शिक्षामा विभेद प्रजातान्त्रिक समाजवादको मान्यताविपरीत : प्रथम राष्ट्रपति

हिमाल प्रेस ६ भदौ २०८१ १८:५४
6
SHARES
शिक्षामा विभेद प्रजातान्त्रिक समाजवादको मान्यताविपरीत : प्रथम राष्ट्रपति

काठमाडौँ– नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले शिक्षा क्षेत्रमा देखिएको वर्गीय विभेद प्रजातान्त्रिक समाजवादको मान्यताविपरीत भएको बताएका छन्।

नेपाली कांग्रेस, केन्द्रीय पेशागत बुद्धिजीवि विभागले समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरीको दोस्रो स्मृति दिवसको अवसरमा बिहीबार आयोजना गरेको ‘प्रजातान्त्रिक समाजवाद : वर्तमान र भविष्य’ सम्बन्धी विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले धेरै सामुदायिक विद्यालयमा दरबन्दीअनुसारका शिक्षक नहुँदा माध्यमिक शिक्षा परीक्षा (एसइई) को परिणाम कमजोर आउने गरेको बताए। धनी र गरीबले बालबालिका पढाउने शिक्षालय फरक हुने व्यवस्था समाजवादको सिद्धान्त विपरीत भएको उनको भनाइ थियो।

‘शिक्षा विधेयक संसद्मा छ, यस्ता विषयमा प्रभावकारी कानुन बनाइनुपर्छ, संविधानले नै समाजवाद उन्मुख राज्यव्यवस्थाको कल्पना गरेकाले शिक्षा क्षेत्रमा रहेको यस्तो विभेदकारी व्यवस्था कानुनबाटै हटाइनुपर्छ,’ प्रथम राष्ट्रपति डा. यादवले भने। कृषि प्रधान देशमा ५० प्रतिशत खाद्यान्न अन्य मुलुकबाट आयात गर्नुपर्ने अवस्था पनि समाजवादविपरीत भएकाले यसमा सरोकार भएका निकायका अधिकारीले सोच्नुपर्नेमा उनले जोड दिए।

कांग्रेस नेता डा. चन्द्र भण्डारीले शिक्षामा विभेद गरेर समाजवाद नआउने भएकाले शिक्षा मन्त्रालय र विश्वविद्यालयले समाजवादी कार्यक्रम बनाउनुपर्नेमा जोड दिए। बिरामीले औषधी पाउनु समाजवाद भएको बताउँदै उनले स्वास्थ्य क्षेत्रमा पनि दुई थरी स्वास्थ्य संस्थाको व्यवस्थाले समाजवादलाई गिज्याएको बताए।

‘संविधानमा लेखिएको समाजवाद कार्यान्वयन नहुने कागजको खोस्टो भएको छ, समाजवाद लागू गर्न निष्ठावान् व्यक्तिको खोजी हुनुपर्छ, जनताले गाडी नचढेसम्म सरकारले दिएको गाडी सुविधा नलिने पूर्व सांसद बिदुर पौडेल, शैलजा आचार्य र चक्रप्रसाद बास्तोला पराजित हुनुले समाजले के चाहन्छ भन्ने सन्देश दिएको छ,’ सांसदसमेत रहेका नेता भण्डारीले भने।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण खनालले बिपी कोइराला र प्रदीप गिरीजस्ता नेताको विचारमा कांग्रेस नचलेको बताउँदै प्रजातान्त्रिक समाजवादमा निजीकरणलाई प्रोत्साहन गर्दा समस्या भएको सुनाए। धनी र गरीबलाई अलग शिक्षा दिने परिपाटीको अन्त्य गर्ने आँट नेतृत्वले गर्नुपर्नेमा उनले जोड दिए। शिक्षा र स्वास्थ्यमा रहेको सबैभन्दा ठूलो विभेद नै समाजवादका लागि बाधक बनेको खनालको भनाइ थियो।

विश्वमा तीन प्रतिशत सम्भ्रान्तले ८० प्रतिशत सम्पत्ति ओगटेकाले त्यसको अन्त्यका लागि प्रजातान्त्रिक समाजवादको सही कार्यान्वयन गर्न अहिलेको नेतृत्वले बिपीले जस्तै जोखिम मोल्नुपर्ने उनको विचार थियो।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. उद्धव सिग्देलले कांग्रेसका संस्थापक नेता बिपीले प्रतिपादन गरेको प्रजातान्त्तिक समाजवादको प्रचारप्रसारमा प्रदीप गिरीले महत्त्वपूर्ण भूमिका निर्वाह गेरेको बताए।

विभाग प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले प्रजातान्त्रिक समाजवादका बारेमा राम्रो ज्ञान भएका प्रदीप गिरीको स्मृतिमा कार्यक्रम गरिएको जानकारी दिइन्। प्रजातान्त्रिक समाजवादलाई कार्यान्वयनमा लैजान कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो।

प्रकाशित: ६ भदौ २०८१ १८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =