काठमाडौँ- काठमाडौँको वीर अस्पतालमा जलनका बिरामीको उपचार सेवा सुरु गरिएको छ। वीर अस्पतालमा जलन उपचार केन्द्रको स्थापना गरी जलनका बिरामीको उपचार सेवा सुरु गरिएको हो।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा डा.केडी जोशी जलन उपचार केन्द्रको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शुक्रबार शुभारम्भ गरे। जलनका बिरामीका लागि अस्पतालमा छुट्टै अप्रेसन थिएटर, आईसीयू र जनरल बेडको व्यवस्था गरिएको छ। मन्त्री पौडेलले जलनको उपचारका लागि आएका बिरामीलाई अन्यन्त्र रिफर गर्नुपर्ने अवस्थाको अन्त्य भएको बताए।
केन्द्रको शुभारम्भपछि अस्पतालको अन्य सेवाको निरीक्षणसमेत गरेका मन्त्री पौडेलले अस्पतालमा भएका जनशक्ति र उपकरणको अधिकतम उपयोगमा जोड दिए। उनले सबै टिकटहरुलाई अनलाईन प्रणालीमार्फत लैजान निर्देशन दिए। २०७२ को विनासकारी भूकम्पका कारण अस्पतालबाट जलनका बिरामीको उपचार सेवा बन्द भएको थियो।