थप २५१ मेगावाट विद्युत् निर्यातका लागि भारतले दियो अनुमति

हिमाल प्रेस ३ भदौ २०८१ १५:४६
30
SHARES
थप २५१ मेगावाट विद्युत् निर्यातका लागि भारतले दियो अनुमति

काठमाडौँ- भारतले १२ जलविद्युत् परियोजनाबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि नेपाल विद्युत् प्राधिकरणको प्रस्ताव स्वीकृत गरेको छ। नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत् बिक्री सम्झौतामार्फत विद्युत् निर्यात गर्ने भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

२५१ मेगावाट निर्यातका लागि अनुमति पाउनुअघि नेपालले गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको थियो। योसँगै नेपाल खुद आयातकर्ताबाट विद्युत् निर्यातकर्ता बनेको थियो।

यसअघि नेपालले १६ वटा परियोजनाबाट ६९० मेगावाट विद्युत् निर्यात गर्दै आएको थियो। अब २८ वटा परियोजनाबाट निर्यात गर्न थालेको छ। योसहित नेपालबाट भारतमा ९४१ मेगावाट बिजुली निर्यात हुनेछ।

भारतीय परराष्ट्रमन्त्री  एस जयशंकरले नेपालबाट एक हजार मेगावाट विद्युत् निर्यात हुन लाग्नु खुसीको कुरा रहेको बताएका छन्।  भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवासँगको भेटमा परराष्ट्रमन्त्री  एस जयशंकरले उक्त कुरा बताएका हुन्।

आरजुसँगको भेटपछि जयशंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘ऊर्जा, व्यापार, पूर्वाधार विकासलगायतका विषयमा दुई पक्षीय वार्ता भएको छ। नेपालले भारतमा एक हजार मेगावाट विद्युत् निर्यात गर्न कुरा सुन्दा खुसी लाग्यो। दुई देशबीचको सम्बन्धमा यो एउटा कोसेढुंगा हुनेछ।’

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको थियो। तीन वर्षभन्दा कम अवधिमा नेपालले भारतमा २४ गुणाभन्दा बढी विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको छ।

इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलो पटक ऊर्जा निर्यात सुरु गरेको थियो। त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ। नेपाल विद्युत् प्राधिकरणले हरियाणा र बिहारका वितरण कम्पनीसँग मध्यकालीन विद्युत् बिक्री सम्झौता पनि गरेको छ।

भारतले भारतका खरिदकर्ताका लागि जलविद्युत् खरिद दायित्व (एचपीओ) को एक हिस्साका रूपमा नेपालबाट हुने जलविद्युत् आयात गणना गर्ने प्रावधान पनि खोलेको छ जसले खरिदकर्तालाई नेपालबाट विद्युत् खरिद गर्न प्रोत्साहित गर्दै आएको छ।

नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ। यो सम्झौताको पहिलो वर्ष हो र झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ।

यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत् निर्यातकर्ता बन्ने बाटोमा अगाडि बढेको छ। बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्ने सम्झौता टुंगो लागी साउन १३ गते हस्ताक्षर गर्ने योजना थियो तथापि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भएको बताइएको छ।

प्रकाशित: ३ भदौ २०८१ १५:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − ten =