प्रस्तावित राजदूतको नाम गायब भएपछि…

हिमाल प्रेस ५ भदौ २०८१ १६:३२
380
SHARES
प्रस्तावित राजदूतको नाम गायब भएपछि… कान्ता रिजाल

काठमाडौँ- अस्ट्रेलियाका लागि राजदूतमा सिफारिस भएकी कान्ता रिजालको नाम संसदीय सुनुवाइ समितिमा पुग्नै नपाई गायब भएको छ। सरकारले साउन १४ गते  विभिन्न १८ देशका लागि राजदूतको नाम सिफारिस गरेको थियो। पराराष्ट्र मन्त्रालयबाट संसदीय सुनुवाइ समितिमा १७ जनाको मात्रै पुगेको छ।

उनको नाम किन सुनुवाइ समितिमा पुगेन भनेर कांग्रेसभित्र छलफल भइरहेको छ। विशेषगरी डा. शशांक कोइरालाले त्यसको कारण खोजी गरेका छन्। कोइरालाले अनावश्यक किचलो निकालेको भनेर पार्टीमा छलफल भइरहेको एक नेताले जानकारी दिए।

रिजालले यसअघि इजरायलको राजदूत रहँदा दुईजना सहयोगी लगेको र एकजना नेपाल नफर्किएको सूचनाका आधारमा उनको नाम सुनुवाइ प्रक्रियामा समावेश नगरिएको परराष्ट्र  अधिकारीहरूले बताएका छन्। साथै राजदूत भएका बेला  परराष्ट्रसँग समन्वय नगरेको आरोप उनीमाथि छ।

कोइरालाले भने अन्य राजदूतले पनि आफूसँग लगेकालाई उतै छोडेका उदाहरण दिन सक्ने बताउँदै आएका छन्। यस विषयलाई ठूलो बनाउन नहुने तर्क कोइरालाको छ। यसअघि राजदूत भएकाले अमेरिका, क्यानडाजस्ता मुलुकमा आफूसँगै लगेका व्यक्तिलाई छाडेका छन्।

रिजाल इजरायलबाट  कार्यकाल सकेर असार ३१ गते फर्किएकी हुन्। उनी फेरि नेपाली कांग्रेसको कोटामा राजदूत सिफारिस भएकी थिइन्।

इजरायलको तेल अभिभस्थित नेपाली दूतावासले रिजालसँग इजरायलमा सहयोगीमा रूपमा गएकी एक महिला उनीसँग नेपाल नफर्किएको सूचना नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) कुमारबहादुर श्रेष्ठले परराष्ट्र मन्त्रालयलाई  दिएका थिए। राजदूत भएपछि रिजालले लगेका दुईजना सहयोगीमध्ये एकजना मात्रै नेपाल फर्किएको सूचना आएको मन्त्रालयले जनाएको छ।

इजरायल सरकारले रिजालसँग रहेका दुवै सहयोगी नेपाल फर्किए वा नफर्किएको विषयमा लिखित जानकारी माग गरेको थियो। डेपुटी चिफ अफ मिसन श्रेष्ठले ‘नोट भर्बल’ (एनभी) लेखेर एकजना सहयोगी नेपाल नपुगेको जानकारी दिएका थिए। यस्तो गम्भीर नैतिक प्रश्न खडा भएपछि रिजालको नाम संसदीय समितिमा नपठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

‘प्रस्तावित राजदूतको नाम बीचबाटै गायब हुनुपर्ने नै थियो। नत्र सुनुवाइ समितिमा प्रश्न उठ्थ्यो। सुनुवाइ समितिबाट अस्वीकृत हुन सक्थ्यो। यस्तोमा सरकारमाथि प्रश्न उठ्नु स्वाभाविक मानिन्थ्यो’, परराष्ट्रमन्त्री आरजु राणा निकट एक अधिकारीले भने। रिजाललाई आफ्नो सहयोगी भगाएको वा भाग्न सहयोग पुर्‍याएको आरोप लागेको अवस्थामा संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुन नसक्ने अवस्था देखेपछि सुनुवाइ समितिमा नाम नपठाइएको हो।

मन्त्रालयका अनुसार रिजालसँग सहयोगी भएर गएर गएकी एक महिला कसैको सम्पर्कमा छैनन्। रिजालले ती महिलालाई आफूले नभगाएको दाबी गर्दै आएकी छन्। असार ३१ गते नेपाल फर्किने गरी विमानस्थल आउने बेला एकाएक एकजना सहयोगी बेपत्ता भएको उनको दाबी छ।

बाँकी १७ जना प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढेको छ। गत साउन ३० गते सुनुवाइ समितिले प्रस्तवित १७ जना राजदूतविरुद्ध १० दिने उजुरी आह्वान गरेको थियो। यसअनुसार उजुरी दिने म्याद भदौ ७ गतेसम्म छ।

समितिमा मंगलबारसम्म दुईवटा उजुरी परेको छ। समितिका अनुसार एउटा व्यक्ति केन्द्रित उजुरी रहेको छ भने एउटा उजुरीमा सरकारको नियत्तमाथि प्रश्न गरिएको छ। ‘राजदूत सिफारिस गर्दा किन समावेशितालाई ख्याल गरिएन? भन्ने एउटा उजुरी रहेको छ’, समिति सचिवालयले भनेको छ। यसअघि पनि समावेशिताको प्रश्नलाई लिएर समितिमा उजुरी पर्ने गरेका छन्। यसपटक पनि त्यस्तो उजुरी दोहोरिएको हो।

१७ जना प्रस्तावित राजदूतमा चीनका लागि कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि शैल रुपाखेती, भारतका लागि शंकरप्रसाद शर्मा छन्। इजरायलका लागि धनप्रसाद पण्डित, मलेलियाका लागि नेत्रप्रसाद तिमिल्सिना, पाकिस्तानका लागि रीता धिताल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल र कतारका लागि रामेशचन्द्र पौडेलको नाम सिफारिस भएको छ।

रुसी महासंघका लागि जंगबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि शिवमाया तुम्बाहाङ्फे, स्पेनका लागि सनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि लोकदर्शन रेग्मीको नाम सिफारिस भएको छ। प्रस्तावित राजदूतहरूविरुद्ध परेको उजुरी एकीकृत गरेर खोलिने, उजुरीकर्तालाई उजुरीको कारण र आधार प्रस्तुत गर्न दिएर प्रस्तावित राजदूतको सुनुवाइको कार्य अगाडि बढ्ने समिति सचिवालयले जनाएको छ।

परराष्ट्रमन्त्री राणाको जापान कनेक्सनबारे कांग्रेसमा चर्चा

नेपाली कांग्रेसमा परराष्ट्रमन्त्री राणाको जापान कनेक्सन र व्यवसाय अनि निवृत्तलाई सेवाको कोटामा राजदूत राखेको विषय पनि उठेको छ। जापानका लागि नेपाली राजदूत रहेका दुर्गाबहादुर सुवेदी परराष्ट्र सेवाबाट निवृत्त भइसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली पनि सेवा निवृत्तलाई राजदूत नियुक्त नगर्ने पक्षमा छन्। ओलीले यसअघि पनि परराष्ट्रभन्दा बाहिरबाट जाने राजदूतले प्रभावकारी ढंगमा काम गर्न सक्ने धारणा राख्दै आएका छन्।  परराष्ट्रबाट राजदूतमा जानेहरू आराम गर्न गएको ओलीको भनाइ छ।

ओलीले अहिले पनि क्यानडा र जापानमा समय खेर गएकाे भन्दै यो विषयलाई मन्त्रालयले गम्भीर रूपमा लिनुपर्ने बताएका छन्। ब्रसेल्समा परराष्ट्र सचिव सेवा लम्साललाई पठाउने तयारी भनिए पनि प्रधानमन्त्रीकै कारण रोकिएको थियो। यद्यपि उनी यसअघि भारत वा अमेरिकाको राजदूत हुन पाउनुपर्ने बताउँदै आएकी थिइन्। तर, गत विहीबार उनलाई ब्रसेल्स पठाउने निर्णय भएको छ। त्यसअघि परराष्ट्र मन्त्रालयले १० स्थानमा राजदूतकाे नाम लगेकाे भए पनि सिफारिस १८ मुलुकमा सिफारिस भएको थियो। त्यसमा रिजालको पनि सिफारिस भएको तर अहिले रोकिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast