सुदूरपश्चिम सरकारले भदौ ३१ मा बजेट ल्याउने

हिमाल प्रेस २९ भदौ २०८१ १०:१८
10
SHARES
सुदूरपश्चिम सरकारले भदौ ३१ मा बजेट ल्याउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय।

काठमाडौँ- सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले आज बिहान पत्रकार सम्मेलन गर्दै भदौ ३१ गते बजेट ल्याउने बताएका हुन्।

उनले गत असार १ गते सदनमा प्रस्तुत भएको बजेटमा सामान्य पुनरावलोकन गरेर बजेट ल्याउने तयारी गरेको जानकारी दिए। उनले भने, ‘संवैधानिक र कानुनी प्रक्रियामा रहेर नै बजेट आउँछ। यसअघि बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट आउँछ। किनभने सदनको हामीले सम्मान गर्नु पर्दछ।’

प्रदेश सरकारले बजेट निर्माणको लागि निर्धारण गरेको ४ वटा आधारहरूभित्रै रहेर बजेट तयारी गरेको बताउँदै ती आधारले बजेट कार्यान्वयनको पाटोलाई समेत मजबुत बनाउने विश्वास व्यक्त गरे।

प्रदेश सरकारले २५ लाख भन्दामाथि सिलिङ कायम गरी बजेट विनियोजन गर्ने, आवश्यकता र आौचित्यको आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भएमा कार्य योजनासहित सशर्त अनुदानको रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरेको छ।

तत्कालीन सरकारले असार १ गते प्रदेश सभामा प्रस्तुत विनियोजन विधेयक (बजेट) पास नभएपछि नवगठित सरकारले बजेट निर्माणमा जुटेको हो।

निवर्तमान मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले गत असार १ गते प्रदेश सभामा विनियोजन विधेयक (बजेट) पेस गरेको थियो। तर राजनीतिक घटनाक्रममा आएको फेरबदलले प्रदेश सरकारले बजेट पास गर्न नसक्दा बजेट शून्यताको अवस्था सिर्जना भएको छ।

प्रकाशित: २९ भदौ २०८१ १०:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =