राष्ट्रपति चुन्न श्रीलंकामा मतदान हुँदै

हिमाल प्रेस ५ असोज २०८१ ७:४२
10
SHARES
राष्ट्रपति चुन्न श्रीलंकामा मतदान हुँदै राष्ट्रपति चुनावका लागि कोलम्बोमा मतदान सामग्री लिएर मतदान केन्द्रतर्फ जाँदै निर्वाचन आयोगका अधिकारीहरू। तस्बिर : एपी/रासस

काठमाडौँ-  पर्याप्त विदेशी मुद्रा सञ्चित गर्न संघर्षरत श्रीलंकामा शनिबार राष्ट्रपतीय निर्वाचन हुँदैछ। मतदानको ठिक एक दिनअघि विभिन्न अन्तर्राष्ट्रिय दाताहरुसँग १२ अर्ब अमेरिकी डलरभन्दा बढी ऋणपत्रको पुनर्संरचनाका लागि सहमति गरेको श्रीलंकामा वर्तमान राष्ट्रपति रनिल विक्रमसिंघे पनि प्रतिस्पर्धामा छन्।

यद्यपि ताजा जनादेश प्राप्त गर्न विक्रमसिंघेविरुद्ध बलिया प्रतिस्पर्धी चुनावी मैदानमा छन्। अर्थतन्त्र सुधारका लागि कडा नीति अपनाएका विक्रमसिंघेसँग श्रीलंकालाई तुलानात्मक रूपमा स्थिर बनाएको जस छ। एक समय श्रीलंकाली नागरिक खाद्यान्न, तेल र औषधि अभावसँग जुधिरहेका थिए।

सन् २०२२ को त्यो आन्दोलनपछि श्रीलंकाली सत्ता सम्हालेका विक्रमसिंघे दुई वर्ष राष्ट्रपति रहिसकेका छन्। घरेलु राजनीतिको विभिन्न कालखण्डमा उनका विरोधी बनेकाहरु श्रीलंका हाँकिरहेका थिए। तर हजारौँ नागरिक निवासमै पुगेपछि राजपाक्षेहरु देश छाडेर भाग्न बाध्य बनेका थिए।

‘श्रीलंकालाई टाट पल्टिनबाट जोगाउन हामीले सुधारका नीति लागू गरिरहन आवश्यक छ। निर्णय तपाईंहरु गर्नुहोस्, श्रीलंकालाई सुधारको बाटोमा ल्याउने कि फेरि अस्तव्यस्त बनाउने?’ गत साता विक्रमसिंघेले आफ्नो अन्तिम चुनावी  र्यालीलाई सम्बोधन गर्दा भनेका थिए।

अर्थतन्त्र सुधारका नाउँमा विक्रमसिंघेले करको दायरा बढाएका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण दिँदा राखेको सर्त पालना गर्न विक्रमसिंघेले यस्तो नीति अवलम्बन गरेका हुन्। जसको असर सर्वसाधारणमा परेको छ।

७५ वर्षीय विक्रमसिंघेलाई यो चुनावमा अनुरा कुमारा दसनायकेले बलियो चुनौती दिने अनुमान छ। वामपन्थी पृष्ठभूमिका दसनायकेले आफू सत्तामा पुगे देशको भ्रष्ट राजनीतिक संस्कार भत्काउने वाचा गरेका छन्। ५५ वर्षका दसनायकेबाहेक सजिथ प्रेमादासा पनि विक्रमसिंघेविरुद्ध चुनावी मैदानमा होमिएका छन्। सन् १९९३ मा तमिल विद्रोहीबाट हत्या गरिएका तत्कालीन राष्ट्रपति रनसिंघे प्रेमादासाका छोरा अनुरालाई कमजोर दाबेदार मानिएको छैन।

‘यतिचाहिँ पक्का हो, पछिल्लो समय देश जसरी चलाइयो, त्यसको प्रतिक्रिया श्रीलंकाली मतदाताले दिनेछन्,’ निर्वाचनलाई लिएर स्थानीय शोधकर्ता संस्था एड्भोकाटाका मुतर्जा जाफ्रिजीको विश्लेषण छ।

यो राष्ट्रपतीय निर्वाचनमा कुल ३८ उम्मेदवार मैदानमा छन्। विक्रमसिंघे, दसनायके र प्रेमादासाबाहेक लोकप्रिय अर्का अनुहार हुन्, नामल राजपाक्षे। नमाल महिन्दा राजपाक्षेका छोरा हुन्। उनीसामु परिवारको राजनीतिक विरासत बचाउने र विक्रमसिंघेलाई रोक्ने चुनौती छ।

यसपालिको निर्वाचनका लागि कुल एक करोड ७० लाख श्रीलंकाली मतदाता छन्। मतदान शनिबार स्थानीय समयअनुसार ७ बजेबाट सुरु हुनेछ। मतगणना त्यही दिनको साँझबाट सुरु हुने बताइएको छ। मतगणनाा आइतबारसम्म सकिने भए पनि औपचारिक घोषणा हुन समय लाग्नसक्छ। निर्वाचित हुन उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्नेछ। कसैले पनि ५० प्रतिशत मत नपाए शीर्ष तीनबीच अर्को चरणको प्रतिस्पर्धा हुने आँकलन छ।

मतदान केन्द्र बनाउन श्रीलंकामा सबै विद्यालय बन्द गरिएका छन्। मतदान गराउन करिब २० हजार सरकारी कर्मचारी खटाइएको छ।

आठ साता चलेको निर्वाचन प्रचारप्रसारमा उम्मेदवाहरुले सर्वसाधारणबाट आक्रोश खेप्नुपरेको थियो। दुई वर्षअघि उत्कर्षमा पुगेको आर्थिक कठिनाइका कारण हजारौँ नागरिक आज पनि दैनिक उपभोग्य वस्तु खरिदका लागि संघर्षरत छन्। श्रीलंकाली सरकारले निकालेको तथ्यांकअनुसार सन् २०२१ र २०२२ को बीचमा गरिबीको रेखामुनि रहेका नागरिकको संख्या दोब्बर भएको छ। यो बीचमा २५ लाख त्यस्ता नागरिक थपिएका छन् जो दैनिक साढे तीन डलरभन्दा कममा गुजारा गर्न बाध्य छन्।

विज्ञहरुका अनुसार आज पनि श्रीलंकाको अर्थतन्त्र खराब स्थितिमा छ। दक्षिण एसियाको फेदमा रहेको यो देशले ४६ अर्ब अमेरिकी डलर ऋण तिर्न बाँकी छ। जुन सन् २०२२ अघिको सरकारहरुले लिएका हुन्। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विक्रमसिंघे सरकारका नीतिका कारण श्रीलंका तंग्रिदै गएको छ। ‘धेरै सुधार त भएको छ। तर खतरा टरेको छैन,’ मुद्रा कोषको पछिल्लो भनाइ छ।

प्रकाशित: ५ असोज २०८१ ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =