पुस्तक ‘आनन्द संहिता’ को बुद्धजन्मस्थल लुम्बिनीमा विमोचन

हिमाल प्रेस ३१ साउन २०८१ २१:१७
200
SHARES
पुस्तक ‘आनन्द संहिता’ को बुद्धजन्मस्थल लुम्बिनीमा विमोचन

लुम्बिनी- लेखक तथा पत्रकार घनश्याम खड्काको गैरआख्यान कृति ‘आनन्द संहिता’ को बुद्धजन्मस्थल लुम्बिनीमा बिहीबार विमोचन गरिएको छ। बुद्ध दर्शन र आनन्द प्राप्तिको मार्ग देखाउने उद्देश्यले लेखिएको पुस्तकलाई श्याल्पा तेजिङ रिन्पोंछे, प्रतिनिधिसभा सदस्य सन्तोष परियार, लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिष्ट्रार डा. तिलक आचार्य, लेखक घनश्याम खड्का, नेटुवा किशोरी ज्योति नेटुवाले विमोचन गरेका हुन्।

उत्प्ररेणादायी पुस्तक ‘आनन्द संहिता’ अल्केमी पब्लिकेशन्सद्धारा प्रकाशन गरिएको हो। पुस्तकमा आनन्दपूर्ण जीवनको अनुवोध कसरी गर्न सकिन्छ भन्नेमा केन्द्रित छ।

मानिसले जीवनमा सबै काम आनन्द पाइएला कि भनेर गरे पनि अन्ततः दुःखले अत्याउने गरी किन घेरिन्छ त्यस अवस्थाबाट मुक्त कसरी हुने भन्ने बारे पुस्तकमा विवेचना गरिएको छ।

विमोचन कार्यक्रममा श्याल्पा तेजिङ रिन्पोंछेले गौतमबुद्धको शिक्षाले मानिसलाई दुःखबाट मुक्तिका लागि मार्गदर्शन गरेको उल्लेख गर्दै पत्रकार लेखक खड्काले पनि आनन्द संहिता मार्फत त्यही सन्देश दिएको बताए। उनले पुस्तकले आनन्द प्राप्तिको खोजीमा रहेका पाठकहरूलाई मार्गदर्शन गर्ने बताए।

विमोचनमा प्रतिनिधिसभा सदस्य सन्तोष परियारले गैरआख्यान पुस्तकको सीमिततामा पनि पुस्तकले मान्छेको जीवनको आनन्दलाई भित्रैबाट बाहिर निकाल्ने काम गरेको बताए। उनले पत्रकारिता मार्फत पिँधमा पारिएकाहरूको कथा लेखिरहेको पत्रकारले मान्छेका जीवनका विभिन्न पाटाहरूलाई बुद्धमार्गसँग जोड्दै आनन्द प्राप्तीबारे आम पाठकलाई सरल रुपमा बुझाउने प्रयत्न गरेको बताए। ‘सुख र दुख बाहिरी कुरा रहेछन, आनन्द भित्रि प्राप्ती हो, यो कुरा यही पुस्तक पढेर थाहा पाएँ,’ परियारले भने।

लेखक घनश्याम खड्काले पुस्तकले विश्वले मानेको बुद्धको जन्मस्थलमा आएर पुस्तक विमोचन गर्न पाएकोमा खुसी व्यक्त गरे। उनले बुद्ध भनेको व्यक्ति नभई चरित्र भएको बताउँदै बुद्धले भनेजस्तै दुःखकाट मुक्ति पाउने भनेको आनन्द प्राप्ति भएको लागेकाले पुस्तकमा तिनै कुराहरू लेखिएको बताए।

विमोचन कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्य, सहप्राध्यापक डा. शारदा पौडेल, शंकर भण्डारीले पुस्तकमाथि समीक्षा गर्दै पुस्तकले जीवनमा आनन्द प्राप्तिको विषयलाई सरल रुपमा पाठकलाई बुझाउने काम गरेको बताए।

प्रकाशित: ३१ साउन २०८१ २१:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 15 =