पुस्तक चर्चा

‘केवाफुङ्को गीत’मा कविताको वजन

विवेक विवश रेग्मी १९ असोज २०८१ १९:२३
12
SHARES
‘केवाफुङ्को गीत’मा कविताको वजन

कविता लेखेजस्तो गर्नु र लेख्नुमा फरक छ। अग्रज अनुहारहरू खगेन्द्र संग्रौला र जसराज किरातीहरू कहिलेकाहीँ कविताबारे चिन्तत गर्छन्। उनीहरूको भोगाइ, परिवेश र विचार फरक भए पनि कविताप्रतिको चिन्तन र धारणा लगभग उस्तै हुन्छन्।

संग्रौला मिडियामा छाउँछन्, बेलाबेला। उनको कविताबारेको चिन्ता सञ्जालमा पनि उत्तिकै आइरहन्छ। जसराज भने बोल्दैनन्, न त मिडियामा नै आउँछन्। उनी आफैसँग बात मार्छन् र अहिले लेखिएका कविताबारे गम्भीर बन्छन्, चिन्तन गर्छन्। यो गम्भीरता उनी कहिलेकाहीँ कविता बुझेकाहरूसँग र मन मिलेकाहरूसँग कहिलेकाहीँ पोख्छन्।

यी उदाहरणलाई एक बिम्बका रूपमा लिन सकिन्छ। अहिले लेखिएका कविताहरूप्रति अघिल्लो पुस्ताका थुप्रै कवि, लेखकहरू सन्तुष्ट रहेको पाइँदैन। उनीहरूका चिन्ता र गम्भीरता साहित्यका कार्यक्रममा प्रशस्तै सुन्न पाइन्छन।

कविता लेख्नु भनेको कतै वाचन गर्नका लागि मात्रै लेख्नु होइन। कुनै कार्यक्रम विशेषका लागि मात्रै लेख्नु पनि होइन वा भनौँ कविता लेख्नु भनेको कुनै पत्रिकामा आफ्नो अनुहार छाप्न र सञ्जालमा रमाउनका लागि पनि हुँदै होइन। कविता त त्यसरी लेखिनुपर्छ कि, हृदय नै त्यहाँ पोखियोस्। यसैगरी हृदयबाटै लेखिएका कविताहरूको सङ्ग्रह हो ‘केवाफुङ्को गीत।’

पछिल्लो छिमलका कवि गगन योक्पाङ्देनको पहिलो कविता सङ्ग्रह हो ‘केवाफुङ्को गीत’। सङ्ग्रहमा ३८ वटा कविता छन्। ‘केवाफुङ्’ शब्द लिम्बू समुदायको मिथमा आधारित छ।
‘उपहार’ शीर्षकबाट सुरु भएको कविताक्रम ‘साइक्याट्रिक वार्ड’मा देशमा पुगेर सकिन्छ।

कविताको रियालिटी सो पोयट आइडलको पहिलो सिजनबाट चर्चामा आएका गगनका कवितामा रैथाने बिम्बको प्रयोग छ। ती कविताले पहिचानप्रतिको प्रेम, देशको चिन्ता, भुँइमान्छेका आवाज, पर्यावरणप्रतिको गम्भीरता र बिदेसिएकाहरूलाई आफ्नै माटोमा बाँच्नका निम्ति संघर्ष गर्नुपर्छ भन्ने सन्देश दिएका छन्।

गगनका कविता उनीजस्तै सरल छन् तर गहिरा छन्। पाठकले असाध्यै सरल तरिकाले उनका कविताहरू बुझ्न सक्छन्। उनका कवितामा कला मात्रै छैन, विचार पनि छ। कला र विचारको समिश्रणबाट गगनका कविताहरू साँच्चै कविता बनेका छन्।

राज्यले थिचोमिचोमा पारिएका समुदायबाट आफ्ना मुद्दालाई उनले कवितामार्फत सुन्दर शिल्पमा सशक्त ढंगले लिपिबद्ध गरेका छन् । जस्तै :

कुनामा भयभीत भएर बसिरहेकी छोरीलाई
उचालेँ, अङ्गालेँ, बोकेँ किनकि
म त्यस पुस्तकका केही रद्दी पृष्ठहरू यसअघि नै
च्यात्न चाहन्थेँ÷जलाउन चाहन्थेँ
तर कसोकसो हिम्मत जुटिरहेको थिएन ।

छोरीलाई स्याबासी दिएँ अनि उनका चकचके हातहरूलाई
प्रेमपूर्वक चुमेँ । (छोरीको चकचक)

उक्त कवितामा गगनले पहिचानको निकै बलियो आवाज बोलेका छन्। आफ्नी छोरीले संविधानका केही पृष्ठहरू कोरेपछि, मेटेपछि, च्यातेपछि, थुकेपछि कसैले थाहा पाउने डरले अगेनामा हाल्छिन्। तर उनी आफैँ चाहे पनि सकिरहेका हुँदैनन् ती पृष्ठहरू च्यात्न।

यो कविताले राज्यप्रति व्यंग्य मात्रै होइन, पहिचानको आवाजमा समेत बलियो गरी उभिएको छ। कविले कवितामार्फत आफ्ना र आफ्ना पहिचानका आवाज बोल्नुपर्छ भन्ने उक्त कविताले चित्रण गरेको छ।

उनले आफ्ना कवितामार्फत पहिचानको स्वरबारे बोलेका छन्।  उनका प्रेम कविताहरू पनि उस्तै सुन्दर छन्, सरल छन् र गम्भीर पनि।

उँधो बगिरहेको नदीकिनार छेउ बसेर सोल्टिनी
एकजोर ढुकुरको प्रेमिल धाननाच हेरिरहेकी छिन्
उनलाई पनि हठात् उठेर पालाम नगाऊँ त
कहाँ नलागेको हो र?
तर कोइलीले एकैछिन भनेर लगेको उनको मखमली स्वर
अझै फिर्ता गरेको छैन
गुराँसले एकैछिन भनेर फुलेको उनको बैँस वसन्त
अझै सकिएको छैन।

उँधो बगिरहेको उमेरको नदी किनार छेउ बसेर
साइँली सोल्टिनी आफ्नै छाया बगाइरहेकी छिन्। (साइँली सोल्टिनीको बैँस)

प्रेम यसरी पनि लेखिन्छ भन्ने उदाहरण हो माथिका कवितांश। उनले अत्यन्तै सरल ढंगबाट प्रेम कविता लेखेका छन्। उक्त कविताले प्रेम मात्रै होइन जीवन पनि व्यक्त गरेको छ। जीवनभर बाँचे पनि उमेरको नदी उँधोउँधो बगिरहेको कुरालाई कवितामार्फत भन्नु कवि गगनको शक्ति हो।

गगनले केवाफुङ्को गीतमा वजनदार कविताहरू समावेश गरेका छन्। सङ्ग्रह प्रकाशनका लागि वा कवि हुनका लागि धेरै कविता आवश्यक नपर्ने तर वजनदार कविता भए पूर्ण हुने उनका कविता पढेपछि बुझ्न सकिन्छ।

एक दशकयता कविता लेखनमा सक्रिय गगनले आफूले बाँचेको समय र समाजलाई कवितामा कलात्मक ढंगले प्रस्तुत गरेका छन्। मोरङको उत्तरी भेग मिक्लाजुङमा बसेर कविता साधना गरिरहेका गगनका समकालीनहरूमा उनका कविताले आशाका किरण सञ्चार गरेको पाइन्छ।

आफूले बाँचनेको परिवेशका कथा लेखिनुपर्छ भन्ने उदेश्यले कविता लेखेको बताउँदै कवि गगन भन्छन्, ‘मेरा लागि कविता लेख्नु भनेको, सिर्फ लेख्नका लागि मात्रै होइन। मानिस जन्मेपछि अर्थहरूसहित बाँच्नुपर्छ। कविता लेखनले मलाई बाँच्नुको अर्थ दिन्छ। मेरो समयको कथा र मैले बाँचेको अनुभव मैले लेखिन भने अरु कसैले लेख्दैनन्। त्यसकारण लेख्छु म।’

मान्छेमा यति धेरै भोक छ कि
उसले जल, जमिन, जङ्गल, खनिज, वनस्पति
खाँदा–खाँदा सिङ्गो पृथ्वी नै निल्न आँटिसक्यो। (खतरनाक भोक)

यो कवितांशमा पर्यावरण र पृथ्वीप्रतिको गहिरो चिन्तन छ। मान्छेले मान्छेको अस्तित्व मेट्न लागेको कुरालाई कवितामार्फत चित्रण गरिएको छ। त्यस्तै बाटोको आयुमा मान्छेको जीवनदेखि मृत्युसम्मको कुरा, एउटा घरको दिनचर्या शीर्षकमा जीवनको लयबारे, छोरीसँग एउटा मजदुर शीर्षकमा उज्यालो खोजीका लागि खुसी खोजिरहेको कुरा, उपेक्षित गीतका हरफहरू शीर्षकमा आफ्नैबारे नसोचीकन शासकका लागि बाँचेकाहरूको कथा भनेको छ। जस्तै :

के फेरि तिमी आफ्नै शरीरको छाला काढेर
शासकको लागि नयाँ जुत्ता सिलाउने बारे सोच्दैछौ?
एकछिन पख!
सयौँ चिरा परेको तिम्रो खुट्टालाई पनि त
चाहिन्छ एकजोर जुत्ता!
के तिमीले आफ्नो खुट्टाबारे
कहिल्यै सोचेका छौ? (उपेक्षित गीतका हरफहरू)

समग्रमा कविताहरूले भुँइमान्छेका आवाज बोलेको छ। ग्रामीण परिवशेका कथाहरू भनेको छ। आफूले बाँचेको समयबारे चित्रण गरेको छ।

अचेल आमा मेरा अनिँदा आँखाहरू देखेर
सम्झाइरहनु हुन्छ
छोरा पीर नली मान्छेको दुःख त मरेपछि मात्रै सकिन्छ।

उसो भए म बाँच्न चाहन्छु। (आमाप्रति)

यो कवितामा आफ्नी आमाले जीवनमा बिताएका अनेकन् छटपटीका रातहरूलाई कलात्मक ढंगबाट उधृत गरिएको छ। ‘पट्यारलाग्दा रातहरूलाई आमाले ढिकीभरी कुटेको र जाँतोभरी पिसेको’ भन्दै कविले गाउँले जीवनशैलीका कुरासमेत यस कवितामा जोडेका छन्।

त्यसो त कवितामा केही शब्दहरू कताकता धेरै भएकोजस्तो महसुस हुन्छ। कुनैकुनै शब्दहरू कविले बढी खर्चिएका हुन् कि भन्ने अनुभूति हुन्छ। आशा छ दोस्रो संस्करणमा ती कुराहरू सच्चिएर आउलान्। अहिलेलाई भने कवि गगनलाई कविताको अनन्त यात्राका निम्ति शुभकामना…।

पुस्तक : केवाफुङ्को गीत
विधा : कविता
लेखक : गगन योक्पाङ्देन
प्रकाशक : माया पब्लिकेशन
मूल्य : ३९९।-

प्रकाशित: १९ असोज २०८१ १९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =