महादेव प्रायः नेपालको पहाड कन्दरा र गुफामा लुकेका भेटिन्छन्। घुम्दै जाँदा धेरै ठाउँमा भेटिन्छन् गुप्तेश्वर महादेव। यस्तो गुप्तवासमा के छ त्यस्तो? के छ देवाधिदेव महादेवलाई पनि लुक्नैपर्ने कारण? घोर कलियुगमा नेपाल भन्ने देशका इन्द्रहरू सहकारीको रकम हजम गर्ने जस्ता कुकृत्य गरेर विदेशमा गएर लुक्छन्।
त्यो त बुझिएकै थियो। तर महादेव…? ॐकारेश्वर प्रणव, संहारकर्ता जसको आदि र अन्त्य थाहा छैन, अनन्त ब्रह्मका स्वामीलाई गुप्तवास बस्नुपर्ने कारण के रहेछ? कैलाशबाट निस्केर थपक्क मनहरा नदीको शिरमा, पहाडको कन्दरामा आएर थुपुक्क लुक्नुपर्ने। उनी लुक्नुको कारण जे भए पनि उनैबाट ठाउँले नाम पाएको छ। ठूलासँग जोडिएर नाम पाउनु भनेको गर्वकै विषय हो। त्यही ठाउँको पदयात्रा गरिँदैछ।
कागेश्वरी मनोहराको नामबाट नगरपालिकाको नाम कागेश्वरी मनोहरा नगरपालिका भएको छ। जसरी धार्मिक र प्राकृतिक नामहरूको संयोजन भएको छ उसैगरी यहाँको पवित्रता, आस्था र जनजीवन पनि अन्तरघुलित छ। स्थानीयतामा धार्मिक सहिष्णुता, पारस्परिक सहकार्य र स्वच्छताको दृश्य प्रस्टै देखिन्छ। धार्मिक आस्था र प्राकृतिक सम्मोहन आह्लादित छ, मनोहारी छ।
शरद्कालीन दिनमा पदयात्राको रोमाञ्चकतामा रुमल्लिन घरबाट निस्कँदा आकाश सफा होला भन्ने कामना गरिएको थियो। तर बर्खाको तुष अझै मेटिएको थिएन। आकाशतिर फर्केर हेर्दा बादलका झुण्ड देखेर भन्न सकिन्थ्यो, मनसुन छोडेर जाने सुरसार गर्दै रहेको झल्को पनि थिएन। पदयात्रीलाई घामको ताप भन्दा बादलको शीतलता प्रियः हुन्छ। बाटोमा हिँड्दै गर्दा सोचियो कि आजको दिन घाममा डढ्नुपर्ने भएन। बरु झरीमा दरिन नपरे हुन्थ्यो भन्ने कामना गरियो।
सुन्दरीजल पुग्दा बिहानको आठ बजेको थियो। पदयात्राको सुरुवात यहीँबाट गर्ने निधो गरियो र झोला भिरेर बाटो लागियो। यहाँबाट कागेश्वरी, मणिचूड हुँदै बज्रयोगिनी भएर घर फर्कने योजना थियो। हुन त यी ठाउँहरूमा उपलव्ध दुईपांग्रे वा चारपांग्रे सवारीमा यात्रा गरेर पनि पुग्न सकिन्छ। तर पदयात्रा गरेर हिँड्नुको यात्रानुभूतिभित्रको सुखानुभूति सवारीसाधनमा सरर हिँडेर प्राप्त गर्न सकिंँदैन।
ढकालगाउँ पहिलो प्रवेश मार्ग थियो। शिवपुरी पहाडलाई उत्तर पारेर दक्षिण पाखोमा अवस्थित ढकालगाउँ आफैँमा प्राकृतिक सुन्दरताले भरिएको त छ नै यहाँबाट उपत्यकाको हरिया फाँट, र सहरिया बस्तीको अवलोकन गर्न पनि उत्तिकै सजिलो ठाउँ रहेको छ।
सहरको किनारमा भएर पनि ग्राम्य परिवेश, सुन्दर र सजिएका आधुनिक घरहरू, घरआँगनमा बोटबिरुवा, थाँक्रामा काँक्रा, बोडी, घिरौंँला झुण्डिएका सम्मोहनकारी दृश्य देखिए। घरको केही दुरीमा धानका लहलहाउँदो झुलिरहेका धानका बालाले शोभित खेतमा पाक्न ठिक्क परेको धानका सुनौला दृश्यहरू लोभलाग्दा थिए। किसानको परिश्रम पाकेर घर भित्रिन ठिक्क परेका थिए।
हिँड्दै गएपछि माता शैलपुत्री, गुप्तेश्वर महादेव, सप्तऋषि धाम भएको ठाउँमा पुगिन्छ। यहाँ कलात्मक पानीको धारासहित चौरासी लिंग परिक्रमाका लागि लिंग स्थापना गरिएको छ। सप्तऋषिहरूको दर्शन गरेर चौरासी परिक्रमा गरिसकेपछि उकालो लाग्नुपर्छ। सिमेन्टले बनाइएका अनन्त सिँडीहरू चढेर गएपछि मनोहराको मनोरम दृश्य देखिन्छ।
झरनाको पानीको बाछिटा वेष्टित, पहाडको कन्दरामा गुफाभित्र बसेका महादेव भेटिन्छन्। त्यहीँ देखिन्छन् कागेश्वरी अर्थात् कागरुपी पार्वती। झरनाको पानीले बनाएको पानीको कुण्डमा बनाइएको प्रस्तरमाथि कागेश्वरीको प्रतीक काग देखिन्छ। कुण्डभन्दा केही मिटर तल पार्वतीको मन्दिर छ। जाँदाजाँदै पहिला पार्वतीको दर्शन गरियो। त्यसपछि कुण्ड र कागेश्वरीको। केही खुट्किला सिँढी चढ्दै उक्लिएर गुफामा बसेका देवाधिदेव महादेवको दर्शन गरियो।
यो एउटा तीर्थस्थल हो। यहिंको पर्वतबाट निसृत नदी मनहरा भएकी छिन्। मनहराले सिञ्चित फाँट धेरैका लागि अन्नप्रदा जीवनदायिनी हुन्। काठमाडौँ उपत्यकाभित्र बग्ने महत्त्वपूर्ण नदीमध्ये मनहरा पनि एक हो। काठमाडौँमा बसेर मनोहराको उद्गमस्थलमा रहेको कागेश्वरी मन्दिरसम्म पुग्न नसक्नु जीवनमा एउटा ठूलै अपूर्णता रहेको महसुस गरियो।
देशदेशान्तर घुमेर के गर्नु? आफ्नै आँगनको तुलसीको मठ नटेकेपछि, नदेखेपछि। यो यस्तो ठाउँ हो जहाँबाट ठूलै शिक्षा आर्जन गर्न सकिन्छ। घरमा ठाकठुक पर्यो भने बस्तीबाट नधेरै टाढा न नजिक ठिक्कको ठाउँमा जंगल पनि होस्, पानी पनि होस्, नजिकै बस्तीमा पसेर मागेर खान पनि पाइयोस्, यस्तो ठाउँमा आएर ओडारमा लुक्नुपर्ने रहेछ। अहिलेको भाषामा भन्दा महादेवले त्यो समयमा पार्वतीसँग घुर्की लगाएर घर छोडी यहीँको ओडारमा आएर लुकेर बसेका होलान्। यस्तै अनुमान गरियो।
पदयात्रामा कुरा मिल्ने साथी पाउनु भनेको आफ्नो सत्कर्मकै नतिजा हो भन्ने सम्झनुपर्दछ। त्यसमाथि अलिकति भौतिक, अलिकति आध्यात्मिक चेत र चेतना भएको ब्यक्ति पाउनु भनेको सुनमा सुगन्ध भनेजस्तै हो। भर्खरै मानसरोवर यात्रा गरेर कैलाश परिक्रमा गर्दै योगसाधनासमेत गरेर फर्किएकी स्निग्ध सत्कर्मवाला तेजस्वी देवी भेटिइन्। रसिली, फरासिली मात्र नभएर ज्ञानी र गुणी पनि। छोटो भेटमा त्यस्तै अनुभव गरेँ।
‘तीर्थ गरेर फर्किएकाको स्पर्ष गरेर पुण्यलाभ गर्नु भन्छन् अग्रजहरू। तपाईँ पनि त्यो अवसरबाट बञ्चित नहुनु होला। त्यति मात्र कहाँ हो र? म त अस्ति भर्खर सगरमाथाको आधारशिविर पनि पुगेर आएको। उचाइको प्रभाव पनि पर्दछ है,’ आफ्नो बखान गरिन् सहयात्री पाण्डेजीले। बाटोभरि गफिँदै गयौँ। साहसका कुरा, अभिप्रायका कुरा, पुण्य र पापका कुरा अनि कुराका कुरा।
सबैभन्दा गाह्रो काम भनेको कुराका कुरा हो। अनुत्पादक तर यसको निर्माण र विनिर्माणका लागि प्रशस्त ऊर्जा खर्च गर्नुपर्ने हुन्छ। साँच्चै भन्ने हो भने पहाड चढ्न जत्तिकै कठिन हो कुराको कुरा। ढाडबाट पसिना चुहाउँदै देशका कुरा र विदेशका कुरा पनि गर्यौँ। अरू त अरू स्वदेशकै पनि नेताका कुरा, नेता पत्नी, भाइभारदार र तिनका आसेपासेहरूका कुरा पनि गर्यौँ।
आँखा त बन, माटो, ढुंगा, जंगल, पात पत्कर, लता लहरा हेर्नमा नै व्यस्त थियो। पत्थरमा ठोकिएर कराउँदै झर्ने पानीको आर्तनादमा थियो। पहाड रसाएर झर्ने तुरतुरे नादहरूमा थियो। कलकल बज्ने ध्वनिमा थियो। कान चराहरूको गानमा थियो। पाइतालाहरू पहाड उक्लनमा तल्लीन थिए। खाली एउटा मन थियो; त्यसलाई बन्धनमुक्त गरेर चर र अचरहरूको प्रशंसा, प्रताडना र प्रतिक्रियामा खर्च गरियो।
उकालो लाग्दै जाँदा गागलफेदीमाथिको गागल पुगिन्छ। जंगलहरूको बीचमा पनि गागलमा बस्ती छ। बस्तीसम्म पुग्न ग्रामीण सडक पुगेको छ, कतै ढलान गरेको, कतै कच्ची, कतै ढलान भत्किएर बनेको खाल्डेसडक छ। जे भने पनि गाउँमा सडक पुगेको छ र त्यहाँको जनजीवनमा यसको प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ।
त्यही बाटो हिँड्दै गर्दा त्यसको प्रभाव प्रत्यक्ष देखिन्छ। बरु गाउँमा पर्याय पर्यावरण, त्यसको संरक्षणजस्ता विषयमा जनचेतना नपुगेको जस्तो देखन्छ। भर्खरै बर्खाको खहरे भेलले गाउँघरको कान्ला, डोर र बाटोमा पानीले बगाएर ल्याई छोडेको प्रदूषित प्लास्टिकजन्य कुँडाकर्कट, पानीका बोतल, बियर र अन्य पेय पदार्थका बोतल छरपस्ट प्रदूषित अवस्थामा रहेको देखियो।
हिँड्दै जाँदा लोकतान्त्रिक सहिद उद्यान पुगिन्छ। यहाँ अर्को कागसँग जम्काभेट हुन्छ। पहिलो कागेश्वरीमा भेटिएको काग स्वर्णवर्णको थियो भने यहाँको काग कालो थियो। अर्थात् उसको आफ्नो निजी स्वरुपको। कागलाई दूतका रुपमा लिइएको कारणले होला यस्को चुच्चोले चिठी च्यापेको थियो। कुइँकेल गाउँबाट उकालो लाग्दै गर्दा अकस्मात् पुराना सहकर्मी मित्रद्वय ढकाल र आचार्य भेटिए। उनीहरू पनि लौरो समातेर जंगलको आनन्द लिन पदयात्रा गर्दै रहेछन्। मणिचूडको दहमा पौडी खेलेर आचार्यजीले योगको कठिन आसनहरू गरेर देखाउँदा दंग परेर हेरियो। मानिसको शरीरलाई जसरी तालिम दिइयो त्यो त्यसैगरी बन्दो रहेछ। यो उमेर पनि शरीरको लचकता र ऊर्जा प्रशंसायोग्य थियो।
त्यहाँबाट कुइँकेल गाउँ पुगियो। त्यहाँबाट ठाडो उकालो जंगलको बाटो लागियो। बाटोमा ससाना बस्तीहरू पन भेटिए। कतिपय पुराना घरहरू परित्यक्त अवस्थामा रहेको पनि देखियो। यहाँका मानिस सहर पलायन भएको भन्नेमा विमति राख्नुपर्ने देखिएन।
कहीँकतै कसैले आफ्नो गाउँको घरलाई फार्म हाउसका रुपमा प्रयोग गरेको र आफ्नो बसाइ सहरको कुनै कुना सरेको दृश्य फार्म हाउसको बाहिर सवारीसाधनको उपस्थितिले देखाउथ्यो। यस्तो दृश्यले दुईटा कुरा बोलिरहेको थियो। एउटा, गाउँका मानिसको आम्दानी बढेको छ, दैनिकी फेरिएको छ र उनीहरूको रहनसहनमा परिवर्तन आएको छ। दोस्रो, गाउँमा रोजगारी छैन, जीवन कष्टकर छ र बिदेसिनुपर्ने बाध्यकारी अवस्था विद्यमान छ।
उकालो लाग्दै जाँदा कच्ची बाटो भेटियो। कच्ची बाटो हिँड्दै जाँदा नेपाली सेनाको चेकपोस्ट भेटियो। मणिचूड पुग्न राष्ट्रिय निकुञ्जलाई शुल्क तिरेर मात्र प्रवेश पाइयो। त्यहाँबाट उकालो लाग्ने बाटो पनि सिमेन्टेड सिँडी बनाइएको रहेछ। मणिचूड पहाड मणिजस्तै चम्किलो छ। आस्थाको केन्द्र भएर। यो धार्मिक स्थल हिन्दु तथा बौद्ध धर्मावलम्बी दुवैका लागि महत्त्वपूर्ण स्थल रहिआएको छ। बौद्ध मतबमोजिम यो ठाउँमा रहेको पोखरीमा गुरु पद्मसम्भवको कमण्डलु खसेको थियो रे। त्यसैले यसको पवित्रतालाई पुजिँदै आएको भन्ने मान्यता छ। यहाँ शिवलिंग पनि स्थापना गरेर पूजा गरिँदै आएको छ।
यसको हिन्दु शास्त्रीय पौराणिक भाष्य यस्तो छ, हिमवतखण्डमा दिएको कथाबमोजिम बिरुपाक्षले नेमुनिसँग मणिचूडका विषयमा जानकारी माग्दा नेमुनिले यस पोखरीको महत्त्वका विषयमा बताएका हुन्। किंवदन्तीबमोजिम त्रिपुरसुर नामक दानवको भयले आफ्नो रक्षाका लागि देवताहरू देवाधिदेव महादेवको वासस्थान कैलासमा उनीलाई भेटर सहयोगको याचना गर्न भनी गए। महादेव अन्तरध्यान भई हराएकाले जति खोजी गर्दा पनि भेट्न सकिएन।
पार्वतीसँग गुहार माग्दा पार्वतीले कागको रुप लिई आकाश मार्गबाट खोजी गर्दा भाद्रशुक्ल अष्टमीका दिन अहिलेको कागेश्वरीमा बसेको पत्तो लाग्यो। देवताहरू कागेश्वरी आइपुगे। महादेव त्यहाँबाट पनि अन्तरधान भई हिँडे। देवताहरूले ब्रह्माको सल्लाहबमोजिम मणिचूड पर्वत गई बज्रयोगिनीको पूजाआराधना गरे। बज्रयोगिनी खुसी भई महादेव मणिचूड पोखरीमा लुकेर बसेको कुरा बताइदिइन्।। देवताहरू मणिचूड पुगे र महादेवको पूजाआराधना गरीे प्रसन्न गराएर मनोवाञ्छित फल प्राप्त गरे भन्ने भनाइ छ। नेमुनिले नै बज्रयोगिनी भगवती भएको कुरासमेत विरुपाक्षलाई बताए।
माथिको पौराणिक कथा वाचन गरेपछि कागेश्वरीको दर्शन गरेपछि मणिचूडको र त्यसपछि बज्रयोगिनीको पनि दर्शन गरेर चक्र पूरा गर्न पर्ने रहेछ। हामीले यो पदयात्रामा त्यसै गर्यौँ।
मणिचूडमा रहेको मन्दिरको दर्शन र पोखरीको परिक्रमा गरेर ओरालो लागियो। मणिचूडबाट ओरालो लागेपछि घुमारचोकमा आइन्छ। यो ठाउँ स्कुसखेतीका लागि प्रख्यात रहेछ। हाम्रा सहयात्रीहरूले बाटोमा बेच्न राखेको स्कुसले झोला भरे। हामीहरूसँगै पदयात्रा गरिरहेका चिनियाँ पदयात्रीले पनि हाम्रै देखासिकी गरेर दुईवटा स्कुस किने र काँचै कोपर्न थाले। यसलाई उमालेर पकाएर खानुपर्छ भनेर हामीले भनेपछि मोबाइलमा यो तरकारी पकाउने विधि खोज्दै थिए।
बज्रयोगिनीदेखि घुमारचोकसम्म कतै पिच र कतै ढलान गरेर बाटोको निर्माण भएको रहेछ। अघिल्लो पटक जाँदा बाटो कच्ची थियो। यस पटक फरक पाईयो। अर्थात् गाउँ फेरिँदै रहेछ। बज्रयोगिनीको दर्शन गरेर घर फर्कियौँ। काठमाडौँ उपत्यकाभित्र छोटो पदयात्राका लागि यो मार्ग सहज र आकर्षक छ। धर्म पनि हुने र पदयात्रा पनि हुने एक काज दुई पन्थको यो अनुपम नमुना हुनसक्छ।