युवालाई विदेश पलायन रोक्न गाउँमै सामूहिक बङ्गुरपालन, लाखौं आम्दानी

हिमाल प्रेस ६ असोज २०८१ १०:१७
14
SHARES
युवालाई विदेश पलायन रोक्न गाउँमै सामूहिक बङ्गुरपालन, लाखौं आम्दानी

स्याङ्जा- स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ गोक्रुङका स्थानीयले सामूहिक बङ्गुरपालन गर्दै आएका छन्। २०७७ मा २५ लाख लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बङ्गुरपालन सुरु गरिएको थियो।

स्थानीय रुकमाया रानाले विगतमा अज्ञात रोगले फार्मका करिब ५० वटा बङ्गुर मरेपछि लगानी डुब्ने डरले बङ्गुर पाल्न डराए पनि हाल कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा फेरि सामूहिक बङ्गुरपालन सुरु भएको बताइन्।

चालीस जना सेयर सदस्य रहेको फार्ममा हाल बीउ उत्पादन गर्न ४० वटा धराने बङ्गुरका पाठापाठी र माउ बङ्गुर रहेका छन्। स्थानीय युवालाई विदेश पलायन रोक्ने उद्देश्यसहित सामूहिक रूपमा बङ्गुरपालन गरिएको रानाले जानकारी दिइन्।

‘विदेश जान लाग्नुभएका श्रीमान्लाई गाउँमै रोकेकी छु। फार्मका बङ्गुर राम्रै भएका छन्’, उनले भनिन्, ‘बङ्गुर फार्म सामूहिक भए पनि फार्म प्रयोग गरेबापत हामीले वार्षिक चार हजार ५०० भाडा तिर्नुपर्छ। एक परिवारले पाँचवटासम्म माउ बङ्गुर राखेका छन्। पालिका र हेफरले उपचार, औषधि, तालिममा सहयोग गरेको छ।’

रानाले बङ्गुर पाल्न सके बजारको समस्या नहुने बताइन्। ‘यहाँ धार्नीलाई नौ सय छ। गाउँमा बङ्गुर काट्दा मासु खोसाखोस हुन्छ। पाल्न सके बङ्गुरले नै आत्मनिर्भर बनाउने प्रशस्त आधार छन्’, उनले भनिन्।

कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको कृषि तथा पशुपालनको माध्यमबाट गरिबी निवारण गर्ने र समृद्धि हासिल गर्ने लक्ष्य छ संस्थाका कालीगण्डकी प्रमुख दीपक विश्वकर्माले गाउँपालिकाको दुई करोड ४५ लाख र हेफरको एक करोड पाँच लाखमा कृषि तथा पशुपालनका क्षेत्रमा काम भइरहेको बताए।

गाउँपालिका र हेफरको संयुक्त साझेदारीमा २०७९ चैत १७ गते आयोजना सुरु भएको थियो। ‘हालसम्म एक सय २४ वटा साना खोर तथा बङ्गुर र बाख्राका तीन–तीनवटा नमूना खोर निर्माण गरेका छौँ। दुई सय ३० वटा बीउ बाख्रा र बीउका लागि एक सय ७० वटा बङ्गुरका पाठापाठी वितरण गरेका छौँ’, विश्वकर्माले भने।

यसैगरी १२ वटा भैँसी र तीनवटा गाई खरिदमा ४० हजार अनुदान, नश्ल सुधारका लागि २९ वटा समूहमा बोका वितरण, २७ वटा भकारो निर्माण, साझेदार फार्म तथा व्यक्तिका लागि १५ वटा चापकटर र १० किलो काँटा वितरण, मिर्मीमा डेरी स्थापनाका लागि सात लाख अनुदान, बेल्टारीमा घाँस स्रोत केन्द्र स्थापना गरिएको उनले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − 2 =