काठमाडौँ– भारतले द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रबारे छलफल र पहिचान गर्ने अवसर प्राप्त भएको जनाएको छ। परराष्ट्रमन्त्री आरजु राणा देउवाको भ्रमणबारे भारतीय परराष्ट्र मन्त्रालयले सोमबार विज्ञप्ति प्रकाशित गरी यस्तो जानकारी दिएको हो।
मन्त्री राणाले सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गरेकी थिइन्। यसैगरी राणा र उनका समकक्षी एस जयशंकर दुईपक्षीय सम्बन्ध, आपसी सहयोग र विकास निर्माणका विषयमा कुराकानी भएको थियो।
‘छिमेकी पहिलो नीति अन्तर्गत नेपाल भारतको प्राथमिकतामा पर्ने साझेदार हो। परराष्ट्रमन्त्रीको भ्रमण दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुरुप रहेको छ। भ्रमणले हाम्रा द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन सहकार्यका नयाँ क्षेत्रबारे छलफल र पहिचान गर्ने अवसर पनि प्रदान गरेको छ’, मन्त्रालयको उत्तरी महाशाखाले सोमबार साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
भारतका समकक्षी एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री डा. देउवा भारतको औपचारिक भ्रमणमा छिन्। भ्रमणका क्रममा दुवै देशका परराष्ट्रमन्त्रीले भारत–नेपाल द्विपक्षीय साझेदारीका व्यापक पक्षलाई समेट्दै सोमबार द्विपक्षीय कुराकानी गरेका थिए। ‘उहाँहरूले विभिन्न द्विपक्षीय पहल र विकास परियोजनाहरुमा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरबारे पनि छलफल गर्नुभयो’, विज्ञप्तिमा उल्लेख छ।
हालैका वर्षहरूमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाले गति हासिल गरेको भारतीय पक्षको भनाइ छ। ‘विशेषगरी पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बन्धित अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटीलगायत कनेक्टिभिटीका क्षेत्र जस्तै: भौतिक, डिजिटल साथसाथै जनता–जनताबीचको सम्बन्धमा प्रकट भएको छ’, विज्ञप्तिमा भनिएको छ।
दुईपक्षीय भेटमा नेपालले अब एक हजार मेगावाट विद्युत निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतहरुको सिर्जना गर्नेबारे चर्चा भएको थियो।
दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिबारे पनि छलफल भएको मन्त्रालयले जनाएको छ। यस सम्बन्धमा दुवै परराष्ट्रमन्त्रीले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनका कारण ऊर्जा सहकार्यको क्षेत्रमा उपलब्ध अवसरबारे छलफल गरेका थिए।
यसैगरी भेटमा नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलोरस्थित नेसनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको पनि चर्चा भएको थियो।
भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र माोदीसँग शिष्टाचार भेटवार्ता गरेकी थिइन्। उक्त भेटमा आपसी हितका विविध क्षेत्रमा भारत–नेपाल सहकार्यलाई थप सुदृढ बनाउने तरिकाबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री राणासँगको भेटेपछि मोदीले भने : विकास साझेदारीलाई गति दिन तत्पर छौं
परराष्ट्रमन्त्री आरजु राणा र भारतीय समकक्षी जयशंकरबीच भेटवार्ता