नियात्रा

राडारको उपस्थिति र भट्टेडाँडाको सन्त्रास

राजाराम बर्तौला १ भदौ २०८१ ८:३७
62
SHARES
राडारको उपस्थिति र भट्टेडाँडाको सन्त्रास ललितपुरको भट्टेडाँडामा रहेको सञ्चार संयन्त्र राडार। तस्बिर : राजाराम बर्तौला

साउन अन्तिम सप्ताहन्तको घुमघामका लागि चुनियो भट्टेडाँडा। यो डाँडाको नाम नसुन्ने कमै होलान्। तर यहाँ पुगेर यसको यसलाई अनुभूति गर्ने थोरै छन् भन्ने अनुमान गर्न खासै कठिन छैन। काठमाडाैँको दक्षिण कोटडाँडासँगै छ भट्टेडाँडा।

लेलेमा रहेको टीकाभैरव कटेर कान्तिपथको बाटो भएर हेटौँडा जानेहरूले टीकाभैरवबाट पाँचसात किलोमिटर दुरीमा तीनपाने भन्ज्याङ काटेर दक्षिण लाग्नुपर्छ। ठिक यही तीनपानेमा पुग्दा सडकको दायाँपट्टि एउटा ठूलो प्रवेशद्वार देखिन्छ। यहाँबाट कच्ची बाटो चार किलोमिटर हिँडेपछि वा सवारीसाधनमा गुडेपछि भट्टेडाँडा पुगिन्छ। यो बागमती गाउँपालिकामा पर्दछ। तीनपानेबाट पूर्व लाग्यो भने कोन्ज्योसोम गाउँपालिका पर्दछ।

आन्तरिक पर्यटकको चाहनालाई विचार गरेर यहाँ एउटा रमणीय उद्यान निर्माण गरिएको छ। त्यसैगरी भ्युटावर पनि निर्माण गरिएको छ। यहाँको आकर्षण भनेको सेतो गोलाकार आकारको सञ्चार संयन्त्र राडार हो। राडारलाई निकै टाढाटाढाबाट पनि देखिन्छ। यसको सुरक्षाका लागि यहाँ सेनाको दल पनि राखिएको छ। हवाई सुरक्षाका लागि आवश्यक प्रविधि राडारको जडान यही ठाउँमा हुनुको पनि विशेष कारण हुनुपर्छ। राडार प्रविधिले हवाईजहाजको गति, स्थान, उचाइ र गन्तव्यसहितको सूचना प्रदान गर्ने भएको हुँदा यो हवाई सुरक्षाका लागि एउटा अत्यावश्यक प्रविधि हो।

त्रिभुवन विमानस्थलमा अवतरण गरिने सबै अन्तर्राष्ट्रिय उडानका जहाज सिमराबाट प्रवेश गरी आउनुपर्ने बाध्यात्मक अवस्था छ। एउटै मात्र अन्तर्राष्ट्रिय हवाई रुट उपलब्ध हुँदा प्रायः सबै विमान यही तीनपाने भन्ज्याङमाथि हुँदै त्रिभुवन विमानस्थलमा अवतरण गर्छन्। यहाँबाट बाहिरिने विमान पनि यसै मार्गलाई अनुशरण गर्छन्। अतः यहाँ राडार स्थापना गरिनु भौगोलिक एवम् हवाई ट्राफिकको आवश्यकता पनि होला भन्ने अनुमान गरियो।

यही बाटो भएर अनेक पटक हेटौँडासम्मको यात्रा गरियो तर समय निकालेर यहीँ माथिको शिखर चढेर अवलोकन गर्ने अवसर जुरेको थिएन। गएको शनिबार त्यही अवसरलाई सदुपयोग गरिएको मात्र हो। पदयात्रा यति रोमाञ्चक र स्मरणयोग्य होला भनी कल्पना गरिएको थिएन। यहाँको भ्रमणपछि लाग्यो अहिलेसम्म यहाँ नआएर एउटा रमाइलो गन्तव्य भुलिएको रहेछ।

बाटोको छेवैमा एउटा बोर्ड देखिन्छ। एउटा ठूलै क्षेत्रलाई तारबार गरेको पनि देखिन्छ। जंगलको बीचमा यस किसिमको तारबार गरेको देख्दा भूमाफियाको राज यहाँ पनि रहेछ भन्ने मनमा आयो। सँगै हिँडेको साथीलाई भनी पनि हालेँ, ‘यो भूमाफिया पक्कै पनि राजनीतिक संरक्षण पाएको व्यक्ति हुनुपर्दछ।’ वास्तविकता उल्टो रहेछ। बोर्डलाई राम्रोसँग पढेपछि खुसी हुनुपर्ने कारण प्रशस्त रहेछन्।

यहाँ त सातकन्या गैरे सामुदायिक वनले वृक्षरोपण गरेको रहेछ। वृक्षरोपण अरूभन्दा भिन्न छ। यहाँ रोपिएका बिरुवा फल र फूल प्रजातिका मात्र थिए। फल प्रजातिमा नासपाती र एभोकाडो प्रशस्त रहेछन्। यो कार्य प्रशंसनीय किन पनि छ भने समुदायको आम्दानी त हुन्छ नै यसले राष्ट्रिय आयमा समेत उल्लेख्य योगदान गर्न सक्छ। यस किसिमको कार्य अरू सामुदायिक वनले पनि आफ्नो भौगोलिक अवस्थिति, माटो र हावापानीको अवस्था हेरीकन गरिनुपर्दछ।

बाटोको छेउछाउमा ससाना होटल पनि खुलेका छन्। यहाँ घुम्न जाँदा यात्रुहरूको सुबिस्ताका लागि आवश्यक न्यूनतम सुविधा उपलब्ध छन्। राडार २३२० मिटर उचाइमा स्थापना गरिएको छ। यहाँ आएर यो राडार अवलोकन गरेपछि यसपछिको हवाई दुर्घटनाको सम्झना नगरिरहन सकिन्न। पाकिस्तान एयरलाइन्सको त्यो विभत्स दुर्घटना ३२ वर्षअगाडि भएको हो। दुर्घटनामा ज्यान गुमाउनेहरूको सम्झनामा लेलेमा स्मारक पार्क निर्माण गरिएको छ।

नेपालको विगत ३०/३२ वर्षको हवाई इतिहासमा सातवटा विदेशी विमानसेवाका विमान र ६० वटा स्वदेशी विमानसेवाबाट सञ्चालित विमान दुर्घटना भएको तथ्यांक भेटिन्छ। त्यसमध्ये थाई एयरलाइन्स र पाकिस्तान एयरलाइन्सको एयरबस विमानको दुर्घटना ठूला दुर्घटनामध्येमा पर्छन्। थाई एयरलाईन्सको उडान नं. टीजी ३११ र पीआईएको उडान नं. २६८ को दुर्घटना एउटै वर्ष ५९ दिनको अन्तरमा, टीजी ३११ जुलाई ३१, १९९२ र पीएआईए २६८ २८ सेप्टेम्बर १९९२ मा भएको थियो।

थाई एयरको विमान अवतरण गर्ने क्रममा काठमाडौँको त्रिभुवन विमानस्थल नाघेर घोप्टेभीरमा गएर ठोक्किएको थियो। ३५०५ मिटर अग्लो घोप्टेभीर लाङटाङ राष्ट्रिय उद्यान (पार्क) मा पर्छ। यसमा सवार ९९ जना यात्रु र १२ जना चालकदलका सदस्यसहित सवै यात्रुको निधन भएको थियो।

त्रिभुवन विमानस्थलमा अवतरण गर्ने प्रक्रियामा रहेको पीआईए उडान नं. २६८को एयरबस विमान भट्टेडाँडामा दुर्घटना भएको थियो। यसमा सवार सबै १६७ जना यात्रुको निधन भएको थियो। हुन त राडार र प्रेमिल जोडीका लागि निर्माण गरिएको उद्यान सँगसँगै देखिन्छ। हामीलाई पहिलो दृश्यमै राडारले आकर्षण गर्‍यो र त्यतै लाग्यौँ। फर्केर आउँदा उद्यान प्रवेश गर्ने मनसाय राखेर। राडार अवलोकनपछि उद्यान र यसैभन्दा केही पर रहेको भ्युटावर हेर्ने विचारले हिँड्यौँ।

टावर अवलोकन गर्ने विचारले फलामे बार लगाएर बनाएको सिमेन्टको सिँढी चढ्दै गर्दा केही सहयात्री साथीहरूको गुनासो रह्यो। यत्रो खर्च गरेर बेकामको यो सिँढी बनाउनु भन्दा गाउँको कुनै खोलामाथि झोलुंगे पुल निर्माण गरेको भए राम्रो हुने थियो। भ्युटावरप्रतिको नेपाली नेताको मोह बुझिनसक्नु छ।

बटोमा हिँड्दै गर्दा सुन्दर जंगली फूल फक्रेर बसेको देखेँ। नजिकै गएर हेरेको कतै हलेदो हो कि जस्तो देखिने। हरियो पातमा सेतो सानो फूल आकर्षक देखिँदै थियो। यसको फोटो लिएँ र सोधेँ, यो फूल कसैले चिनेको छ? एकजना वरिष्ठ सहयात्रीले भन्नुभयो, ‘यो हाँडेलसुन हो। यसको प्रयोग हाँडे आउँदाको उपचारका लागि गरिन्छ। यो बहुपयोगी र लाभकारी छ।’ आहा! यो सुन्दर मात्र होइन बहुपयोगी र लाभकारी पनि रहेछ। लाग्यो सुन्दर चिजहरू लाभकारी हुन्छन्। ती देख्दा आकर्षक हुन्छ नै लाभकारी पनि हुन्छन्। तर प्रयोग विधि जान्नु आवश्यक छ। धन्वन्तरीको आयुर्वेदजस्तो– मात्रा मिले स्वास्थवर्धक मात्रा नमिले हानिकारक।

हाम्रा पहाड, वनजंल ओखतीले भरिएका छन्। हामी देख्दैनौँ। ती फुलेर ओइलिएर झर्दैछन्। ‘भिल्लका देशमा मणि’ जस्स्तै छ हाम्रो चाला पनि। सामुदायिक वनले नासपाती र एभोकाडो रोपेर सकारात्मक ऊर्जाको बाटो समातेकै हुन्।

टावर त नामकै मात्र रहेछ। राडारभन्दा अग्लो बनाउन नपाइने भएपछि मरिच चाउरिए जसरी आफ्नै रागमा खुम्चिएछ बिचरा! साउन महिना। बादलको झोक्काले पहाडको शिर छोप्दै थियो। घरी आकाश खुल्थ्यो, घरी छोपिन्थे डाँडाहरू। सिमसिमे पानी परेर बर्सादी पनि ओडेका थियौँ। पानी परेको भन्न पनि नमिल्ने। घाम त लागेकै थिएन। मौसम सुहाना भनेको यही होला। हाम्रो पदयात्रालाई मौसमले साथ दिएको थियो।

बागमती गाउँपालिकाको भट्टेडाँडाबाट ओर्लिएर हामी लाग्यौँ कोन्ज्योसोम। कोन्ज्योसोम तामाङ शब्द हो। यसको अर्थ हुन्छ, तीनवटा देवता। यहाँ तीनवटा बुद्धका स्वरुपका मूर्ति स्थापना गरिएको रहेछ। यो गाउँ तामाङ बस्ती हो। यहाँ ओखर पनि पाइन्छ। अरूभन्दा पनि यो ठाउँलाई एभोकाडोको केन्द्र बनाउने गरी काम भएको रहेछ। एउटा एभोकाडोको रुखले १०–२० बीस हजार रुपैयाँ दिने रहेछ। खेतीपातीवाहेकको यो अतिरिक्त आम्दानी यहाँका ग्रामीण जनताका लागि आकर्षण रहेछ।

यही ठाउँमा मनकामनाको मन्दिर छ। यहाँ होमस्टेसमेत छन्। आफ्नो सवारीमा पनि पुग्न सकिने हुँदा सहरिया सम्भ्रान्तहरू सप्ताहन्तमा पुग्ने गरेको देखियो। हामी पसिनाले लत्पतिएर देवीको दर्शन गर्न पुग्दा पाँचसात वटा एसयूभीहरू खडा थिए। मोटरसाइकलको त कुरै भएन। युवकयुवती पिकनिकको मुडमा रमेका देखिन्थे। हामी मनकामनामाईको दर्शन गरेर फर्कियौँ।

बिर्खेधारादेखि यहाँसम्मको बाटो भर्खरै कालोपत्रे गरिएको छ। बिर्खेधारा टीकाभैरवबाट दुई किलोमिटर टाढा छ। बिर्खेधाराभन्दा माथि नेपाली सेनाको ब्यारेक छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =