निजी क्षेत्रमैत्री कानून निर्माणमा सांसदहरुको जोड

हिमाल प्रेस २ भदौ २०८१ २१:००
4
SHARES
निजी क्षेत्रमैत्री कानून निर्माणमा सांसदहरुको जोड

काठमाडौँ– सांसदहरुले निजी क्षेत्रमैत्री नीति निर्माणमा पूर्ण सहयोग रहने प्रतिबद्धता जनाएका छन्। नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा निजी क्षेत्रलाई काम गर्न बाधा नपुग्ने गरी नीति निर्माण गर्नेमा उनीहरूले प्रतिबद्धता जनाएका हुन्।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको लगानी अभिवृद्धिका लागि वातावरण निर्माण नगरेसम्म परिवर्तन सम्भव नरहेको उल्लेख गरे। उनले वर्तमान सरकार गठन भएयता अर्थतन्त्रका समस्या समाधानका लागि विशेष प्रयास गरिरहेको समेत बताए।

‘निजी क्षेत्रसँग निरन्तर संवाद जारी छ। उद्यमी व्यवसायीका समस्या समाधानका लागि पहल भइरहेको छ,’ उनले भने, ‘समस्या समाधानका लागि तात्कालीन, मध्यकालीन र दीर्घकालीन योजनाका साथ काम भइरहेको छ।’ उनले सरकारले निर्माण गर्ने कानुन पनि एकोहोरो ढंगको नहुने भन्दै निजी क्षेत्रमैत्री नै हुने बताए।

त्यसअवसरमा महासंघका तर्फबाट संसदमा बिचाराधीन र निजी क्षेत्र सम्वद्ध करिब डेढ दर्जन कानुनमा आवश्यक सुधारसम्बन्धमा बुँदागतरुपमा प्रस्तुतीकरण दिइएको थियो।

विशेष अतिथि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नीतिगत सुधारका लागि लगानी सम्मेलनका बेला भएका संशोधनले वातावरण तयार पारेको बताए। उनले विशेष आर्थिक क्षेत्र र अन्य ठाउँमा पनि मझौला र ठूला उद्योगहरुको दर्ता हुने क्रम बढेको जानकारी दिए। उनले महासंघले निरन्तर कार्यक्रम आयोजना गरी कार्यपालिका र व्यवस्थापिकालाई झक्झाइरहेको धारणा राखे।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले संसदमा बिचाराधीन विद्युत् र जलस्रोत विधेयकलाई लगानीमैत्री बनाउनेमा प्रतिबद्धता जनाए। उनले निजी क्षेत्रको लगानी बढाउने र प्रसारणलाइनलगायतमा निजी क्षेत्रको प्रवेशका विषयमा पनि सरकारले छलफल गरिरहेको बताए।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र फस्टाउने वतावरण बनाउन सबैको ध्यानाकर्षण गराए। ‘निजी क्षेत्रले काम गर्न नसक्दा समस्या भएको दृष्टान्त त हामीले देखिरहेका छौँ त्यसैले कानुनसम्मत व्यवसाय गर्दा अवरोध हुनुहुँदैन,’ उनले भने। उनले लगानी र उत्पादन निरुत्साहित हुने गरी कानुन निर्माण हुन नहुनेमा जोड दिए। त्यस अवसरमा एक सयभन्दा बढी सांसदहरु उपस्थित थिए।

प्रकाशित: २ भदौ २०८१ २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast