाहा? जहिल्यै ङारङारङुरङुर झगडा गरिरहेका हुन्छन्।

मलाई बिहानबेलुकी सधैँ त्यै गल्लीको बाटो नहिँडी धर छैन। त्यसमाथि आफूलाई सानोमा कुकुरले टोकेकोले त्यसको फोबिया छ। कुकुरको सानो भुकाइले पनि तर्सन्छु। त्यसैले घरबाट बिहान हिँड्न निस्कँदा लौरीको सहारा लिने गर्छु तर त्यसबाट पनि उपाय लाग्दो रहेनछ। लाठी उचालेको देखेर भुस्याहा कुकुरको बथान झन् हुल बाँधेर आइलाग्छन्। कतिलाई मात्र लौरो ताक्ने?

लौरी लिएर हिँडेको देखेर चिनेजानेका साथीभाइले पनि खिसीट्युरी गर्छन्- अहिल्यै बूढो भयो भनेर। कतिपयले घुँडा फुस्केछ भन्ठान्छन्। कतिलाई मात्र दलिल पेस गर्दै हिँडौँ म? कतिलाई मात्र गल्लीको कुकुरको कथा सुनाउँदै हिडौँ म? त्यसैले हिजोआज हिँड्न जाँदा लाठी टेक्न पनि छाँडिदिएँ। त्यही एउटा लाठी सहारा थियो, अब त्यो पनि रहेन। म अचेल नितान्त सहाराविहीन हिँडिरहेको छु।

गल्लीको कुकुरको प्रसंग अझ सकिएको छैन। हालसालैको कुरा हो- बेलायतमा बस्ने छोराबुहारी केटाकेटीको स्कुलको छुट्टी पारेर एक महिनाको बिदामा नेपाल आएका थिए। बिदा पनि के भन्नु? अविरलको साउने झरीले बाहिरफेर कतै घुम्न निस्कन सकेनन्। त्यो त छँदै थियो, आफन्तसँग भेटघाटका लागि केटाकेटी लिएर घरबाट निस्कन पनि गल्लीको कुकुर छल्दाकै सास्ती। त्यसैले अत्यावश्यक भेटघाटबाहेक हामी सकभर घरबाट बाहिर निस्कन मन गर्दैनथ्यौँ। घरमै केटाकेटीसँग रमाएर बस्थ्यौँ।

बिदा सकेर केटाकेटीहरु बेलायत फर्कने दिन नजिकिँदै थियो। गल्लीको कुकुरको आतंक छल्दै एक दिन केटाकेटी लिएर आफन्तसँग भेटघाट गरी हामी घर फर्कँदै थियौँ। दुई साना नातिनी अर्निका र अभनीले मेरो हात समातेका थिए। उनीहरूकै हिँडाइको तालमा म हाम्रो गल्लीको मुखमा आइपुगेको मात्र थिएँ, त्यहाँ भुस्याहा कुकुरको आतंक मच्चिरहेको रहेछ। बाटोमा कसैले फ्याँकेको एक टुक्रा बासी रोटीका लागि लुछाचुँडी चलिरहेको थियो। त्यो दृश्यले साना नानीहरु डरले आत्तिए, मेरो पनि सातो गयो। हातमा लौरो पनि थिएन, इटाढुंगा टिपेर हिर्काऊँ भने त्यो पनि भेटिएन। ह्वाङह्वाङ गरी भुकिरहेका कुकुरलाई लघार्न मैले गालीको शब्दबाहेक केही भेटिनँ।

मैले ठूलो स्वरले कुकुरको बथानलाई हप्काएँ- ‘ हैट साले कुकुर!’
मैले कुकुरलाई त्यसरी हप्काएको देखेर साना नानीहरु जिल्ल परे। ठूली नातिनी अर्निकाले मेरो हात जोडले समात्दै केटाकेटीले बोल्ने अंग्रेजी भाषामा सोधिन् – ‘हजुरबुबा ‘साले’ भनेको के हो?’

त्यसपछि जिल्ल पर्ने पालो मेरो। जिब्रोबाट नफुत्किनुपर्ने शब्द निस्किहाल्यो, फुत्केपछि त्यसको सामना गर्नैपऱ्यो। बोल्दा प्याच्च नबोल्नु, बस्दा थ्याच्च नबस्नु भनेर बूढापाकाले त्यसै भनेका रहेनछन्। मैले उनले बुझ्ने अंग्रेजी भाषामा भनेँ, ‘नानु, साले कुकुर भनेको भुस्याहा कुकुर (Street dog) हो।’

हामी कुकुरको बथानलाई छल्दै बिस्तारै अगाडि बढ्दै थियौ। पछाडि फर्केर उनी पनि कराइन्, ‘साले नेपाली कुकुर!’

त्यसमा ती सानी बालिकाको केही दोष थिएन। त्यो उनले नेपाल वा नेपालीलाई हेपेर बोलेकी थिइनन्। उनको बालसुलभ मस्तिष्कमा जे छाप परेको थियो त्यही व्यक्त गरेकी थिइन्। बेलायतमा बस्दा उनले कहीँ पनि र कहिल्यै पनि एउटै छाडा कुकुर देखेकी थिइनन्, भेटेकी पनि थिइनन्। त्यसरी हुलका हुल छाडा कुकुर भेटिने त नेपालमा मात्र हो भनेर सोचेकी थिइन्, सायद। त्यसैले स्वस्फूर्त  रूपमा मैले बोलेको शब्द टिपेर उनले ‘साले नेपाली कुकुर’ भनेकी थिइन्।

मलाई भने ती सात वर्षकी अबोध बालिकाको निर्दोष शब्दले भित्रैदेखि हल्लायो। मलाई एउटा प्रश्नले घरीघरी झकझकाई रहयो- के हाम्रो नियति त्यही एक टुक्रा बासी रोटीका लागि लुछाचुँडी गर्ने गल्लीको भुस्याहा कुकुरजस्तै हो त?

अनि मैले पाएको अर्को ज्ञान यस्तो थियो- केटाकेटीलाई कहिल्यै कमजोर नआँक्नु। उनीहरुको अगाडि असभ्य शब्द कहिल्यै नबोल्नु।

भुस्याहा कुकुरको प्रसंगलाई यहीँ थाती राखेर हामी गल्लीवासीले भोगिरहेका अरू जल्दाबल्दा समस्यातिर पनि जाऔँ। हाम्रो गल्लीमा अरू पनि धेरै चिजको आतंक छ तर हामी बेसहारा छौँ। गल्लीमा गाँजा चरेसको कुलतमा फस्नेहरुको अखडा छ। दिउँसै अड्डा जमाएर बस्छन्। केही भन्न हुँदैन, उल्टै हप्काउँछन् – ‘गल्लीमा नखाए हामी कहाँ गएर खाने? मूलसडकमा पुलिसले समात्दैन?’ नाजवाफ उल्टै छेउ लागेर हिँड्नुपर्छ।

हाम्रो गल्ली कलेजमा प्लस टु पढ्ने भर्खरका केटाकेटी लठारिने उपयुक्त ठाउँ पनि भएको छ। कसैकसैले त हाम्रो गल्लीलाई प्रेमगल्ली पनि भन्दा रहेछन्। नभनून् पनि किन जबकि गल्लीको पर्खालमा ढेपिएर केटाकेटीहरु दिनदहाडै अंगालोमा बेरिएर ओठ जोरेर बसेका हुन्छन्। गृहिणी, छोरीचेली अनि मजस्ता ज्येष्ठ नागरिकहरू त्यो दृश्य देखेको नदेखे झैँ गरी हिँड्नुपर्ने विवशता छ। सबेरै दूध लिन जाँदा गल्लीमा प्लस टु पढ्ने केटाकेटीको त्यस्तो हर्कत देखेर एक दिन मेरी श्रीमतीलाई सही नसक्नु भएर कराइछिन् पनि- ‘तिमीहरुलाई लाज लाग्दैन? त्यही हो तिमीहरुले स्कुल कलेजमा सिकेको? पढ्न आएको कि गल्लीमा नारिन आएको?’

कतिलाई मात्र हप्काउने? अनि कतिलाई मात्र सम्झाउने? साँझ बिहान हिँड्नेलाई त तै सम्झाउन बुझाउन सकिएला, रातबिरात गल्लीमा कुउद्देश्यले हिँड्ने निशाचरलाई के गर्ने? हामी गल्लीवासी चिन्ताग्रस्त छौँ। केही दिनअघि मात्र मेरो घरअगाडिको छिमेकीको घरमा सुतेकै ठाउँबाट छोराले विदेशबाट पठाएको महँगो आइफोन, घडी र श्रीमतीले किस्तावन्दीमा भर्खर किनेको नयाँ स्यामसुङको मोबाइल फोन चोरी भयो। चोरले बैंकको एटीम कार्ड र चेकबुकसम्म बाँकी राखेनछ।

हाम्रो गल्लीमा त्यसै त दिउँसै अध्यारो हुन्छ। रातको त झन् के कुरा गर्नु? गल्लीको बाटोको बिजुलीको खम्बामा बत्ती नभएको वर्षौँ भइसक्यो। वडामा भन्न गयो- नाइँ कहिल्यै भन्दैनन् तर काम कहिल्यै बन्दैन। यो गुमनाम गल्लीको चासो पनि कस्लाइ होस्? त्यसकै फाइदा उठाउनेमा छन् – चोरी चकारी गर्नेहरु, कुलतमा लागेकाहरू र अश्लील कार्य गर्नेको जमात।

यस्तो लाग्छ, हामी गल्लीवासीको कुनै हैसियत छैन। हाम्रो गुमनाम गल्ली महानगरपालिकाको रेडार स्क्रिनमा पनि कहिल्यै परेन। छिमेकको नयाँ नागार्जुन नगरपालिकासँग जोडिएको रिङरोडले काटेको एउटा धोतीजस्तो सानो चोसोमा उसको के ध्यान जाओस्? हाम्रो नियति त प्रत्येक वर्ष वडा कार्यालयमा धाएर सम्पीत्तकर र सेवा शुल्क बुझाउनु हो अनि प्रत्येक पाँच वर्षमा मतदान केन्द्रमा गएर मेयर, उपमेयर, वडा अध्यक्ष र वडा सदस्यको उमेदवारलाई भोट हाल्नु हो। चुनावका बेला हामीले उमेदवारको मुख पनि देख्न पाउदैनौँ, भलै तिनका एजेन्टले चुनाव चिह्न भएको पर्चा त्यही गल्लीमा फ्याँकेर जान्छन्।

त्यस्तै स्थिति रहे अर्को चुनावमा सायद भोट हाल्न पो गइँदैन कि? अथवा गल्लीको घर बेचबाच गरेर अन्त कतै पो गइन्छ कि? त्यो मेरो आवाज होइन हामीले भोगिरहेको वर्तमानको आवाज हो। जहाँ सुधार र अग्रगमनको संकेतसम्म छैन, त्यो ठाउँमा मरिहत्ते गरेर किन बस्नु? त्यस्तै बत्तीमुनिको अँध्यारोमा कहिलेसम्म उज्यालोको आसमा बस्नु? अनि कवि भूपीले वर्षौँ पहिले लेखेझैँ जहाँ रोग, भोक र शोकको वास भइरहन्छ त्यस्तो ठाउँलाई कति दिन आफ्नो भनेर बस्नु?

मानिस आफ्नो जन्मथलोबाट त्यसै पलायन हुँदैनन्। कोही अवसरको खोजीमा विदेश भासिन्छन्, धेरै बाध्यताले। त्यही बाध्यताले गर्दा तन्देरी जोश भएका गरिखाने हातहरु सयौँको संख्यामा प्रतिदिन विदेशमा पलायन भइरहेका छन्। मेरो स्थिति पनि झन्डै त्यस्तै छ। हाम्रो गल्लीको यस्तै स्थिति रहिरहे म पनि यस ठाउँबाट कुनै दिन पलायन हुन सक्छु।

तर यसका लागि हामी पनि उत्तिकै जिम्मेवारी छौँ। हामी खालि अर्काको मुख ताक्छौँ। आफूले भने सिन्का पनि भाच्दैनौँ। हाम्रै गल्लीको कुरा गरौँ न। यतिका वर्ष सम्म हाम्रो गल्लीको सुधारका लागि हामीले के गर्‍यौँ? हामीले गल्लीको बाटोको लागि एक इन्च पनि जग्गा नछाडी घर ठडयायौँ। पर्खाल लगायौँ तर गल्लीलाई फराकिलो पार्नुपर्छ भनेर कहिल्यै सोचेनौँ। उल्टो भाँजो हाल्ने काम गऱ्यौँ। सुधार आफैँबाट गर्नुपर्छ भनेर अरुलाई भट्यायौँ तर आफूले भने कहिले सिकेनौँ।

अब त चाहेर पनि म केही गर्न सक्ने अवस्थामा छैन। २०७२ सालको भुइँचालोले पनि केही परिवर्तन ल्याउन नसकेको हाम्रो गल्ली मैले चाहेर मात्र के गर्नु? त्यसैले चाहेर पनि नचाहेर पनि गल्लीको घरबाट विस्थापित हुनु वा पलायन हुनु मेरो नियतिजस्तै भएको छ। कथंकदाचित मैले आफ्नो उर्वर जीवन बिताएको मेरो प्यारो शान्तिदीप गल्लीबाट पलायन भए नै भने पनि त्योसँगको मेरो आत्मीय सम्बन्ध जीवन पर्यन्त रहिरहनेछ। मेरो पलायनलाई त्यो गुमनाम गल्लीले मेरो रहर हैन बध्यता भनेर बुझिदिनेछ। त्यति भए मलाई काफी।

प्रकाशित: ३ कार्तिक २०८१ १०:५०

प्रतिक्रिया

One thought on “गुमनाम हाम्रो गल्ली

  1. “साले नेपाली भुस्याहा कुकुर” अवोध वाक्य तर मन छोयो । पढ्दै याँ पुग्दा हाँसो थामिएन ।

    गुमनाम छैन, गल्ली छ र त त्यहाँ सौन्दर्य शास्त्रका विविध कला झल्कन्छन् ती मानवीय हुन् या पशुवत ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + ten =