प्राच्य विद्या र मदन भण्डारीको वाक्कला

माधव नेपाल ३ असोज २०८१ ७:१५
118
SHARES
प्राच्य विद्या र मदन भण्डारीको वाक्कला

एउटा नेता दार्शनिकका लागि चिन्तनको सागर बन्नुपर्छ। साहित्यकारका लागि रससिन्धु बन्न आवश्यक छ। नेता इतिहासकारको अन्वेषणको साधन पनि हुनुपर्छ। विश्लेषकका लागि कौतूहलको माध्यम नेतामा हुनैपर्ने गुण हो। विद्वान्‌हरूका लागि परीक्षाको कसौटी बन्ने ताकत नेतामा हुनुपर्छ। जिज्ञासुका लागि गुप्त रहस्य पत्ता लगाउने अध्यात्मदीप बनेमात्र नेता सफल हुन्छ।

हरेकको अनुभूति एउटा व्यक्तिगत विषय हो, तर नेतृत्वमा बस्नेले व्यक्तिगत अनुभूतिलाई सामाजिक बनाउन सक्नुपर्छ। यस्तो स्वभाव हुन अध्ययन र लगाव चाहिन्छ। श्रीमद्भागवतमा व्याख्या गरिएको नेतृत्वमा हुनुपर्ने यो क्षमता पूर्वीय दर्शनमा डुबेर मात्रै प्राप्त हुन सक्छ।

यीमध्ये केही कौशल सीमित नेपाली नेतामा मात्रै देखिएको छ। यस्तैमध्येका एक हस्ती थिए मदन भण्डारी। उनको बाल्यकालको तिखोपन, सुझबुझपूर्ण योग्यता, क्षमता र आत्मविश्वास सबैले सिक्न लायक थियो। धाराप्रवाह बोल्न सक्ने क्षमता उनमा थियो। विषयवस्तुको गहिरो ज्ञान भएपछि फरर बोल्न सक्छ मान्छे। अध्ययनको गहिराइका कारण वाक्कलामा उनी निपुण थिए। आश्चर्य नै मान्नुपर्छ, मदन बालखमा जे थिए पछि पनि उस्तै रहे। राजनीतिक रूपमा परास्त गर्न नसकेपछि भौतिक रूपमा सकाउने योजना हुन्छ भन्ने परिवारलाई पहिल्यै शंका थियो। त्यही भएर उनका पिताजीले राजनीतिमा नलगाउन अनेक प्रयत्न गरेका थिए।

‘मदनलाई राम्रो भन्ने मात्र होइन देशका लागि मदनको बाटो सही छ भन्ने स्थापित गराउनुपर्छ। यो फरक क्षमताको प्रेरणा भनेको आध्यात्मिक शक्ति हो। जसको शक्तिले वेदका ऋचा र राजनीतिक सिद्धान्तलाई घुलित गरेको छ’, मदन भण्डारीका दाजु मनोजकुमार भण्डारीको बुझाइ यस्तो छ।

वेद भनेको जान्नु हो। त्यसैले यसलाई प्राच्य विद्याको आदिस्रोत मानिन्छ। परापूर्वकालमा ऋषिहरूले ज्ञानलाई साक्षात्कार गर्ने साधन वेदलाई बनाए। वेदलाई श्रुति पनि भनिन्छ। महर्षि वेदव्यासले वेदलाई चार भाग लगाए– ऋग्वेद, यजुर्वे द, सामवेद र अथर्ववेद। यीमध्ये ऋग्वेद सबैभन्दा प्राचीन ग्रन्थ हो। वेदव्यासले ती चार वेद चार शिष्यलाई पढाएका थिए। त्यस्तो गुरुशिष्य परम्परा अहिले पनि प्रचलनमा छ।

‘यो नधित्यद्विजो वेदाः अन्यत्रकुरुतेश्रमम्।
सज्जीवत्वेव शुद्रत्वमासु गच्छन्ति मानवाः।।

मनुले त मान्छेले वेद नपढेर अरू श्रम गर्न कोसिस गर्छ भने त्यो सार्थक हुँदैन भनेका छन्। हुन त मनुका कट्टर आलोचक पनि समाजमा बेलाबेलामा देखा पर्छन्। युगअनुसार उपयोगी विषयलाई आत्मसात् गर्नुपर्छ र अनावश्यक विषयलाई संशोधन गर्न सक्नुपर्छ।

वेद पढेको मान्छेमा वाक्कला स्पष्ट हुन्छ। राजनीतिमा पनि वेद अध्ययनको धेरै महत्त्व छ। धेरै पश्चिमाहरू पनि वेद पढेर विद्वान् भएका छन्। नेपालमा पनि वाक्कलामा स्पष्ट भएको व्यक्ति संस्कृत वा वेदको ऋचामा डुबेको पाइन्छ। त्यसको प्रमुख उदाहरण हुन् मदन भण्डारी। मदन जसलाई साँवा अक्षर स्पष्ट चिन्न नसक्दा पनि वेदका ऋचाले सिँगारिएका केही ग्रन्थ कण्ठस्थ थिए।

मदन सानोमै तीक्ष्ण हुनुको कारण परिवारमा संस्कृत अध्ययनको प्रभाव हो। सानैदेखि कुशाग्र बुद्धि थियो उनको। ‘बुझेरमात्र बोल्ने। अरूले भनेको कुरामा झट्टै सहमत नहुने। आफू स्पष्ट नभई सहमत नहुने। मेहनत धेरै नगरेर पनि पढाइमा अब्बल। मातापिताले सम्झाउनुपर्ने अवस्थासमेत नभएका। सानोमा पढाइका बारेमा गुरुले प्रशंसा मात्र गर्ने। दुर्गासप्तसती अथवा चण्डी मुखाग्र थियो उनलाई’, बाल्यकालका मदनको सम्झना उनका दाजुहरुले यसरी गरेको पाइन्छ। पिताजीले पढाइ रोकेर अक्षर चिन्न लगाएको पनि उनको दाजुको स्मरणमा ताजै छ।

राम्रो कुरा भने गम्भीर भएर सोच्ने र नराम्रा कुरामा चासो नदिने स्वभाव। आफूलाई सही लागेपछि त्यसैमा रटान दिने। अन्यथा गहिरिएर चासो नदिने। तर दुराग्रही होइन। चित्त नबुझेपछि सानाठूला जसले भने पनि आफूले स्वीकार नगर्ने। हरेक कुरामा गम्भीर। भन्नु भन्दा पहिले थप कुरा बुझ्ने योग्यता थियो उनको। मदनका बालसखा यस्तै सम्झन्छन्।
त्यसो त राजनीतिमा लागेपछि मदनले अरूको कुरा मान्दैन त्यसकारण यसको मृत्यु सहज नहुन सक्छ भन्ने पिताको वाणी दाजुको कानमा अहिले पनि गुन्जिन्छ।

पिताजीलाई यस्तो छनक परेपछि राजनीतिबाट हटाउन पहल भएको थियो। यसका लागि दाजु मनोजकुमारलाई प्रयोग गरिएको थियो। त्यो बेला दाजुको प्रतिक्रिया थियो, ‘अब उसलाई त्यो बाटोबाट मोड्नु भनेको अर्को दुर्घटना निम्त्याउनु हो। त्यसकारण उसलाई उसकै मार्गमा छाडिदिऊँ।’ त्यसपछि पिताजी पनि मदनलाई राजनीतिबाट फर्काउने विषयमा पछि हटेका थिए।

मदन बनारस गएपछि राजनीतिक गतिविधिमा धेरै लागेको पाइन्छ। बिस्तारै परिवारसँग घुलमिल हुन छाड्यो। पिताजी र दाजुबाट अहिंसा, मानवता र अध्यात्मबारे ज्ञान प्राप्त गरेका कारण पनि हिंसात्मक कम्युनिस्ट सिद्धान्तविरुद्ध थिए मदन। कम्युनिस्ट परिवर्तन हुनुपर्छ भन्ने उनको चाहना थियो।

परिवार र अध्यात्मको प्रेरणाबाट कम्युनिस्टमा नयाँ सिद्धान्तको प्रतिपादन भएको दाजु मनोजकुमारको अनुमान छ। दाजु मनोजको स्मरणमा जनताको बहुदलीय जनवादको सिद्धान्त भनेकै हिंसात्मक गतिविधिबाट शान्तिप्रक्रियामा आउने बाटो हो। यही जगमा उभिएर यो दस्तावेज मदनले तयार गर्न सकेको दाजु मनोजको बुझाइ छ।

चिन्तनको गहिराइ राम्रो र जे कुरामा लाग्नु छ त्यो कुरामा लाग्ने एकोहोरो स्वभाव मदनमा थियो। यही स्वभावका कारण मान्छेले सीधै परास्त गर्न नसके गलत बाटोबाट सकाउँछन् भन्ने दाजु र पितालाई पहिल्यै छनक थियो। आखिर त्यस्तै भयो। अझै केही वर्ष बाँचेका भए र काम हेर्ने समय मिलेको भए, मदनको क्षमता देशलाई थाहा हुन्थ्यो। दाजुको भनाइ छ, ‘भाइ गयो भन्ने पीडाभन्दा पनि देशले एउटा विशिष्ट मानिस गुमायो भन्ने चिन्ता छ।’

मदनमा लोभलालच थिएन। पद र पैसाका लागि मरिहत्ते गर्ने प्रवृत्ति थिएन। मुख्य तागत त्याग हो। आफैँले छोड्दा सत्यको जित हुन्छ भने पछि हट्ने स्वभाव थियो मदनको। दासढुंगाको घटनास्थल हेर्दा अरूलाई जस्तै वैष्णव दाजु मनोजलाई यो दुर्घटना नै हो जस्तो लाग्दैन। स्वाभाविक दुर्घटना हुने ठाउँ जस्तो लागेन उनलाई।

निश्चित परम्पराका शील पालना गर्दै अघि बढ्नुबाहेक एक राजनीतिकर्मीमा हुनैपर्ने गुण हो, करुणा। अनि कहिल्यै कुनै शब्दमा उल्लेख नगरीकन व्यवहारबाटै आफ्नो सिद्धि अनावरण गर्न सक्ने क्षमता। जुन राजनीतिकर्मी आफ्ना उपलब्धिबारे कुरा गर्छन्, त्यस्ता राजनीतिकर्मीबाट टाढै रहनु भनिन्छ। किनभने यस किसिमको अहंकार प्रदर्शनको अर्थ हो, ती राजनीतिकर्मीले सिद्धि प्राप्त गर्न सक्दैनन्। साँच्चै कुनै अनुभव प्राप्त गरिसकेका राजनीतिकर्मी कहिल्यै आफ्ना उपलब्धिबारे कुरा गर्दैनन्। मदनमा यही शिल्पी थियो। त्यसैले त विश्वले उनलाई चिन्यो। उनलाई घेरेका आभाबाटै यी सद्गुण झल्किएको देखिन्थ्यो।

‘मदन भएको भए माओवादी द्वन्द्वमा ठूलो क्षति हुँदैनन्थ्यो। आफूले सहयोग वा त्याग गरेर जनसंहार हुन रोकिन्थ्यो भन्ने लाग्छ’, भाइ मदनबारे दाजु मनोजले एउटा अन्तर्वार्तामा भनेका छन्। हिंसामा उत्रिएको माओवादी पनि चुनावी धारमा आउनु मदन भण्डारीको सिद्धान्तको उपज हो। कम्युनिस्टको बाटो फरक धारमा लगाउन मदनको विचार चीरस्थायी हुन्छ।

प्रकाशित: ३ असोज २०८१ ७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =