पुस्तक चर्चा

परदेशका प्रसङ्‌ग र पीडा

ध्रुवहरि अधिकारी ८ भदौ २०८१ १४:१५
192
SHARES
परदेशका प्रसङ्‌ग र पीडा

नेपाली साहित्यको कथा विधाले यसपालि जेठमा एउटा स्तरीय प्रविष्टि पायो -‘फाजिल जिन्दगी’ नामक कृतिबाट। कथाकार चिरपरिचित स्रष्टा मधुवन पौडेल। सत्ताइसवटा कथा छन् जसमध्ये एउटाको शीर्षक हो फाजिल जिन्दगी। भनिन्छ, मानिसको जीवन छोटो हुन्छ। ‘फाजिल’ को प्रचलित अर्थ त ‘आवश्यकताभन्दा धेरै’ अथवा ‘चाहिनेभन्दा बेसी’ हुन्छ भनेर शब्दकोशले भन्दछ। त्यसैले कथाकारले किन फाजिल जिन्दगीको कल्पना गर्नुभयो होला त? अनुमानको कुरा हो, यस सङ्‍ग्रहमा परेका धेरैजसो कथाका पात्रहरू स्वदेशमा सार्थक जीवन जिउन नपाएर परदेशतिर भौंतारिन बाध्य छन्, र कतिपयलाई आफ्नै जिन्दगी निरर्थक अर्थात् फाजिल लागेको हुनसक्छ। र,कथाकारले तिनै पात्रहरूको अव्यक्त अनुभूतिलाई आफ्ना रचना मार्फत अभिव्यक्ति दिनुभएको हो।

कथाकार आफैं प्रकाशक रहेको चर्चित कथा-सँगालो उहाँको आठौं कृति रहेछ। यस बारेमा पुस्तकमै समावेश दुई मन्तव्य पढ्दा स्पष्ट हुन्छ,अधिकांश कथाहरू कामको खोजीमा विदेश पुगेका नेपाली (महिला र पुरुष दुबै)को कष्ट,पीडा र संघर्षको सेरोफेरोमा लेखिएका छन्। पद्मकन्या बहुमुखी क्याम्पसकी उप-प्राध्यापक ज्ञानु अधिकारीले यी कथामा ‘विगत दुई दशकयताको नेपाली समाजको यथार्थ र समाजमनोविज्ञान’ पाउनुभएको छ भने जैनेन्द्र जीवनको हेराइमा मधुवन पौडेलका कथा विदेशमा छरिएर रहेका नेपाली विद्यार्थी र श्रमिकहरूबाट निर्मित नेपाली समुदाय (डायस्पोरा)को जीवन्त चित्रण हुन्। सत्यकथा हुन्।

कथाहरूमध्येका केहीको शीषर्क हेरौंः गलत सोच र दिशाहीन गन्तव्य, अर्काले लेखिदिएको नियति,झरेको पातमा हराएको जिन्दगी,पलायनको पीडा, विकृति र विवशता, सपनाको संसार र कालचक्र।

यहींनेर कथाकारको यो स्वीकारोक्ति सान्दर्भिक होलाः-” विभिन्न कालखण्डमा यथार्थ रुपमा आफूले देखेको धेरै र भोगेको केही जीवनकथा नै मेरा कथाहरूका विषयवस्तु हुन्।”

कथाकार पौडेल नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा ३६ वर्ष सेवारत रहनुभयो। त्यस अवधिमा उहाँले विभिन्न देशमा र संयुक्त राष्ट्रसंघमा रहेका नेपाली कूटनीतिक नियोग (राजदूतावास) मा काम गर्नुभयो। त्यस अवधिमा उहाँले सयकडौं भुक्तभोगीबाट तिनले सामना गरेका चुनौती र कठिनाइको जानकारी पाउनुभयो। तर अन्यत्रको भन्दा संयुक्त राष्ट्रसंघ,संयुक्त अरब एमिरेटस् (यू.ए.ई.) र कुवेतमा राजदूतस्तरको जिम्मेवारीमा रहँदाको पौडेलको अनुभव घनीभूत हुनगयो। त्यसैताकाका विषयवस्तु उहाँका कथामा प्रतिध्वनित भएका छन्। कथा-लेखन कला त उहाँले सरकारी सेवामा प्रवेश गर्नुभन्दा (वि.सं. २०३४) अगावै सिकेको हुनुपर्छ। कथाकार पौडेलका कथा-कलाबारे समीक्षक (स्व.) मदनमणि दीक्षितले पोखेको यो उद्‌गार महत्वपूर्ण छ : -”मधुवन पौडेलका कथामा भाषा,अभिव्यक्तिको रोचकता,र बोझिलो नभईकन च्चास्स छुने मनोविश्लेषण हुन्छ।…”

यो अतिसयोक्ति होइन। यस हरफको लेखकले विगतमा पनि पौडेलका कथा पढेको छ। परराष्ट्र सेवामा क्रियाशील रहँदा-रहँदै नेपाली साहित्यको कथा विधामा ठोस योगदान गर्ने लेखक थोरै छन्। यस सन्दर्भमा स्मरणीय कथाकार हुनुहुन्थ्यो कुमार ज्ञवाली र मुरारीराज शर्मा(मुरारी अधिकारी) जो अहिले हामीबीच हुनुहुन्न।

‘फाजिल जिन्दगी’ मा परेका कथाहरू पढ्दा नेपालभित्रका पाठकले मुलुकबाहिरको स्थिति बुझ्न पाउँछन् भने परदेश (र खासगरी खाडीक्षेत्रका देश)का पाठकले आफ्नै कथा-व्यथाको सजीव वर्णन फेला पार्छन्। यसरी देश र विदेश दुबैतिरका पाठकहरूलाई लक्ष्य गरेर होला,कथाकार पौडेलले अहिलेको सङ्‌ग्रहको नेपाली भाषालाई मिश्रित स्वादको बनाउनु भएको छ। प्रायः सरकारी लेखापढीमा हेक्का गरिने भाषिक शुद्धता र भरिसक्य नेपाली शब्द प्रयोग गर्ने प्रचलन यस साहित्यिक कृतिमा भेटिंदैन। केही उदाहरणः ओभरस्टे,असाइलम्, डिभोर्स, एलिमोनी,मोनोटोनस्,फर्स्ट ब्बाई। आदि, इत्यादि। सर, म्याडम् त परिचित बोलीमै परिसके। ‘टुरिस्ट भिसा’ ले पर्यटक प्रवेशाज्ञा जनाएको होला भनेर धेरथोर अंग्रेजी पढेको नेपालीले बुझिहाल्छ। जे होस्, यी र यस्ता प्रयोग र प्रचलन कथाकारले बदलिंदो समाजको आवश्यकता ठम्याएरै गर्नुभएको होला। कथाकारको अधिकार !

परन्तु, भाषाको मामिलामा यस हरफको लेखकको मान्यता केही फरक छ। त्यो के भने, भन्न खोजिएको कुरा भन्न/बुझाउनको लागि उपलब्ध भइरहेका नेपाली शब्द पर्याप्त भएनन् भने मात्र अन्य भाषाबाट सर-सापट लिन, भित्र्याउन सकिन्छ। अर्को शब्दमा, नेपाली शब्दभण्डारमा भेटिने शब्दहरूको ठाउँमा गैर-नेपाली बोली,लवजहरू चलनमा नल्याउनु जाती हुन्छ। नेपालीलाई संस्कृतको पनि ठूलो आड छ; अर्थात् हामी कमजोर छैनौँ। तैपनि बेला-बखत सुनिन्छ, साहित्यका पाठकलाई विषयवस्तुको सम्प्रेषणसम्म गराउने न हो। सही हो, तथापि यस्तो सोचको कदर गर्दागर्दै पनि सम्प्रेषण शुद्ध भाषामा हुने,गराउने चाँजो मिलाउन पाए बेस होला। यसमा नेपालीका प्रयोगकर्ताहरूले नै यसतर्फ जाँगर चलाउनु उचित होला कि?

प्रकाशित: ८ भदौ २०८१ १४:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =