दसैँ बिदामा राजधानी आसपासका चर्चित घुम्ने ठाउँ

हिमाल प्रेस २६ असोज २०८१ १४:४३
58
SHARES
दसैँ बिदामा राजधानी आसपासका चर्चित घुम्ने ठाउँ

काठमाडौँ- नेपालीको महान् चाड दसैँ, तिहार र छठ पर्वको लामो बिदामा परिवार एवम् साथीसँगीसँग घुम्न जाने चलन बढ्दो छ। घुम्ने ठाउँको पहिचान गर्न भने धेरैलाई सजिलो छैन।

काठमाडौँ उपत्यकालाई वरिपरिबाट घेरेका पहाडी चुचुरा तथा उपत्यका आसपासमै दुई दर्जन जति घुम्ने रमणीय ठाउँ छन्। उपत्यकाको धुलो, धुवाँ र भीडभाडबाट दसैँमा घुम्न जाने पर्यटकीय गन्तव्यहरु यी हुन्–

शिवपुरी

काठमाडौँको उत्तरमा पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको शिवपुरी डाँडामा धेरैको गन्तव्य थलो हो। यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढी हुन्छ। काठमाडौँ उपत्यकाको मनोरम दृश्य देखिने शिवपुरीमा पारिवारिक सुविधासम्पन्न होटेल, रिसोर्ट तथा होमस्टे खुलेका छन्।

घना वनमा उकालो यात्रा गर्दै शिवपुरी डाँडा पुगेपछि हिमशृंखलाको सुन्दर दृश्य देखिन्छ। बूढानीलकण्ठबाट निकुञ्ज प्रवेश गर्दै शिवपुरी डाँडा जान सकिन्छ। शिवपुरी डाँडा काठमाडौँ उपत्यकाको दोस्रो अग्लो चुचुरो हो।

सुन्दरीजल

काठमाडौँभित्र पर्ने अर्को घुम्ने ठाँउ हो सुन्दरीजल। प्राकृतिक रूपमा रमणीय सुन्दरीजल धेरैले आफ्नो घुम्ने गन्तव्य छान्ने गरेका छन्। सुन्दरीजलमा खान, बस्न र दिन बिताउन उचित सुविधायुक्त होटल साथै रिसोर्ट तथा होमस्टे छन्। सुन्दरीजलमा स्वदेशी मात्र नभएर विदेशी पर्यटक समेत घुम्न पुग्ने गरेका छन्। सुन्दरीजल पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ। यस ठाउँको वातावरणमा भरपुर आनन्द लिन सकिन्छ।

लाँकुरी भन्ज्याङ

चक्रपथबाट १३ किलोमिटर दूरीमा रहेको लाँकुरी भन्ज्याङ उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ। लाँकुरी भन्ज्याङबाट उपत्यकाका तीनवटै सहरको दृश्य देख्न सकिन्छ।

ललितपुरमा रहेको लाँकुरी भन्ज्याङबाट हिमशृंखला अवलोकन गर्न सकिन्छ। प्याराग्लाइडिङ गर्न र सूर्योदय हेर्न पनि लाँकुरी भन्ज्याङ धेरै पर्यटक पुग्ने गरेका छन्। सल्ला, कटुस र लालीगुराँसको वन हुदै लाँकुरी भन्ज्याङ पुगिन्छ। होटल, रिसोर्ट तथा होमस्टेहरु पनि प्रशस्तै पाइन्छ।

गोदावरी

गोदावरी आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्छ। ढकमक्क फुलेका फूल, विभिन्न जडिबुटी र वनस्पति उद्यान, जल उद्यान, बगैंचासहित जंगलले घेरिएको गोदावरीमा स्वदेशी मात्र नभएर विदेशी पर्यटकसमेत घुम्न पुग्छन्। गोदावरीलाई प्राकृतिक सौन्दर्ययुक्त पनि मानिन्छ।

जैविक विविधताको भण्डार र खुला संग्रहालयका रूपमा रहेको गोदावरीमा होटल, रिसोर्ट तथा रेस्टुरेन्टको पनि सुविधा छ। ललितपुरको सातदोबाटो चोकबाट ७ किलोमिटर दुरीमा रहेको गोदावरी प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेका लागि उत्तम गन्तव्य मानिन्छ।

घ्याम्पे डाँडा

सूर्य विनायकबाट तीन किलोमिटर दक्षिण भेगमा अवस्थित रमणीय स्थल हो घ्याम्पे डाँडा। घ्याम्पे डाँडा भक्तपुरको महत्त्वपूर्ण पर्यटकीय क्षेत्र मानिन्छ।
पर्यटकलाई थप आकर्षणका लागि छोटो र लामो दुरीका जिप लाइन‚ पाइलट बाबा र पिकनिक स्थलहरू खोलिएका छन्। यहाँ तस्बिर खिच्न र टिकटक लगायतका भिडियो बनाउनेको दैनिक भीड हुन्छ।

घ्याम्पे डाँडाबाट दोर्जे लाक्पा, लाङटाङ, गणेश हिमाल, हिमालचुलीसम्मका हिमशृंखला देखिन्छ भने काठमाडौं उपत्यकालाई राम्ररी नियाल्न सकिन्छ। सूर्यविनायक नगरपालिका–७ गुण्डूस्थित घ्याम्पे डाँडामा स्थानीय पहिचान कायम हुने गरी घ्याम्पो निर्माण भएको हो।

नगरकोट

मानिसहरू राजधानीको भीड छलेर नगरकोट खुबै जाने गरेका छन्। नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृश्यावलोकन लागि प्रसिद्ध छ। आसपासका दृश्य हेर्न त्यहाँ भ्युटावर पनि बनाइएको छ। नगरकोटबाट हिमाल चुचुराहरूमा धौलागिरि, कञ्चनजंगा, मनास्लु, गणेश, लाङटाङ, गौरीशंकर, चोयु, ल्होत्से, मकालु हिमालको दृश्य हेर्न पाइन्छ।

नेपाल घुम्न आएको विदेशी पर्यटक एक पटक नगरकोट पुगेर मात्र फर्किन्छन्। नगरकोट काठमाडौँ उपत्यका नजिकको प्रसिद्ध रमणीय स्थलभित्र पर्छ।

चन्द्रागिरि

चन्द्रागिरि धार्मिक पर्यटन, दृश्यावलोकन र ऐतिहासिक दृष्टिकोणले महत्त्वपूर्ण छ। चद्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिर छ। नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहले पहिलो पटक चन्द्रागिरि डाँडाबाट काठमाडौँ उपत्यका नियालेको इतिहास छ ।

चन्द्रागिरि डाँडा भौतिक सुविधासम्पन्न पर्यटकीय गन्तव्यका रूपमा विकास भइसकेको छ। चन्द्रागिरि जानको लागि काठमाडौँको थानकोटदेखि केबुलकारको सुविधा उपलब्ध छ । चन्द्रगिरि थानकोटबाट पदयात्रा पनि जान सकिन्छ। उपत्यकाको दृश्यावलोकनका लागि चन्द्रागिरि राम्रो गन्तव्य हो, जहाँ सुविधा सम्पन्न होटल पनि छन्।

चिसापानी

काठमाडौँ उपत्यकाबाट नजिकै भएकाले आन्तरिक र बाह्य दुवै थरिका पर्यटक चिसापानीमा पुग्ने गर्छन्। चिसापानी काठमाडौँ, सिन्धुपाल्चोक र नुवाकोट जिल्लाको सिमानामा पर्छ।

चिसापानी अब्बल गन्तव्य भएका कारण यहाँबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्ने सकिन्छ। एक रात बसेर सगरमाथा, माछापुच्छ्रे, गौरीशंकर, अन्नपूर्ण, लाङटाङ, गणेश हिमालको दृश्यावलोकन गर्न चिसापानी आन्तरिक बाह्य पर्यटक पुग्ने गरेका छन्।

ककनी

हरियाली वातावरण भएको ककनी धेरै आन्तरिक पर्यटकको रोजाइमा पर्छ। काठमाडौँबाट ३२ किलोमिटर उत्तरतर्फ अवस्थित ककनी ट्राउट माछाको स्वाद लिन चाहनेका लागि उत्तम पर्यटकीय गन्तव्य हो। ककनी स्ट्रबेरीका लागि प्रख्यात मानिन्छ।

नुवाकोट जिल्लामा पर्ने ककनीबाट दक्षिणमा सिम भन्ज्याङ र दामन, पूर्वमा काठमाडौँ उपत्यकाका केही भाग, उत्तरमा गणेश हिमालको मनोरम दृश्य देखिन्छ। ककनी हरियाली वातावरणका कारण घुम्नका लागि उपयुक्त मानिन्छ।

फूलचोकी

फूलचोकीबाट प्राकृतिक दृश्यावलोकन साथै तराईका समथर फाँटदेखि उत्तरका गगनचुम्बी हिमालको दृश्यावलोकन गर्न सकिन्छ। ललितपुर जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल फूलचोकीबाट काठमाडौं उपत्यकालाई घेरेर राखेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हेर्न पाइन्छ।

काठमाडौँबाट करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित फूलचोकीमा हिउँदको समय हिउँ खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटक जाने गरेका छन्। त्यहाँ फूलचोकी माईको मन्दिर पनि छ। पछिल्लो समयमा फूलचोकी पनि धेरै आन्तरिक र बाह्य पर्यटक घुम्न जाने गरेका छन्।

धुलिखेल

धुलिखेल पर्याप्त पूर्वाधारका साथै मनोरम दृश्यले भरिपूर्ण छ। सार्वजनिक यातायातको सुविधा उपलब्ध हुने धुलिखेल परिवारका साथ जाने मानिसका कारण सबै मौसममा व्यस्त देखिन्छ। धुलिखेलको डाँडामा पिङ, घोडा र अन्य खेल्ने सुविधा छन्।

उपत्यकामा बस्नेहरुका लागि धुलिखेल अर्को गन्तब्य हो। होटेल–रिसोर्टको राम्रो सुविधा रहेको धुलिखेल सबै प्रकारका पर्यटकलाई सुविधा दिन सक्ने क्षमता राख्छ। धूलिखेल प्रेमी जोडीका लागि घुम्ने उपयुक्त गन्तव्य हो।

भोटेचौर

प्राकृतिक सुन्दतामा रमाउन मात्र होइन, तस्बिर खिचेर आनन्द लिन भोटेचौरमा पारिवारिक घुमघामका लागि राम्रो मानिन्छ। पछिल्लो समय यहाँ घुम्ने जाने आन्तरिक पर्यटकको भीड लाग्ने गरेको छ।

‘मिनी इलाम’ को उपनामले चिनिएको काठमाडौँबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरैको रोजाइमा पर्छ। सिन्धुपाल्चोकको भोटेचौरमा सुविधायुक्त होटलहरुको राम्रो व्यवस्था छ। भोटेचौरको चियाबगानले इलामको झल्को दिन्छ। भने भोटेचौरको चिया बगान पछिल्लो समयमा सुटिङ गर्ने स्थल बनेको छ।

चित्लाङ

चित्लाङमा बाख्राको दूधबाट निर्मित चिज, ट्राउट माछा तथा स्थानीय स्तरमा उत्पादित तरकारीका लागि चर्चित ठाउँ हो। सहरी व्यस्तताबाट केही समयको लागि टाढिन चाहने आन्तरिक पर्यटकका लागि उत्कृष्ट स्थानका रुपमा पनि विकास भएको छ।

काठमाडौंको थानकोटबाट करिब १६ किलोमिटर दूरीमा अवस्थित चित्लाङ नेपालको मध्यभागमा रहेको मकवानपुर जिल्लाको एक गाउँ हो। होमस्टेको समेत विकास भइसकेका कारण चित्लाङ एक सुविधासम्पन्न गन्तव्यका रूपमा स्थापित भइसकेको छ।

सूर्यचौर

माछापुच्छ्रे, गणेश, लाङटाङ, जुगल लगायत हिमाललाई आँखै अगाडि देख्न सकिने भएकाले हिमालको दृश्यावलोकन गर्नका लागि पनि उत्कृष्ट गन्तव्य हो सूर्यचौर। सेता हिमशृंखला, काला चट्टानी पहाड, हरिया डाँडादेखि नागबेलीझैँ बगिरहेका नदीसम्म सूर्यचौरबाट अवलोकन गर्न सकिन्छ। यसका कारण पनि पछिल्लो समय सूर्यचौर घुम्न जाने पर्यटक बढेका छन्।

नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ मा पर्ने सुर्यचौरमा शिवपुरी राष्ट्रिय निकुञ्ज परिसरमा पर्छ। राष्ट्रिय निकुञ्जभित्रको बाटो हुँदै सूर्यचौर जाँदा जंगलभित्र चराचुरुंगीको चिरबिर, किरा फट्यांग्राको आवाज र झरनाको छङछङ सुन्दै जान पाइन्छ। सूर्यचौर काठमाडौँ उपत्यकाबाट करिब २५ किलोमिटरको दूरीमा छ।

प्रकाशित: २६ असोज २०८१ १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast