ललितपुरका बाढीपहिरो पीडितले खानेपानी पाएनन्

हिमाल प्रेस १५ असोज २०८१ १५:०२
6
SHARES
ललितपुरका बाढीपहिरो पीडितले खानेपानी पाएनन्

ललितपुर- गोदावारी नगरपालिका-१० को चापागाउँको राधा घिमिरेका लागि अत्यासलाग्दो विपद् टरे पनि खानेपानी धारामा नआउँदाको पीडाले सताएको छ। ‘विपद्बाट त जोगियो तर चार दिनदेखि धारामा पानी आएको छैन। कसरी गुजारा चलाउने?’उनले भनिन्।

गोदावारी-१० प्याङ्गाउँकै रीता अर्याललाई पनि धारामा पानी नआउँदाको छटपटी उस्तै छ। ‘खानेपानी नहुँदा गुजारा टार्नै गाह्रो हुने भयो, विपद् पीडितको हालत अझै कस्तो होला?’ अर्याल भन्छिन्।

हालैको वर्षामा गोटीखेल बाढीपहिरोका कारण तहसनहस बनेको छ। हराभरा क्षेत्र एक्कासि बगरमा परिणत भयो। यसले गर्दा खानेपानीको स्रोत पनि पुरिएको र समस्या उत्पन्न भएको बताउँछन् महाङ्ककाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक बिष्ट।

‘यहाँ हिजोसम्म टेलिफोन सम्पर्क नै भएको थिएन, खानेपानीको पनि उस्तै समस्या छ, न त कतै गएर पानी ल्याउन सक्ने सम्भावना छ, बाटो पनि छैन,’ उनले भने, ‘विशेषगरी पहिरोले खानेपानीको स्रोत पुरिँदा चन्दनपुर, मानीखेल, टण्डनपुरवासीलाई समस्या भएको छ।’

गत शुक्रबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण राज्यले ठूलो धनजनको क्षति बेहोर्नुपरेको छ। नेपालीको महान् चाड दसैँ नजिकिँदै गर्दा यो प्राकृतिक विपद्को घटनाले दुई सयभन्दा बढीले कालमै ज्यान गुमाउनुपर्‍यो भने कतिको घर भत्किने, पुरिने हुँदा अब कसरी गुजारा चलाउने भन्ने चिन्ताले सताएको छ।

विपद् प्रभावित क्षेत्रहरुका बासिन्दाले भोग्नुपरेको चरम खानेपानीको समस्या तत्काल समाधान गर्नुपर्ने दायित्व सरकारलाई थपिएको छ। खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका अध्यक्ष राजेन्द्र अर्यालले बाढीपहिरोको कारण खानेपानीको चरम समस्या भोग्नेलाई राज्यले खानेपानीको राहत वितरण गर्नुपर्ने बताए।

‘बाढीपहिरोको जस्ता प्राकृतिक विपद् आएमा खानेपानी तथा सरसफाइको वैकल्पिक पूर्वतयारी हुन सकेन,अब विपद्पछि पनि समस्या पहिचान गरेर समयमा नै राहत उपलब्ध गराउन आवश्य छ,’अर्यालले भने।

जनस्वास्थ्यविद् डा.समीर अधिकारीले विपद्को बेलामा स्वच्छ खानेपानी र सरसफाइको अभावका कारण सर्वसाधारणमा झाडापखालाजस्ता रोग लाग्नसक्ने बताए।

‘बाढीपहिरो,डुबानपछि जनस्वस्थाका ठूला समस्या आउन सक्छ,फोहोर पानी पिउँदा पखला,टाइफाइड, छालारोग तथा अन्य दीर्घकालीन रोगसमेत लाग्न सक्छ,’ उनले भने,‘विपद्पछि पानीको स्रोत सफा गर्नुपर्छ, पानी उमालेर मात्रै प्रयोग गर्नुपर्छ।’

प्रकाशित: १५ असोज २०८१ १५:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =