काठमाडौँसहितका क्षेत्रमा भीषण वर्षापछि आएको बाढीपहिरोले धेरै जनधनको क्षति पुर्याएको छ। बर्खायाम सकिएपछि आएको वर्षाले अनपेक्षित रूपमा क्षति भएका कारण भूगर्भशास्त्री र मौसमविद्हरूका लागि पनि बढी चासोको विषय भएको छ। दुई दिनसम्म भएको अविरल वर्षा र त्यसपछि आएको बाढीपहिरोमा परी कम्तीमा डेढ सय जनाको मृत्यु भइसकेको छ। बर्खायामको अन्त्यतिर यति ठूलो क्षति हुने गरी बाढी आउनुको कारण, मौसम परिवर्तनलगायतका विषयमा प्राकृतिक विपद् विद् डा. धर्मराज उप्रेतीसँग किरण पौडेलले गरेको कुराकानी :
बाढीपहिरोले देशभर अत्यन्तै बढी क्षति गर्यो। यो अनपेक्षित थिएन र?
नेपालमा पानी पर्ने ८० प्रतिशत कारण समुद्रमा भर पर्छ। २० प्रतिशत पानीचाहिँ नेपालभित्रको नदीनालाको वायुका कारण पर्छ।
यसपालि बंगालको खाडीमा न्यूनचापीय अवस्था सिर्जना भयो। समुद्रमा भएको वायुसँग अर्को वायु जोडिएपछि न्यूनचापीय वायुको सिर्जना भयो र त्यो वायु उत्तरतर्फ (नेपाल) तिर अघि बढ्यो। यही कारण नेपालको मध्यभागमा बढी वर्षा भयो। यसलाई सजिलो गरी के भन्न सकिन्छ भने न्यूनचापीय वायुले समुद्रको जलवाष्पयुक्त वायुलाई बोकेर नेपालतर्फ ल्यायो।
यो वर्षा नेपालभर नहुनुको कारण के हो?
यो वर्षा पश्चिमसम्मै पुग्ने थियो। जलवाष्पयुक्त वायु पश्चिमतिर जाने क्रममा अहिले मध्यपश्चिम र सुदूरपश्चिममा चाहिँ वायु फिर्ती (मनसुन ल्याउने वायु) हुने अवस्थामा पुगेको थियो। त्यो वायु पञ्जाब पुगिसकेको थियो। फर्किँदै गरेको वायुचाहिँ हल्का र पानीविहीन हुन्छ। यसैले पश्चिम क्षेत्रमा पानी परेन। यता पूर्वतिर चाहिँ जलवाष्पयुक्त वायु भएकै कारण भीषण वर्षा भएको हो।
काठमाडौँमा परेको वर्षा कतिको ठूलो हो? यस्तो वर्षा कतिकति वर्षमा हुन्छ?
वर्षा कति ठूलो भन्ने कुरा यसअघि कति वर्षअघि यतिको वर्षा भएको थियो भन्नेमा भरपर्छ। कतिपय वर्षा ५० वर्षमा एकपटक हुन्छ त कतिपय १०० वर्षमा हुन्छ। १०० वर्षमा आउने वर्षा यो होइन। यो ५० वर्षको आसपास वा ५४ वर्षमा एक पटक आएको वर्षा हो। यस्तो वर्षा सधैँ भइरहने होइन।
ठूलो वर्षाकै कारण काठमाडौँमा बढी क्षति भएको हो?
काठमाडौँका संरचना १०-२५ वर्ष आसपासको वर्षा मात्र धान्ने खालको छ। यसभन्दा माथिल्लो किसिमको वर्षा भएमा धान्न गाह्रो हुन्छ। हाम्रो राज्य संयन्त्रले यस्तो किसिमको वर्षाको अनुमान गरेकै हुँदैनन्। यही कारण यस्तो विपत्ति आएको हो।
काठमाडौँमा प्रभाव धेरै पर्नुको कारण के हो?
पहिलो, हाम्रो संरचना बाढी नथेग्ने किसिमको हुनु। अर्को, संरचना बनाउँदा सचेतना नपुर्याउनु हो। जस्तै, नख्खुमा बाढी नआउन माथिल्ला तटीय क्षेत्रमा कस्तो संरचना बनाउनुपर्छ भन्ने हेक्का राख्नुपर्छ। नख्खुमा बाढी आउनुको कारण टीकाभैरवमा के हुँदैछ भन्ने बुझ्नुपर्छ। त्यहाँ बालुवा-गिट्टी निकालेपछि कंक्रिट त नख्खुमै आउने हो। त्यस्ता विषयमा ध्यान दिन सकिएको छैन।
यो किसिमको वर्षा कहिले भएको थियो?
ठ्याक्कै तथ्यांक त भन्न सकिँदैन। तर सन् २००८, २०१४, २०१७ र २०२१ मा पनि यस्ता वर्षा भएका छन्। कति वर्ष पहिले वर्षा भएका थिए भन्ने चाहिँ हामीसँग मापनका अनुसार पनि हुन्छ। जस्तै, मेलम्चीमा कति पानी पर्थ्यो भन्ने कुरा दुई वर्षअगाडिको तथ्यांक भेटिँदैन। किनभने गत वर्ष ठूलो वर्षापछि मात्र त्यहाँ मापनयन्त्र राखिएको छ। यसबाट के भन्न सकिन्छ भने विगतमा ठूला वर्षा भएका थिए होला तर हामीले मापन गरेका थिएनौँ।
केही दिनसम्म चर्को घाम लाग्यो। त्यसपछि ठूलो वर्षा भयो। अब के पनि यस्तै मौसम हुने सम्भावना छ?
अब यस्तो हुँदैन। अब आउँदो बिहीबार वर्षा हुने सम्भावना छ। नभए सामान्य (छिटफुट) वर्षा मात्र हुने सम्भावना छ।
नेपालमा कहिले हिमपहिरो आउने त कहिले हिमपोखरी फुट्ने जस्ता भइरहेका छन्। अहिले फेरि भीषण वर्षा भयो, यस्तो किन भइरहेको छ?
यो चाहिँ विश्व तापमानमा आएको परिवर्तन हो। संसारभरकै तापक्रम बढिरहेको छ। केही वर्षअघिसम्म विश्वको तापक्रम १.१ डिग्री औसतमा वृद्धि थियो। तर अहिले १.२ डिग्रीभन्दा बढी भइरहेको छ। तर यसको प्रभाव सबैतिर फरक छ। अर्थात् नेपालमा फरक छ भने साउद अफ्रिका पनि फरक छ।
तापक्रममा वाष्पीकरणमा परिवर्तन हुन्छ। समुद्री सतहको वाष्पीकरणमा आएको लामो समयको परिवर्तनपछि एलमिना र लामिनाको सतह बढ्छ। एलमिनो र लाल्मिनाचाहिँ लगभग ३-४ वर्षमा फ्रिक्वेन्सीमा परिवर्तन हुन्छ। त्यो परिवर्तनपछि यस किसिमको विपद् आउँछ। यसैमा आउने परिवर्तनले कहिले हिमताल फुट्छ त कहिले भीषण पानी पर्छ।