सहयोग बढाउन र बीआरआईबारे सरकारको निर्णयमा चीनलाई सहमत गराउने काम गर्छु : ओली

हिमाल प्रेस १६ भदौ २०८१ १९:१९
6
SHARES
सहयोग बढाउन र बीआरआईबारे सरकारको निर्णयमा चीनलाई सहमत गराउने काम गर्छु : ओली

काठमाडौँ — चीनका लागि प्रस्ताववित राजदूत कृष्णप्रसाद ओलीले  चीन गरिब हुँदा नेपाललाई अनुदान दिने र धनी भएपछि ऋणमा जोड गरिरहेको अवस्थामा चिनियाँ सहयोग बढाउने र बीआरआईबारे नेपालको धारणा प्रष्ट पार्ने काम गर्ने बताएका छन्।

संसदीय सुनुवाइमा उनले चीन सरकारले अगाडि सारेको परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) मा नेपाल सरकारको निर्णय प्रष्ट पार्न आवश्यक रहेके बताउँदै यसका लागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे।

चीनसँग नेपालको पुरानो मित्रतालाई थप बलियो र चलायमान बनाउनेमा आफ्नो जोड रहने उनकाे भनाइ थियाे। सरकारको निर्देशनलाई पालना गर्नेगरी नै राजदूत जाने भएकाले त्यही अनुरुपको काम गर्ने उनले बताए।

ट्रान्स हिमालय सम्बन्धलाई अगाडि बढाउने नीतिबारेमा पनि आफूले सरकारसँग कुरा गर्ने बताए। चीनको ऋणलाई अनुदानमा बदल्न सरकार लागि रहेको अवस्थामा सरकारको एक प्रतिनिधिको हैसियतमा त्यसलाई फत्ते गराउन आफूले पहल गर्ने उनले उल्लेख गरे।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न आफूले सक्दो भूमिका निर्वाह गर्ने उनले प्रष्टसँग भने। चीनको राजनीतिक हस्तक्षेपबारे उनले त्यस्तो आफूले अनुभूति गर्न नपाएको र मुलुकको कम्युनिष्ट मिलाउने विषय पत्रपत्रिकामा पढेको हुनाले त्यो विषयमा खासै चासो नरहेको उनके भनाइ थिये। त्यस्तो कतै सुन्नमा आएमा आफू पनि विदेशी हस्तक्षेप आन्तरिक मामिलामा हुन नहुने भन्ने पक्षधर भएकाले त्यसलाइ चिर्नेतिर लाग्ने बताए।

ओलीले चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउनका लागि आफूले पहल गर्ने पनि बताए। उनले नेपालको बारेमा चीनका टिभी तथा प्रचारप्रसार संयन्त्रबाट प्रचार गर्ने र सरकालाई नेपाल चीनको मुख्य पर्यटकीय मुलुकको रूपमा राखेर पर्यटक पठाउन पनि पहल गर्ने बताए।

हालसम्म चीनबाट नेपाल आउने पर्यटकको संख्या बढीमा १ लाख ४७ हजारमात्रै रहेको जानकारी दिँदै यो संख्या तत्काल बढाउने योजना आफूसँग भएको उनकाे भनाइ थियाे।

आगामी दिनमा १० लाखसम्म पर्यटक ल्याउनसके नेपालका लागि ठूलो उपलब्धि हुने बताउँदै उनले त्यसका लागि राजदूतावास र नेपाल सरकारले चीनका ठूला सहरहरूमा प्रचारप्रसार गर्नुपर्ने र त्यहाँका संचारमाध्यममा सूचना र जानकारी दिँदै उच्चस्तरको भ्रमणहरु पनि गराई रहन पर्ने बताए।

नेपालको भूमि लिपुलेकलाई प्रयोगबारे चीन र भारतबीच भएको सम्झौताबारे आफूले अध्ययन गर्ने पनि ओलीको भनाइ थियो। त्यो सम्झौता भएको अवस्थाबारे बुझ्नुपर्ने उनले बताए। ‘कस्तो सम्झौता भएको हो, हामी तेस्रो पक्ष भएकाले सार्वभौमिकताबारे थप बुझ्नु पर्छ,’ सांसदहरूले सोधेके जिज्ञासामा उनले भने।

चीनले नेपाललाई रेलभन्दा पनि ‘अलवेदर’ हाइवे दुईवटा मात्र बनाउन सकेमा धेरै सहजता हुने उनले बताए। रेल भइदिँदा झनै राम्रो बताउँदै त्यस विषयमा पनि आफूले पहल गर्ने र दुवै मुलकको  चासोमा अडेर राष्ट्रहितमा काम गर्ने प्रस्ट पारे।

प्रकाशित: १६ भदौ २०८१ १९:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast