गुरुङ समुदायको कथामाथि बन्ने फिल्म ‘जुन-किरी’को शुभ मुहूर्त

हिमाल प्रेस ११ असोज २०८१ २१:०८ | Friday, September 27, 2024
गुरुङ समुदायको कथामाथि बन्ने फिल्म ‘जुन-किरी’को शुभ मुहूर्त

काठमाडौँ- गुरुङ समुदायको घाँटुको कथामाथि निर्माण हुन लागेको फिल्म ‘जुन-किरी’को शुक्रबार शुभ मूहुर्त गरिएको छ।

निर्देशक दीप गुरुङ र कलाकारहरूले क्यामेरामा पूजा गरेर फिल्मको शुभमुहूर्त गरेका हुन्। दीप फिल्म्स् प्रोडक्सनले निर्माण गर्न लागेको फिल्म असोज १५ गतेबाट छायांकनमा जानेछ। गुरुङ भाषामा घाँटु भनेको घाउ सिलाउनु हो।

फिल्ममा कलाकार सुरज तमु र लक्ष्मी गुरुङ मुख्य भूमिकामा छन्। सुरजले ‘ऊनको स्वीटर’, ‘गोरखा वारियर, ‘एन्जिला’, ‘सारंगा’, ‘नैना’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन्। एक दशकदेखि रंगकर्ममा सक्रिय सुरजले ‘स्कुल’, ‘चालिसे भीर’ लगायतका नाटक निर्देशन गरिसकेका छन्। उनले ‘दयामाया आफूमात्र लिखापानी आइपुगी’, ‘हरियो ढुंगा’, ‘मिमांशा’, ‘योगमाया’, ‘कोरा’, ‘अर्को अर्थ नलागेमा’, ‘ब्युँझिएको सिरानी’, ‘चोरको स्वर’ लगायत करिब २ दर्जन नाटकमा अभिनय गरिसकेका छन्।

लक्ष्मीको यो दोस्रो फिल्म हो‌। यसअघि ‘नैना’ फिल्ममा उनले मुख्य भूमिकामा काम गरेकी थिइन्‌। ‘माइली’, ‘युके लन्डन’ लगायत दर्जनौं म्युजिक भिडिओमा उनले काम गरिसकेकी छन्। फिल्म सुरज र लक्ष्मीसँगै यो समयका व्यस्त कलाकार माओत्से गुरुङ, अनिल सुब्बा, कविता आलेको पनि महत्त्वपूर्ण भूमिका छ।

त्यसै गरी फिल्ममा प्रतीना राई, प्रविन मगर,सुस्मिता गुरुङ, माया गुरुङ, समर्पण श्री र सौजन सेन्ह्याङ लगायका कलाकारको अभिनय रहनेछ। निर्देशक दीप गुरुङको यो दोस्रो फिल्म हो। उनले यसअघि फिल्म ‘नैना’ निर्देशन गरेका थिए‌। उनले दर्जनौं म्युजिक भिडिओ निर्देशन गरिसकेका छन्।

फिल्ममा काठमाडौँमा संघर्ष गरिरहेको फोटोग्राफरको यात्रा र अनुभूतिको कथामा केन्द्रित छ। गुरुङहरूमाथि पहिल्यैदेखि नाच्दै आएको घाँटुको फोटो खिच्न जाँदा घट्ने घटना र भेटिने सम्बन्धहरूले कथालाई रोचक बनाउने विश्वास निर्माण टिमले लिएको छ। ‘एउटा अन्धकार रातमा जुनकिरीले उज्यालोसँग संघर्ष गरेझैं अहिलेको समयमा घाटुले पनि यस्तै संघर्ष गरिरहेको छ। त्यसकारण पनि हामीलाई यो कथा भन्न आवश्यक लाग्यो,’ कलाकार तमु भन्छन्।

फिल्ममा भरत राई र सुरज तमुको कथा तथा केर कोइँच लिनुचको पटकथा रहेको छ। फिल्ममा कलाकार अनिल सुब्बा एक्टिङ निर्देशकका रूपमा छन्। फिल्मलाई सिनेमाटोग्राफर योगेश दाहालले खिच्नेछन्।

प्रकाशित: ११ असोज २०८१ २१:०८ | Friday, September 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast