खुसीसँगै भित्रिएको दुःख

सागर रावल ५ असोज २०८१ १५:४०
58
SHARES
खुसीसँगै भित्रिएको दुःख

धनगढी- सुदूरपश्चिमको पहाडी जिल्ला अछाम र कर्णालीका केही गाउँमा सवारीसाधन पुग्दा खुसीसँगै दुःख थपिएको छ। ज्याला मजदुरी गरेर गुजारा चलाउने अधिकांशका लागि सवारीसाधन पुग्नु दुःखको कारक बनेको हो।  युवा पुस्ताले काम नपाएर भारत र अन्य मुलुक गएपछि गाउँ खाली भएका छन्।

‘साहुको भारी बोकेर आएको पैसाले खानलगाउन पुगेको थियो। गाउँमा गाडी आएपछि टाउकाको नाम्लो त हट्यो तर भोको पेटलाई थाम्न नाम्लोको पटुका बनाउनुपरेको छ,’ रामारोशन गाउँपालिका–४ छडेनाका कालु विकले दु:खेसो पोखे।

गाउँमा गाडी पुगेपछि उनलाई १३ जनाको परिवार पाल्न हम्मेहम्मे छ। ‘एउटा छोरा भारतमा छ,अर्को छोरा घरमा। परिवार पाल्न गाह्रो परेको छ। अर्काको जमिन अधियाँ लिएर बुढाबुढीले काम गरिरहेका छौँ, उनले भने।

अहिले अछाम सदरमुकाम मंगलसेनबाट विनायक ३५ किलोमिटर र विनायकबाट बेलखेत कर्णाली राजमार्गसम्म १५ किलोमिटर सडक पुगेको छ। यही राजमार्गले कर्णालीको सेरोफेरो र हुम्ला–जुम्लाको गाउँमा सवारीसाधन चल्न सहज भएको छ। कालीकोटको नरहरिनाथ गाउँपालिकासम्म गाडी पुगेको छ।

उसो त सडक मार्ग पुगेपछि जीवन सजिलो भएको भन्नेहरू पनि उत्तिकै छन्। कालीकोटमा पहिलेजस्तो स्थानीयले भारी बोक्नुपरेको छैन। टाउकाको नाम्लो छुटेको छ। भारी बोकेर आफ्नो परिवार पाल्दै आएकालाई वैकल्पिक व्यवस्था नहुँदा झनै कठिनाइ भएको छ।

गाउँमा सवारीसाधन आएपछि स्थानीयको गाडी चढ्ने धोको भने पूरा भएको छ। बिरामी हुँदा उपचार गर्न अस्पताल जान सजिलो भएको छ। ‘जिल्लाबाहिर बिरामी लैजानुपर्दा गाडीको सुविधा छ,’ खाँडाचक्र नगरपालिका-१ का वीरमान कार्कीले भने, ‘हामीलाई बुढेसकालमा आवतजावत गर्न सजिलो भएको छ।’ सुर्खेत, नेपालगन्ज आउनजान बाटो राम्रो भए सहज हुने उनको भनाइ छ।

सडक भएपछि मिल, बत्तीका सामान, सिँचाइका सामग्री ढुवानीमा समेत सहज भएको धर्मराज शाहीले बताए। उनले भने, ‘गाडी चलेको समयमा पसलका सामान ल्याउन सहज भएको छ। मान्छेलाई बोकाएर सामान ल्याउँदा टुट्नेफुट्ने हुन्थ्यो, अहिले सहज र मूल्य पनि सस्तो भएको छ।’
कतिपयलाई भने गाउँमा गाडी पुग्दा अनौठो लागेको छ। ४५ वर्षीय पंख भण्डारीले पहिलोपटक धनगढीमा गाडी देखेको अनुभव सुनाए। उनले भने, ‘अहिले घरमै गाडी पुगेको छ। हामीले सडक बन्नेसमेत कल्पना गरेका थिएनौँ। घरअगाडिबाट गाडी चढ्न पाउँदा खुसी लागेको छ। बिरामी भएको समयमा गाडी चढेर जिल्लाको अस्पतालमा जान पाइएको छ।’ काम गर्नका लागि बाहिर जानुपर्ने बाध्यता भने थपिएको उनले सुनाए।

उनले गाउँमा सडकका योजना मात्र हुँदा पनि काम गर्न भने नपाएको गुनासो गरे। उनले भने, ‘सडकमा काम गर्ने अवसर पाइँदैन। सबै डोजरले काम गरिरहेको छ। यहाँ खेतबारी केही छैन। परिवार पाल्न देशबाहिर जानुपर्ने बाध्यता रहेको छ। गाउँमा युवा पनि भेटिँदैनन्।’

स्थानीय राजेन्द्र भण्डारीले आफूसँग शिक्षा र सीप नहुँदा ज्याला मजदुरीबाहेक अरू काम पाउन नसकेको बताए। अछाम र कालीकोटका क्षेत्रमा स्थानीय उत्पादनले तीन महिना पनि खाना नपुग्ने ४३ प्रतिशत जनसंख्या छ भने वर्षभरि आफ्नै उत्पादनले पुग्ने १७ प्रतिशत मात्र जनसंख्या छ।

प्रकाशित: ५ असोज २०८१ १५:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − sixteen =