मास्टर्स गरेका समिपको गोठाले जीवन

हिमाल प्रेस १ असोज २०८१ २१:४४
20
SHARES
मास्टर्स गरेका समिपको गोठाले जीवन

खोटाङ- पढेलेखेका व्यक्तिले ‘जागिर नै खानुपर्छ’ भन्ने ठान्ने नेपाली समाजमा स्नातकोत्तर गरेको व्यक्तिले गोठाले जीवन बिताइरहेको सुन्दा अनौठो लाग्ने नै भयो। कतिपयले त पढेको मान्छेले यस्तो काम पनि गर्छन् भनेर हेयको दृष्टिले पनि हेर्छन् तर केपिलासगढी गाउँपालिका-१, तेराहाका लक्ष्मण साम्पाङ ‘समिप’ लाई त्यसको प्रवाह छैन। उनी पाँच सय बढी भेडाको बथानमै रमाइरहेका छन्।

राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण साम्पाङले विगत पाँच वर्षदेखि मुन्धुम भेडापालन फार्मदर्ता गरेर व्यावसायिक रुपमा भेडापालन व्यवसायमा रमाइरहेका हुन्। हाल उनको फार्ममा पाँच सयजति उन्नत (बडुवाल) जातका भेडा छन्।

दुःखजिलो गरेर स्नातकोत्तर पढाएको छोरा सरकारी जागिरे होस् भन्ने बुबाआमाको चाहनाविपरीत आफू भेडापालन व्यवसायमा लागेको साम्पाङले बताए। ‘म सानैदेखि स्वतन्त्रतामा रमाउने मान्छे। सरकारी वा अन्य जागिरमा त्यस्तो हुँदैन। राजनीतिशास्त्र पढेको मान्छे राजनीतिमा रुचि हुने नै भयो तर त्यसका लागि आर्थिक अवस्था राम्रो हुनुपर्‍यो नि! त्यसैले यो व्यवसाय रोजेको हुँ,’ उनले भने।

दिक्तेलस्थित सालपा विकास बैंकबाट ऋण लिएर २० लाखमा उन्नत जातका एक सय ८० भेडा खरिद गरी व्यवसाय सुरु गरेका उनले हाल वार्षिक करिब २० लाख आम्दानी हुने गरेको सुनाए। २०५८ सालदेखि राजनीतिमा समेत सक्रिय ३९ वर्षीय साम्पाङले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को राजनीति पनि सँगसँग अगाडि बढाएको बताए। उनले पार्टीको भ्रातृ स‌ंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)को जिल्ला तहदेखि केन्द्रीय सदस्यसम्मको भूमिका निर्वाह गरिसकेका छन् भने हाल पार्टीको केपिलासगढी गाउँपालिका कार्यसमिति सचिव छन्।

युवा पुस्तालाई ‘राजनीतिलाई पेसा होइन, सेवा गर्ने माध्यम बनाउनुपर्छ’ भन्ने सन्देश दिन भेडापालन व्यवसाय सुरु गरेको बताउने सम्पाङलाई आफ्नै सहोदर अन्तरे भाइ भैराज साम्पाङले सहयोग गर्दै आएका छन्। यसका साथै उनले स्थानीय दुई जनालाई पनि आफ्नो व्यवसायमा जोडेका छन्।

चारै जना भेडा फार्ममा हुर्किरहेका भेडाका थुम्बा (साँढ) र पाठापाठीसँगै पर्यटकीयस्थल मयुङ ((झण्डै तीन हजार रोपनी क्षेत्रफलमा फैलिएको) का घाँसे मैदानमा रमाइरहेका भेटिन्छन्।

साम्पाङले भेडाको साँढ, पाठापाठी, मासु, ऊन र घ्यू बिक्रीबाट आम्दानी हुने गरेको बताए। यहाँ भेडाको साँढ ५० हजार, मासु प्रतिकेजी आठ सय, ऊन प्रतिकेजी पाँच सयसम्म र घ्यू प्रतिकुरुवा चार हजारसम्म बिक्री हुने गरेको उनले सुनाए। रासस

प्रकाशित: १ असोज २०८१ २१:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast