यी हुन् छिट्टै सञ्चालनमा आउन लागेका तीन सुरुङ

हिमाल प्रेस २५ साउन २०८१ १८:२३
32
SHARES
यी हुन् छिट्टै सञ्चालनमा आउन लागेका तीन सुरुङ काठमाडौँ-तराई द्रुतमार्गअन्तर्गतको सुरुङमार्ग, सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग र नागढुंगा-सिस्ने खोला सुरुङमार्ग।

काठमाडौँ- निर्माणाधीन तीन राष्ट्रिय गौरव आयोजनाको सुरुङमार्ग ‘ब्रेकथ्रु’ भएका (छिचोलिएका) छन्। काठमाडौँ-तराई द्रुतमार्गअन्तर्गतको सुरुङमार्ग, सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङमार्ग र नागढुंगा-सिस्ने खोला सुरुङमार्ग छिचोलिएका हुन्।

गत साता प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ-तराई द्रुतमार्ग आयोजनाअन्तर्गत घट्टेपाखा-धेद्रे सुरुङको ‘ब्रेक थ्रु’ गरेका थिए। नेपाली सेनाका अनुसार आयोजनाको भौतिक प्रगति ३५.९८ प्रतिशत छ। द्रुतमार्ग नेपाली सेनाको नेतृत्वमा निर्माण भइरहेको छ।

यसअघि निजगढ-काठमाडौँतर्फको १.६५३ किमि धेद्रे सुरुङ गत जेठ ११ गते ‘ब्रेक थ्रु’ गरिएको थियो। धेद्रे सुरुङ छिचोलिएपछि प्याकेज २ अन्तर्गतका सबै सुरुङ खोल्ने काम सम्पन्न भएको सेनाले जनाएको छ।

द्रुतमार्ग २०८४ भित्र सञ्चालनमा आउने गरी काम भइरहेको दाबी सेनाको छ। आयोजनाको २०७४ सालमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका थिए। आयोजनाको लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ छ।

ललितपुरको खोकनादेखि बाराको निजगढसम्म रहेको सो सडकको लम्बाइ ७०.७७ किलोमिटर हुनेछ। द्रुतमार्ग पहाडी भूभागमा २५ मिटर र तराई भूभागमा २७ मिटर फराकिलो हुनेछ।

गत वैशाखमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना र नागढुंगा-सिस्ने खोला सुरुङमार्गको ‘ब्रेक थ्रु’ गरेका थिए।

सिन्धुली र रामेछाप जिल्लाको सिमानाबाट सुनकोशीको पानी १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिण नदीमा जोडिएको छ। सिन्धुलीस्थित सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाले मधेश प्रदेशका पाँच जिल्ला धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराका उर्वरभूमिमा सिँचाइ पुर्‍याउनेछ।

सुरुङ निर्माणको ठेक्का कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले निर्माण पाएको छ। सुनकोशी मरिणमा सुरुङ खन्न कोभेकले १० अर्ब पाँच करोड ६८ लाखमा ठेक्का पाएको थियो। आयोजनाको काम २०७० सालबाट सुरु भएको थियो। सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रमुख मित्र बरालले आयोजना आगामी वर्षको सुरुमै सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको बताए।

अर्को आयोजना हो नागढुंगा-सिस्ने खोला सुरुङमार्ग। आयोजना २०८२ जेठभित्र सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको छ। केही पूर्वाधार निर्माणलगायतका काम बाँकी रहेको नागढुंगा-सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताए।

सरकारले सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर आयोजना सुरु गरेको थियो। उक्त रकम नपुगेपछि सरकारले ६ अर्ब रुपैयाँभन्दा बजेट थपेको थियो। सुरुङमार्ग सञ्चालनमा आउँदा कुल लागत २२ अर्ब पुग्ने अनुमान गरिएको छ।

सुरुङ सञ्चालनमा आएपछि काठमाडौँको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ। तत्कालीन प्रधानमन्त्री केपी ओलीले २०७६ कात्तिक ४ मा काठमाडौँतर्फको टुटीपाखामा सुरुङको शिलान्यास गरेका थिए।

सडक विभागका प्रवक्ता उमेशबिन्दु श्रेष्ठ काठमाडौँ-तराई द्रुतमार्गअन्तर्गतको सुरुङमार्ग र नागढुंगा-सिस्ने खोला सुरुङमार्ग १८ महिनाभित्र सञ्चालनमा आउने गरी काम भइरहेको बताउँछन्। उनले भने, ‘नागढुंगा-सिस्ने सुरुङ मार्गको काम त्योभन्दा चाँडै सकिन सक्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =