अमेरिकी राष्ट्रपति निर्वाचन-२०२४

राष्ट्रपतिकी प्रत्यासी ह्यारिसकाे आर्थिक एजेण्डा : प्रतिबच्चा पहिलो वर्ष परिवारलाई ६ हजार डलर ऋण

हिमाल प्रेस १ भदौ २०८१ १६:४८
10
SHARES
राष्ट्रपतिकी प्रत्यासी ह्यारिसकाे आर्थिक एजेण्डा : प्रतिबच्चा पहिलो वर्ष परिवारलाई ६ हजार डलर ऋण

काठमाडौँ – अमेरिकी राष्ट्रपति निर्वाचन २०२४ मा डेमोक्र्याटीक पार्टीबाट राष्ट्रपति पदकी प्रत्यासी कमला ह्यारिसले आक्रामक लोकप्रियतावादलाई पछ्याउँदै आफ्नाे आर्थिक एजेन्डा सार्वजनिक गरेकी छन्। शुक्रबार नर्थ क्यारोलाइना राज्यको राजधानी सहर रालीमा आयोजित समर्थकहरूको भेलामा उनले आफ्नो आर्थिक एजेन्डा सार्वजनिक गरेकी हुन्।

आफ्नो कार्यकालका शासकीय प्राथमिकता र आर्थिक एजेन्डा सम्बन्धमा उनले सार्वजनिक गरेको यो अहिलेसम्मकै विहंगम दृष्टिकोण रहेको बताइएको छ। करिब एक महिनादेखि चलेको चुनावी अभियानमा ह्ययारिसले पहिलोपटक अमेरिकी परिवारको जीवनयापन लागत घटाउने एजेन्डा सार्वजनिक गरेसँगै राष्ट्रपतिमा उनको स्वीकार्यता बढ्दै गएको अनुमान गरिएको छ।

पछिल्लो पटक ह्यारिसले ठूला ठूला जनसभाहरूभन्दा पनि आफ्ना समर्थकहरूका ससाना सामूहिक भेलाहरूमा आफ्नो आर्थिक नीतिका सम्बन्धमा व्याख्या गरिरहेकी छिन्। यसलाई उनको नयाँ चरणको चुनावी अभियानका रूपमा लिइएको छ। ठूला र्‍यालीहरूभन्दा समर्थकहरूको सामूहिक भेलामा उनले राष्ट्रपतिका रूपमा आफ्ना विधायकी र कार्यकारी पहलहरूबारे राम्रोसँग व्याख्या गर्न र बुझाउन सक्षम भएकी छिन्।

उनले अमेरिकी अर्थतन्त्रलाई साँच्चिकै अवसरको अर्थतन्त्र बनाउन सबैले आआफ्नो ठाउँबाट आफ्ना लागि र सन्तानहरूका लागि सम्पत्ति सिर्जना गर्नुपर्नेमा जोड दिइन्। ह्यारिसका आर्थिक प्रतिवद्धताहरू राष्ट्रपति जो बाइडनका भन्दा अलग प्रकृतिका छन्।

यद्यपि राष्ट्रपति बाइडनका आर्थिक एजेन्डा तय गर्न ह्यारिसको भूमिका रहेको थियो। उनले आफूलाई लाखौं मतदातामाझ प्रमाणित गर्ने हेतुले नयाँ नीतिहरू लागू गर्ने गृहकार्यबारे चर्चा गरेकी छिन्। ह्यारिसको योजनामा मध्यम वर्गीय अमेरिकीहरूकाे जीवनशैली सुदृढ गर्ने विषय उनको प्राथमिकताको केन्द्रमा रहेको छ।

‘अमेरिकी मध्यम वर्ग सुदृढ भयो भनेमात्र अमेरिका मजबुत हुन्छ भन्ने मेरो दृढ विश्वास रहेको छ,’ ह्यारिसले भनेकी छन्। ह्यारिसको चुनाजी एजेन्डामा सबैभन्दा घतलाग्दो र आकर्षक प्रस्ताव भनेको दशौं लाख अमेरिकीहरूको स्वास्थ्यको लागत (ऋण) हटाउनु रहेको छ। किराना वस्तु र खाद्य सामग्रीमा अत्याधिक मूल्य वृद्धिमा नियन्त्रण, औषधीको मूल्यमा सीमा, पहिलोपटक घर किन्नेलाई २५ हजार डलरको सहुलियत, नवजात शिशुको जन्मसँगै प्रतिबच्चा परिवारलाई पहिलो वर्ष ६ हजार डलर ऋण दिने कल्याणकारी आर्थिक योजना ह्यारिसले समावेश गरेकी छिन्।

ह्यारिसले आफू मध्यमवर्गीय परिवारमा हुर्किएको सम्बन्धमा आफ्नो व्यक्तिगत जीवनका बारेमा समेत विस्तृतमा बताएकी थिइन्। उनकी आमाले एउटा घर किन्नका लागि एक दशक भन्दा अधिक समयको बचत रकमको प्रयोग गर्नुपरेको उनको भनाइ थियो। ह्यारिसले बाइडन कार्यकालको बालबालिका ट्याक्स क्रेडिटलाई पुन:स्थापना गर्ने घोषणा गरेकी छिन्। सन् २०२१ मा समाप्त भएको यो चाइल्ड ट्याक्स क्रेडिट स्कीमबाट परिवारहरूले प्रतिबच्चा दुई हजारदेखि तीन हजारको लाभ प्राप्त गरिरहेका थिए।

सोमबारदेखि शिकागोमा सुरु हुने डेमोक्र्याटीक पार्टीको राष्ट्रिय सम्मेलनको ठीक अगाडि नीतिगत घोषणाले तीव्रता पाएको छ। राष्ट्रिय राजनीतिको मञ्चमा छोटो समय बिताएकी ह्यारिसले आगामी हिउँदमा राष्ट्रपति निर्वाचित भएको खण्डमा आर्थिक नीतिलाई कसरी सम्हाल्नेछिन् भन्ने आम चासोका बीच उनले स्पष्ट घोषणाहरू गरेकी हुन्।

ह्यारिसका अधिकांश सहयोगीहरू राष्ट्रपति बाइडनकै नजिकका व्यक्तिहरू छन्। र, उनको टिमले केही व्यापारिक नेताहरू समक्ष यस्ता प्रस्ताव राखेका छन्। यी प्रस्तावहरू लागू भए अमेरिकाका मध्यमावर्गीय परिवार लाभान्वित हुने उनीहरूको विश्वास रहेको छ। तर शुक्रबार गरिएका प्रस्तावहरूले बाइडनको नेतृत्वमा पार्टीको रूपान्तरणलाई अझै सघन बनाउने अपेक्षा गरिएको छ। राष्ट्रपति बाइडनले आफ्नो कार्यकालमा औद्योगिक श्रम र एन्टीट्रष्ट नीतिहरूमा आक्रामक हस्तक्षेप गरेका थिए।

ह्यारिसले ‘अवसरको अमेरिका निर्माण गर्ने र अझै उज्जवल भविष्य निर्माण गर्ने’ भन्दै राष्ट्रपतिका अर्का प्रत्यासी डोनाल्ड ट्रम्प र उनको दल रिपब्लिकनले कसरी देशलाई पछाडि धकेल्न खोजिरहेको छ भनेर धारणा राखेकी थिइन्। ह्यारिसले प्रजनन अधिकार, समलिङ्गी विवाह र मतदान अधिकारसहितको स्वतन्त्रताका बारेमा आफ्ना गहन दृष्टिकोणहरू समेत राख्दै आएकी छन्।

सन् २०१९ मा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार बन्ने चाहना प्रकट भएयता ह्यारिसका नीतिगत सोच र दृष्टिकोणहरू परिपक्व हुनुका साथै यसमा व्यापक बदलाव आएकाे देखिन्छ। तत्कालीन समयमा उनी प्रतिस्पर्धीहरूको भीडबाट आफूलाई अलग देखाउन खोजिरहेकी थिइन्। समयक्रममा उनले प्रगतिशील नीतिहरू अपनाउँदै आएकी छिन्। रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पविरूद्ध मैदानमा खडा भएकी ह्यारिसलाई चुनावी अभियानमा अहिले देखिएको ऊर्जा र उत्साहलाई कायम राख्‍ने चुनौती भने कायमै छ।

(अन्तर्राष्ट्रिय  सञ्चारमाध्यमकाे सहयाेगमा)

प्रकाशित: १ भदौ २०८१ १६:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast