सहरमा आजः पुस्तक विमोचन र नाटक मञ्चनले भरिपूर्ण उपत्यका

हिमाल प्रेस १ भदौ २०८१ ६:४४
98
SHARES
सहरमा आजः पुस्तक विमोचन र नाटक मञ्चनले भरिपूर्ण उपत्यका

काठमाडौँ- भदौको पहिलो शनिबार। सधैझैँ हामीले उपत्यकामा आज हुने र भइरहेका विभिन्न मनोरञ्जनसहित केही महत्वपूर्ण गतिविधिको विवरण संकलन गरेका छौँ।
हेरौं, यो साता उपत्यकामा कहाँ के हुँदैछ त?

मुक्तकसंग्रह ‘सपनाको क्षेत्रफल’ र ‘मनका तरङ्गहरु’
कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात सभा कक्षमा हीमा घर्तीको ‘सपनाको क्षेत्रफल’ र ललितकुमार न्यौपानेको ‘मनका तरङ्गहरु’ गरी दुई मुक्तकसंग्रह विमोचन हुँदैछ। मध्यान्ह १२ बजे सुरु हुने कार्यक्रममा प्रमुख अतिथिका रुपमा रामकाजी कोने उपस्थित हुनेछन्। कार्यक्रम हातेमालो साहित्य सङ्गमले आयोजना गरेको हो।

सरस्वती गौतमको ‘अनामिका’
मध्य बानेश्वरस्थित रत्न पुस्तकालयमा शनिबार सरस्वती गौतमको उपन्यास ‘अनामिका’ लोकर्पण हुँदैछ। दिउँसो १ बजे सुरु हुने कार्यक्रम नोबेल सकोस साहित्य संस्थाले आयोजना गरेको हो। कार्यक्रममा केही साहित्यकारहरुले आफ्नो रचना वाचनसमेत गर्नेछन्।

कृष्ण ढुङ्गेलको ‘समयबाहिरको नक्सा’
कालिकास्थानस्थित सर्वनाम थिएटरमा शनिबार कृष्ण ढुङ्गेलको संस्मरणात्मक निबन्ध सङ्ग्रह ‘समयबाहिरको नक्सा’ लोकार्पण हुँदैछ। साहित्यकार डा. नवराज लम्सालको प्रमुख आतिथ्यमा दिउँसो २ बजे सुरु कार्यक्रममा वक्तामा गणेश कार्की, अनिता पन्थी र लेखक कृष्ण ढुङ्गेल रहनेछन्। कार्यक्रम झल्लु प्रसाद राजुले सहजीकरण गर्नेछन्। पुस्तक पेज टर्नरले प्रकाशन गरेको हो।

टंक चौलागाईको ‘रुदाने’
बत्तीसपुतलीस्थित शिलपी थिएटरमा टंक चौलागाईको उपन्यास ‘रुदाने’ सार्वजनिक हुँदै छ। उपन्यास थाहा अभियान्ता रुपचन्द्र बिष्टको जीवनसँग सम्बन्धित छ। कार्यक्रम दिउँसो ३ बजे सुरु हुनेछ। पुस्ता सांग्रिला बुक्सले प्रकाशन गरेको हो।

मञ्चनरत नाटक

ओजसमा ‘आर्वत’
रातोपुलस्थित ओजस थिएटरमा शनिबारदेखि नाटक ‘आर्वत’ मञ्चन हुँदैछ। साउन नारायण लामिछानेको लेखन रहेको विकाश पौडेलले निर्देशन गरेका छन्। नाटकमा जेसिका पोखरेल, गोविन्द राज खड्का, पंकज सार्की, रुवीन सुनार, नारायण लामिछाने, विकाश पौडेल, दिपेश कुमार चौधरीको अभिनय छ।
मानव जीवनको सत्य कथामा आधारित नाटक फ्रेन्ज एब्जर्ड लेखक अल्बर्ट कामुसको पुस्तक द मिथ अफ सिसिपस’मा आधारित छ। नाटक भदौ ५ गतेसम्म साझँ ६ः३० बजे मञ्चन हुनेछ।

साधना घरमा ‘ढाकर’
सुकेधारास्थित ओस्कर इन्टरनेसनल कलेजको साधना घरमा साउन २० देखि नाटक ढाकर मञ्चन भइरहेको छ। विकाश जोशीले निर्देशन गरेको नाटकका लेखक जेम्स ढकाल हुन्। नाटक गाउँबाट ढाकरमा सुन्तला बोकेर सहरमा बेच्ने र जीवनयापन गर्नेहरुको कथामा आधारित छ। नाटकमा कलेजका १६ औँ ब्याचका विद्यार्थीको प्रस्तुति छ। नाटक भदौ ३ सम्म चल्नेछ। साताको प्रत्येक दिन साझँ ५ः३० बजे मञ्चन भइरहेको नाटक शनिबार दिउँसो १ बजेको अतिरिक्त सो पनि हुनेछ। नाटक भदौ ३ सम्म मञ्चन हुनेछ।

कुञ्ज थिएटरमा ‘कर्तव्य’
थापागाउँस्थित आरोहण गुरुकुलको कुञ्ज थिएटरमा साउन ८ देखि नाटक ‘कर्तव्य’ मञ्चन भइरहेको छ। नाटक गुरुप्रसाद मैनालीको कथा ‘कर्तव्य’ मा आधारित छ। विद्यार्थी लक्षित नाटक कक्षा १० को नेपाली किताबमा समावेश गरिएको छ।
नाटकको नाट्य रुपान्तरण तथा निर्देशन शंकर पोखरेलले गरेका हुन्। कैलाशको सहनिर्देशन रहेको नाटक शिल्पशालाले निर्माण गरेको हो। नाटक दाजुभाइबीच हुने विवादमा आधारित सामाजिक तथा पारिवारिक कथामा आधारित छ। शनिबार नाटकको अन्तिम सो हुँदैछ।

मण्डलामा ‘मेषी दण्ड’
थापागाँउस्थित मण्डला थिएटरमा नाटक ‘मेषी दण्ड’ मञ्चन भइरहेको छ। रंगकर्मी अनिल सुब्बाको निर्देशनमा बनेको नाटकसाउन ५ देखि नाटक मञ्चनरत छ। नाटक गीलु रातोसले लेखेका हुन्।
नाटक दुई दशकअघिका सोलुखुम्बु जिल्लाको खालिङ राई समुदायले भाषाका कारण तत्कालीन राज्यबाट भाषाका कारण भोगेको मेषी दण्डसँग सम्बन्धित छ।

नाटकमा प्रतिना राई, मणि के राई, अरुण पौडेल, जय ढकाल, प्रशंसा गुरुङ, सलिना भुजेल, पूर्णबहादुर गन्धर्व, शायोक मुकारुङ, रमिता राई, सौजन लिम्बु, संजीप योगी, अमर बुढाथोकी, रमिता राई, संजय विश्वकर्मा, लहना राई, जंजीत थुलुङ राई, अजय लामा, प्रवीण मगरलगायतको कलाकारको अभिनय छ।
भदौ २ सम्म मञ्चन हुने नाटक आज दिउँसो १ः३० बजे र साँझ ५ः४५ बजेको दुई सो हुनेछ।

नव्य नाचघरमा ‘प्रेमारम्भ’
सिनामंगलस्थित एस्थेटिक डान्स स्टुडियोमा सञ्चालित नयाँ नव्य नाचघरमा असार २१ देखि नृत्य नाटक ‘प्रेमारम्भ’ मञ्चन भइरहेको छ। नाटक स्टुडियोकी संस्थापक नम्रता केसीले निर्देशन गरेकी हुन्। नाटकमा प्रकृतिसँग संस्कृतिको समिश्रणले समाजमा हुने परिवर्तनलाई देखाउन खोजिएको छ। साताको दुई दिन शुक्रबार र शनिबार साँझ ५ः३० मा मञ्चन हुने नाटक भदौ २९ सम्म चल्नेछ।

हलमा नेपाली, हिन्दी र अंग्रेजी गरी ६ फिल्म

बुलाकी
साउन ३२ देखि हलमा लक्ष्मण सुनार निर्देशित ‘बुलाकी’ को पुन प्रदर्शन भइरहेको छ। फिल्ममा कर्णाली भेगको जारी प्रथामा आधारित फिल्ममा सुरक्षा पन्त मुख्य भूमिकामा छिन्। अन्य कलाकार नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकीलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, लबिम मल, भाटभटेनी भक्तपुर, सिभिल मल र छाया सेन्टरमा फिल्मको पाँच सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म ‘बुलाकी’ चलिरहेको छ।

घरज्वाइँ
असार २८ देखि प्रदर्शन भइरहेको फिल्म ‘घरज्वाइँ’ मा कलाकार दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। मगर जातिको संस्कार र संस्कृतिमा आधारित फिल्मका लेखक तथा निर्देशक अनिल बुढा मगर हुन्। निर्देशक अनिलसहित विनोद खतिवडा र सुभाष कोइरालाको पटकथा तथा संवाद छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिटी स्क्वायर मल, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, बिएसआर मुभिजमा फिल्म घरज्वाइँ चलिरहेको छ।

स्त्री २
साउन ३१ देखि नेपाली हलमा हिन्दी फिल्म ‘स्त्री’ प्रदर्शन भइरहेको छ। श्रद्दा कपुर र राजकुमार रावको मुख्य भूमिकामा रहेको फिल्मका निर्देशक अमर कौसिक हुन्। फिल्म हरर र कमेडी जनरामा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, छाया सेन्टर, दरबार सिनेम्याक्स, सिभिल मल, सिटी स्क्वायर मल, लबिम मल, भाटभटेनी भक्तपुरमा फिल्मको ४५ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स, सिटी सिनेमाज फिल्म ‘स्त्री’ चलिरहेको अन्य हल हुन्।

खेल खेल मे
साउन ३१ देखि नै नेपालमा प्रदर्शन भइरहेको फिल्म ‘खेल खेल मे’ मा अक्षय कुमार, तापसी पन्नु, एमी विर्क मुख्य भूमिकामा छन्। कमेडी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक मुदस्सर अजिद हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत राइजिङ मल, भाटभटेनी भक्तपुर, सिटी स्क्वायर मल, सिभिल मल, दरबार सिनेम्याक्स, लबिम मल र छाया सेन्टरमा फिल्मको २४ सो छ। आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिएसआर मुभिज, अष्टनारायण हल, कीर्तिपुर सिनेप्लेक्स, बिग मुभिज, विश्वज्योति सिनेप्लेक्स, सिटी सिनेमाजमा फिल्म ‘खेल खेल मे’ प्रदर्शन भइरहेको छ।

ब्ल्याक पिंक

संगीत जनरामा बनेको फिल्म ‘ब्ल्याक पिंक’ नेपालमा प्रदर्शन भइरहेको छ। फिल्ममा किम जिसु, जेनी किम, ललिसा मनोवन, रोजेन पार्कलगायत कलाकारको अभिनय छ। फिल्मका निर्देशक मिन जन, वो युन–डोग हुन्।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत छाया सेन्टर र सिभिल मलमा फिल्म, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्समा फिल्मको सो छ।

डेडपूल एण्ड वुल्भरिन
हलिउड फिल्म ‘डेडपूल एण्ड वुल्भरिन’ नेपालमा साउन १८ देखि नै प्रदर्शन भइरहेको छ। फिल्म एक्सन र कमेडी जनरामा बनेको छ। शान लेभी निर्देशित फिल्म मार्वल सिनेम्याटिक युनिभर्सका दुई पात्रको कथामा आधारित छ। फिल्ममा रायन रेनोल्ड्स, ह्युज ज्याकम्यान, मोरिना बाकारिन, म्याथ्यू म्याक फ्याडियन, शियोरी कुत्सुनालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिटी स्क्वायर मल र छाया सेन्टर, आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर र एफक्यूब सिनेमाजमा फिल्मको सो छ।

प्रकाशित: १ भदौ २०८१ ६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + nine =