 राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा।
                             राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवलशमशेर राणा।
                                            काठमाडौँ– पूर्वपञ्चहरूको पार्टी भनेर चिनिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा फेरि गुटको राजनीति बलियो हुन थालेको छ। २०४६ सालपछि गठित राप्रपा त्यतिबेलै दुई गुटमा थियो। एउटा गुटको नेतृत्व सूर्यबहादुर थापाले गर्दथे भने अर्को गुटको नेतृत्व लोकेन्द्रबहादुर चन्दले। २०५१ सालदेखि केही वर्ष थापा र चन्दलाई कांग्रेस-एमालेले पालैपालो प्रधानमन्त्री बनाइदिएका थिए।
गुट बलियो हुँदै गएपछि थापा राप्रपाबाट अलग भएर जनशक्ति पार्टी गठन गरे। कमल थापा राप्रपा नेपालतिर लागे भने चन्द राजनीतिबाट अवकाश भइसकेका छन्। राप्रपा राष्ट्रवादीको अभ्यासमा पनि केही नेताहरूले गरिसकेका छन्।
तीन वर्षअघि भएको महाधिवेशनमा पनि कमल थापा गुटलाई कमजोर पार्न राजेन्द्र लिङ्देन गुट सफल भएको थियो। यो गुट सक्रिय हुँदा पञ्चायत, बहुदल र गणतन्त्र तीनै व्यवस्थामा शक्तिशाली पदमा पुगेका कमल थापा किनारा लागेका छन्।
अहिले राप्रपामा अध्यक्ष लिङ्देन गुट र महामन्त्री धवलशमेर राणा गुट सक्रिय छन्। दुवै गुटमा भाबी नेतृत्वका लागि तानातान हुन थालेको छ। २०८२ मा हुने महाधिवेशनमा अध्यक्षमा को बन्ने भन्ने विषयमा आन्तरिक शक्ति संघर्ष चर्किएको नेताहरूले बताएका छन्।
राप्रपाको महाधिवेशन निर्धारित कार्यतालिकाअनुसार २०८२ मा हुनुपर्छ। यद्यपि महाधिवेशन त्यही वर्ष हुन्छ भन्ने निश्चित छैन। किनभने राप्रपाको एक महाधिवेशन अवधि चार वर्षको हो।
पार्टी विधानअनुसार कार्यकाल एक वर्ष लम्याउन सकिन्छ। चार वर्षभित्रै महाधिवेशन हुने-नहुने पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा भर पर्ने नेताहरूले बताउँछन्। लिङ्देनलाई समयमै महाधिवेशन गराउन राप्रपामा राणा पक्ष दबाब अभियानमा कस्सिएको छ।
राणा पक्षले लिङ्देनले पदावधि बढाउन चाहे पनि नदिने गरी खबरदारी गरिरहेको हो। यसै विषयलाई लिएर कहिले पार्टी बैठकमा भनाभन पर्छ भने कहिले पदबाट हटाउने काम भइरहेको छ।
मुख्यतः अबको महाधिवेशनमा वर्तमान अध्यक्ष लिङ्देन र वर्तमान महामन्त्री राणाबीच प्रतिस्पर्धा हुने सम्भावना छ। राप्रपाका नेताहरूका अनुसार लिङ्देन नेतृत्वमा दोहोरिन चाहिरहेका छन् भने राणा जसरी पनि नेतृत्वमा पुग्ने गृहकार्यमा जुटेका छन्। उपाध्यक्ष विक्रम पाण्डे, डा. प्रकाश लोहनी पनि अध्यक्षको दौडमा छन्। खास टकराव भने लिङ्देन र राणाबीच हुने उनीहरू बताउँछन्।
पछिल्ला घटनाले पनि यस्तै परिदृश्य देखिन्छ। अहिले लिङ्देनपछि सबैभन्दा शक्तिशाली नेता हुन् राणा। उनी महाधिवेशनमा निर्वाचितमध्ये एक महामन्त्री हुन्। राणा यसअघि संगठन विभाग प्रमुख थिए।
महामन्त्री राणा उपचारका लागि भारतमा भारतमा रहेका बेला अध्यक्ष लिङ्देनले संगठन विभागको प्रमुख खोसेका छन्। राणाको ठाउँमा बुद्धिमान तामाङलाई जिम्मेवारी तोकिएको छ।
राप्रपामा संगठन विभाग महत्त्वपूर्ण मानिन्छ। राणालाई कमजोर बनाउन अध्यक्ष लिङ्देनले संगठन विभाग प्रमुखको जिम्मेवारी खोसेको आरोप उनी निकट नेताहरूको छ। राप्रपाका वरिष्ठ नेता प्रकाश लोहनीले राणालाई हटाउनु ‘अविवेकी र अमानवीय निर्णय’ भनेका छन्। उनले लिङ्देनले बिरामीलाई थप तनाव दिएको आरोप लगाए।
संगठन विभागमा मात्रै होइन, अन्यत्र पनि अध्यक्ष लिङ्देनले राणालाई कमजोर बनाउन सक्रिय छन्। पार्टीले गर्ने भनिएको आन्दोलन परिचालन समितिको संयोजकमा राणा छन्। त्यसलाई काउन्टर दिँदै अध्यक्ष लिङदेनले आफ्नै नेतृत्वमा मूल आयोजक समिति बनाएका छन्।
यसअघि राणाले बोलाएका केही बैठकमा लिङ्देनले निष्क्रियता देखाएको पार्टी नेताहरूको भनाइ छ। यति मात्र होइन, पार्टीभित्रै लिङ्देनमाथि प्रश्न उठ्ने गरेको छ। आफूमाथि विश्वास भएकै कारण पाँचौँ शक्ति बनेको दाबी लिङ्दनेको छ। राप्रपाका एक नेताका अनुसार लिङ्देन नेतृत्वमा दोहोरिने विषयमा पनि अलगअलग कुरा उठाइरहेका छन्।
‘बैठकमा पनि कहिले उठ्ने कुरा गर्नुहुन्छ, कहिले नउठ्ने। खास कुरा बुझ्न सकिएको छैन,’ ती नेता भन्छन्, ‘तर व्यवहार हेर्दा दोहो¥याउने जस्तो देखिन्छ।’
यसअघि ‘नवीन राप्रपा’ र युवा नेतृत्वको विषय उठान गरेर लिङ्देनले अध्यक्षमा बाजी मारेका थिए। त्यसबेला राणाले अध्यक्षमा लिङ्देनलाई समर्थन गरेका थिए। तर अहिले यी दुईकै बीच आन्तरिक कलह बढेको छ।
अहिले लिङ्देन पक्षमा उपाध्यक्ष बुद्धिबहादुर तामाङ, ध्रुवबहादुर प्रधानलगायतका नेता छन्। राणा पक्षमा भने विक्रम पाण्डेदेखि लोहनी, महामन्त्री कुन्ति शाहीको समर्थन रहेको नेताहरूको दाबी छ। राप्रपाका ती नेताका अनुसार अहिले राप्रपामा राणा पक्ष बलियो छ। राणा पक्षबाट दुईजना अध्यक्षका आकांक्षी भएमा भने फेरि लिङ्देन बलियो बन्ने निश्चित छ।
पछिल्लो समय लिङ्देनले पार्टी प्रवेशको कार्यक्रम अघि बढाएका छन्। पार्टी बलियो र ‘नवीन’ बनाउन प्रवेश कार्यक्रम थालेको लिङ्देन निकट नेता मोहन श्रेष्ठले बताए। राणा पक्ष भने अन्य दलका कार्यकर्ता प्रवेश गर्दैमा पार्टी बलियो हुन नसक्ने अडानमा छ। उनीहरू अब ‘हिन्दु राष्ट्र र राजसंस्था’ का पक्षमा आन्दोलन थाल्नुपर्ने बताइरहेका छन्।
लिङ्देन भने राप्रपा सबैले बुझ्न थालेको दाबी गर्छन्। केही दिनअघि लिङ्देनले १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा मनोनीत गरेका थिए। उनीहरूको उमेर ४० वर्षमुनि छ।
लिङ्देन निकट मानिने उपाध्यक्ष ध्रुबबहादुर प्रधान संयोजक रहेको छनोट समितिले केन्द्रीय सदस्य छनोट गरेको थियो। केन्द्रीय सदस्य छनोटमा पनि विवाद आएको थियो। जनजातितर्फ राई-लिम्बुलगायतका नपरेको विषय राणा समूहले उठाएको थियो।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकार बन्दा समेत लिङ्देन सरकारमा जान तयार रहेको राणा पक्षको दाबी छ। तर राणा पक्षले विरोध गरेपछि लिङ्देन पछि हटेका थिए।
राप्रपामा कुनै बेला थापा समूह र चन्द समूह थिए। सूर्यबहादुर थापाको निधनपछि उनको गुट कमजोर छ। चन्द समूहका लोकेन्द्रबहादुर राजनीतिबाट अवकाश जीवनमा छन्।
अब राप्रपामा लिङ्देन–राणा गुट बनेको छ। यी दुवै युवा नेतृत्वको वकालतबाट स्थापित नेता हुन्। अघिल्लो महाधिवेशनमा लिङ्देनकै प्यानलबाट राणाले महामन्त्री जितेका थिए। राणा समूहका नेताहरू नेता युवा नेतृत्वको अडानकै कारण नेतृत्व लिङ्देनमा आएको थियो। चन्द, लोहनीले छाडेपछि त्यसबेला टक्कर कमल थापा र लिङ्देनबीच भएको थियो।
केही नेताहरू भने लिङ्देनभन्दा राणा युवा नेतृत्वको पक्षपाती भएको दाबी गर्छन्। उनीहरू राणाले लिङ्देनलाई राप्रपामै राख्न अध्यक्षमा दाबी नगरेको सुनाउँछन्। ‘लिङ्देनजी कमल थापासँगै पनि जान सक्नुहुन्थ्यो तर धवलदाइले अध्यक्षमा उठाइदिनुभयो’, राणा समूहका एक नेता भन्छन्।
अब कसरी अघि बढ्ला अन्तरसंघर्ष?
संगठन विभाग प्रमुख हटाएपछि विवाद बढेको छ। राणा भारतमै रहेकाले यसबारे टिप्पणी गरेका छैनन्। उनी निकट भने आक्रामक देखिन्छन्। राणा समूहका नेता सगुन लावती अबको बैठकमा यो विषय उठान हुने बताउँछन्। उनी बिरामी भएको अवस्थामा पदबाट हटाउनुलाई गम्भीर मान्नुपर्ने सुनाउँछन्।
लिङ्देन पक्षका नेता श्रेष्ठ भने पदबाट हटाउने र चयन गर्ने अधिकार अध्यक्षलाई भएको बताउँछन्।
‘हिजो पार्टीको अध्यक्ष भएर आएकाले पनि, भोलिका दिनमा पार्टी अध्यक्ष हुन्छु भन्नेहरूले पनि र पार्टी सदस्य सबैले बुझ्नुपर्ने कुरा के भने नि राप्रपाको विधानमा विभाग प्रमुखहरूको मनोनयन पार्टी अध्यक्षले गर्ने भन्ने स्पष्ट व्यवस्था छ, कुनै समितिको बैठकले गर्ने होइन’, श्रेष्ठले भनेका छन्, ‘यसलाई तरंगित बनाउने, भ्रम सिर्जना गर्ने काम वाञ्छनीय हुँदैन।’
अञ्जना साह प्रकरणमा पनि टकराव थियो राप्रपामा
पार्टीभित्रको अन्तरविरोधको असन्तुष्टिले साधारण सदस्यसमेत नरहने गरी राप्रपाबाट बाहिरिएकी नेत्रृ अञ्जना शाह रावल अन्ततः पार्टीमै फर्किएकी छन्। शीर्ष नेताहरूले राजीनामा नदिन गरेको आग्रह र विषम परिस्थितिलाई ध्यानमा राख्दै आफू जिम्मेवारीमा फर्किएको शाहले जनाएकी छन्। उनी अध्यक्ष लिङ्देनले पार्टी चलाउने शैलीबाट असन्तुष्ट हुँदै अलग्गिएको राप्रपा नेताहरू बताउँछन्।
अञ्जना राप्रपाको जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी अध्यक्षमा निर्वाचित भएकी उनी एक्लो संगठनकी अध्यक्ष थिइन्। उनलाई पार्टीमा नहुँदा राप्रपामाथि प्रश्न उठ्ने भन्दै कतिपयले आलोचना गरेका थिए। लिङ्देनले भने शाहलाई फर्काउन पहल गरेनन्। उनी राणा समूहकै नेताको पहलमा पार्टीमा फर्किइन्।
‘मलगायत मेरो परिवार सम्पूर्ण साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएका थियौँ। पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीलगायतको आग्रहमा पार्टीमा फर्किन लागेकी छु’, उनले भनेकी छन्, ‘देशभरका साथीहरूको आग्रह र हिन्दु राष्ट्र, राजासहितको प्रजातन्त्रको आगाध मायाले सक्रिय बन्न लागेकी हुँ।’
लिङ्देन पक्षीय नेताहरूले सांसद बन्ने आशा राखेर शाह पार्टीमा फर्किएको बताएका थिए। किनभने राप्रपाको खस आर्य कोटामा गीता बस्नेतपछि दोस्रो नामावलीमा शाह थिइन्। यो क्लस्टरबाट एकजना मात्र सांसद बन्न पाउने भएकाले बस्नेत स्वतः परिन्। बस्नेत सहकारी प्रकरणमा मुछिएपछि त्यो क्लस्टरबाट आफू सांसद बन्न पाउने बुझेर शाह फर्किएको लिङ्देन समूहको तर्क थियो।


 
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
 