यस्तो छ ‘पैसा पठाउने पर्याय’ को कथा, आईएमई लिमिटेडको कारोबार सुरु

हिमाल प्रेस ३० साउन २०८१ १२:३३
30
SHARES
यस्तो छ ‘पैसा पठाउने पर्याय’ को कथा, आईएमई लिमिटेडको कारोबार सुरु आईएमई र जीएमई रेमिटको मर्जरपछि बुधबार आईएमई लिमिटेडको नामबाट सुरु भएको कारोबार शुभारम्भ समारोहमा सम्बोधन गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल।

काठमाडौँ- ‘पैसा पठाउने भनेको आईएमई गर्ने हो भन्ने पर्याय बन्न सफल भएको छ। हाम्रा लागि योभन्दा अर्को खुसीको कुरा अर्को के होला?’ व्यवसायी चन्द्र ढकालले आईएमई र जीएमई रेमिटको मर्जरपछि एकीकृत कारोबार शुभारम्भ समारोहमा बुधबार व्यक्त गरेको धारणा हो यो।

ढकालले नेपालको त्यही अगुवा रेमिटेन्स कम्पनी आईएमई अहिले नेपाल र नेपाली रहेको विश्वका कुनाकुनाका जोकोहीको पहिलो रोजाइ बन्न पुगेको बताए। सम्बोधनका क्रममा ढकालले आईएमई स्थापना गर्दाका क्षणहरू पनि सम्झिए।

उनले भने, ‘जापान बस्दा नेपालमा पैसा पठाउँदा खेपेको सकस, अनौपचारिक र असुरक्षित माध्यमका कारण धेरै नेपालीले आफ्नै कमाइ आफन्तसम्म पुर्‍याउन झेलिरहेका समस्या देखेका हामीले छिटो, भरपर्दो माध्यम खोजी गर्दै गर्दा आईएमईको जन्म हुन पुगेको हो।’

ढकालका अनुसार आईएमई २५ वर्षपहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको थियो। त्यति बेला निजी क्षेत्रले पनि औपचारिक रूपमा विदेशबाट रकम भित्र्याउने कुराको कल्पना नरहेको ढकालले बताए।

आईएमई सुरु गर्दा निजी क्षेत्रबाट रेमिट्यान्स सेवा दिने विषय सहज नभएको ढकालले स्मरण गरे। ‘डलर कारोबारको अनुमति सहज थिएन। सानो पुँजी, धेरै किसिमका अवरोध, अनौपचारिक रूपमा रेमिट्यान्स कारोबारको प्रभाव र अन्य धेरै समस्याबीच हाम्रो व्यवसायले गति लिन थाल्यो।’

निःस्वार्थ भावनाले गरिएको मेहनतले अवश्य पनि सही परिणाम दिने र सफलता मिल्ने कुरा सुरुवातका केही वर्षमै आइएमईले पुष्टि गरिसकेको दाबी ढकालको छ। उनले व्यवसाय सुरु गर्ने तीनवटा सूत्र पनि बताए।

‘पहिलो हो, राज्यको प्राथमिकतामा रहेको व्यवसाय। दोस्रो, आमजनतालाई सेवा दिन सकिने र बढीभन्दा बढी जनता लाभान्वित हुन सक्ने व्यवसाय तथा तेस्रो, यस्तो व्यवसाय हो जुन आर्थिक रूपले पनि व्यवसाय बन्न सम्भव हुन्छ अर्थात् फिजिबल छ।’ यिनै विश्वास र सूत्रले अहिलेको अवस्थामा पुगेको उनले बताए।

एक करोड चुक्ता पुँजीको आईएमई अहिले एक अर्बभन्दा बढीको कम्पनी भएको जानकारी ढकालले दिए। आईएमई ग्रुपमार्फत सरकार र जनताको आवश्यकता र प्राथमिकतामा रहेका डेढ दर्जन बढी क्षेत्रमा लगानी विस्तार गरेको छ। रेमिट्यान्स सेवाबाट व्यावसायिक यात्रा सुरु गरेको आईएमईले आफ्नो लगानी सेवामूलक, उत्पादनमूलक र पूर्वाधार विकासका विभिन्न क्षेत्रमा विस्तार गरिरहेको ढकालले बताए।

आईएमई ग्रुपअन्तर्गत रेमिट, बैंक तथा वित्तीय संस्थाहरु, केबलकार, होटल तथा रिसोर्ट, जलविद्युत्, अटोमोबाइल, बिमा, शिक्षा, स्वास्थ्य, पर्यटन तथा सूचना प्रविधिका क्षेत्रमा विभिन्न कम्पनी सक्रिय छन्।

आईएमई सुरुवातको समयमा करिब २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ। यसमा नेपालको पहिलो रेमिट्यान्स कम्पनीको रूपमा आईएमईको योगदान धेरै रहेको ढकालले बताए।

उनले भने, ‘हामीले आइएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेका थियौँ। अहिले यो २०० मिलियन डलरभन्दा बढी पुगेको छ।’ आईएमईसँग जोडिएका २० हजार बढी कर्मचारी रहेको जानकारी ढकालले दिए। उनले भने, ‘हामीले आईएमईलाई चाँडै पब्लिकमा लैजाँदैछौँ। जनतालाई मालिक बनाउने हाम्रो अर्को यो पहल हो।’

उनले सरकार तथा राष्ट्र बैंकले समयसमयमा ल्याउने नीतिनियमको पूर्ण पालना गर्दै अगाडि बढ्ने गरेको बताए। ढकालले भने, ‘राष्ट्र बैंकले बैंकको पुँजी बढाउन मर्जरको नीति ल्याउदा होस् वा बिग मर्जरको नीति ल्याउदा होस्। यी नीतिको कार्यान्वयनमा हामी सदैव पहिलो पंक्तिमै उभिने गरेका छौँ।’

परिणामस्वरूप विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाको संगमसहित नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंक, ग्लोबल आइएमई बैंक बनेको पनि उनले बताए।

रेमिट्यान्स कम्पनी मर्जर तथा प्राप्तिमा पनि ढकाल पहिलो

आईएमई र जीएमई रेमिटको मर्जरपछिको एकीकृत कारोबार शुभारम्भ भएको छ। आईएमई र जीएमई रेमिटको मर्जरपछि बुधबारदेखि एकीकृत कारोबार सुरु भएको हो। आईएमई लिमिटेडले जीएमई रेमिटलाई प्राप्ति गरेको छ। एकीकृत कारोबारको शुभारम्भ राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले गरे। संयुक्त कारोबार आईएमई लिमिटेडको नामबाट हुन थालेको छ।

योसँगै व्यवसायी चन्द्र ढकाल रेमिट्यान्स कम्पनी मर्जर तथा प्राप्तिमा पनि पहिलो बनेका छन्। उनले यसअघि बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै र ठूला मर्ज गराएका छन्। मर्जपछि कम्पनीको कारोबार वार्षिक साढे ३ खर्ब रुपैयाँभन्दा बढी हुनेछ। साथै कम्पनीको चुक्ता पुँजी १ अर्ब १५ करोड रुपैयाँ हुनेछ।

ढकालले रेमिट्यान्स सेवालाई थप परिस्कृत र सहज बनाउन दुईवटा रेमिट कम्पनीहरुबीच मर्जर सम्पन्न गरेर एकीकृत कारोबार शुभारम्भ गरिएको ताए। उनले भने, ‘हामीलाई विश्वास छ आगामी दिनमा हाम्रो सेवा थप सहज र सुरक्षित बनाउँदै जानेछ।

प्रकाशित: ३० साउन २०८१ १२:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =