भुक्तानी नपाएपछि इटहरीका उपभोक्ता आन्दोलित, मेयरले झुक्याएको आरोप

हिमाल प्रेस २६ भदौ २०८१ १३:०२
6
SHARES
भुक्तानी नपाएपछि इटहरीका उपभोक्ता आन्दोलित, मेयरले झुक्याएको आरोप

इटहरी- इटहरीमा भुक्तानी नपाएपछि उपभोक्ताहरू आन्दोलित बनेका छन्। बुधबार उपमहानगरपालिका अगाडि उपभोक्ताहरूले मेयर हेमकर्ण पौडेलविरूद्ध नाराबाजी गर्दै आन्दोलन गरेका हुन्।

उपभोक्ताहरूले गत शनिबारबाट आन्दोलन सुरु गरेका हुन्। बुधबार (आज)देखि दैनिक आन्दोलन गरिने उपभोक्ताहरूले जनाएका छन्। मेयर पौडेलले वार्तामा नबस्ने, छलफलै नगर्ने र उपभोक्तालाई आज, भोलि भन्दै भुक्तानी दिन रोक लगाएर झुक्याएकोसमेत आरोप लगाएका छन्।

आर्थिक वर्ष २०८०/०८१ को नीति तथा बजेटमा समावेश भएका नगरस्तरीय योजना सम्झौता भएर काम सम्पन्न भएपनि लामो समयदेखि भुक्तानी नपाएको भन्दै यहाँका उपभोक्ताहरू आन्दोलित बनेका हुन्।

संघर्ष समितिका संयोजक दीपक श्रेष्ठका अनुसार इटहरीका दुई सय पचास भन्दा बढी उपभोक्ताहरूको पूर्ण रकम भुक्तानी हुन बाँकी रहेको र तीन सय पचास भन्दा बढीको आंशिक भुक्तानी भएको छ। करिब १७ करोड रुपैयाँ रकम उपभोक्ताले पाउन बाँकी भएका कारण आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए।

उपमहानगरअगाडि भएको विरोध कार्यक्रममा बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरी परिचालन गरिएको थियो। ‘आम उपभोक्ताले वडा र नगरमार्फत सम्झौता गरेर काम सम्पन्न गरेका थियौँ, असार मसान्तमै पाउनुपर्ने भुक्तानी हालसम्म पाइएको छैन,’ संघर्ष समितिका संयोजक श्रेष्ठले भने, ‘हामी विभिन्न महिनादेखि यहाँ धाइरहेका छौँ। नगर प्रमुख र जनप्रतिनिधिसँग नजिक भएकाहरूले यसअघि नै भुक्तानी पाएको कुरा पनि आएको छ।’

उनले भुक्तानी नपाउँदा आजित भएर आन्दोलन गर्न बाध्य भएको बताए। उनले अदालतले तारेख दिएजस्तो उपमहानगरले पनि तारेख दिएको जनाए।

अब हरेक दिन बिहान ११ बजेदेखि उपमहानगरअगाडि आन्दोलन गरिने उनले बताए। ‘हामीलाई अदालतले दिएको तारेखजस्तो पटकपटक धाइरहेका छौँ,’ उनले भने, ‘हामीलाई फेसबुके आन्दोलनकारी भनेर उहाँ (मेयर हेमकर्ण पौडेल)ले भन्नुहुन्छ, त्यसैले आज प्रत्यक्ष उपस्थित भएका हौँ।’

पटकपटक साउन ७, १५, २९ गते, भदौ ५, १५ र २२ गतेसम्मको समयसीमा दिएपनि अझैसम्म भुक्तानी नदिएका कारण आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ। मेयर पौडेलले संघर्ष समितिसँग वार्ता र छलफलमै बस्न नचाहेको र फेसबुकमार्फत मात्रै प्रतिवाद गरेका कारणसमेत आन्दोलनमा उत्रन बाध्य भएको उनको भनाइ छ।

उपमहानगरका मेयर पौडेलविरूद्ध ‘नगरबासीले तिरेको कर, दुरुपयोग गर्न बन्द गर,’ ‘उपभोक्तामाथिको अत्याचार बन्द गर,’ ‘उपभोक्ताहरूको भुक्तानी तुरुन्त दे,’ ‘उपभोक्ताहरू एक हौँ,’ ‘उपभोक्ता हेप्न पाइँदैन, हिलो छ्याप्न पाइँदैन,’ ‘उपभोक्तामाथिको अत्याचार, एकपटक होइन, बारम्बार,’ लगायतका प्लेकार्डसहित विरोध प्रदर्शन गरिएको थियो।

प्रकाशित: २६ भदौ २०८१ १३:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =