नोस्टालजिया

हरिकुमार श्रेष्ठ २२ भदौ २०८१ ८:१२
82
SHARES
नोस्टालजिया

अतीतका कतिपय पानाहरू सधैँ यादगार रहन्छन्। कतिपय सम्झना जीवनपर्यन्त ताजा हुन्छन्। ती सम्झनालाई सधैँ सिरानीमुनि राखी सुत्न मन लाग्छ। अनि कतिपय याद भुल्नै नसकिने हुन्छन् जसको पदचापको ध्वनि वर्तमानमा पनि प्रतिध्वनित भइरहन्छन्। त्यसैले हो कि मलाई कहिलेकाहीँ आफ्नै अतीततिर फर्किन मन लाग्छ। अतीतमा रम्न मन लाग्छ अनि अतीतलाई सम्झेर गम्न मन लाग्छ। अतीतका सम्झनालाई मुटुभरी साँच्न मन लाग्छ, अनि त्यही सम्झनामा जुगजुगभरि बाँच्न मन लाग्छ।

त्यसरी अतीतका दिनमा भुल्दा कहिलेकहीँ त लाग्छ- ती दिन वर्तमान भैदिएको भए कस्तो हुन्थ्यो होला? नोस्टाल्जिया त्यसैलाई भन्दा हुन्, सायद।

आज म त्यस्तै नोस्टालजियाको कुरा गर्दैछु।

त्यतिखेरको कुरा हो जतिखेर मैले स्नातक तहको पढाइ पूरा गरी भर्खरै जागिरे जीवनमा प्रवेश गरेको थिएँ। एक सरकारी संस्थानमा अधिकृतस्तरको जागिरको सिलसिलामा पोखरामा थिएँ। फुक्काफाल थियो जिन्दगी। घरव्यवहारको चिन्ता थिएन। पैसा कमाउन पर्छ भन्ने सोच पनि थिएन। तलबले महिना राम्रै चल्थ्यो। साथीभाइसँग रमाइलो गर्यो , शनिबारको दिन फेवातालमा दिनभरि डुंगा चलायो, मन्दमन्द हावासँग सुस्तरी आउने छालसँगै हरायो।

बिन्दास थियो जिन्दगी।

झन् त्यस्तैमा मेरो विद्यार्थी जीवनको पुनरागमन भएको थियो। २०३४ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा अर्थशास्त्र विषयमा स्नातकोत्तर तहको अध्यापन सुरु भएपछि जागिरले ब्रेक लाएको एमए पढ्ने मेरो धोकोले मूर्त रूप लिएको थियो। जागिरे जीवन र विद्यार्थीकालको सम्मिश्रण पनि गजबको खिचडी हुँदोरहेछ। हामी केही जागिरे साथीभाइ थकाल्नी दिदीको होटेलमा भात खान्थ्यौँ। बास्नादार पोखरेली मसिनो चामल, जिम्बुले झानेको कालो दाल, रातो खुर्सानी फुराएको रायोको साग, लोकल कुखुराको झोल सम्झँदा अहिले पनि जिब्रो रसाउँछ।

मेरो दैनिकी पनि अरू विद्यार्थी साथीहरूभन्दा केही फरक थियो, कारण जागिरको बिल्ला जो थियो। १० बजे त म क्लास छाडेर अफिसका लागि दौडिहाल्थेँ। दिनभर अफिसको सर्कल, साँझबिहान आफूसँग मिल्ने साथीभाइसँग क्याम्पसको चउरमा गफिएर बिताउने वा थकाल्नी दिदीको होटेलमा छिचरा कुरा गरेर समय काट्ने।

समय काट्नेभन्दा त्यो त फुत्तफुत्त भागिरहेको हुन्थ्यो।

गुरङ्सेनी दिदीको घरमा डेरा गर्ने एक अर्का छिमेकी थिए, जोसँग मेरो पूर्वपरिचय थिएन। अरू बेला पढाइमा खासै ध्यान नदिए तापनि सेमेस्टरको अन्ततिर भने केही मिहिनेत गर्नुपर्दथ्यो। त्यसमाथि हप्तैपिच्छे इन्टरनल एसेसमेन्टको पेपर बुझाउनुपर्थ्यो। बेलुका भात खाइवरी जब म पेपर लेख्न बस्थेँ, त्यसैबेला अर्को कोठाबाट आउने संगीतको सुमधुर झंकारले मेरो एकाग्रता भंग हुन्थ्यो। कहिले हार्मोनियम, कहिले मादल र सारंगीको धुनमा युगल गीतको आवाज कानमा गुञ्जिन थालेपछि लेखपढ छाडेर म त्यही सुमधुर स्वर सुन्नतिर लाग्थेँ।

केही समयपछि थाहा पाएँ- ती युगल जोडी त्यतिखेरका चर्चित गायकगायिका सरोज गोपाल र बाबा राणा पो रहेछन्। उनीहरूको अन्तरजातीय विवाह घरपरिवारले स्वीकार नगरेको कारण डेराको शरणमा आएका रहेछन्। सरोज र बाबा राणा गण्डकी प्रदेशको रनवनमा घन्किने मौलिक लोकभाकाको खोजीमा जुटिरहन्थे। त्यसैलाई नयाँपन दिन साँझ कोठामा संगीतमा धुन भर्ने र रियाज गर्ने गर्दथे। उनीहरूको दैनिक रियाजले सुरुका केही दिन मलाई डिस्टर्ब गरे पनि बिस्तारै म तिनका कर्णप्रिय स्वर संगीतमा मोहित हुँदै गएँ। हुँदाहुँदा लत यस्तो बस्यो कि रेडियोमा गीत नबजाई निद्रा नै नपर्ने पनि भयो। त्यसैबेला मैले सरोज गोपालको ‘यो मायाको मोहनी बोली’ जस्ता लोकप्रिय गीत रेडियोमा बज्नुअघि नै सुन्ने मौका पाएको हुँ।

जागिर र पढाइको सम्मिश्रण त्यति रंगीन होला भन्ने मैले चिताएको थिइनँ।

अफिसको कामको सिलसिलामा बेलाबेलामा भैरहवा गइरहनुपर्थ्यो। पोखरादेखि सुनौलीसम्मको सिद्धार्थ राजमार्ग त्यतिखेर धेरैपटक ओहरदोहर गरेको अनुभव छ। त्यसरी यात्रा गर्दा कालीगण्डकीको राम्दीघाटको फलामे पुलले मेरो मन लोभ्याउँथ्यो भने त्यसपछि घुमाउरो बाटो उकालो चढेपछि आउने आर्यभन्ज्याङको चिसो हावाले मन शीतल बनाउँथ्यो। ‘आर्यभन्ज्याङ घुम्तीमा लेट भयो, बल्ल भेट भयो’ बोलको लोकभाका मलाई अझै कण्ठ छ।

भैरहवामा अफिसको काम सिध्याएपछि सुनौली, नौतनवा घुमघामका लागि निस्कने नियमित रुटिन नै थियो। त्यति मात्र हैन, कहिलेकाहीँ त त्यहाँबाट सीधा गोरखपुर पनि भ्याइन्थ्यो। कोर्सको किताब त्यतिखेर पोखरामा त के कुरा काठमाडौँमा पनि सजिलै पाइन्थेनन्। किताब किन्नै भनेर गोरखपुर गएको छु। किताब किन्ने त बहाना मात्रै, भर्खरै रिलिज भएका बलिउडका चर्चित सिनेमा पनि हेर्न भ्याएको छु। त्यस्तै भैरहवाको पवन मिष्ठान्न भण्डारको पेडा र दहिवाडा अनि तौलिहवा जाँदा त्यतिखेरको नामी भेल्लुको सेकुवा पनि स्वाद मानिमानी खाएको छु।

ती दिन सम्झिँदा रमाइलो लाग्छ। अनि अतीततिर फर्केर हेर्दा त्यस्तो फुक्काफाल जिन्दगी सम्झिएर आफैँप्रति डाहा पनि लाग्छ।

घर जाने भनेको त्यस्तै महिनामा एकदुई पटक हो। घर जाँदा मैले गोरखपुर, नौतनवामा किनेको सुती सारी बेर्न पाए आमा त्यसै दंग पर्नुहुन्थ्यो। भाइबहिनी नयाँ लुगा लाउन पाएकोमा मख्ख। बुबालाई दुईचार सय रुपैयाँ खल्तीमा हालिदिँदा व्यवहार चलिहाल्थ्यो। हाम्रो परिवारको अर्थशास्त्र त्यति सरलरेखामा हिँडिरहेको थियो। त्यो मैले किताबमा पढिरहेको आर्थिक विकासको सिद्धान्तजस्तो जटिल थिएन। त्यसरी नै सधैँ घरबार चल्दो हो त कति सुखी हुन्थ्यो होला हाम्रो जीवन?

दसैँको बिदामा भने बुबाआमा, भाइबहिनीसँग अलि लामै समय रमाइलो गरी बिताउन पाइन्थ्यो। केटाकेटीलाई खेल्न बुबाले आँगनमा नै पिङ हालिदिनुहुन्थ्यो। म त्यही पिङमा बिस्तारै हल्लिँदै आफैँमा हराइरहेको हुन्थेँ। किनकिन मलाई कहिलेकाहीँ आफैँभित्र हराउन पनि रमाइलो लाग्थ्यो। बेला नै त्यस्तो थियो।

दसैँको बिदा सकेर म प्रायः पूर्णिमाको दिन पोखरा फर्कन्थेँ। एक त, भोलिपल्ट अफिस भ्याउन सजिलो अनि बसमा भीडभाड पनि कम हुने। त्यसउसले त्यस वर्ष पनि दसैँ मनाई म पूर्णिमाकै दिन घरबाट निस्केँ।

पृथ्वी राजमार्गको विमलनगरमा बस कुर्दै थिएँ। पोखरा जाने बस बेलैमा भेटियो। त्यति भीडभाड पनि थिएन। बसभित्र सिट खोज्दै पसेँ। एउटा सिट खाली थियो। एक जना भर्खरकी युवती झ्यालबाट बाहिर हेर्दै थिइन्। सिटमाथि झोला राखेर के बसेको थिएँ, उनले पुलुक्क मतिर हेरिन्। उनलाई कतै देखेजस्तो, भेटेजस्तो लाग्यो। नभन्दै हो रहेछ। उनी पनि पोखरामा पढ्दै थिइन् तर मभन्दा जुनियर। एसएलसी गरेपछि प्राथमिक शिक्षक तालिमको एकबर्से कोर्स हुँदोरहेछ। उनी त्यही अध्ययन गर्दै थिइन्। सिनियर भएकोले क्याम्पसमा हामीलाई धेरैले चिन्थे, हामीले बरु चिन्थेनौँ। आज बसमा सँगै यात्रा गर्दा चिन्ने मौका जुऱ्यो।

बस गुड्दै गयो, हाम्रो कुराकानी पनि बढ्दै गयो जुन दसैँ गफमा केन्द्रित थियो। पिङ कत्तिको खेलियो ? रोटी कति खाइयो? टीका थाप्न कहाँकहाँ गइयो? त्यही त हो दसैँ गफ। अनि कति साथी भेटियो? केके गफ मारियो? उनले ममाथि गरेको प्रश्न। त्यसरी हल्काफुल्का कुरा गर्दैमा कुन बेला बस महेन्द्रपुल आइसकेछ, हामीले थाहै पाएनौँ।

समय कहिलेकाहीँ पत्तै नहुने गरी कति छिटो बित्दो रहेछ।

बसबाट ओर्लिँदा साँझ परिसकेको थियो। दसैँको ह्याङओभरले गर्दा सडक सुनसानजस्तै थियो। काँधमा झोला बोकेर हामी बिस्तारै गन्तव्यतर्फ लाग्यौँ। उनलाई होस्टेल पुग्नु थियो, मलाई डेरा। ती दुईको दूरी नजिकै थियो। एकै ठाउँमा जाने भनेपछि उनलाई पनि सजिलो भयो।

तर के सजिलो हुनु नि? त्यसले त उल्टै असमञ्जसको स्थिति पो निम्त्यायो। पहिला उनलाई होस्टेल छाडेर कोठातिर लाग्नुपर्ला भनेर हामी क्याम्पस गेटतर्फ सोझियौँ। तर होस्टेलको गेटमा भोटेताल्चा लागेको रहेछ। केही सामसुम थिएन। क्याम्पस गेटको पालेलाई सोध्दा थाहा भयो- होस्टेल त पूर्णिमासम्म बिदा रहेछ, भोलि मात्रै खुल्ने। उनको पनि के सुद्धि हो कुन्नि? त्यति कुरा पनि हेक्का नराखेको। बसको भीड छल्न खोज्दा तावाको माछा भुंग्रोमा खसेजस्तो पो भयो।

अब परेन के फसाद ? एक छिनअघि पूर्णिमाको जूनजस्तो उनको अनुहार औँसीको रातजस्तो भयो। एक्ली छात्रा, होटेलमा बसेको अनुभव पनि छैन – उनी असिनपसिन भइन्।

त्यस्तो अनपेक्षित परिस्थिति आउला भन्ने मैले चिताएकै थिइनँ। मलाई पनि के गरूँ, कसो गरूँ भयो। म उनको सिनियर, भर्खरैको सामान्य चिनापर्ची, अप्ठ्यारो लाग्ने नै भयो। तैपनि समाधान त सुझाउनु नै थियो। दोमनदोमन, गाह्रो मानिमानी भनेँ, ‘आजको रात दुःखसुख गरी मेरै कोठामा काट्नु नि त। अनि भोलि बिहानै होस्टेल जाउँला, हुँदैन?’
त्यति भर पाएपछि उनको औँसीको रातजस्तो अनुहारमा द्वितीयाको जून उदायो।

यताउति गर्दैमा रात ढल्न लागिसकेको थियो। भोकले पेटमा मुसा दगुर्न थालेका थिए। सोझै थकाल्नी दिदीको होटेलमा भात खान पस्यौँ। हामी दुईलाई देखेर उनले कर्के नजरले हेरिन्।

किञ्चित् असजिलो मान्दै हामी कोठामा छिऱ्यौँ। बिन्दास जागिरे र बेपर्वाह विद्यार्थीले प्रयोग गर्ने कोठा कस्तो होला? मैले भन्न परोइन। एउटा कोठा, सिंगल खाट, पढ्नलाई मेचटेबुल अनि कोठाको एक छेउमा चिया कफी बनाउने एउटा सानो प्यान्ट्री। त्यही नै मेरो कोठाको भूगोल थियो।

कोठामा प्रवेश गर्दा म जति सहज थिएँ, भित्र छिरेपछि कोठाको भूगोल र समाजशास्त्रले मलाई असिनपसिन बनाउन थाल्यो। म मेचमा बसेँ, उनी खाटको एक छेउमा टुसुक्क बसिन्। हामी दुवैको मनमा केके कुरा खेले कुन्नि, केहीबेर निःशब्द बस्यौँ, केही बोलेनौँ। नबोले पनि छटपटी त लागेकै थियो जुन आँखाको भाषामा पढ्न सकिन्थ्यो।

स्थिति सामान्य बनाउन मैले फेरि दसैँ गफको प्रसंग जोडेँ। केही छिन हामी त्यसैमा गफियौँ। हाम्रो कुराकानी त्यसभन्दा अघि बढ्न सक्तैनथ्यो भन्ने कुरा मैले राम्ररी बुझेको थिएँ। उनले झन् नबुझ्ने कुरै भएन। तर रात त्यसरी गुजार्न पनि त सम्भव थिएन। थकाइ र निद्राले परेली लोलाउन थालिसकेका थिए। मैले खाटबाट पातलो लम्पट निकालेर भुइँमा बिछ्याएँ। दुईटा सिरानीमध्ये एउटा झिकेर भनेँ, ‘तिमी मेरो पाहुना, खाटमा सुत। म भुइँमा सुत्छु।’

उनले असजिलो मान्दै भनिन्, ‘तपाईँको ओछ्यानमा म कहाँ सुत्नु नि? मलाई भुइँमै ठीक छ।’
त्यसरी ‘पहिले आप, पहिले आप’ गर्दैमा केही छिन अझै बित्यो।

‘ल भैगो, तिम्रै जित भयो ।’ म खाटमा पल्टेँ, उनी भुइँमा कुक्रुक्क परेर पल्टिन्।
‘गुड नाइट’ भनेर मैले बेडस्विच अफ गरेँ।

बेडस्विच अफ गरे पनि दिमागको स्विच झन तीव्र गतिमा चलिरहेको थियो। यता कोल्टे फेऱ्यो , उता कोल्टे पऱ्यो- के निद्रा आओस्। झ्यालबाट जूनको मधुर प्रकाशले चियाइरहेको थियो। त्यही प्रकाशमा भुइँतिर हेरेँ- उनी पनि त्यस्तै कहिले यता कहिले उता गरिरहेकी थिइन्।

छटपटिमै रात बित्यो। बिहानीपख कुन बेला परेली झपक्क भएछ। सपना र विपनाको गोधुलीमा रमाउँदै गर्दा कुन बेला उज्यालो भयो, मैले थाहै पाइनँ। उठ्दा घाम झलमल्ल भइसकेको थियो। उनी त उठेर नुहाइधुवाई गरी फ्रेस समेत हुन भ्याइसकिछिन्। म उठ्दा टेबुलमा तात्तातो चिया थियो, अगाडि लाजले झुकेको उनको रातो अनुहार।

बोल्नलाई हामीसँग शब्द थिएनन्। नि:शब्द थियौँ तर उनको निश्चल लज्जामिश्रित नयनको भाषा पढेपछि म चंगाजस्तै हलुंगो भएँ।

चियाको चुस्की लिँदै जिस्क्याएँ, ‘गजबको निद्रा परेजस्तो छ नि, कति फ्रेस देखिएकी?’
‘होला अब?’ उनले शिर झुकाइन्।

चिया खाइवरी उनलाई होस्टेल पुऱ्याउन गएँ। माछापुछ्रे र अन्नपूर्ण हिमाली शृंखला झन् धेरै खुलेका थिए।

[श्रेष्ठको केही समयअघि प्रकाशित ‘नोस्टालजिया’ पुस्तकबाट साभार]


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =