समिकले रोजेको शैक्षिक आन्दोलनको गन्तव्य

किरण पौडेल २६ साउन २०८१ २१:१४
1.4k
SHARES
समिकले रोजेको शैक्षिक आन्दोलनको गन्तव्य

काठमाडौँ– मुलुकका ठूला राजनीतिक आन्दोलनमा अग्रमोर्चामा रहेर योगदान दिएका विद्यार्थी संगठनहरू यतिबेला राजनीतिक दलको छायामा छन्। नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठन नेपाल विद्यार्थी संगठन र माओवादी सम्बद्ध अखिल (क्रान्तिकारी) अस्तित्वको संघर्षमा रहेका बेला एमाले भ्रातृसंगठन अखिल (अनेरास्ववियु) चाहिँ शैक्षिक मुद्दामा केन्द्रित रहेर देशव्यापी रूपमा सक्रियता बढाइरहेको छ।

संगठनका अध्यक्ष समिक बडाल अब विद्यार्थी आन्दोलन शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्ने पक्षमा छन्। उनी भन्छन्, ‘राजनीतिक आन्दोलनले उचाइ लिएर एउटा दिशा समातिसकेको छ। अब प्रविधिमैत्री जनशक्ति निर्माण गर्ने र स्वदेशमै बसेर केही गर्न सक्ने जनशक्ति उत्पादनमा लाग्नुपर्छ।’

अहिलेको शिक्षा पद्धतिले युवालाई ‘विदेश निर्यात’ गरिरहेकाले पाठ्यक्रम परिवर्तनका लागि अभियान थाल्नुपर्ने पक्षमा उनी छन्। बडाल शैक्षिक मुद्दालाई अघि बढाउन राज्यले समेत ध्यान दिनुपर्ने बताउँछन्। उनी भन्छन्, ‘सर्वप्रथम विद्यालय तहदेखिकै पाठ्यक्रम समयानुकूल बनाउनुपर्छ। अहिलेको पाठ्यक्रम राष्ट्रिय आवश्यकता पूरा गर्ने खालको छैन। यसमा राज्यको ध्यान जानुपर्छ।’

संगठनले सीपयुक्त जनशक्तिलाई स्वदेशमा रोजगारी दिनुपर्ने, प्राविधिक धारको शिक्षालाई बलियो बनाउनुपर्ने जस्ता मुद्दालाई अघि सार्ने भएको छ। ‘अब हामीले विद्यार्थी निर्यात गर्ने होइन, प्रविधि निर्यात गर्नुपर्छ। हामीले प्रविधिमा लगानी गर्नुपर्छ।अब पुराना पाठ्यक्रम पढाएर हुँदैन। प्रविधिमैत्री जनशक्ति बनाउनुपर्छ’, बडालले भने।

बडाल विद्यार्थी आन्दोलन जगाउन र जोगाउन भिडिरहेका नेता हुन्। उनी आफूलाई विद्यार्थी आन्दोलनको चिन्ता रहेको बताउँछन्। ‘कसैले विद्यार्थी आन्दोलन थकित भएको भन्दा मेरो चित्त दुख्छ। स्कुले जीवनदेखि  घस्रेर/हिँडेर अघि बढाएको आन्दोलनमाथि कसैले प्रश्न उठाउँदा चित्त नदुख्ने कुरा हुन्छ र?’ उनको प्रश्न छ।

यही कारण बडाल आन्दोलन सशक्त बनाउन लागेका छन्। हुन त उनलाई आन्दोलन शिथिल बनेको लाग्दैन। विद्यार्थी आन्दोलनले देशको शैक्षिक मुद्दा अगाडि बढाउन नसकेकोमा भने उनी सहमत छन्। कुनै बेला विद्यार्थी आन्दोलनको भरोसामा राजनीतिक क्रान्ति चलेको इतिहास छ। राजनीतिक परिवर्तनमा सधैँ विद्यार्थी एक कदम अगाडि रहे। अब त्यसरी आन्दोलन गर्नुपर्ने अवस्था छैन। यद्यपि शैक्षिक आन्दोलनमा खरो उत्रनुपर्ने उनको बुझाइ छ।

बडाल भन्छन्, ‘पञ्चायतविरुद्ध होस् वा निरंकुश राजतन्त्र विद्यार्थीसँग लड्दा, विद्यार्थी आन्दोलनमा चाम थियो। विद्यार्थी संगठनबाट जन्मिएका नेता अहिले शीर्ष नेतृत्वमा छन्।’

कतिपयको चिन्ता हुन्छ, विद्यार्थी पेट्रोलको मूल्य घटाउनमा मात्र सीमित छन्? यस्तो भनाइ बडाललाई पटक्कै मन पर्दैन। कारण हो, विद्यार्थी आन्दोलन नयाँ मोडमा छ। उनी भन्छन्, ‘अब लाठीमुंग्री गरेर मात्र आन्दोलन चल्दैन। आन्दोलन बौद्धिक हुनुपर्छ।’

अनि फेरि प्रश्न उठ्छ, ‘कसरी गर्ने त बौद्धिक आन्दोलन?’ कुनै बेला लाठीमुंग्री लिएर टाउकोमा कफन बाँध्दैमा मात्र आन्दोलन सम्भव थियो। ‘त्यो पनि आन्दोलन हो। अब पनि गर्नुपर्ला,’ बडाल भन्छन्, ‘तर अब अन्य काम गर्न बाँकी छ।’

बडाललाई विद्यार्थी आन्दोलनका केस्राकेस्रा थाहा छ। उनी विद्यार्थी संगठनका सबै पदाधिकारीमा आसीन भइसकेका छन्। त्यसैले उनी आफूलाई अनुभवी विद्यार्थी नेता मान्छन्। उनी भन्छन्, ‘जतिबेला प्रतिकूल अवस्था रह्यो, त्यतिबेला मलाई नेतृत्वको जिम्मेवारी आइलाग्थ्यो।’  केही महत्त्वपूर्ण काम गरे पनि। ती कामको प्रतिफल पाउने बेला भने हुँदैछ।

‘नाटक’ र ‘विद्यार्थी महोत्सव’ बाट दिएको सन्देश

बडालले विद्यार्थीलाई स्वदेशमै राख्न  विभिन्न अभियान चलाउँदै आएका छन्। त्यसैमध्येको एक हो, नाटक मञ्चन। उनले भने, ‘१५ दिनसम्म नाटकमार्फत विद्यार्थीलाई शैक्षिक जागरण दिलाइयो। मेरै परिकल्पनामा नाटक ‘कालो अक्षर/रातो अक्षर’ मञ्चन गरिएको थियो।’

जिल्लाजिल्लामा मञ्चन गरिएको नाटकमार्फत विद्यमान शिक्षा प्रणालीले सामाजिक संरचनामा पारेको प्रभाव, विश्व श्रमबजारमा विद्यार्थी बनेर बिदेसिनुपर्ने बाध्यता, विद्यार्थी आन्दोलनको आफैँभित्रको समस्याका बारेमा विद्यार्थीलाई सन्देश दिइएको थियो। विद्यार्थी आन्दोलनको भावना र विद्यार्थीको जीवन प्रस्तुत गरिएकाले नाटकलाई धेरै विद्यार्थीले मन पराए।

‘हामीले अब भौतिक रूपमा विद्यार्थीलाई बुझाएर हुन्न सांकेतिक तवरले पनि बुझाउने कोसिस गर्नुपर्छ’, बडाल भन्छन्। बडालले नाटकमार्फत पढेको पुस्ता र अज्ञानी पुस्ताको भिन्नता देखाएका थिए।

बडालको योजना थियो, कम्तीमा नाटकमार्फत विद्यार्थी पढाइको महत्त्व बुझून्। बडालले नाटकमार्फत आन्दोलन बुझाउन चाहे। उनी भन्छन्, ‘यतिमा सीमित रहन मन लागेन। गत जेठमा ‘विद्यार्थी महोत्सव’ आयोजना गर्‍यौँ।’

अब विद्यार्थी आन्दोलनलाई कसरी सिर्जनात्मक रूप दिने भन्ने प्रश्नमा बडाल भन्छन्, ‘विद्यार्थी आन्दोलनको मुख्य चुनौती यही हो। हामीले विद्यार्थी आन्दोलनबाट सिक्दैछौँ।’

काठमाडौँको भृकुटीमण्डपमा तीन दिनसम्म चलेको महोत्सवमा परम्परागत ढाँचा-ढर्राका कार्यक्रम थिएनन्। ब्यानरमा बाहेक अन्यत्र संगठनको झन्डा पनि प्रयोग गरिएको थिएन। उद्घाटनसत्रमा बाहेक मन्तव्यका कार्यक्रम पनि राखिएको थिएन। विज्ञसँग बहस गरियो भने देश विकासमा विद्यार्थी आन्दोलनको प्रभावबारे संवाद गरिएको थियो।

यसका साथै अनेरास्ववियुको इतिहास समेटिएको तस्बिर र वृत्तचित्र प्रदर्शनी गरिएको थियो। लाइभ म्युजिक, चित्रकारिता, कन्सर्ट, करिअर काउन्सिलिङ, बहस र संवाद भए।

यसका अतिरिक्त सातै प्रदेशको पहिचान, संस्कृति प्रतिबिम्बित हुने झाँकी, स्वास्थ्य शिविर, खानेकुराका परिकारको स्टल राखिएको थियो। पर्यटन भिजन, नेपाली तथा विदेशी विश्वविद्यालयबाट सम्बन्ध प्राप्त कलेजहरूको जानकारीसमेत दिइएको थियो।

‘हामीले सोही कार्यक्रममा विदेश प्रवर्धन गरेनौँ। किनभने हाम्रो ध्येय विद्यार्थीलाई विदेश पठाउने थिएन,’ बडाल सम्झन्छन्, ‘स्टडी इन नेपाल भन्ने अनि विदेशको विज्ञापन लिने गर्न त भएन नि।’ बडाल विदेश पढ्न जाने कुराको विरोधी होइनन्। नेपालमै पढ्ने वातावरण बनाउनुपर्छ भन्ने अभियान नरोक्ने उनको योजना छ।

समिकले चाहेको विद्यार्थी संगठन

बडाल विद्यार्थी संगठनलाई गतिशील बनाउन चाहन्छन्। नेताको बचाउ गर्ने र पेट्रोलियम पदार्थको मूल्यवृद्धिमा सडकमा उफ्रिनुभन्दा फरक आन्दोलन रहेको उनको बुझाइ छ। देशका युवामा क्षमता भएको उनले बताए। तर युवाको क्षमता राज्यले नचिनेर बिदेसिनुपरेको उनी बताउँछन्।

‘हामी हरेक ठाउँमा प्रगति गर्न सक्छौँ। प्रविधिमा नेपालका युवा भारतका भन्दा अगाडि छन्,’ उनी भन्छन्, ‘हामीले प्रमाणित गरेका छौँ। तर यसलाई राज्यले चिन्नुपर्छ। सही ठाउँमा उपयोग गर्न सक्नुपर्छ।’

त्यसो त बडाल विद्यार्थी संगठनलाई अध्ययनरत विद्यार्थीको संगठन बनाउन चाहन्छन्। वयस्क उमेरमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा होमिन उनलाई मन छैन। उनलाई यो पनि लाग्छ, विद्यार्थी आन्दोलन विद्यार्थीले समेत ध्वस्त बनाइरहेका छन्।

हरेक संगठन पार्टीभन्दा बाहिर निस्कनुपर्ने तर्क उनको छ। ‘हामी दलको पक्षपाती हौँ तर नराम्रो काम गर्दा दलविरुद्ध पनि उभिन सक्नुपर्छ,’ बडाल भन्छन्। उनी दलका नेताले पनि विद्यार्थी आन्दोलन बुझ्नुपर्ने बताउँछन्। ‘विद्यार्थी भनेको ऊर्जा हो। यसको सही पहिचान नेताहरूले गर्नुपर्छ,’ उनी भन्छन्। हरेक विद्यार्थी संगठनमा उमेर हद हुनुपर्ने उनको माग छ।

शिक्षित र अनिवार्य शिक्षालय धाउने विद्यार्थीलाई मात्र संगठनमा सदस्यता दिनुपर्ने बडाल बताउँछन्। ‘जसरी स्ववियुमा २८ वर्षे उमेर हद छ। यही उमेर हद नियम नयाँ तरिकाले चलाउनुपर्छ,’ उनी भन्छन्।

अबको विद्यार्थी संगठन प्रविधि बुझेको हुनुपर्ने बडालले बताए। ‘हिजो लाठी लिएर आन्दोलन हुन्थ्यो। अब प्रविधिको लडाँइ हुन्छ’, उनी भन्छन्। देशले प्रविधिमा जोड दिनुपर्ने उनको भनाइ छ। ‘विश्वविद्यालयमा यति बजेट आयो, उति बजेट आयो भनिन्छ। तर खास विद्यार्थीको हितमा बजेट कम आउँछ।’

अबको योजना

बडाल विद्यार्थी आन्दोलन दरिलो बनाउन लागेका छन्। अब पनि संगठनले ‘बौद्धिक कायक्रम’ ल्याउने उनले बताए। तत्कालै अखिलले १२ कक्षासम्मको हाजिरीजवाफ राख्ने तयारी गरेको छ।

‘यसमा पालिकादेखि जिल्ला समेट्दै केन्द्रसम्मका विद्यार्थीलाई समेट्न लागेका छौँ,’ बडाल भन्छन्, ‘प्रदेशबाट छानिएका विद्यार्थीलाई राष्ट्रियस्तरमा प्रतिस्पर्धा गराउने योजना छ।’ हाजिरीजवाफबाट युवा-विद्यार्थीको बौद्धिक परीक्षण गरिने उनले बताए। ‘हामी यो कार्यक्रमबाट राज्यलाई झक्झक्याउनेछौँ’, उनी भन्छन्, ‘राज्यलाई थाहा होस् कि हामीसँग यति बौद्धिक विद्यार्थी छन् भन्ने कुरा।’

बडाल विद्यार्थीलाई रचनात्मक बनाउने कार्यक्रम ल्याउन चाहन्छन्। ‘हामी विद्यार्थीसँगै बौद्धिक संगठन हौँ,’ उनी थप्छन्, ‘हामी नेताका पछि मात्र लागेर हुन्न नि। कम्तीमा देशको बारेमा सोच्नुपर्छ।’

पुनर्जीवनलाई राष्ट्र निर्माणमा लाउने बडालको धोको

बडाल आफूले पुनर्जीवन पाएको बताउँछन्। उनी कुनै बेला मृत्युशय्यामा पुगेका थिए। तर अस्पताल र चिकित्सकको सबल उपचारले उनी जागे।

कुरा २०६६ साल चैत ३० गतेको हो। त्रिचन्द कलेजमा अखिल लाेकप्रिय संगठन थियाे। संगठनको नेतृत्व बडालले गरेका थिए। त्यसैबेला केही विद्यार्थीले बडालमाथि हमला गरे। बडालले खुलेर त्यो कदमको विरोध गरे। विपक्षी संगठनका नेताहरू उनीमाथि खनिए। जे नहुनु पथ्र्यो, त्यसबेला त्यही भयो। विपक्षी विद्यार्थीको आक्रमण्बाट हुन मरणासन्न हुन पुगे।

‘मेरो औला चुँडियो भने शरीरमा २ सयभन्दा बढी टाँका लाउनुपरेको थियो,’ बडाल सम्झन्छन्, ‘७८ दिन त काठमाडौँ मेडिकल सेन्टरमा उपचारमा रहेँ।’ बडाललाई लागेको थिएन फेरि राजनीति गरिन्छ भनेर।

उनी भन्छन्, ‘बाँचिन्छ भन्ने नै थिएन।’ उनी बिस्तारै सामान्य जीवनमा फर्किए। ‘एकातिर अस्पताल बसाइको पीडा अर्कातिर आर्थिक संकट, अत्यन्तै कठिन थियो,’ उनी सम्झन्छन्, ‘जेनतेन बिल तिरेर म अस्पतालबाट निस्किएँ।’ त्यसपछि उनको दिमागले स्वदेशमै केही गर्ने सोचिरह्यो।

‘मैले पुनर्जीवन पाएको छु। जति बाँच्छु, देशका लागि केही गर्छु भनेर लागेँ’, बडाल भन्छन्। त्रिचन्द्रमा त्यो घटना नभएको भए उनको सायदै यो उचाइ कायम हुँदैन थियो। बडाल भन्छन्, ‘म यसरी बाँच्नु भनेकै देशका लागि केही गर्न हो। अब म देश बनाउन लाग्नुपर्छ।’ त्यसपछि उनी संगठनमा झनै सक्रिय भए।

२०७९ फागुनमा बडाल अध्यक्षमा चुनिँदा संगठन क्षतविक्षत थियो। यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनपछि सबै संगठन तदर्थमा चलेका थिए। यति मात्र होइन, एमाले प्रतिपक्षमा थियो।

‘एमाले घेराबन्दीमा थियो। पाँच दलविरुद्ध एमाले लड्नुपरेको थियो,’ बडाल सम्झन्छन्। त्यसपछि उनी जिल्ला र प्रदेश अधिवेशनमा खटिए। अहिले अखिलका सबै संगठन जननिर्वाचित छन्। ‘माओवादीसँग एकता गरेपछि हाम्रो संगठन सकिएको थियो। अहिले ट्रयाकमा आयो’, उनी भन्छन्।

बडाल अध्यक्षमा चुनिँदा गर्दा पनि अनेक प्रश्न थिए। पार्टीको मुख्य नेतृत्वलाई झुकावमा पारेर अध्यक्ष चुनिएको आरोप उनीमाथि थियो। ‘म सधैँ प्रतिकूलमा खेल्न सक्छु। म प्रतिकूललाई अनुकूल बनाउन म सक्छु’, उनको दाबी छ, ‘हो, यसैले पनि मलाई नेतृत्वले विश्वास गर्‍यो।’ हुन त त्यसबेला बडाल ठूलो मतान्तरले जितेर अध्यक्ष बनेका हुन्। दुईजनालाई परास्त गर्दै अध्यक्षमा चुनिएका थिए उनी। बडाल आरोप लाउनेलाई कामले जबाफ दिन चाहन्छन्। ‘म प्रत्यक्ष जितेर अध्यक्ष बनेको हुँ। कसैले औँला ठड्याउँछ भने थुन्न सकिन्न’, उनी भन्छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast