नेपालमा राणा परिवारले एक शताब्दीसम्म शासनसत्ता सञ्चालन गरेको थियो। उनीहरूको शासनकालमा नेपालको द्विपक्षीय वैदेशिक सम्बन्ध एउटै मुलुकसँग मात्र थियो।
सन् १९४६ सम्म एउटै मुलुक बेलायतसँग मात्र नेपालको द्विपक्षीय सम्बन्ध थियो। त्यतिबेला उत्तरी तिब्बतको ल्हासामा वकिल अड्डा भने थियो। सन् १९३४ मा नेपालले लन्डनमा दूतावास स्थापना गरी राजदूत खटाएको थियो। बेलायतबाहेक केही मुलुकसँग तक्मा आदानप्रदानमा मात्र सम्बन्ध सीमित थियो।
पहिलो विश्वयुद्धजस्तै दोस्रो विश्वयुद्धमा समेत नेपालले पुर्याएको योगदान ब्रिटिस र उसका सहयोगी राष्ट्रमाझ प्रशंसनीय थियो। दोस्रो विश्वयुद्धमा जापानमाथि दुईवटा अणुबम प्रहार गरेर युद्धमा निर्णायक भएको थियो, अमेरिका। त्यसैबाट बाँकी विश्वलाई आफ्नो शक्ति देखाएर अबका दिनमा आफू विश्व राजनीतिको मियो रहने जनाउ अमेरिकाले दिइसकेको थियो।
संसारको ठूलो हिस्सामा आफ्नो उपनिवेश कायम गरेको बेलायत दोस्रो विश्वयुद्धपछि आफ्नो उपनिवेशबाट पछाडि हट्दै थियो।
सन् १९४५ नोभेम्बरको अन्त्यतिर प्रधानमन्त्री भएका पद्मशमशेरले तत्कालीन समयको छिमेक एवं वैश्विक परिस्थितिलाई दृष्टिगत गर्दै आन्तरिक र बाह्य नीतिमा केही क्रमभंग गर्न चाहेका थिए। उनले देशका लागि बलियो आर्थिक साझेदार खोजिरहेका थिए। आर्थिक रूपमा सम्पन्न र अनुदान दिन सक्ने अमेरिकाप्रति उनी आकर्षित भएका थिए।
उत्तरतिरको चीन गृहयुद्धमा फसेको थियो भने दक्षिणतिरको भारत स्वतन्त्रता प्राप्त गर्ने पूर्वसन्ध्यामा थियो। नेपालको लामो समयदेखिको स्थायी मित्रका रूपमा रहेको बेलायत शक्ति क्षयीकरणको अवस्थामा थियो। बेलायती शासक भारतबाट फर्कने भएपछि नेपालले अर्को बलियो साझेदारको साथ खोजेको थियो।
नेपालले नजिकका दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गर्दै टाढा भए पनि त्यतिबेलाको उदाउँदो विश्वशक्ति अमेरिकासँग सम्बन्ध कायम गर्न चाहेको थियो। ब्रिटिसकालदेखि नै तिब्बत र भारतको बीचमा स्वतन्त्र रहेको नेपालको भूराजनीतिक अवस्थाको महत्त्वलाई बुझेर अमेरिका पनि सम्बन्ध जोड्न प्रेरित भयो। त्यस्तै संसारभर सम्बन्धसँगै प्रभाव विस्तार गर्ने चाहनाले पनि अमेरिका नेपालसँग सम्बन्ध बढाउन अगाडि सरेको हुन सक्छ।
भारतीय स्वतन्त्रताअगावै ब्रिटिससँगको सम्बन्धलाई मिनिस्टरबाट राजदूत तहमा स्तरोन्नति गर्ने, स्वतन्त्र हुन लागेको भारतसँग राजदूत स्तरमा सम्बन्ध राख्ने, सम्बन्ध पुनर्ताजगीका लागि एकातिर चीनतर्फ विशेष प्रतिनिधिमण्डल पठाउने अर्कोतिर अमेरिकासँग दौत्य सम्बन्ध स्थापना गर्नु तत्कालीन प्रधानमन्त्री पद्मशमशेरको अत्यन्तै दूरदर्शी कदम थियो।
नेपाल र अमेरिकाका सरकारी अधिकारीबीच सन् १८५० जंगबहादुर राणा र त्यहाँ रहेका अमेरिकी राजदूत लरेन्सको भेट भई परिचय भएको थियो। (ग्लोब लन्डन, ३ जुन १८५०) पछि सन् १९३४ मा लन्डनमा नेपाली दूतावास स्थापना भएपछि भने एकअर्का मुलुकका दूतावासमा हुने औपचारिक कार्यक्रममा दुवै पक्षबाट निमन्त्रणा आदानप्रदान हुने गर्दथ्यो।
अनौपचारिक रूपमा अमेरिका भ्रमण गर्ने पहिलो नेपाली सरकारी प्रतिनिधि जनरल कृष्णशमशेर जबरा हुन्। उनी सन् १९३९ को मेको अन्त्यतिर लन्डन दूतावासबाट आफ्नो कार्यकाल सम्पन्न गरी नेपाल फर्कंदा निजी भ्रमणमा न्युयोर्कसम्म पुगेका थिए। (अमेरिकी अग्डेन्सबर्ग जर्नल, २९ मे १९३९)
त्यस्तै सन् १९३९ मा औषधोपचारका लागि युरोपतर्फ लागेका कमान्डिङ जनरल केशरशमशेर त्यहाँ तीन महिनासम्म बसेर अमेरिकी सेनाका सैन्य तालिम केन्द्रलगायतको अवलोकन गरी नेपाल फर्किएका थिए। (दी लस एन्जल्स टाइम्स, २६ नोभेम्बर १९३९)
सन् १९४५ को सेप्टेम्बरमा दिल्लीमा रहेका अमेरिकी फरेन इकोनोमिक एड्मिनिस्ट्रेसनका दुई जना प्राविधिकले हिमाल मिनरल्स सिन्डिकेट कम्पनीको निमन्त्रणामा नेपालको खनिजको स्रोतको प्रारम्भिक अध्ययन र पहिचानका लागि नेपाल आएका थिए।
ह्यारी विट जियोलोजिस्ट र अल्फ्रेड ब्राउन मिनिरोयोलिस्टका रूपमा नेपाल आएका थिए। त्यही अवसरमा उनीहरूले अमेरिका र नेपालका बीचमा वाणिज्य व्यापारको विषय उठाएको नेपालस्थित ब्रिटिस राजदूतको भनाइ थियो।
उनीहरू पाल्पा र पोखरासम्म पुगेका थिए। यस्तै बुटवल भैरहवा हुँदै सुनौली भएर भारत फर्किएका थिए। (नेपाल स्थित बेलायती राजदूत फाल्कनरले आफ्ना सरकारलाई पठाएको सन् १९४५ को वार्षिक रिपोर्ट)
ह्वाइटहाउसमा पुगेर अमेरिकी राष्ट्रपतिसँग औपचारिक भेट गर्ने पहिलो नेपाली सरकारी प्रतिनिधि भने जनरल सिंहशमशेर जबरा हुन्। दोस्रो विश्वयुद्धको अन्त्यपछि सन् १९४५ को २६ अक्टोबरमा लन्डनमा नेपालका राजदूत रहेका सिंहशमशेर अमेरिका पुगेर राष्ट्रपति ट्र्युम्यानसँग भेट गरेका थिए।
नेपाल-अमेरिका सम्बन्धको सुरुवातको कोशेढुँगा मानिएको उक्त भेटमा सिंहशमशेरले ट्र्युम्यानलाई गैँडाको सिङ उपहारस्वरूप दिएका थिए। (द क्युएरो, ६ नोभेम्बर १९४५)
नेपालका तर्फबाट अमेरिकाको अर्को भ्रमण भने सन् १९४६ को जुलाईमा भएको थियो। वरिष्ठ कमान्डिङ जनरल बबरशमशेरको नेतृत्वमा रहेको सैनिक प्रतिनिधिमण्डल अमेरिकी स्टेट डिपार्टमेन्टको निमन्त्रणामा जुलाई २५ देखि अगस्त १ सम्म अमेरिका भ्रमणमा थिए।
त्यस क्रममा अमेरिकी राष्ट्रपति ट्र्युम्यानसहित सहायक विदेशमन्त्री डिन एचेसनसँग औपचारिक भेटवार्ता गरेको थियो। ३० जुलाई १९४६ का दिन राष्ट्रपति ट्र्युम्यानसँगको भेटमा नेपाली प्रतिनिधिमण्डलले उनलाई खुकुरी र देवीको सुन्दर मूर्ति उपहारमा दिएका थिए।
भेटमा नेपालका राजा त्रिभुवनका तर्फबाट अमेरिकाका लागि सद्भाव र मित्रताको सन्देश राष्ट्रपति ट्र्युम्यानलाई दिइएको थियो। त्यस्तै अमेरिकी अधिकारीका अनुसार नेपालले मैत्री सम्बन्ध स्थापना गर्नका लागि यथाशीघ्र अमेरिकी प्रतिनिधिमण्डललाई नेपालमा स्वागत गर्न आतुर भएको सन्देश दिएको थियो। (दी इन्डियन एक्स्प्रेस, २ अगस्ट १९४५)
अमेरिकाबाट फर्किएपछि बबरशमशेरले प्रधानमन्त्री पद्मशमशेरलाई दिएको जानकारीअनुसार राष्ट्रपति ट्र्यम्यानसँगको भेटमा उनले पछिल्लो विश्वयुद्धमा नेपालले मित्रराष्ट्रलाई गरेको सहयोगको प्रशंसा गर्दै दुई मुलुकका बीचमा मैत्रीभाव बढाउने उद्देश्यले नेपालमा चाँडै एक शिष्टमण्डल पठाउने बताएका थिए। (गोरखापत्र ८ नोभेम्बर १९४६)
अमेरिकाका तर्फबाट नेपालको औपचारिक भ्रमण गर्ने प्रथम अमेरिकी प्रतिनिधि भारतको दिल्लीस्थित अमेरिकी दूतावासका अधिकारी जर्ज आर मेरल हुन्।
उनी दोस्रो विश्वयुद्धमा ब्रिटिस सेनाका तर्फबाट नेपाली गोर्खा सैनिकले पुर्याएको योगदानको कदरस्वरूप तत्कालीन प्रधानमन्त्री पद्मशमशेरलाई अमेरिकी सेनाको सर्वोच्च सम्मान ‘लेजन अफ मेरिट’ तक्मा पहिर्याउन सन् १९४६ नोभेम्बरमा नेपाल आएका थिए। (सिभिल एन्ड मिलिट्री गजेट लाहोर १५ नोभेम्बर १९४६)
प्रधानमन्त्रीलाई उक्त तक्मा हस्तान्तरण गर्दा मेरलले गरेको सम्बोधनको मुख्य अंश यस्तो थियो –
‘अमेरिका र नेपालको बीचमा भएको निकट सम्बन्ध आगामी शान्तिकालमा झन्झन् निकट र बलियो हुँदै जानेछ भन्ने मलाई पूर्ण विश्वास छ। मित्रता र शुभकामनाका लागि अमेरिका नेपालतर्फ अघि सरेको छ।’ (गोरखापत्र २२ नोभेम्बर १९४६)
मेरलको भ्रमणका क्रममा १९४७ अप्रिलमा अमेरिकाबाट नेपालमा एक प्रतिनिधिमण्डल आउने र त्यतिबेला वाणिज्य तथा मैत्री सन्धिमा हस्ताक्षर गर्ने योजनाका साथ वाणिज्य सन्धिसम्बन्धी खाकामा छलफल भएको थियो।
मेरलको भ्रमण सम्बन्धमा नेपालस्थित ब्रिटिस राजदूत फाल्कनरले आफ्नो सरकारलाई पठाएको रिपोर्टमा यस्तो लेखेका थिए –
वाणिज्य सन्धिमार्फत अमेरिकीहरूले नेपालमा आफ्नो उत्पादन बिक्री गर्न चाहन्छन्। तर नेपालसँग आयात गर्न सक्ने विदेशी मुद्राको अभाव छ। नेपालको एकमात्र उत्पादन जुट अमेरिकामा निर्यात हुन सक्दैन। तर अमेरिकाले नेपालको औद्योगिक विकासका लागि आवश्यक पर्ने अमेरिकी उपकरण खरिद गर्न सस्तो दरमा नेपाललाई ऋृण दिन सक्छन्। सन्धि नहुँदासम्म अमेरिकी सरकारले नेपाललाई वित्तीय सहायता उपलब्ध गराउन नसक्ने त्यस्तै अमेरिकी बैंक तथा वित्तीय संस्थाले नेपालमा लगानी गर्न नसक्ने हुँदा छिट्टै नै सन्धि सम्पन्न हुनेछ। (नेपालस्थित बेलायती राजदूत फाल्कनरले आफ्ना सरकारलाई पठाएको सन् १९४६ को वार्षिक रिपोर्ट)
२२ मार्च १९४७ मा अमेरिकी विदेश मन्त्रालयले एक अधिकारी जोसेफ सी स्याटर्थवाइटलाई राष्ट्रपति ट्र्युम्यानको प्रतिनिधिका रूपमा मन्त्रीस्तरीय हैसियतमा नेपालसँग दौत्य सम्बन्ध स्थापना गर्न एक प्रतिनिधिमण्डल नेपाल पठाउने घोषणा गर्यो। (स्पोकन डेली क्रोनिकल, २२ मार्च १९४७)
स्याटर्थवाइट नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यमा एच डे, रेमन्ड ए हेयर, विलियम सी जोन्स्टन जुनियर लेफ्टिनेन्ट कर्नेल नथानियल आर हास्कट, जे जेफर्सन जोन्स तृतीय र चाल्र्स डब्ल्यू बुथ थिए। वासिङ्टनबाट बम्बई हुँदै अप्रिल ६ मा दिल्ली पुगेको सो प्रतिनिधिमण्डल दिल्लीबाट ११ अप्रिलमा प्रस्थान गरी १३ अप्रिलमा काठमाडौँ आएको थियो।
रक्सौलबाट अमलेखगन्जसम्म रेलमा र अमलेखगन्जबाट भीमफेदीसम्म मोटरयात्रा गरेको थियो टोलीले। त्यसपछि घोडा, मानिसले बोक्ने डोलामा बसेर अनि कतै पैदल हिँड्दै थानकोटसम्म पुगेको थियो।
काठमाडौँ आइपुगेको सात सदस्यीय अमेरिकी प्रतिनिधिमण्डललाई नेपालमा सत्र तोपको सलामीका साथ स्वागत गरिएको थियो।
स्याटर्थवाइट नेतृत्वको अमेरिकी र परराष्ट्रमामिला डाइरेक्टर जनरल बहादुरशमशेर नेतृत्वको नेपाली प्रतिनिधिमण्डलबीच अर्को दिनदेखि नै ‘वाणिज्य तथा मैत्री सन्धि’ को मस्यौदामा लगातार छलफल चलिरह्यो।
२१ अप्रिलमा स्याटर्थवाइटले हनुमान ढोकामा राजा त्रिभुवनलाई भेटेर अमेरिकी राष्ट्रपति ट्र्युम्यानका तर्फबाट अमेरिकाले नेपालको स्वाधीनता स्वीकार गरेको पत्र दिए।
उक्त पत्रमा यस्तो लेखिएको थियो-
महान् र सत् मित्र,
हजुरका पुर्खाले धेरै पुस्तासम्म नेपालका महाराजाधिराज भई आएको र हजुरका शासनमा हजुरको राज्यले दीर्घ समयसम्म प्रयोग गरिआएको स्वाधीनताको ध्यान गर्दै मलाई हजुरमा यो जाहेर गर्दा खुसी लागेको छ कि युनाइटेड स्टेट्सको सरकारले नेपालको परम र पूर्णस्वाधीनता स्वीकार गरेको छ। यस पत्रद्वारा हजुर र हजुरका सरकारलाई त्यस प्रकारको स्वीकृतिबाट हुने विशेष अधिकार प्रदान र दुई मुलुकबीच मैत्री सम्बन्धमा उन्नत गराउने अभिलाषा प्रकट गरेको छ। (गोरखापत्र, २८ अप्रिल १९४७)
कुनै पनि एउटा मुलुकको स्वाधीनतालाई अर्को मुलुकले स्वीकार गरेपछि नै दुई मुलुकबीच दौत्य सम्बन्ध कायम हुने हो। नेपालले अमेरिकाको स्वाधीनता स्वीकार गरेर सम्बन्ध कायम गर्न आमन्त्रण गरेको थियो। यसरी एकले अर्काको सार्वभौमसत्तालाई स्वीकार गर्दा दुई अलग-अलग सार्वभौम सम्पन्न राष्ट्रले समानताका आधारमा दौत्य सम्बन्ध स्थापना गर्ने आधार तयार भयो।
२४ अप्रिलमा नेपाल र अमेरिकाबीच लामो छलफलबाट वाणिज्य तथा मैत्री सन्धिको मस्यौदा टुंगो लाग्यो। तर त्यसबेलाको हाम्रो परम्पराअनुसार सन्धिमा हस्ताक्षर गर्नका लागि साइत हेराइयो। शुभ साइतको समय जुर्यो २५ अप्रिल १९४८ दिउँसो २ बजेर १३ मिनेटमा। यसरी पूर्वनिर्धारित शुभ साइतमा नेपालका तर्फबाट प्रधानमन्त्री पद्मशमशेर जबरा र अमेरिकाका तर्फबाट स्याटर्थवाइटले ‘वाणिज्य तथा मैत्री सन्धि’ मा हस्ताक्षर गरे।
सोही सम्झौताले दुई देशबीच कूटनीतिक र कन्सुलर सम्बन्ध स्थापित गर्ने ढोका खुला गर्यो। भारतका लागि अमेरिकी राजदूतलाई नेपालका लागि पनि मिनिस्टर र बेलायतका लागि नेपाली राजदूतलाई अमेरिकाका लागि नेपाली मिनिस्टर तोक्ने व्यवस्था भयो।
यसरी १३१ वर्षअघि बेलायतसँग सम्बन्ध स्थापना गरेको नेपालले दोस्रो मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको ७५ वर्ष भयो। अर्थात् अमेरिकासँग दौत्य सम्बन्ध स्थापित भएको अहिले ७५ वर्ष भयो। नेपाल र बेलायतबीच सन् १८१६ मा सम्बन्ध स्थापना भएको थियो।
सन् १९४८ फेब्रुअरीमा नेपाल र अमेरिका दुवैले एकअर्कोको देशमा मिनिस्टर तहमा राजदूत खटाउने घोषणा गरे। बेलायतका लागि नेपाली राजदूत केशरशमशेर जबराले सोही १९ फेब्रुअरीमा वासिङ्टनमा राष्ट्रपति ट्र्युम्यानलाई ओहदाको प्रमाणपत्र बुझाएका थिए।
त्यस्तै सन् १९४८ को मे ३ मा भारतका लागि अमेरिकी राजदूत हेनरी एफ ग्रेडीले काठमाडौँमा राजा त्रिभुवनसमक्ष ओहदाको प्रमाणपत्र पेस गरेका थिए। (डिपार्टमेन्ट अफ स्टेट बुलेटिन, १९८७)
सन् १९५१ अगस्टमा दुवै मुलुकले मिनिस्टर तहबाट राजदूत स्तरमा सम्बन्ध विस्तार गर्ने घोषणा गरे। योसँगै चेस्टर बाउल्सले सन् १९५२ फेब्रुअरी १६ मा काठमाडौँमा नेपालका लागि पहिलो अमेरिकी फुल राजदूतका रूपमा आफ्नो ओहदाको प्रमाणपत्र बुझाए भने उता वासिङ्टनमा सन् १९५३ को २४ फेब्रुअरीमा जनरल शंकरशमशेर जबराले अमेरिकाका लागि पहिलो फुल राजदूतका रूपमा ओहदाको प्रमाणपत्र बुझाए। (डिपार्टमेन्ट अफ स्टेट बुलेटिन, १९८७)