महाधिवेशनबाट कमिटीलाई पूर्णता दिन नसक्नु हाम्रो कमजोरी हो :  राजेन्द्र पाण्डे [अन्तर्वार्ता]

किरण पौडेल १६ भदौ २०८१ ७:३२
492
SHARES
महाधिवेशनबाट कमिटीलाई पूर्णता दिन नसक्नु हाम्रो कमजोरी हो :  राजेन्द्र पाण्डे [अन्तर्वार्ता]

नेकपा एकीकृत समाजवादीले महाधिवेशन भएको दुई महिनापछि केन्द्रीय पदाधिकारी र पोलिटब्युरो चुनेको छ। भदौ ९ देखि १४ गतेसम्म चलेको केन्द्रीय कमिटी बैठकले चुनावमार्फत थप पदाधिकारी र पोलिटब्युरो चुनेपछि पार्टीका विषयमा टीकाटिप्पणी भइरहेका छन्। मतदानमा लोकप्रिय उम्मेदवार हार्दा पार्टी नेतृत्वप्रति प्रश्न उठिरहेका छन्। महाधिवेशनबाट नयाँ ढाँचाको कार्यक्रम ल्याउने संकल्प गरेको समाजवादीमा फेरि विवाद बढेको देखिन्छ। यसै विषयमा समाजवादीका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेसँग किरण पौडेलले गरेको कुराकानी :

एमालेबाट विभाजनपछि नेकपा एकीकृत समाजवादीले महाधिवेशन गर्‍यो। खासमा यो महाधिवेशनबाट पार्टीलाई के फाइदा भयो?

जतिबेला हामीले एकीकृत समाजवादी पार्टी निर्माण गर्‍यौँ, त्यतिबेला निर्वाचन आयोगबाट विभाजन भएर सनाखत गरिएको मात्र थियो। एमालेबाट आएका केन्द्रीय सदस्य र सांसदको सनाखतबाट मात्र हामीले पार्टी बनाएका थियौँ।

हामी पटकपटक कमिटी थप्दै निर्वाचन आयोगमा सदस्य थपघट गर्दै अघि बढ्यौँ। महाधिवेशनबाट नयाँ विधान बनाउन सकिएको थिएन भने नयाँ नेतृत्व ल्याउन पनि सकिएको थिएन। सबै कमिटी तदर्थजस्ता थिए। पार्टीलाई जीवन्त बनाउने र स्थायित्व दिने काम महाधिवेशनबाट भएको थियो।

नेपालको कम्युनिस्ट आन्दोलनको लामै इतिहास छ। यद्यपि हामीले पहिलोचोटि समाजवादी कार्यक्रम अघि बढाएका छौँ। अब पुँजीवादी क्रान्ति सकियो, समाजवादी क्रान्ति चाहिन्छ भनेर हामीले ‘नेपाली विशेषताको समाजवादी क्रान्ति’ को कार्यक्रम पारित गरेका छौँ। यही कार्यक्रमअनुसार अघि बढ्ने हाम्रो प्रतिबद्धता छ।

सैद्धान्तिक रूपमा कार्यक्रम आयो तर जति बेला पदाधिकारी चुनिनुपथ्र्यो, त्यो त भएन नि। महाधिवेशनबाटै सबै कमिटीलाई पूर्णता दिएको भए के बिग्रिन्थ्यो?

हो, हामीले महाधिवेशन हलबाटै अध्यक्षदेखि सदस्यसम्म चुन्नुपथ्र्यो। त्यहाँ गल्ती गरेकै हौँ।। पार्टी भर्खर बनेको छ। धेरैतिरबाट साथीहरू आएका छन्। माओवादीबाट आएका समेतलाई समेट्नुपर्छ भनेर हामीले केही पदमा सर्वसम्मत बनायौँ। यही कारण हामीले हलबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चुन्यौँ। महाधिवेशन हलबाट म्यान्डेट लिएर अन्य कमिटी बनाउने काम गाह्रो थियो। किनभने केही सीमित नेताहरूबाट सिंगो केन्द्रीय कमिटी तयार पार्न सम्भव थिएन।

महाधिवेशनमा निर्वाचन भएको भए हार्ने पनि खुसी हुन्थे। १८७८ प्रतिनिधिबाट चुनिनुपर्ने हुन्थ्यो। हार्नेलाई पनि कतिपयले नचिनेर मत हालेनन् भन्ने हुन्थ्यो। त्यसैले हामीले केन्द्रीय कमिटीबाट पदाधिकारी र पोलिटब्युरो चुनेका हौँ।

हलबाट हामीले ९३ जना सदस्य चयन गरेका थियौँ। त्यही कमिटी फेरि केन्द्रीय कमिटीमै सुनायौँ। त्यसले हामीलाई अलिकति समस्याचाहिँ पारेको छ। यद्यपि हामीले नयाँ साथीहरूलाई काम दिन्छौँ भनेर आश्वस्त पारेका छौँ।

दोस्रो कुरा, केन्द्रीय कमिटी बनाउँदा कतिपय साथीहरू दुःखी भएको देखेपछि हामीले पदाधिकारी र पोलिटब्युरोचाहिँ निर्वाचनबाटै ल्याएका हौँ। त्यो विधिबाट ल्याउँदा वरिष्ठ उपाध्यक्षमा म आफँै आकांक्षी थिए। अन्तिममा निर्विरोध पनि भएँ।

चुनावमा हार्नेहरू दुःखी हुन्छन्, जित्नेहरू खुसी हुन्छन्। यो स्वाभाविक प्रक्रिया हो। अहिले हामीले पदाधिकारीहरूकै स्थायी कमिटी बनाएका छौँ। यही स्थायी कमिटीबाट हामी पार्टी निर्माणमा लाग्छौँ।

समाजवादीमा १८७८ महाधिवेशन प्रतिनिधि चुनिएका थिए। प्रतिनिधिले नै केन्द्रीय कमिटी र त्यहाँभन्दा माथिका निकाय चयन गर्नुपर्नेमा तपाईँहरूले ३४४ (केन्द्रीय कमिटी) बाट माथिल्ला निकाय चयन गर्नुभयो। न त महाधिवेशन हलले चुनेका ९३ सदस्यबाट माथिल्ला निकाय चयन हुन सकेन। प्रक्रिया पनि गलत भएन र?

‘इलेक्सन’को प्रक्रिया छाडेर ‘सेलेक्सन’ प्रक्रिया गरेपछि जे गर्दा पनि अप्ठ्यारो हुन्छ। जो तीनजना नेताले म्यान्डेट पाउनुभयो, उहाँहरूले नै खोजेर ल्याउनुभएको हो ९३ जना केन्द्रीय सदस्य। धेरै आकांक्षी भएपछि हरेक ठाउँमा सानो एउटा कार्यदल बनाइएको हुन्छ। त्यही कार्यदलले ल्याएको नाम पारित हुन्छ। ९३ जनालाई केन्द्रीय कमिटी खोजेर ल्याऊँ भन्दा कहिल्यै कमिटी बन्न सक्दैन। तीनजनाले खोज्दा त समय लाग्यो।

म त हलबाटै चुनाव हुनुपर्छ भन्दा सचिवालय बैठकमा अल्पमतमा परेको मान्छे हुँ। हलबाट पदाधिकारी चयन गरौँ भन्नेमा हामी चारजना (म, जगन्नाथ खतिवडा, धर्मनाथ शाह र रामचन्द्र झा) मात्रै भयौँ। अरू साथीहरूले चुनाव गर्दा भट्रिकल हुन्छ, प्यानल हुन्छ, गुट बन्छ भन्न थाले। यो हाम्रो पार्टीका लागि ‘नेगेटिभ एजुकेसन’ हो भन्छु।

तपाईँहरूमाथि खारेज भइसकेको पदाधिकारी बसेर ९३ सदस्यीय कमिटी बनाएको आरोप पनि छ। महाधिवेशनका लागि तीनजनाले मात्रै ‘म्यान्डेट’ पाउनुभएको थियो। तर पूर्वपदाधिकारी बसेर ९३ सदस्यीय केन्द्रीय कमिटी बनाउनुभयो। यसलाई पनि स्पष्ट पारिदिनुस् न।

तीनजनाले म्यान्डेट पाए पनि विगतमा उहाँहरूले नै पोलिटब्युरोलाई केन्द्रीय सदस्य बनाउनुभएको हो। जो पछिसम्म पनि काम गरिरहेका थिए। तिनैलाई केन्द्रीय कमिटी घोषणा गरिएको हो। त्यहाँ सचिवालय वा पूर्वसचिवालय बसेको भन्ने होइन।

तपाईंहरूकै भाषामा भन्ने हो भने विद्रोहबाट आएपछि समाजवादीमा भद्दा संगठन थियो भनियो। त्यसलाई सरल बनाउन महाधिवेशनको बाटो रोजियो। अहिले फेरि संगठन त भद्दा बन्यो। कारण के होला?

हामी एमालेबाट विद्रोह गरेर आएका हौँ। एक किसिमले हाम्रो यो एकताको महाधिवेशन हो। सबैलाई समेट्नुपर्ने अवस्था आयो। अर्को कुरा, हाम्रोमा केन्द्रीय कमिटीमा बसिसकेपछि तल गएर काम गर्न नचाहने चलन छ। जुन तपाईँहरूलाई पनि थाहा छ। यसैले पनि छरितो कमिटी बनाउन सकिएन। यसमा हामीलाई सबैतिरबाट सजग गराएकै हो तर सफल हुन सकिएन।

अब तपाईँको व्यक्तिगत कुरा गरौँ। तपाईं वरिष्ठ उपाध्यक्ष बन्नुभयो। जुन पद महाधिवेशनभन्दा केही समयअघि एकाएक खडा गरिएको थियो। कतिपयले त यो पद राजेन्द्र पाण्डेकै लागि निर्माण गरिएको पनि भनेका छन्। फेरि तपाईँ नै सर्वसम्मत हुनुभयो। के यो सत्य हो?

म पहिलैदेखि भन्दै आएको छु, म पार्टीको १ नम्बर उपाध्यक्ष हुँ। २०७८ असोज ६ गते अर्पण पार्टी प्यालेसमा केन्द्रीय कमिटी घोषणा गर्दा म सल्लाहले १ नम्बर उपाध्यक्ष भएको हुँ। त्यसबेला बेदुरामजी (बेदुराम भुसाल) महासचिव हुनुहुन्थ्यो। १ नम्बर उपाध्यक्ष राजेन्द्र पाण्डे, २ नम्बर उपाध्यक्ष प्रमेश हमाल, ३ नम्बर उपाध्यक्ष घनेन्द्र बस्नेत, ४ नम्बर उपाध्यक्ष केशवलाल श्रेष्ठ, ५ नम्बर उपाध्यक्ष धर्मनाथ शाह घोषणा गरिएको थियो। महासचिव घनश्याम भुसाललाई बनाएपछि बेदुरामजीले म १ नम्बर हुँ भन्नुभयो। उहाँ र मेरोबीच विवाद बढ्दै गयो।

मैले कहिल्यै पनि उहाँलाई १ नम्बर उपाध्यक्ष स्वीकार गरिनँ। जब महाधिवेशन आयो, तब मैले वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरौँ भनेर प्रस्ताव गरेँ। किनभने उपाध्यक्ष धेरैजना हुँदा विवाद हुँदो रहेछ। पार्टी अध्यक्षले कार्यवाहक अध्यक्ष दिँदा पनि कहिले एउटालाई, कहिले अर्कोलाई दिनुपर्ने हुँदो रहेछ। यही कारण यो पद खडा गरिएको हो।

भनेपछि यो पद राजेन्द्र पाण्डेकै लागि खडा गरिएको हो? वरिष्ठ उपाध्यक्षमा कुरा मिलेपछि मात्र अन्य पदमा निर्वाचन हुनुले पनि यो कुरा पुष्टि हुन्छ नि?

मैले सुरुमै भनेको थिएँ वरिष्ठ उपाध्यक्षमा म चुनाव लड्ने हो। लड्ने भए आउनुहोस्। केही साथीहरू हामी पनि लड्ने हो भन्दै आए। हुन्छ आउनुहोस् भनेँ। अन्त्यमा सहमति हुँदा त्यो पदमा म निर्विरोध चुनिएँ। यति भएपछि यी साथीभाइहरूलाई किन बेवास्ता गर्ने त भनेर ‘वरिष्ठ नेता’ को क्लस्टर बनाएर व्यवस्थापन गरिएको हो।

वरिष्ठ नेतामा व्यवस्थापनचाहिँ ‘दाल कहाँ पोखियो भागमा’ भनेझैँ भयो नि। किनभने वरिष्ठ नेता त प्रचलनअनुसार सम्मानित नेता र वरिष्ठ उपाध्यक्षदेखि माथि हुन्छ। उहाँहरूले झनै माथिल्लो पद पाउनुभएको होइन र?

कहिलेकाहीँ पदका खातिर वा व्यवस्थापनका लागि पनि यस्तो गरिन्छ। वरिष्ठ नेता भनिए पनि विधानअनुसार कार्यकारी भूमिकामा अध्यक्षपछि वरिष्ठ उपाध्यक्ष नै हुन्छ। काम वरिष्ठ उपाध्यक्षले गर्ने हो। कामका लागि नै पद हुने हो। विधानले यसै भन्छ। विधानअनुसार नै चल्नुपर्‍यो नि।

अध्यक्ष माधव नेपाल लाभको पदमा पुगेमा अध्यक्ष पद छाड्ने र वरिष्ठ उपाध्यक्षका हैसियतले तपाईँले पार्टी चलाउने सम्झौता भएको छ रे। वा ‘मैले छाडेमा तपाईँले पार्टी चलाउने’ भनेर माधव नेपालले तपाईँलाई आश्वासन दिएको पनि भनिन्छ। खास कुरा के हो?

त्यस्तो सम्झौता भएको छैन। म र अध्यक्षबीच न सम्झौता भएको छ न मलाई आश्वासन आएको छ। मैले आश्वासन खोजेको पनि छैन। अध्यक्षले सकुन्जेल पार्टी चलाउनुहुन्छ। छाडेको खण्डमा हामीले पार्टी चलाउनुपर्छ।

तपाईं र महासचिव घनश्याम भुसालबीच टकराव सिर्जना गर्न खोजिएजस्तो देखिन्छ। महाधिवेशनको समीकरण पनि त्यस्तै–त्यस्तै बन्यो। बाहिरबाट हेर्दा मात्र यस्तो हो कि पार्टीभित्र पनि तपाईँहरूबीच विवाद छ?

म राजनीतिमा कहिल्यै गुट नगर्ने मान्छे हुँ। म गुटको घोर विरोधी हुँ। हिजो केपी ओलीले गुट गर्दा पनि विरोध गरेको हुँ। घनश्यामजीले वा अन्य कसैले गुट गरेमा त्यसविरुद्ध हुन्छु। वरीयताका हिसाबले अध्यक्षपछिको वरिष्ठ उपाध्यक्ष नै हो। अब हामी पार्टी निर्माणमा लाग्ने हो। जनतामा जाने हो। पार्टीमा जसले राम्रो काम गर्छ उसैले नेतृत्व गर्नुपर्ने हुन्छ। जसले काम गर्न सक्छ त्यही नेता हुन्छ। त्यही अध्यक्ष हुन्छ।

अलिकति, फरक कुरा गरौँ। समाजवादी पार्टीलाई लिएर अहिले किन त विभाजनको कुरा हुन्छ। कि त एकताको कुरा हुन्छ। कहिले एमालेतिर जाने कुरा हुन्छ। कहिले समाजवादी मोर्चा पार्टी बन्ने कुरा उठ्छ। यो महाधिवेशनपछि यो प्रक्रिया निरन्तर चल्छ कि सकिन्छ?

बीचबीचमा यस्ता कुरा उठिरहन्छन्। प्रचण्डले नेता व्यवस्थापन गर्न नसकेपछि ‘समाजवादीसँग पार्टी एकता हुने बेला भएको छ’ भनेर प्रचार गरिएको हो। त्यसमा कुनै सत्यता छैन। अब वडास्तरसम्मै हाम्रो कमिटी बन्छ। सबै कमिटीले एकताको बहस गर्दै आएमा राष्ट्रिय भेला गरेर एकता हुन्छ। नभए एक नेताको सहमतिमा एकता हुँदैन।

अनि विभाजन?

गाउँगाउँमा मान्छेले पार्टी छाडे र एकीकृत समाजवादी खाली भयो भन्ने कुरा आइरहेका छन्। यो हुँदै गर्छ। हामीभित्र पनि लोभीपापी छँदैछन्। हिजो एमालेमा अवसर नपाएकाहरू पनि अवसरका लागि आएका छन्। यस्ता अवसर नपाएकाहरूबाट सचेत र शिक्षा लिनुपर्छ। पार्टी निर्माण गर्ने काम सहज छैन। यो लामो प्रक्रिया हो।

महाधिवेशनमा पनि कतिपय निर्वाचित सांसदहरू देखिनुभएन। के उहाँहरू विभाजमै पुग्नुभएको हो वा फेरि पार्टीमा आउनुहुन्छ?

त्यस्तो छैन। केहीले व्यक्तिगत प्रतिक्रिया राख्नु भिन्नै कुरा हो। किनभने सबैलाई चित्त बुझाउन कहिल्यै सकिँदैन। म सधैँ चुनाव लडेर आएको हुँ। मेरो अनुकूल भएको छ त! यसअघिको सरकारमा मलाई पो भौतिक पूर्वाधारमन्त्री बनाएर पठाउनुपथ्र्यो त। तर प्रकाश ज्वालालाई पठाइयो। उहाँले आफ्नो क्षमता देखाउन सक्नुभएन।

मलाई सहरी विकासमन्त्री बन्ने प्रस्ताव थियो। मैले बन्दिनँ भने। धनबहादुर बुढालाई पठाइयो। संघीय मामिलामन्त्री भानुभक्त जोशीलाई पठाइयो। सानो पार्टी भएपछि सानो भाग पाइन्छ। कानुनी प्रक्रियाअनुसार अहिले विभाजन हुने अवस्था छैन। नपाएमा पनि हामफालिहाल्नुपर्छ भन्ने होइन।

कलम चिह्नमा चुनाव लडेर जित्ने अनि अरूतिर जाने काम राम्रो होइन। चुनाव लडेको पार्टीलाई लात हानेर अघि बढ्नु जनतामाथिको पनि अवमूल्यन हो। त्यो अवसरवादी काम कसैले पनि गर्नुहुन्न।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast