प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने : जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

हिमाल प्रेस २८ भदौ २०८१ ५:५७
62
SHARES
प्रचण्ड र बाबुरामले एउटै मञ्चबाट भने : जनयुद्ध आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो परिघटना

काठमाडौँ-  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा चलेको दसवर्षे ‘जनयुद्ध’ आधुनिक नेपाल निर्माणपछिको सबैभन्दा ठूलो ऐतिहासिक परिघटना भएको बताएका छन्।

आजदेखि प्रसारण हुन लागेको ‘जनयुद्ध’का घटनामा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर सो राजधानीमा बिहीबार हेरेपछि उनीहरूले लाखौँ जनता सहभागी भएको ‘जनयुद्ध’को आवश्यकता र महत्त्व युगौँसम्म चर्चा भइरहने बताएका हुन्।

अध्यक्ष प्रचण्डले नेपाल राज्यको एकीकरणपछि नेपाली जनता सामेल भएर यति ठूलो राजनीतिक क्रान्ति कहिल्यै नभएकाले यो ऐतिहासिक परिघटना भएको बताए। ‘पृथ्वीनारायण शाहको नेपाल एकीकरणपछि लाखौँलाख जनता सहभागी भएर गरिएको कुनै राजनीतिक आन्दोलन छ भने त्यो माओवादी जनयुद्ध नै हो’, उनले भने, ‘लाखौँ जनताले यसमा भागमात्र लिएनन्, वर्षौँदेखिको वर्गीय, जातीय, क्षेत्रीय, लैङ्गिक, भाषिक उत्पीडनको अन्त्य भएर समतामूलक समाज निर्माणको नयाँ आधार खडा भएको छ।’

कतिपय शक्तिहरूले ‘जनयुद्ध’ को नेतृत्वकर्ता माओवादीको भूमिकालाई न्यूनीकरण गर्नेगरी बहस गर्न खोजिएकोप्रति दाहालले असहमति जनाए। उनले जनताको बलिदान र वीरतामा आधारित ‘जनयुद्ध’को मर्म इतिहासमा स्थापित भइसकेको दाबी गरे।

‘कतिपयले माओवादीलाई हामीले मूलधारमा ल्यायौँ भनेको पनि सुन्छु’, उनले प्रश्न गरे, ‘हामी मूलधारमा आयौँ कि हामीले मूलधार सिर्जना गर्यौँ? हामी संवैधानिक राजतन्त्रको मूलधारमा गएका होइनौँ। अन्य दलहरू हामीले स्थापित गरेको गणतान्त्रिक मूलधारमा आएका हुन्।’

नेसपाका अध्यक्ष डा.भट्टराईले ‘जनयुद्ध’ नेपाल राज्य बनेयताको सबैभन्दा ठूलो परिघटना भएको बताए। उनले भने, ‘सुगौली सन्धिअघिको राज्य विस्तारका क्रममा टिस्टाबाट काँगडासम्म महिला बालबालिकालगायत सबै नेपालीले आन्दोलनमा भाग लिएका थिए, त्यसयता लाखौँ जनता कुनै अभियानमा सहभागी भएका थिए भने त्यो जनयुद्ध नै हो।’

‘जनयुद्ध’कै कारण संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको चर्चा गर्दै डा भट्टराईले ‘जनयुद्ध’का क्रममा भएका कतिपय घटनालाई लिएर मूल पक्षलाई ओझेलमा पार्ने प्रयास गर्नु इतिहासप्रतिको सही मूल्यांकन नहुने बताए।

‘बच्चा जन्मँदा सालनालसहित जन्मन्छ, पखालेर सफा गरिन्छ तर बच्चासँगै जन्मेको फोहोर मूल पक्ष होइन, मूल पक्ष भनेको बच्चाको जन्मले दिएको खुसीयाली हो’, उनले भने,‘माओवादी जनयुद्ध पनि यस्तै हो, जनयुद्धका क्रममा कतिपय नहुनुपर्ने घटना नभएका होइनन् तर मूल पक्ष भनेको यो परिवर्तनका लागि भएको परिघटना थियो र यसले आम उत्पीडित जनतालाई दिएको मुक्ति र खुसी नै जनयुद्धको मूल पक्ष हो।’

कार्यक्रममा टेलिफिल्मका निर्देशक निर्माता मरिचमान श्रेष्ठले टेलिशृंखला ‘राधाकृष्ण’ले जनयुद्धको यथार्थ पक्ष उजागर गर्ने बताउँदै हरेक शुक्रबार साँझ प्रसारण हुने बताए। टेलिफिल्म माओवादीको नेतृत्वमा २०५२ सालदेखि २०६२ सम्म भएको ‘जनयुद्ध’ मा आधारित छ। हास्यकलाकार जितु नेपाललगायतले शुभकामना दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =