दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह

हिमाल प्रेस ६ भदौ २०८१ १३:४९ | Thursday, August 22, 2024
दक्षिण एसियाका साझा समस्याबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवा बिहीबार नयाँदिल्लीमा दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग। तस्बिर स्रोत : परराष्ट्रमन्त्रीको सचिवालय

काठमाडौँ- भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले दक्षिण एसियामा देखा परिरहेको जलवायु परिवर्तनको असरलगायतका विविध साझा समस्याहरुको संयुक्त रुपमा अनुसन्धान गरी समाधानका उपाय सुझाउन दक्षिण एसियाली विश्वविद्यालयका प्राज्ञहरुलाई आग्रह गरेकी छन्।

नयाँदिल्लीमा बिहीबार मन्त्री राणासँग भएको शिष्टाचार भेटका लागि पुगेका दक्षिण एसियाली विश्वविद्यालयका अध्यक्ष प्राध्यापक केके अग्रवालसँग उनले यस्तो आग्रह गरेकी हुन्।

अध्यक्ष अग्रवालसहितको टोलीसँग मन्त्री राणाले भनिन्, ‘जलवायु परिवर्तन त अहिलेको यस क्षेत्रकै ज्वलन्त समस्या भयो। त्यस्तै अरू पनि हाम्रो दक्षिण एसियाली क्षेत्रका कैयौँ साझा समस्या छन्। ती समस्याको समाधानका लागि यो विश्वविद्यालयका अनुसन्धानदाता एवं प्राज्ञहरूले संयुक्त रुपमा अनुसन्धान गरी उपाय  सुझाउन सकेमा राम्रो हुन्छ भन्ने मलाई लाग्दछ।’

विश्वविद्यालयका अध्यक्ष प्राध्यापक अग्रवालले विश्वविद्यालयका क्रियाकलापका बारेमा जानकारी गराउँदै यसअन्तर्गत नेपाल क्याम्पस स्थापना गर्न प्रस्ताव गरे। सो विश्वविद्यालय दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कका सदस्य राष्ट्रहरुको सहभागितामा सञ्चालित छ। सार्क सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरु यो विश्वाविद्यालयको पदेन चान्सलर रहने व्यवस्था छ।

आइतबार नयाँदिल्ली पुगेकी मन्त्री राणाले भारतमा रहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुका साथै विदेशमन्त्री एस जयशंकरसँग द्विपक्षीय वार्ता गरेकी थिइन्। मन्त्री राणासँग भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवालेले पनि भेट गरेका थिए। भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि आइतबार नयाँदिल्ली पुगेकी बिहीबार अपराह्न स्वदेश फर्कँदैछिन्।

प्रकाशित: ६ भदौ २०८१ १३:४९ | Thursday, August 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast