दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

हिमाल प्रेस २६ साउन २०८१ ८:२९
4
SHARES
दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको सक्रियता

झापा- जिल्ला ट्राफिक कार्यालय झापाले सडक दुर्घटनामा कमी ल्याउन गरेका पछिल्ला गतिविधि एवं प्रयास उपलब्धमूलक देखिएका छन्। गत आव २०८०/८१ को तथ्यांकअनुसार ट्राफिक प्रहरी झापाले चालेका जनचेतना अभिवृद्धिलगायत कार्यक्रम दुर्घटना न्यूनीकरणमा प्रभावकारी बन्दै गएका हुन्।

जिल्ला ट्राफिक कार्यालय झापाका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार विशेषगरी चालक परिचालकलाई कक्षा सञ्चालन र सडक प्रयोगकर्ता सर्वसाधारणलाई ट्राफिक सचेतना तथा सडक सुरक्षा कार्यक्रम व्यापक रूपमा गर्दै आएको छ।

‘ट्राफिक सप्ताह कार्यक्रम, यात्रुमैत्री विशेष अभियान, लागुपदार्थ मादक पदार्थ सेवनगरी सवारी चलाउनेविरुद्ध अभियान, ओभरटेकसम्बन्धी गरिएका सचेतना कार्यक्रममा समावेश भएका ट्राफिक गतिविधिमार्फत दुई लाख ३५ हजार नौ सय ७७ जना प्रत्यक्ष रुपमा लाभान्वित भए । गत आवमा पाँच हजार चार सय ३० पटक ट्राफिकसम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन भए’, उनले भने।

आर्थिक वर्ष २०७९/८० मा भएका आठ सय चार दुर्घटनामा परी एक सय १४ जनाले ज्यान गुमाउनु परेको थियो भने गत आव २०८०/८१ मा भएका पाँच सय ९३ सवारी दुर्घटनामा ८७ जनाको मृत्यु भएको प्रहरी नायब निरीक्षक गौतमले बताए।

पछिल्लो दुई आवको तथ्यांक केलाउने हो भने सवारी दुर्घटनाको संख्यामा कमी आउनाका साथै मृतकको संख्यामा २३ दशमलव ६८ प्रतिशतले कमी आएको छ। यसैगरी सवारी दुर्घटनामा परी सामान्य घाइते हुने मानिसको संख्यामा उल्लेख्य सुधार भएको देखिन्छ।

ट्राफिक प्रहरी नायब निरीक्षक गौतमका अनुसार ट्राफिक प्रहरीको सक्रियता, जनचेतनामूलक कार्यक्रम र नियमको कडाइका साथ पालना गराउँदा अघिल्लो वर्षकोभन्दा राम्रो प्रतिफल मिलेको हो। उनले यो सुधारलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरी कटिबद्ध रहेको र सर्वसाधारणको नियमको पालनागरी सहयोग गर्नुपर्ने बताए ।

गत आवमा ५७ हजार चार सय ५६ सवारीसाधन कारबाहीबाट तीन करोड ८६ लाख ८२ हजार छ सय ४१ रुपैयाँ राजस्व संकलन गरिएको छ।

प्रकाशित: २६ साउन २०८१ ८:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast