जागिरको प्रलोभनमा ठगिँदै बेरोजगार

रमेश भारती २ असोज २०८१ ७:४७
50
SHARES
जागिरको प्रलोभनमा ठगिँदै बेरोजगार

काठमाडौँ- सहरका भित्तामा ‘रोजगारीको अवसर’ लेखिएका पर्चा छ्याप्छ्याप्ती भेटिन्छन्। पछिल्लो समय यस्ता सूचना सामाजिक सञ्जालमा पनि देखिन थालेका छन्। सूचनामा ५० देखि २ सयजनासम्मका लागि रोजगारीको अवसर भनेर पर्चा टाँसिएको हुन्छ। सूचनामा घरमै बसीबसी ५० हजार रुपैयाँसम्म कमाई’ लेखिएको हुन्छ। नयाँबानेश्वर, कोटेश्वर, कलंकी, नयाँ बसपार्क, रत्नपार्क, चाबहिललगायतका चोकमा त ‘अर्जेन्ट कर्मचारी आवश्यक र अन्तरवार्ता विना रोजगारी पक्का’ भन्ने विज्ञापनका पर्चा बाँडेको भेटिन्छ।

तलबसुविधासहित तोकेर जारी गरिएका यस्ता सूचना देखेपछि बेरोजगार युवा आकर्षित हुनु स्वाभाविकै हो। अनि उनीहरूले तोकिएको रकम तिरेर ‘जब सेन्टर’ मा फाराम भर्छन्, जागिरका लागि पर्खन्छन्। तर उनीहरूलाई ती रोजगारदाताले काममा लगाइदिनु त परकै कुरा, बिस्तारै सम्पर्कमै आउन छाड्छन्। अनिमात्रै उनीहरूलाई आफू ठगिएको जानकारी हुन्छ।

यसरी ठगिएकामध्ये एक हुन् धदिङका राजकुमार पाण्डे। नेपाल कर्मस क्याम्पसबाट बीबीएस उत्तीर्ण गरेका पाण्डे कामको खोजीमा थिए। सामाजिक सञ्जालमा देखेको विज्ञापनका आधारमा गत चैतमा काठमाडौँ तीनकुनेस्थित ‘हाम्रो जब’ नामक संस्थामा आवदेन दिए। आवेदन स्वीकृत भयो। कम्पनीले तीनपटकसम्म अन्तर्वार्तामा पनि बोलायो।

आवेदन शुल्क एक हजार र अन्तर्वार्ताका लागि पाँच रुपैयाँ रोजगार तिरेका उनले अहिलेसम्म काम पाएका छैनन्। पाण्डेले भने, ‘अहिले जब सेन्टरको फोन उठ्दैन। त्यहाँ गयो भने तपाईँलाई सुहाउँदो काम आएपछि खबर गर्छौँ भन्दै तर्किन्छन्।’

पाण्डेलाई एक हजार पाँच सय रुपैयाँ ठगिएँ भनेर प्रहरीमा उजुरी गर्न जान अप्ठ्यारो लागेको छ। आफ्नै पनि गल्ती भएका कारण उजुरी नगरेको उनी बताउँछन्।

यस्ता विज्ञापनका आधारमा ठगिने अर्का युवा हुन् स्याङ्जाका विक्रमराज रिजाल। त्रिचन्द्र कजेलबाट बीएस्सी सकेका उनले धेरै जब सेन्टरमा आवदेन दिएका उनले पनि काम पाएनन्। ‘जब सेन्टरमा फाराम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भन्छन्। अन्तर्वार्ताका लागि तयारी बस्नुहोस् भनेर फेरि बोल्लाउँछन्। अन्तर्वार्ताका लागि फेरि थप शुल्क लिन्छन्’, उनले भने।

रीता गुरुङ नामक फेसबुक आइडीबाट एउटै जब सेन्टरले कैयौँ युवालाई एकै प्रकारको रोजगारीको विज्ञापन गरेर ठगिरहेको उनको गुनासो छ।

घरमै बसी चाहेको जति पैसा कमाउन सकिने प्रलोभनमा इलामकी गीता बस्नेतले धेरैवटा अनलाइनमा आवेदन दिइन्। पद्मकन्या क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत बस्नेतलाई जब सेन्टरले रोजगारीका लागि बोलायो। तर अन्तिममा दुई साता तालिम लिनुपर्छ भनेर उल्टै पाँच हजार रुपैयाँ मागेको उनले जानकारी दिइन्।

घरभित्रको रोजगारी भनेर ब्युटिपार्लर र मसाज सेन्टरमा काम गर्ने प्रस्ताव गरेको उनी बताउँछिन्। ‘जब सेन्टरहरूले एउटा विज्ञापन गरेर अर्कै धन्दा चलाइरहेका छन्’, उनले भनिन्। उनको पनि रोजगारीको खोजीमा चारवटाभन्दा बढी जब सेन्टरमा आवेदन दिँदा दुई हजारभन्दा धेरै रकम खर्च भएको छ।

चिनो जब सेन्टरकी सञ्चालक रीता गुरुङ विभिन्न रोजगारदाता कम्पनीबाट डिमान्ड ल्याएर जनशक्ति आपूर्तिको काम गर्दै आएको बताउँछिन्। सेन्टरको कार्यालय काठमाडौंँको सीतापाइलामा छ। अहिले सबै काम अनलाइनबाट भइरहेको उनले जानकारी दिइन्।

जबको स्तर हेरेर सेवाशुल्क लिने गरेको उनले बताइन्। ‘एकाउन्टेन्टको रोजगारीमा लगाइदिएबापत एक हजार ५ सय रुपैयाँ आवेदनसँगै अन्तर्वार्ता खर्च र तीन महिना १० प्रतिशत कार्यालयले तलबबाट पैसा काटेर लिइन्छ। अन्य रोजगारीमा तलब हेरेर पैसा लिन्छौँ’, उनले भनिन्।

रीताको चिनो जब सेन्टर कतै दर्ता छैन। उनी कार्यालयमा बसेर काम नगरेको बताउँछिन्। उनको जब सेन्टरमा दैनिक ३० देखि ५० जनाले आवेदन दिन्छन्। योग्यता पुगेका व्यक्तिको बायोडाटा रोजगारदाता कम्पनीमा पठाएर रोजगारी मिलाउने काम गर्दै आएको उनको भनाइ छ। उनले आफूले कसैले पनि ठगी नगरेको दाबी गरिन्।

जब सेन्टरबाट उनीहरूजस्ता हजारौँ युवा ठगिए पनि प्रमाण नहुँदा कानुनी कारबाही गर्न समस्या भइरहेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अधिकारीहरू बताउँछन्।

सामाजिक सञ्जालबाट भइरहेका विज्ञापन नियमनमा समस्या विभागका प्रवक्ता मणिनाथ गोपले बताए। ‘कतिपय शिक्षित युवाहरू विज्ञापनकै आधारमा कामको खोजी गर्दै विभिन्न कार्यालय धाउने गर्छन्। यसको फाइदा नक्कली जब सेन्टरले लिएका छन्। उजुरी नपर्दा कानुनी कारबाही गर्न समस्या छ’, उनले भने। उनले ‘जब सेन्टर’ जानुअघि उनीहरूको आधिकारिता बुझ्न रोजगारीको खोजीमा रहेका युवालाई सुझाव दिएका छन्।

गोपका अनुसार देशभर तीन हजारभन्दा बढी सानाठूला जब सेन्टर भए पनि ४ सय ३१ वटा संस्था मात्र दर्ता छन्। कानुनविपरीत खोलिएका जब सेन्टरबाट हुने ठगी रोक्न र सबैलाई श्रम ऐनको दायरामा ल्याउन प्रयास भइरहेको उनी बताउँछन्।

बेरोजगार युवालाई लक्षित गर्दै खोलिएका जब सेन्टरका कार्यालय छैनन्। बरोजगार युवाहरूको बाध्यताबाट फाइदा लिने तत्त्वहरूले विज्ञापन गर्दै ठग्ने गरे पनि सरकारले बेवास्ता गरेको आरोप रोजगारविज्ञ जीवन बानियाँको छ। प्रहरीमा उजुरी नपर्दा जब सेन्टरका नाममा ठगी गर्नेको धन्धा फस्टाउँदै गएको उनले बताए। ‘रोजगारी पाउने आसमा दैनिक ठगी भइरहेको छ। काम खोज्न गएका युवासँग उल्टै पैसा ठगेर भाग्छन्। यो अपराध हो’, उनले भने।

पीडितले उजुरी नगर्दा ठगको मनोबल बढेको र सानो रकम भएका कारण प्रहरीसम्म उजुरी लिएर पीडित नजानु अर्को समस्या भएको उनको भनाइ छ। श्रम ऐनअनुसार यस्तो ठगीमा संलग्न संस्था व्यक्तिलाई तीन महिना जेल र पाँच हजार जरिबाना गराउने व्यवस्था छ।

प्रहरी भन्छ : उजुरी आउँदैन

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रवक्ता विनोद घिमिरेले जब सेन्टरबाट ठगीमा परेका पीडित उजुरी लिएर आउने गरेको बताए। ‘कल सेन्टरमा कहिलेकाहीँ उजुरी आउँछ। त्यसैका आधारमा प्रहरीले केही जब सेन्टरमा छापा मार्दै आएको छ’, उनले भने।

उनका अनुसार दैनिक पत्रपत्रिका र नेटमार्फत गरिएका विज्ञापनबाट ठगिएका युवा प्रहरीसम्म आउन डराउँछन्। सानो रकम भएकाले ठगिएको उजुरी लिएर पीडित प्रहरीको नआउने उनले बताए। ‘फाराम भर्ने युवाहरुलाई विज्ञापनमा उल्लिखित सर्तको रोजगारी पाउँदैन्। कतिपयले रोजगारी पाए भने पनि तोकिएबमोजिम सेवासुविधा नपाएको गुनासो आउँछ’, उनले भने।

प्रकाशित: २ असोज २०८१ ७:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − four =