कमला पुल निर्माण : अनशनकारीको समर्थनमा उत्रिए सत्तारुढ दलका सांसद

हिमाल प्रेस ६ भदौ २०८१ ९:१८
22
SHARES
कमला पुल निर्माण : अनशनकारीको समर्थनमा उत्रिए सत्तारुढ दलका सांसद

काठमाडौँ- कमला पुल निर्माणको माग गर्दै आमरण अनशनमा बसेका प्रदर्शनकारीहरूको समर्थनमा सत्तारुढ दलका सांसद पनि उभिएका छन्। धनुषा–सिरहा जोड्ने हुलाकी सडकअन्तर्गतको कमला पुल निर्माणका लागि भइरहेको आन्दोलनको समर्थनमा सत्तारुढ दल नेकपा एमालेका प्रदेश सांसद दीपेन्द्र ठाकुर अगाडि आएका हुन्।

आमरण अनशनस्थल पुगेर ठाकुरले पुल निर्माणका लागि भइरहेको आन्दोलनमा आफ्नो समर्थन रहेको जनाएका छन्। मधेशको ‘लाइफ लाइन’ ठानिएको पुल मर्मतमा ढिलाइ भइरहेको प्रति आपत्ति जनाउँदै उनले सरकारले तत्काल चासो देखाउनुपर्ने बताए।

प्रदेश सांसद ठाकुरले पुल मर्मतका लागि देखिएको समस्या तत्काल अन्त्य गर्न मुख्यमन्त्रीले पहलकदमी गर्नुपर्ने जिकिर गरे। ‘पुल निर्माणका लागि पटकपटक आन्दोलन भएको छ, कैयौंपटक आवाजहरू उठेका छन्,’ उनले भने,‘सरोकारवाला निकायको तर्फबाट गाम्भीर्यताका साथ पहल भएको छैन। प्राविधिक र कानुनी के समस्या छन्, त्यसलाई तत्काल हल गरेर निर्माण कार्य अगाडि बढाउनुपर्‍यो।’

धनुषा–सिरहा जोड्ने कमला पुल सञ्चालन नहुँदै तीन वर्षअघि भासिएको थियो। निर्माण व्यवसायीले पुल मर्मत गर्ने जिम्मेवारी लिए पनि हालसम्म निर्माण हुनसकेको छैन। मुख्यमन्त्री सतिशकुमार सिंहले पुल मर्मतका लागि सरकार गम्भीर रहेको बताउँदै आवश्यक पहल गरिरहेको उल्लेख गरेका छन्। अनशनमा बसेकाहरूसँग बुधबार साँझ सकारात्मक छलफल भएको उनको भनाइ छ।

मुख्यमन्त्री सिंहले कमला पुल मर्मतका लागि आफूले प्रधानमन्त्रीका साथै संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयसँग समन्वय गरिरहेको बताएका छन्। पुल मर्मतका लागि सरोकारवाला निकायले चासो नदेखाएको भन्दै आन्दोलनमा उत्रिएका युवाहरू जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडि तीन दिनदेखि आमरण अनशनमा बसेका छन्।

आमरण अनशनमा बसेका केहीको स्वास्थ्य अवस्था बिग्रिएको बताइएको छ। उद्घाटन हुन एक सातामात्र बाँकी छँदा तीन वर्षअघि २४ करोड ४२ लाख रूपैयाँको लागतमा निर्माण भएको पुल भासिएको थियो। हुलाकी राजमार्ग आयोजना जनकपुरधामका प्रमुख कृष्णकुमार महतोले पुल मर्मतको काम सुरु भए पनि गति लिन नसकेको बताउँछन्।

निर्माण व्यवसायीहरूको भुक्तानी, बिमा कम्पनीले निर्माण व्यवसायीलाई रकम नदिँदा मर्मतको कार्यले गति लिन नसकेको उनको भनाइ छ। निर्माण कम्पनीले बीमा कम्पनीबाट पाउनुपर्ने क्षतिपूर्ति नपाएपछि उच्च अदालत जनकपुरमा दायर गरेको मुद्दा अझै विचाराधीन अवस्थामा छ।

अदालती प्रक्रिया तथा क्षतिपूर्ति पाउन नसकेका कारण पुल मर्मतको काम सुस्त गतिमा चलिरहेको बताइएको छ। २०६८ सला मंसिरमा शिलान्यास भएको ४७० मिटर लामो पुलको दुईवटा पिलरसँगै स्ल्याब २०७८ साल असार २० गते आएको बाढीका कारण भासिएको थियो।

४७० मिटर लामो र ११ मिटर चौडाइको यो पुल निर्माण गर्ने ठेक्का पप्पु लुम्बिनी विल्डर्स जेभी कन्स्ट्रक्सनले पाएको थियो। तीन वर्षमै काम सम्पन्न गर्ने गरी ठेक्का लिए पनि निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा पटक–पटक म्याद गर्दै अन्ततः पप्पु कन्स्ट्रक्स ठेक्काबाट पछाडि हटेको थियो।

२०७६ असोज १ मा लुम्बिनी विल्डर्स कन्स्ट्रक्सनले यो काम गर्ने जिम्मा लिएको थियो।

प्रकाशित: ६ भदौ २०८१ ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast