चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय

हिमाल प्रेस ३ भदौ २०८१ १७:४९ | Monday, August 19, 2024
चीनमा फुटबल पूर्वपदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय

बेइजिङ– चीनको एक अदालतले देशको फुटबल संघका एक उच्च पूर्वपदाधिकारीलाई घुस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ। चिनियाँ फुटबल संघ (सीएफए) का पूर्वउपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले दोषी ठहर गरेको हो।

उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको छ भने भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ। सन् २००४ देखि २०२१ को बीचमा १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो ओहदाको दुरुपयोग गरेको अभियोगमा ली मार्चमा दोषी ठहर भएका थिए।

लीले सन् २०१५ देखि २०१९ सम्म सीएफएको उपाध्यक्षको रूपमा काम गरेका थिए। त्यसअघि उनी संघाईको खेलकुद प्रशासनको प्रमुख थिए। राष्ट्रपति सी चिनफिङको शासनकालमा अधिकारीहरूले चीनको खेलकुद उद्योग, विशेष गरी फुटबलमा हुने भ्रष्टाचारविरुद्ध कडा कदम चालेका छन्।

सीले आफ्नो देशले विश्वकप आयोजना गर्ने र जित्ने सपना देखेका र खेलजगतलाई सुधार गर्न त्यहाँ हुने अनियमितताको अन्त्य गर्न चाहेका छन्। तर त्यो महत्त्वाकांक्षा पटक–पटकका भ्रष्टाचारका काण्ड र वर्षौंदेखिको निराशाजनक नतिजापछि पहिलेभन्दा अझ टाढा देखिन्छ।

गत मार्चमा सीएफएका पूर्वप्रमुख चेन सुयुआनलाई एक करोड १० लाख अमेरिकी डलरभन्दा बढी घूस लिएको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो। सोही महिना चीनको राष्ट्रिय टोलीका पूर्वमुख्य प्रशिक्षक तथा एभर्टनका पूर्व मिडफिल्डर ली टाईले एक करोड ७० हजार अमेरिकी डलरभन्दा बढी घूस लिएको र म्याच फिक्स गर्न मद्दत गरेको आरोप स्वीकार गरेका थिए।

गत मे महिनामा चीनको सरकारी प्रसारक सीसीटीभीले ‘जनरल एडमिनिस्ट्रेसन अफ स्पोर्ट अफ चाइना’ का पूर्वनिर्देशक गौ झोङवेनमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको जनाएको थियो। यसरी हेर्दा, हालैका महिनाहरूमा सीएफएका करिब १० उच्च अधिकारीहरू अनुसन्धानको दायरामा आएका छन्।

प्रकाशित: ३ भदौ २०८१ १७:४९ | Monday, August 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast