काठमाडौँ- परराष्ट्रमन्त्री आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयका अधिकारीहरूलाई बूढानीलकण्ठस्थित पार्क भिलेज होटलमा जम्मा गरेर मन्त्रालय कमजोर हुनुको कारण खोजेकी छन्। उनले मन्त्रालयकाे कमजोर र अब्बल पाटोबारे उपसचिव र सहसचिवहरूको राय माग गरेकी हुन्। पछिल्लो समय परराष्ट्र मन्त्रालय किन यति कमजोर भएको भन्ने विषयमा मन्त्री राणाले मन्त्रालयका उप र सहसचिवहरूकै मुखबाट सुन्न खोजेकी हुन्।
शनिबार बिहानै सुरु भएको ‘आन्तरिक एवं विशेष’ छलफल साढे दुई बजेसम्म चलेको थियो। छलफलमा परराष्ट्र मन्त्रालय किन अन्य मुलुक वा छिमेकी मुलुकको जस्तो बलियो हुन नसकेको र विधिमा किन हिँड्न नसकेको जस्ता प्रश्न मन्त्री राणाले गरेकी थिइन् । कूटनीतिको मुख्य ‘फेस’ अनि प्रधानमन्त्रीपछिको जिम्मेवार व्यक्ति यसमा हुन पर्ने भए तापनि किन मन्त्रालय ओझेलमा परेको भन्ने विषयमा गम्भीर र लामै छलफल भएको सहभागी एक सहसचिवले सुनाए।
अधिकांशले यहाँ बजेट कम भएको हुँदा पनि समस्या आएको बताएका थिए। दूतावासहरू खोल्ने निर्णय गर्ने तर दरबन्दी थप गर्न हिचकिचाउने पाटोले पनि बिग्रेको कतिपयकाे भनाइ थियाे। मन्त्री राणालाई शक्तिमा हुनेले आफू अनुकूलको नियमावली बनाउने भएकाले पनि अधिक समस्या आएको धारणा सुनाएका थिए। मन्त्री राणासँगै करिब तीन दर्जन उपसचिव र सहसचिव जम्मा भएर मन्त्रालय कमजोर हुनुको पाटो खोतलेका हुन्।
कैयन् स्थानमा परराष्ट्रको उपस्थिति हुने तर भूमिका नहुनु पनि मन्त्रालयकाे कमजोर पाटाेमध्येकाे एक रहेकाे धारणा उनीहरूले व्यक्त गरेका थिए। केहीले बजेट कम भएर र भूमिका नपाएरमात्र होइन मन्त्रालयका कर्मचारी आफैँ पनि ‘पोस्टिङ’ मानसिकतामा रुमलिँदा र राजनीतिक नेतृत्वकहाँ धाउँदा यस्तो अवस्था आएको सुनाएका थिए।
अनि नेताले पनि आफूनजिकका लागि मात्र भूमिका दिने, राम्रा भनिएका स्थानमा ‘पोस्टिङ’ दिने र नेताकहाँ नधाउने सधैँ अन्यायमा पर्ने गरेको विषय छलफलमा उठेकाे थियाे। मातहतकै कर्मचारीले नै याे विषय उठाएपछि मन्त्री राणाले असजिलाे महसुस गरेकी थिइन्।
प्रायः सबै कार्यक्रममा प्रेस सहयाेगी लिएर हिँड्ने गरेकी राणाले भने पार्क ‘भिलेज-छलफल’ मा तिनलाई लगेकी थिइनन्। बन्द छलफल भन्दै प्रेस सहयागीबिनै त्यहाँ पुगेकी राणाले लामाे समय बहस गरेकी थिइन्। गाउँबाट आएर काठमाडौँमा अध्ययन गरेका र अलिअलि अंग्रेजी जानेकाले सरकारी सेवामा प्रवेश गरी राजधानीमा घरसम्पत्ति जोड्ने सहज थलोको रुपमा परराष्ट्र मन्त्रालयलाई बनाएका कारण पनि मन्त्रालयकाे गतिविधि ओरालाे लाग्दै गएकाे एक अधिकारीले सुनाएकाे सहभागी स्राेतले बतायाे।
अध्ययन गरेर जिम्मेवारीप्रति खारिनुभन्दा राम्रो स्थानमा कसरी जाने, छोराछोरीलाई पनि विदेशमै राखेर आफूहरु फर्कने भन्ने अधिकको सोच हुनाले यो अवस्था आएको हो। पछिल्लो समय मन्त्रालयमा अवसर नहुने भएपछि सुब्बाको रुपमा कार्यरत कैयनले सामान्य प्रशासनतिर अधिकृत र उपसचिवमा नाम निकालेर परराष्ट्र मन्त्रालय छोडेका छन्। पहिले अन्यत्र उपसचिवमा र परराष्ट्रमा नायव सुब्बामा नाम निस्किँदा परराष्ट्रको नायव सुब्बा खान आउँथे, अहिले आन्तरिक र बाह्य दुवै पाटोमा घटेको उनीहरुले सुनाए।
दुई वर्ष अघिमात्र एक दर्जन बढी सुब्बा अन्य मन्त्रालयको अधिकृत भएर गए। तर, उनीहरु परराष्ट्र नै भनेर बसेनन्। अन्य मुलुकमा परराष्ट्र सेवामा छुट्टै प्रकारले ल्याउने, प्रशिक्षण दिने, एक वर्ष प्रशिक्षण काल भनेर राख्ने र अब्बल नदेखिए एक वर्षपछि घर पठाउने काम समेत हुन्छ। राष्ट्रिय र एक अन्तराष्ट्रिय भाषाबाहेक अर्को एक भाषा अनिवार्य जान्नुपर्ने हुन्छ। त्यो यहाँ छैन भन्दै यसमा जोड दिनुपर्ने बैठकमा सहभागी अधिकांश पदाधिकारीकाे भनाइ थियाे।
छलफलमा भूगाेल र क्षेत्रगत विज्ञताकाे विषयले पनि प्रवेश पाएकाे थियाे। भारत, चीन, अमेरिका, व्यापार, क्षेत्रीय निकाय, राष्ट्रसंघ विज्ञ भनेर कसलाई चिन्ने सामान्य जानकारी नभएकालाई प्रशिक्षण आवश्यक रहेको विषय पनि उठ्यो। राजदूतहरूले पनि परराष्ट्रलाई उपेक्षा गर्ने गरेकाे विषय पनि छलफलमा उठेको थियाे। त्यो सबैमा छलफल हुने र सुधारका लागि आफूले नै पहल थाल्ने मन्त्री राणाले बताइन्।
कतिपय त छोराछोरी भएको मुलुकमा पुग्न भ्रमणको समयमा पनि मरिहत्ते गर्ने, सचिवहरु संयन्त्र बैठक भन्दै आफ्ना नातेदार छोरा-छोरी भएको मुलुकमा राजदूतलाई बैठक मिलाउन लगाउने जस्ता कार्यले पनि मन्त्रालयको नकारात्मक टिप्पणी बाहिर हुन थालेका छन्।
परराष्ट्रमन्त्रीले नभने पनि उनको नाम नै अशुद्ध लेखेर निम्ता पठाएको जानकारी पाएपछि उनले यस प्रकारको छलफल राखेकी हुन्। मन्त्रीकाे हैसियतमा पहिलाेपटक भारत भ्रमण गरेर फर्कदा पत्रकारलाई निम्ता पठाइएकाे निमन्त्रणापत्रमा उनकाे नाम अशुद्ध लेखेर पठाइएकाे थियाे। र, निमन्त्रणापत्रमा मन्त्रीको नाम त शुद्ध नलेख्नेले अन्य के गर्लान भन्ने प्रश्न उठेको थियो। आफ्नाे नाम गल्ती हुनुमा परराष्ट्रका कर्मचारी कमजोर र गम्भीर नभएको भन्ने बुझाइ मन्त्री राणाकाे छ।
मन्त्रालयमा पहिला पनि नियमित ‘टेमप्लेट’ मा नै लेख्ने हुनाले बधाई दिँदा श्रद्धाञ्जली र कैयन लेखन अशुद्ध हुने गरेकाे थियो। राणाले त्यसलाई चिर्न आवश्यक रहेको भन्दै सबैलाई गम्भीर हुन निर्देशन दिएकी छन्। उनले मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओएण्डएम) उपयुक्त समयमा गरिने, भएका दूतावासलाई चुस्त राख्ने, उनीहरुको नियमति काम कारबाही महाशाखाले बुझ्ने जस्ता कायर्हरु अघि बढाउन आवश्यक भएको पनि बताइन्।
कतिपयले आफूहरू ‘करिअर’ कूटनीतिज्ञ भन्ने तर एक विषय बढी दिएर आएपछि अध्ययन नै गर्न नपर्ने झैं बसेकाले पनि समस्या भएको भनेपछि मन्त्री आरजुले यस्ता विषयमा सुधार गरेर अघि बढ्ने आश्वासन दिए। यसलाई तुरुन्त सम्बोधन गर्न आवश्यक रहेकाे उनले बताइन। प्रधानमन्त्री पनि मन्त्रालयकाे कर्मचारीको कार्यशैली र लेखनबाट सन्तुष्ट नभएकाले कर्मचारीमा सुधार नआए मन्त्रालय थप समस्यामा पर्ने विषय पनि उठेको थियो। सचिव सेवा लम्सालले आफ्ना सहमर्मीलाई ‘एजेन्ट’ समेत भन्न भ्याएकी थिइन।
बेलाबेलामा प्रशिक्षण, विषयगत अध्ययन र थप भाषाको ज्ञानका लागि मन्त्रालयले जति सक्दो छिटो कुनै न कुनै बाटोबाट तय गर्ने मन्त्रीले बताइन्। विशिष्ट पाहुनाको भ्रमणमा पनि परराष्ट्रको पाटो राखिएको तर त्यसमा खासै भूमिका नहुने र त्यो पाटोमा परराष्ट्रलाई जिम्मा दिने कानुन, नियमवाली र निर्णय नै नहुँदा समस्या आउने गरेकाे सुनाइन्। समग्रमा परराष्ट्र सचिव, हुनेवला परराष्ट्र सचिव र सहसविचहरुको बीचमा यसतो विषय उठान गरेकाले मन्त्री राणाले कतिपय सुधार बिस्तारै हुँदै जाने जानकारी गराइन्।
अन्य मन्त्रालयले परराष्ट्रलाई हेप्ने र निकै दबाब दिने गरेको विषय आफूले पनि अनुभव गरेको परराष्ट्रमन्त्रीकाे भनाइ थियाे। छलफलमा उठेकाे उक्त विषयबारे एक पदाधिकारीले भने, ‘यसमा पनि हाम्रै दोष छ। जहाँ पनि स्थान खोज्ने काम हुनु हुँदैन, प्रदेशमा रहेका अधिकारीको खासै काम नै छैन तर उपस्थिति खोजिएकाे छ। राष्ट्रपति कार्यालयमा सहसचिव किन चाहियो एक जना अधिकारी काफी थियो। कसैलाई बढुवा गर्न पद थप भयो। न्यूयोर्कमा सहसचिवमुनि सहसचिव किन? त्यस्तै बेइजिङ, दिल्ली र डीसी मा किन? यसैले हामी हाम्रै शैलीले हेपिएका हौँ।’
याे विषयमा कतिपयले आवश्यक र कतिपयले अनावश्यक भने पनि बलियो तर्क कसैले दिन सकेनन्। ‘थोरै दूतावास, तर प्रभावकारी दूतावास’, ‘सानो संख्याकाे कूटनीतिज्ञ तर साँच्चिकै कूटनीतिज्ञ’ को खाेजीका लागि छलफल राखिएकाे भनिए पनि समस्या सुन्ने र आश्वासन दिनबाहेक अरू केही नभएकाे बैठकमा सहभागी एक पदाधिकारीकाे भनाइ छ। लामाे समयसँग छलफलमा सहभागीहरू ‘ब्रेकफास्ट अनि लञ्च’ गरेर हिँडेका थिए।
साँच्चै परराष्ट्र बनाउने विषयमा बहस गर्ने हो भने वहाल वाला कर्मचारीसँग होइन सेवा निबृत्त भएका र लामो समय त्यही विषयमा लेखिरहेकाहरूसँग परामर्श गर्नुपर्ने तर्क सहभागी र जानकारहरूकाे छ। यो त सुन्नका लागि सुन्ने मात्र काम हो उनीहरुले भने।
‘थिंक ट्यांकलाई व्यवस्थित गर्न नसकेको मन्त्रालयले अन्य मन्त्रालय भन्दा अब्बल बन्ने भनेर कहिल्यै हुन्छ? आफू भ्रमण दलमा पर्ने अवस्था आयो भने अर्थको चाकडीमा दौडनेले इज्जत खोजेर हुन्छ? विदेश जान पाइन्छ भने श्रम र वातवरण मन्त्रालयमा समेत चाकडी गर्न दौड्ने केही अधिकारीहरुले मन्त्रलयकाे ओज नै घटाएका छन्। मन्त्रालयको ओज मन्त्रीले बढाउने भए सबै कूटनीतिक भेटघाट र पत्राचार परराष्ट्र मन्त्रालयमार्फत मात्र हुने कानुन नै बनाएमात्र सम्भव हुन्छ,’ तर्क दिँदै एक अधिकारीकाे भन्छन्, ‘मन्त्रीका कुरा सुनियो खाइयो आइयो। सबै नयाँ जोगीले अलिक बढी खरानी घस्छन् नै।’ अन्तमा मन्त्रीकै विठ्याईं गरे।
यसो पढ्दा र संक्षिप्त भेटघाटमा कुरा सुन्दा मन्त्रीको मनमा मन्त्रालय सक्षम होस् र कर्मचारी बढी निपूर्ण बनाउन जस्तो लाग्छ।तर यस्तो कुरा कानी ले मात्र हुँदैन ।अवकास प्राप्त कुटनीतिज्ञ संग गम्भीर कुराकानी पछी नै सम्भव हुन्छ।
अरु कुरा त के हो थाह छैन तर मन्त्रालय र कर्मचारी सक्षम बनून् भन्ने भावना कुराको प्रशंसा गर्न चाहन्छु। यो गर्नु पर्छ। तर बाटो अर्को छ।