यी हुन् दसैँमा घन्किने १० गीत

सुस्मिता बजगाईं २२ असोज २०८१ ७:३९
50
SHARES
यी हुन् दसैँमा घन्किने १० गीत

काठमाडौँ- नेपालीको ठूलो महान् चाड हो दसैँ। दसैँमा देवी दुर्गाको उपासना गरिन्छ। आफन्तहरूबीच भेटघाट गरिन्छ। मान्यजनबाट टीकाजमरासहित आशीर्वाद लिइन्छ। अनि यसै बेला गीतसंगीतमा पनि रमाइन्छ।

घटस्थापनादेखि बझ्ने मालश्री धुनले दसैँको उमंग ल्याउँछ। बर्सेनि  घन्किने कालजयी दसैँ गीतले त दसैँको संस्कृतिलाई अझ बलियो बनाउन सघाउँछ।

दसैँमा सधैँ पुरानै गीतले चर्चा पाउँछ। त्यसो त नयाँनयाँ गीत पनि सार्वजनिक भइरहन्छन्। सर्जक तथा गायकले पनि तीज सकिएलगत्तै दसैँगीत सार्वजनिक गर्न थाल्छन्। बर्सेनि भ्युज पनि राम्रै गएको हुन्छ तर चाडपर्वमा भने पुरानै गीत बज्छन्। सामाजिक सञ्जाल टिकटक, फेसबुक रिल इन्ट्राग्राममा पनि पुरानै गीतका टुक्का चर्चित बनिरहेको देखिन्छ। हर्ष, उमंग, परिवारिक भेटघाट, परदेशीको पीडा समेटिएका गीत बढी लोकप्रिय छन्। यस्ता छन् दसैँमा बज्ने चर्चित १० गीत :

दसैँ आयो

प्रत्येक दसैँमा सबैभन्दा बढी बझ्ने गीत हो ‘दसैँ आयो’। फिल्म ‘मुगलान’ मा समावेश गरिएको यो पुरानो गीत हो। कतिपयले यही गीत घन्किएपछि दसैँ लागेको महसुस गर्छन्। गीतले पनि छुट्टै उमंग थपिदिन्छ।

गीतले परदेश गएका दाजुभाइ गाउँ फर्केको र साथीभाइसँग रमाइलो गरेको, पिङ खेलेको याद ताजा गराइदिन्छ। लोकनाथ सापकोटाको शब्द रहेको गीतमा उदितनारायण झा, दीपा झा, नारायण लामा जुना प्रसाईको स्वर छ। सुरेश अधिकारीले संगीत भरेको गीतमा अमुल कार्कीको संगीत संयोजन छ।

दसैँतिहार

सुगम पोखरेलको स्वर र संगीत रहेको ‘दसैँ तिहार’ धेरै गुञ्जिनमा पर्छ। यो गीत सार्वजनिक भएको एक दशक बितिसक्यो। अहिलेसम्म पनि गीतको उत्तिकै चर्चित छ।
गीतले बाल्यकालमा चंगा उडाउने गरेको र परदेशीको पीडा झल्काउँछ। रवि श्रेष्ठको शब्द रहेको गीतमा विवश पौडेलले संगीत संयोजन छ।

बाटो हेरे हुन्छ है घरमा

परदेशी घर फर्किएको खुसीको भाव बोकेको गीत ‘बाटो हेरे हुन्छ है घरमा’ अर्को चर्चित गीत हो। कमेरो र रातो माटोले घर लिप्ने गरेको, लिंगे पिङ हाल्ने, खेतबारीमा धान झुल्ने समय, तिहारमा दाजुभाइ आउँदाको उमंगलाई गीतमा समेटिएको छ। यो गीत बज्दा सबैको मनमा उमंग छाउँछ साथै आनन्द पनि।

गीतमा रेशम सापकोटा, प्रकाश क्षेत्री र विष्णु माझीको स्वर छ। गीतमा गायक रेशमकै शब्द र संगीत भरेका छन्।

दसैँ नै हो कि

गायक योगेश्वर अमात्यको स्वर रहेको ‘दसैँ नै हो कि यो मेरो दशा’ बोलको गीत पनि बर्सेनि घन्किन्छ। गीतले निम्नवर्गीय परिवारको समस्यालाई ‘पप रक’ शैलीमा प्रस्तुत गरिएको छ।

दसैँ दशा बनेर आएको भन्दै गीतमार्फत परिवारको नयाँ कपडा, मिठा परिकार र छोराछोरीको खेलौना किनिदिने रहर पूरा गर्न नसकेको गरिबीको पीडा पोखिएको छ। यसै गीतको ‘पैसा न सैसा टिकी त्यास् त्यास्’ पनि चर्चित छ।

दसैँतिहार आइसक्यो

विष्णु माझीको एकल स्वर रहेको ‘दसैँतिहार आइसक्यो’ बोलको गीत पनि श्रोतादर्शकको रोजाइमा पर्छ। गीतमार्फत दसैँमा बाटो कुरेर बसिरहेकी प्रेमिकालाई सम्बोधन गरिएको छ। यो सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीत हो।

नमुछे आमा दहीमा टीका

परदेशी घर फर्किन नपाउँदाको पीडा समेटिएको मार्मित गीत ‘नमुछे आमा दहीमा टीका’ दसैँमा धेरै घन्किन्छ। दुई दशक अघि रेकर्ड गरिएको गीत निकै मार्मिक छ। लक्ष्मण रायमाझीको शब्द रहेको गीत नारायण रायमाझीले संगीत र कुन्दन राईको संगीत संयोजनमा बनेको छ।

दसैँ तिहार आयो

सुनिल गिरीको शब्द,स्वर र संगीत रहेको ‘दसैँ तिहार आयो’ दर्शकको रोजाइमा परेको अर्को गीत हो।  गीतमार्फत चाड सुरु भएपछि गाउँ फर्किनेको ताँती लागेको, लाहुरे गाउँ फर्केको, परिवारमा छाएको हर्षलाई समेटिएको छ।

गावैँ रमाइलो

‘गावैँ रमाइलो’ बोलको दसैँ गीत पछिल्लो समय चर्चित बनेको छ। दसैँमा मनमा पीर भए पनि गाउँघरको रौनकले मन प्रफुल्ल हुने गाउँ रमाइलो हुने भाव समेटिएको गीतमा विमल परियार र सविता परियारको स्वर छ। शिव हमालको शब्द र संगीत रहेको गीतमा सुनिल परियारले संगीत संयोजनमा बनेको छ।

दसैँ तिहारमा रातै रमाइलो

नन्दु परियार र शान्तिश्री परियारको स्वर रहेको ‘दसैँ तिहारमा रातै रमाइलो’ गीत  चर्चित छ। खेम सेञ्चुरीको शब्द र संगीत रहेको गीतमा बीबी अनुरागीले संगीत संयोजन गरेका छन्।

दसैँ र तिहारमा टीका र जमरा

गत वर्ष सार्वजनिक भएको गीत ‘दसैँ र तिहारमा टीका र जमरा’ बोलको गीत पनि चर्चित बनेको छ। गीतमा परदेशीलाई आफ्नै गाउँ फर्कि आउन आग्रह गरिएको छ।सिमरन परियार र नरेश विकको स्वर रहेको गीतमा विमल अधिकारीको शब्द र संगीत छ।

प्रकाशित: २२ असोज २०८१ ७:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 6 =