कोशीमा २०८२ लाई ‘पर्यटन वर्ष’ मनाइने, यी हुन् सरकारले तयार पारेका घुम्नैपर्ने ८२ पर्यटकीय गन्तव्य

विवेक विवश रेग्मी ११ असोज २०८१ १६:३२
4
SHARES
कोशीमा २०८२ लाई ‘पर्यटन वर्ष’ मनाइने, यी हुन् सरकारले तयार पारेका घुम्नैपर्ने ८२ पर्यटकीय गन्तव्य ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा कार्यक्रममा मुख्यमन्त्री कार्की

इटहरी- कोशी प्रदेश सरकारले २०८२ साललाई ‘कोशी पर्यटन वर्ष’ मनाउने घोषणा गरेको छ। त्यसका लागि ‘रमणीय कोशी’ भन्ने सन्देश तय गरिएको सरकारले जनाएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ घोषणा गर्दै ८२ पर्यटकीय गन्तव्य घोषणा गरे। उनले ‘८२ सालका लागि ८२ पर्यटकीय गन्तव्य’ सूची पनि तयार गरेको बताए।

उनका अनुसार कोशी प्रदेशमा नेपालकै होचो क्षेत्र झापाको केचनाकवलदेखि विश्वको सर्वोच्च शिखर सगरमाथासमेत पर्छ। विश्वका १० अग्ला हिमालमध्ये ५ वटा मकालु, लोत्से, कञ्चनजंघा र कुम्भकर्ण हिमालले विश्वका पर्यटकहरुको ध्यान आकृष्ट गरेको मुख्यमन्त्री कार्कीले बताए।

पाथीभरा, बराहक्षेत्र, रामधुनी, हलेसी, विजयपुर, चौदण्डीगढी, उदयपुरगढी, हिलिहांग, हतुवागढ़ी, विराट राजाको दरबार, अर्जुनधारा, खुवालुङदेखि फक्ताङ्लुङ, तुवाचुङ, जायजुङ माङ्सेबुङ, तिम्बुंग पोखरी, सभापोखरी, गुफापोखरी जस्ता ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक सम्पदाहरुले हाम्रो सामाजिक, सांस्कृतिक तथा धार्मिक विविधतालाई उजागर गरेको मुख्यमन्त्री कार्कीको भनाइ छ।

पर्यटन वर्षका लागि सरकारले १० करोड रकम बजेट विनियोजन गरेको छ। ‘कोभिड १९ को विश्वव्यापी महामारी र पछिल्लो समय हामीले खेप्नुपरेको आर्थिक शिथिलताले पर्यटन क्षेत्र पनि अछुतो रहन सकेन। हामीले अब यी प्रतिकुलताहरूलाई छिचोल्दै अघि बढ्नु पर्नेछ,’ मुख्यमन्त्री कार्कीले भने, ‘यसमा कोशी प्रदेश सरकार नीतिगत, कार्यगत र व्यवस्थापकीय कार्यहरू गर्ने सोच र दृष्टिकोण निर्माण गरी अगाडि बढ्ने प्रयत्न गरीरहेको छ। यसको प्रस्थान बिन्दुका रुपमा कोशी प्रदेश पर्यटन वर्ष २०८२ लाई लिन सकिन्छ।’

सगरमाथा राष्ट्रिय निकुञ्ज, कञ्चनजंघा संरक्षण क्षेत्र र कोशी टप्पु वन्यजन्तु आरक्षजस्ता पर्यटकीयस्थल यही प्रदेशमा हुनुले पनि पर्यटक आकर्षित गर्न सकिने मुख्यमन्त्री कार्कीले बताए।

कोशी प्रदेश यी धार्मिक तथा प्राकृतिक सम्पदाकै जगमा मुलुककै पर्यटनको ‘हब’ बन्न सक्ने र पोकली झरना, ह्यात्रुङ झरना, कन्याम, श्रीअन्तु, नाम्चे, पाताले, भेडेटार, नमस्ते झरना, हिले, तीनजुरे मिल्केजलजले, जेफाले आदि उत्कृष्ट पर्यटकीय क्षेत्रको गन्तव्य रहेको सरकारले आयोजना गरेको कार्यक्रममा जानकारी दिइएको थियो।

‘प्याराग्लाइडिङ, तमोर तथा कोशी र्‍याफ्टिङ जस्ता साहसिक खेल पर्यटनले हाम्रो पर्यटकीय आधार लाई बलियो बनाएको छ। चियाको राजधानी भनेर चिनिने इलामको सन्दकपुर, कन्याम, माइपोखरी पूर्वी नाकाबाट नेपाल छिर्नेहरुलाई स्वागत गरिरहेको दृष्य हामीले देखिरहेका छौँ,’ मुख्यमन्त्री कार्की भन्छन्, ‘विश्वमै दुर्लभ रेडपान्डा, अर्ना लगायत जैविक विविधतायुक्त पर्यटकका लागि आर्कषणको केन्द्र बन्न सक्छ। एकै स्थानमा २८ प्रजातिका गुराँस फूल्ने टि एम जे क्षेत्रमा गुराँस फुल्ने मौसम सुरु भएसँगै विदेशी पर्यटकलाई आकर्षित गर्न सकिन्छ। हामीले यही समयलाई मध्यनजर गरेर पर्यटन वर्षको भव्य उद्घाटन गर्ने तयारी गरेको जानकारी गराउन चाहन्छु।’

पर्यटनको विकास र प्रवर्धनका लागी कोशी प्रदेशले हरेक प्रकारका पर्यटकलाई समुचित व्यवस्थापन गर्न सक्नुपर्छ। धार्मिक पर्यटकहरूलाई केन्द्रित गरेर सोही बमोजिमको पूर्वाधार विकास, विलासी प्रकृतिका पर्यटकहरूका लागि पर्याप्त सुविधा–सम्पन्न होटलहरू निर्माण गर्ने र पर्वतारोहण, ट्रेकिङ, साहसिक खेलका लागि आउने पर्यटकहरूको लागि पनि राम्रो व्यवस्थापन गर्नुपर्ने उनले सुनाए।

हिमाल आरोहण, बन्जी जम्पिङ, रक क्लाइम्बिङ, क्यानोइङ, कायाकिंग, प्याराग्लाइडिङ आदि साहसिक पर्यटनमार्फत गुणस्तरीय पर्यटकहरूलाई भित्र्याउन सकिने सरकारको विश्वास छ। कोशी प्रदेशको समृद्धि र विकासका लागि पर्यटन नै महत्वपूर्ण आधार रहेको बताइएको छ।

पर्यटन क्षेत्रको विकास र पर्यटन वर्षलाई उत्सवका रूपमा मनाउनका लागि निजी क्षेत्र र पर्यटन व्यवसायीहरूलाई सँगसँगै लिएर जाने बताइयो। खासगरी सीमा जोडिएको भारतको सिक्किम, बिहार, पश्चिम बंगाल लगायतका पर्यटकलाई मात्रै भित्र्याउन सकेमा उपलब्धि हुने बताइएको छ।

‘कोशी प्रदेश पर्यटन वर्ष २०८२’ प्रदेशको पर्यटनसँग सम्बन्धित नीति निर्माण, संरचनाहरूको निर्माण र पर्यटकीय पूर्वाधार विकास गर्दै पर्यटनमार्फत समृद्धिको आधार खोज्ने वर्षको रूपमा विश्वास व्यक्त गरिएको छ।

प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार पर्यटन पूर्वाधार र अन्य पर्यटन सम्बन्धी शीर्षकमा ७ करोड बजेट विनियोजन भएको छ। २०८२ सालका लागि ८२ स्थान छनोट गरेर पर्यटन वर्ष घोषणा गरिएको उनले बताए।

प्रकाशित: ११ असोज २०८१ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =