शरतसिंह पथमा डा. युवराज खतिवडा

हिमाल प्रेस ९ भदौ २०८१ ९:२५
14
SHARES
शरतसिंह पथमा डा. युवराज खतिवडा युवराज खतिवडा(बायाँ), शरतसिंह भण्डारी (दायाँ) ।

काठमाडौँ– गायक बद्री पंगेनीले एकपटक ठट्टा गर्दै सामाजिक सञ्जालमा लेखे, ‘पूर्व मन्त्री युवराज खतिवडाद्वारा अमेरिकाको राजदूत नबन्ने घोषणा, उहाँको भनाइ थियो – ‘अहिलेसम्म मलाई राज्यले धेरै मौका दियो । अब बिना तलब भत्ता / बिना सेवा सुविधा राज्यलाई योगदान दिन चाहान्छु ।’ यस्तै समाचार पढ्दै थिएँ । झसंग भएर ब्युँझेछु । हैट ! दिउँसो सुत्न नहुने रहेछ ।’  

यो प्रसंग हो २०७७ साल असोज १५ मा डा. युवराज खतिवडाको अमेरिकाको लागि राजदूत सिफारिशपछिको । शक्ति र पदका उपासक डा‍. युवराज खतिवडा फेरि पनि प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक तथा विकास सल्लाहकार नियुक्त भएपछि उनले नेपालको अर्थतन्त्र र विकासमा के योगदान दिन बाँकी छ भनेर  प्रश्न उठ्न थालेको छ । उनकै पार्टी नेकपा एमालेभित्र उनी लगातार आलोचनाको शिकार भएका छन् । युवराज खतिवडाको खुबी के हो र उनले नेपालको विकासमा कस्तो योगदान गरे भनेर आम जनता जान्न उत्सुक र लालायित छन् । उनमा फगत पदको भोक र सत्तामा बसेर आफ्नो प्रभाव जमाउने चाह मात्र देखिन्छ ।

वरिष्ठ पत्रकार कसमस विश्वकर्माले नेपाली अर्थतन्त्रको गुणात्मक सुधारका लागि धेरैपटक परीक्षण भैसकेका (टेस्टेड)हरूलाई भन्दा नयाँ मानिसहरूलाई जिम्मेवारी दिनुपर्ने भन्दै सामाजिक सञ्जालमा आफ्नो अभिमत जाहेर गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरतसिंह भण्डारी २०४३ असारदेखि यता पञ्चायत, बहुदल र गणतन्त्रमा गरी २० पटक मन्त्री भएजस्तै युवराज खतिवडाले २०५९ सालयता ११औं पटक लाभको पद प्राप्त गरिसकेका छन् । राष्ट्रियसभा सदस्यमा समेत राष्ट्रपतिबाट नियुक्त भएका उनी सम्भवत: सबैभन्दा बढी लाभका पदमा नियुक्त हुने व्यक्तिमा पर्छन् ।

उनीसँग न त अर्थतन्त्रको सुधारका लागि जादूको छडी नै छ । उनी बढी व्यक्तिकेन्द्रीत र निजी क्षेत्रमा समेत पक्षधरता राख्‍ने व्यक्ति भएकाले आफूलाई चित्त नबुझेका विषयमा व्यवसायीहरूसँग समेत बदलाभाव राख्‍ने व्यक्तिका रूपमा चित्रित छन् ।  उनले अहिले पनि प्रधानमन्त्रीको आर्थिक तथा विकास मामिला सल्लाहकारको रूपमा अर्थमन्त्रीकै झैं समानान्तर सत्ता अभ्यास गरिरहेको जानकारहरू बताउँछन् ।

खतिवडाले आफूलाई भने विकास चिन्तक र अर्थतन्त्रमा सुधारका लागि हस्तक्षेप गर्न सक्ने सबैभन्दा जानकार व्यक्तिका रूपमा उभ्याउने गरेका छन् । नेपाल राष्ट्र बैंकको करिअरबाट उदाएका खतिवडा नेकपा एमालेको राजनीतिमा उनको छद्‍म नाम राजन शर्माका नामले परिचित थिए । उनी पार्टीको स्कुल विभागले आयोजना गर्ने प्रशिक्षण कार्यक्रममा सहभागी हुने गरेको र राजन शर्माका नामले आफूलाई चिनाउने गरेरको विश्लेषक डम्बर खतिवडाले उल्लेख गरेका छन् ।

एमालेमा सक्रिय हुनुअघि खतिवडा तत्कालीन राजा ज्ञानेन्द्रको समयमा तत्कालीन अर्थमन्त्री बद्रीप्रसाद श्रेष्ठको सिफारिशमा योजना आयोगको सदस्यको नियुक्ति लिएका थिए । त्यसपछि उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल राष्ट्र बैंकको गभर्नर बनाउन आग्रह गरेका थिए।

खतिवडा नेपाल व्यवस्थापन संघको अध्यक्ष भएर २०५५ देखि २०५७ र त्यसपछि २०५७ देखि २०५९ सम्म सक्रिय थिए। उनीपछि हालकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई अध्यक्ष बनाउने प्रबन्ध मिलाएका थिए । नेपाल व्यवस्थापन संघमा श्रीमति देउवासँग राम्रो सम्बन्ध बनाएका उनलाई बैंकर ज्ञानेन्द्र ढुंगाना लगायतले गभर्नर बनाउनका लागि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासम्म पुर्‍याएका थिए र देउवाले सम्भव भएसम्म हेरौंला भन्ने जबाफ दिएर पठाएका थिए ।

आफ्नो चाहना पूरा नभएपछि उनी नेकपा एमालेमा सक्रिय भए। उनलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाउने श्रेय भने पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जान्छ। नेपालले खतिवडालाई कोलम्बोबाट बोलाएर २०६६ असारमा आयोगको उपाध्यक्ष र सोही वर्ष चैतमा गभर्नर नियुक्त गरेका थिए।

राष्ट्रपति र प्रधानमन्त्रीसँगको निकटताले २०७४ को आम निर्वाचनपछि बनेको केपी शर्मा ओलीको सरकारमा उनी पुराना राजनीतिक हस्तीहरूलाई जिल्ल्याउँदै अर्थमन्त्री बन्न सफल भए। अर्थमन्त्री भएपछि उनी ‘अरू माननीयहरू (सांसद) को पो निर्वाचन क्षेत्र केन्द्रित बजेट पार्ने लबिङ हुन्छ। मेरो निर्वाचन क्षेत्र भनेकै सम्माननीय राष्ट्रपति र सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ, उहाँहरूको हित हेर्नु मेरो कर्तव्य हो’ भन्ने गर्थे।

शक्तिलाई रिझाउने र आफ्नो स्वार्थ सिद्ध गर्ने खुबी भएका खतिवडाले आफूमाथि विश्वास र भरोसा गर्नेहरूलाई पनि अर्थमन्त्रीकालमा निराश पारिसकेका छन् ।  खतिवडाले पाएका नियुक्तिका सिलसिला लामो छन् ।

१. राष्ट्रिय योजना आयोगका सदस्य (२०५९-२०६२)

२. राष्ट्रिय योजना आयोगका उपाध्यक्ष (२०६६ असार ८ -२०६६ चैत ९)

३. नेपाल राष्ट्र बैंकका गभर्नर (२०६६ चैत- २०७१ चैत)

४. राष्ट्रिय योजना आयोगका उपाध्यक्ष (कार्तिक २०७२- साउन २०७३)

५. राष्ट्रिय सभा सदस्य (फागुन २०७४- २० फागुन २०७६)

६. अर्थमन्त्री (फागुन २०७४- फागुन २०७६)

७. अर्थमन्त्री (फागुन २०७६- १९ भदौ २०७७)

८. सञ्चार तथा सूचना प्रविधि मन्त्री (८ फागुन २०७६- १९ भदौ २०७७)

९. प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार (२९ भदौ २०७७)

१०. अमेरिकाका लागि नेपाली राजदूत (१५ असोज, २०७७ सिफारिस)-  १ वर्ष

११. प्रधानमन्त्रीका आर्थिक र विकास सल्लाहकार-२०८१ साउन

प्रकाशित: ९ भदौ २०८१ ९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − one =