किन भिडिरहेका छन् ओली र बालेन?

किरण पौडेल १ असोज २०८१ १२:३५
164
SHARES
किन भिडिरहेका छन् ओली र बालेन? प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र काठमाडौँ महानगरपालकाका मेयर बालेन शाह।

काठमाडौँ- पछिल्लो समय काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र नेकपा एमालेबीचको विवाद सामाजिक सञ्जालमा उत्कर्षमा छ। बालेनले एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फेसबुक, एक्सजस्ता सामाजिक सञ्जालमा विभिन्न आरोप लगाएपछि एमाले कार्यकर्ता संगठित रूपमै खनिएका हुन्।

प्रधानमन्त्री ओली आफैँ बालेनसँग ‘वाक्युद्ध’मा सहभागी हुँदै आएका छन्। कतिपयले आफ्नो पदीय मर्यादा भुलेर महानगरको मेयरसँग विवाद गरेर तल्लो स्तरमा उत्रिएको आरोप ओलीमाथि लगाइरहेका छन्। देशको कार्यकारी प्रमुखले महानगरपालिकाका मेयरसँग सामाजिक सञ्जालमा बाझाबाझ गर्नु नै गलत रहेको उनीहरूको सुझाव छ। ओलीले सामाजिक सञ्जालमा भन्दा सार्वजनिक कार्यक्रममा बालेनविरुद्ध अभिव्यक्ति दिइरहेका छन्।

बालेन पनि निरन्तर ओलीमाथि सामाजिक सञ्जालमार्फत प्रहार गरिरहेका छन्। सामाजिक सञ्जालमा हुने यस्तो वादप्रतिवादले दुवैको पदीय मर्यादामाथि प्रश्न उठेको छ। साथै डिजिटल आक्रमण बढ्न थालेकोमा चिन्ता र चासो पनि उत्तिकै छ। यस्ता विषयलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले कसरी लिने भन्नेमा पनि बहस हुन थालेको छ। साइबर सुरक्षाविज्ञ भने यसबारे सामाजिक सञ्जाल प्रयोगकर्ता नै सचेत हुनुपर्ने बताउँछन्।

सेप्टेम्बर १ मा एमाले प्रदेश सांसद रेखा शर्माले एक बालिकालाई बन्दी बनाएको विषयमा मेयर बालेनले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका थिए। केही समयपछि उनको त्यो स्टाटस फेसबुकबाट गायब भयो। यसलाई एमाले कार्यकर्ताले रिपोर्ट गरेर डिलिट गराइदिएको चर्चा चलेको थियो। यद्यपि केही घण्टापछि बालेनको फेसबुकवालमा त्यो स्टाटस देखियो। बालेनको स्टाटस डिलिट भएपछि उनका समर्थकले ओलीको सामाजिक सञ्जाल (फेसबुक) मा अनफलो अभियान चलाए।

ओलीको फेसबुकमा ६ लाख ६२ हजार फलोअर रहेकोमा अभियान चलाएपछि ५ लाख ८३ हजारमा झरेको थियो। एमाले समर्थकले फेरि ओलीको फेसबुक फलोको अभियान बढाएका छन्। ओलीको फेसबुक फलो बढाउने अभियानमा एमाले महासचिव शंकर पोखरेलदेखि अनेरास्ववियु अध्यक्ष समिक बडालसम्म छन्। बालेनले ओलीविरुद्ध सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको पहिलो घटना भने होइन।

ओलीले बालेनलाई तबला दिएको त्यो क्षण

२०७९ सालमा काठमाडौँको मेयरमा निर्वाचित भएपछि बालेन ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए। ओलीले बालेनलाई शुभकामना दिँदै तबला उपहार दिएका थिए। एमालेका सचिव योगेश भट्टराईले तबला बजाए बराबरको काम बालेनले गर्ने भनेर प्रशंसा गरेका थिए। बालेन सांगीतिक क्षेत्रका व्यक्ति भएकाले ओलीले तबला प्रदान गरेको चर्चा एमाले वृत्तमा भएको  थियो।

काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन निर्वाचित हुँदा एमालेका केशव स्थापित तेस्रो बने। उपमेयरमा एमालेकी सुनिता डंगोलले बाजी मारिन्।  उपमेयरमा लोकप्रिय मत आउनु र मेयरमा तेस्रो मत आउनुले एमालेमा बालेनका कारण हारेको निष्कर्ष थियो। एमालेमा युवा मतदातामा आकर्षण कम हुनु र ‘विवादित छवि’ का केशव स्थापित उम्मेदवार बन्दा हारेको पार्टीको समीक्षा थियो।

यसपछि एमाले बालेनप्रति रुष्ट थियो। अर्कातिर सामाजिक सञ्जालमार्फत स्थापितलाई ‘ह्यारेस्मेन्ट’ को आरोप लागेको थियो। यसप्रति ओलीले त्यसबेला चुनावका बेला ‘मीटू’ आउने गरेको गुनासो गरेका थिए। एमालेका ती नेताका अनुसार सम्बन्ध तिक्त भए पनि बाहिर आइसकेको थिएन। २०७९ भदौमा बालेनले एमालेनिकट व्यवसायी द्विराज शर्माको नयाँ बानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्सको अनधिकृत संरचनामा डोजर चलाए। त्यसपछि एमाले बालेनसँग संगठित रूपमा रुष्ट हुन थालेको हो। पछिल्लो समय सामाजिक सञ्जालमा एमालेको उच्च पदस्थ नेताहरू बालेनविरुद्ध लागेको बताउँछन् राजनीतिका जानकार विमल पोखरेल। उनको बुझाइमा बालेन र ओली यति बेला दुई फरक ध्रुवका जस्ता देखिएका छन्।

आरोपप्रत्यारोपको शृंखला

पछिल्लो समय बालेन र एमाले समर्थकबीच साामजिक सञ्जालमा आरोपप्रत्यारोप बढेको छ। बालेनले ओलीको नामै किटेर स्टाटस लेखेपछि एमाले पंक्ति आक्रामक भएको हो।

ओलीमाथि बालेनको खबरदारी बढेको चाहिँ एमाले सरकारमा गएपछि हो। एमाले फागुनमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारमा गएको थियो। त्यसपछि बालेनले सर्वोच्चको फैसलाका विषयमा त कहिले गिरिबन्धुको विषय निकालेर ओलीमाथि प्रहार गर्न थाले।

थापाथली सुकुम्बासी बस्ती प्रकरण, न्युरोड फुटपाथ विस्तार प्रकरण, गिरीबन्धु टी-स्टेट प्रकरण, एमाले सांसद रेखा शर्मा प्रकरण हुँदै महानगरभित्रका नदी किनारका दायाँबायाँ २०/२० मिटरको जमिनभित्र संरचना बनाउन पाइने कि नपाइने भन्नेसम्म आइपुग्दा बालेनले एमाले र त्यसका अध्यक्ष ओलीविरुद्ध सामाजिक सञ्जालमा धेरैपटक अभिव्यक्ति सार्वजिनक गरेका छन्।

 लुम्बिनी प्रदेश सांसद रेखा शर्माले  बालिकाको श्रमशोषण गरेको विषयलाई बालेनले सार्वजनिक गरेपछि विवाद सतहमा देखिएको हो।  यस क्रममा बालेनले सेप्टेम्बर ८ मा ओलीलाई ‘आफैँ धामी, आफैँ बोक्सी बन्ने’ भन्दै नदी क्षेत्रको जग्गाका बारेमा फेसबुकमा लेखेका थिए। अगस्ट २६ मा ‘कागले कान लग्यो भन्दैमा कागको पछि नलाग्नू’ भन्दै ओलीको नाम किटेर खोलाक्षेत्रकै जग्गाका विषयमा कुरा उठाए। बालेनले जुलाई २ मा ‘यो समय गिरिबन्धु चियाको हो’ भनेर देउवा र ओलीको फोटो पोस्ट गरे। यसअघि बालेनले गिरिबन्धु चियाका नाममा १० हजार डलर काण्ड लुकाउन लागेको आरोप उनले सामाजिक सञ्जालमै लगाएका थिए।

जेठ १४ मा शर्माको धुम्बाराहीस्थित घरमा पुगेर नगर प्रहरीले १४ वर्षीया बालिकाको उद्धार गरेको थियो। शर्माले बालिकालाई पढाउन काठमाडौँ ल्याएको तर काममात्र लगाएको भेटिएको बालेन निकट स्रोत बताउँछ। यही विषयलाई लिएर मेयर बालेनले गत भदौ १६ मा सामाजिक सञ्जालमा ओलीलाई सम्बोधन गर्दै शर्माको फोटोसहित पक्राउ गर्ने  कि नगर्ने भनेर प्रश्न गरेका थिए।

यसअघि प्रचण्ड नेतृत्वको सरकारमा रघुवीर महासेठ भौतिक पूर्वाधारमन्त्री हुँदा बालेनले सडक विभागको कार्यालयअगाडि धुलो थुपारिदिएका थिए। यसबेला पनि एमाले कार्यकर्तादेखि ओलीका सचिवालयका नेताले समेत बालेनमाथि प्रहार गरेका थिए।

एमाले कार्यकर्ता असहिष्णु

बालेन समर्थकले अलफलो थालेपछि ओलीले ‘रुटिन अफ नेपाल बन्द’ नामक फेसबुक पेजको भिडियो आफ्नो पेजमा साझा गरेका थिए। ‘रुटिन अफ नेपाल बन्द’का सञ्चालक भिक्टर पौडेल र मेयर बालेनको मित्रता भएका कारण ओलीले अनफलो अभियानमा ‘ब्रेक’ गराउन सोही भिडियो सेयर गरेको कतिपयको बुझाइ  थियो। यद्यपि उनको सामाजिक सञ्जालमा अनफलो प्रकरण  चलिरह्यो। यसबीचमा बालेनले ओलीमाथि निरन्तर प्रहार गरेको देखिन्छ।

एमाले कार्यकर्ताले बालेन ‘काठमाडौँबासी नभएको’, ‘नशाबाट नउत्रिएको’ जस्ता गम्भीर आरोप लगाएका छन्। ओलीले भदौ २९ गते आयोजित पार्टी कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा बालेनलाई संकेत गर्दै ‘अहिले कहाँबाट एउटा केटो निस्कियो, त्यसले मनपरी बोल्छ, त्यसलाई चाहिँ चलाउनु हुँदैन है, त्यसलाई चलाउनु हुँदैन रे, त्योसँग जनमत छ रे! नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ भने साँच्चै स्थापित हुन्छ’, भनेका थिए।

 बालेनले निरन्तर प्रहार गरेपछि एमाले कार्यकर्ता मैदानमा उत्रिएको एमाले स्रोतको दाबी छ। अहिले एमालेबाट अनेरास्ववियु अध्यक्ष बडालले खबरदारी गरिरहेका छन्।

ओलीले बालेनलाई कसैले बोकेको पनि संकेत गरेका थिए। ‘देखिसक्यौँ त हामीले, बोक्नेले बोकेकै छ त। बोकेको बिरालोले मार्ने हो कि होइन तर बिरालो काँधमा बोकेको छ। यतातिरबाट गोली हानेर मृग मार्‍यो भने बिरालोले मृग मार्‍यो भन्दै चलाइदिन्छ। त्यस कारण हामीले भ्रमबाट मुक्त हुनुपर्छ’, प्रधानमन्त्री ओलीको भनाइ छ।

पछिल्लो समय उपत्यकाभित्रका नदीमा थप २० मिटर बाटोको सन्दर्भमा विवाद देखिन्छ। हुन त उपत्यकाभित्र नदीकिनारमा थप २० मिटर तय गर्ने विषय चार वर्षअघिकै फैसला हो। अहिले जब बालेनले कार्यान्वयन थाले तब विवाद बढेजस्तो देखिन्छ। सरकार फैसलाको विरोधमा पुनरावलोकनमा जान लागेको एमाले कार्यकर्ता बताउँछन्। एमाले कार्यकर्ताले यसबारे अभियान नै चलाएका छन्।

अधिवक्ता इन्द्र अर्याल यसबारे दुवै पक्ष अराजक देखिएको तर्क गर्छन्। ‘यो फैसला त्यतिकै आएको होइन। २०५२ सालमा बनेको रावल आयोगले भनेअनुसारको पर्ती जग्गाप्रति फैसला हो,’ अर्याल भन्छन्, ‘यो फैसलाअनुसार टुकुचामा १० मिटर मात्र यताउता छाड्न मिल्छ भनिएको छ। उपत्यकाका अन्य खोलामा मात्र थप २० मिटरको कुरा आएको छ।’

अर्याल फैसलाप्रति दुवै बेखर रहेको बताउँछन्। ‘यो फैसलाले पर्ती जग्गामा मात्र खाली छाड्न भनिएको छ। तर संघीय सरकार सबैतिर थप २० मिटरको कुरा गर्दैछ। यो सरासर गलत छ’, उनी भन्छन्, ‘फैसला मेयरले कार्यान्वयन गर्ने पनि होइन, उपत्यका (काठमाडौँ, ललितपुर र भक्तपुर) का मालपोत कार्यालयले जग्गा जाँचेपछि मात्र हो। तर मेयर भने आफैँ कार्यान्वयनमा जालान् जस्तो गर्छन्।’ उनका अनुसार दुवै पक्षले पदीय दायित्व भुल्दा यस्तो समस्या आएको हो। ‘स्थानीय सरकार र संघीय सरकारबीच तालमेल हुनुपर्छ। त्यो भइरहेको छैन’, अर्यालले भने।

समस्या एकातिर, विवाद अर्कातिर

काठमाडौँभित्र कहिले सडक भत्किएर समस्या त कहिले खोलाले गाडी बगाएर समस्या हुने गरेको छ। स्थानीय र संघीय सरकार प्रमुख भने सामान्य विषयमा विवादमा रुमलिएका छन्। उनीहरू आमचासो र चिन्ताभन्दा बाहिरका विषयमा समस्या खडा गरिरहेको राजनीतिका जानकार पोखरेल बताउँछन्।

‘काठमाडौँभित्र बहुतै समस्या छ। सबै समस्यामा कसैको ध्यान छैन,’ उनी भन्छन्, ‘यही एउटा विषयमा बालेन लागेका छन् भने एमाले उनीविरुद्ध खनिएको छ।’ पोखरेल बालेनभन्दा ओली असहिष्णु देख्छन्। ‘मेयर भनेको काठमाडौँभित्रको हो प्रधानमन्त्री त देशको हो नि’, उनको प्रश्न छ, ‘यसमा अराजक बोल्दै मेयरसँग प्रधानमन्त्रीले भिड्ने हो?’

उनी ओलीले बालेनविरुद्ध राजनीतिक अपराध गरको दाबी गर्छन्। बालेन पनि समयसमयमा अराजक बोल्ने गरेको पोखरेलले बताए। ‘सिंहदरबार जलाउँछु भन्नु गलत हो’, उनले भने, ‘ प्रधानमन्त्री त मेयरको पनि अभिभावक हो नि। त्यसैले उहाँले अराजक बोल्नुपर्छ भन्ने छैन।’

अभिभावक जिस्क्याएपछि परिवारका सदस्य जाइलागेका हुन् : एमाले

एमाले कार्यकर्ताले बालेनलाई तल्लो स्तरको गाली गर्न थालिसकेका छन्। कतिपयले त बालेनलाई ‘भारतीय एजेन्ट’ समेत भनिसकेका छन्। ‘हामीले बालेनलाई गाली गरेको होइन। उनी जुन पदमा बसेर अराजक काम गरिरहेका छन् त्यो प्रवृत्तिलाई खबरदारी गरेको हो’, एमाले काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौला भन्छन्, ‘पदमा बसेपछि पदीय जिम्मेवारी पूरा गर्नुपर्छ।’ ओलीमाथि प्रहार हुँदा अन्य कार्यकर्ता प्रतिरक्षामा लागेको उनको भनाइ छ।

नेताहरू सामाजिक सञ्जालमा वादप्रतिवादमा उत्रनु गलत : साइबर सुरक्षा विज्ञ सुब्बा

साइबर सुरक्षा विज्ञ डा. राजीव सुब्बा भने नेताहरूबीच सामाजिक सञ्जालमा देखिएको वादप्रतिवादलाई गलत ठान्छन्। एउटै व्यक्तिका धारणालाई कसैले सकारात्मक र कसैले नकारात्मक रूपमा लिने भएकाले कसको धारणा सही भन्नै कठिन हुने उनको बुझाइ छ। सुब्बाले हिमालप्रेससँग भने, ‘सामाजिक सञ्जालमा जिम्मेवार नेताले अनावश्यक बहस गर्नु गलत हो। समाजले यसबारे भिन्नभिन्नै तरिकाले ग्रहण गर्छ। कसैले कसैको कुरा सकारात्मक रूपमा लिन्छन् भने कसैले नकारात्मक रूपमा। ककसको कुरा कति पत्याउने भन्ने कुरा सामाजिक सञ्जाल प्रयोगकर्तामै भर पर्छ।’

नेताहरूको पोस्टमा चासो नराख्ने भने त्यसको महत्त्व कम हुने उनले बताए। सुब्बाले भने, ‘नेताहरूको पोस्टमा प्रतिक्रिया जनाउने पनि हामी नै हौँ। भलै कसैले ओलीको पक्षधरता देखाएका छौँ, कसैले बालेनको, चासै नराख्ने भने स्टाटसको महत्त्व कम हुन्छ।’

प्रकाशित: १ असोज २०८१ १२:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =