सभापति देउवालाई डिलाकाे रिपोर्टिङ : व्यवस्थापन फितलो हुँदा कार्यकर्तामा निराशा छाएको छ

हिमाल प्रेस २५ साउन २०८१ १०:३८
74
SHARES
सभापति देउवालाई डिलाकाे रिपोर्टिङ : व्यवस्थापन फितलो हुँदा कार्यकर्तामा निराशा छाएको छ

काठमाडाैँ- नेपाली कांग्रेस पेसागत तथा वुद्धिजीवी विभाग संयोजन डा‍‍.डिला संग्राैला पन्तले ६ वटा विषयमा सभापति शेरबहादुर देउवाकाे ध्यानाकर्षण गराएकी छन्। जुन विषय पार्टी संगठन र सरकारसँग सम्बन्धित छन्।

पार्टी केन्द्रीय कार्यसमिति बैठकमा उनले  पार्टीका केही विभागको कार्य क्षेत्रमा ओभरल्याप हुनसक्ने र विभागको कार्यक्रम संचालन गर्न  स्राेत तथा प्राविधिक सहायताको  आवश्यक पर्ने भएकाले त्यसतर्फ सहयोग माग गरेकी छन्।

उनले तीन महिना कर्णालीका सबै जिल्ला र मधेशका केही जिल्ला पार्टीकै काममा खटिँदा धेरै कार्यकर्ता एवं शुभेच्छुक कांग्रेसप्रति त्यति सन्तुष्ट नरहेकाे जानकारी गराउँदै पार्टी भित्रको गुटबन्दी वडावडामा पुगेकोबारे ध्यानाकर्षण गराइन्।

उनले सभापति देउवालाई बैठकमा भनिन्,‘एमालेसँग, त्यो पनि केपी ओलीको नेतृत्वमा गठबन्धन चलाउन हामीले के कस्तो तयारी गरेका छौं? कस्तो टिम पठाएका छौं? त्यो टिमलाई सघाउने पार्टीको संयन्त्र खै? जिल्लाका साथीहरू अरू पनि कैयौं कुरा गर्नु हुन्छ तर ती सबै जस्ताको तस्तै यहाँ राख्न म असमर्थ छु।’

कांग्रेसले लामो समयदेखि अधिवेशन गर्न नसक्दा भ्रातृ संगठन चलायमान र क्रियाशील हुनसकेकाे छैन। जिल्ला, नगर, गाउँमा चहलपहल देखिदैन। केन्द्रदेखि वडासम्म ७ तहका कार्यसमिति बनाएर चलायनमान बनाउने भनिए पनि अवस्था सन्तोषजनक नभएकाे नेतृ संग्राैलाकाे रिपाेर्ट छ।

कांग्रेसका १३ मध्ये अधिकांश भ्रातृ संगठनहरू तदर्थवादमा चलिरहेका छन्। नेविसंघ, तरुण दल, महिला संघ जस्ता संगठनमा विवाद चुलिएको, कित्ता काटाकाट गर्ने क्रम बढेको र एकले अर्काको अस्तित्व नस्विकारेको अवस्था छ।

उनी भन्छिन्,‘व्यवस्थापन फितलो हुँदा कार्यकर्तामा निराशा छाएको छ। तदर्थ समितिले निर्धारित समयावधि सकिएको लामो समय बितिसक्दा पनि जिम्मेवारी पूरा गर्न सकेका छैनन्। यस्तो अवस्थामा पटक–पटक थप गरेको समयावधिभित्र पनि महाधिवेशन नगर्ने भ्रातृ संगठनहरुप्रति केन्द्रीय समितिले कडा निर्णय लिन ढिला भइसकेको छ।’

डिलाका ६ विषय

१‍. दुग्ध विकास संस्थानले अहिले पनि किसानलाई करिब दुई अर्ब रुपैयाँ तिर्न बाँकी रहेको अनुमान छ। एउटा कार्यतालिका बनाएर निश्चित समय सीमाभित्र किसानको रकम भुक्तानी गर्न र अनावश्यक खर्च तथा चुहावट रोकेर संस्थानको व्यवस्थापन अविलम्ब सुधार गर्न यो बैठकले सरकारलाई आग्रह गर्न म सुझाव दिन चाहन्छु।

२.नेपालमा अहिले सडकमात्रै हैन,आकाश पनि असुरक्षित हुदै गएको छ। गत असार २८ गते नारायणगढ-मुग्लिङ्ग सडक खण्डमा गएको पहिरोमा परी बस हराइरहेका दुईवटा यात्रुवाहक बस र तिनमा यात्रा गरि रहेका २५ जना यात्रुको स्थिति अज्ञात छ। म माननीय गृहमन्त्रीज्यूलाई घटनास्थलको अवलोकन गर्न र खोजी कार्य लाई निरन्तरता दिन निर्देशन दिन आग्रह गर्न चाहन्छु। बर्सेनि सडक दुर्घटनामा हजारौं नेपालीको ज्यान जाने गरेको छ,अंगभंग हुने गरेको छ। त्यसैले सडक यातायातलाई सुरक्षित र व्यवस्थित गर्न केन्द्रीय समितिको यो बैठकले सरकारको ध्यानाकर्षण गरोस् भन्ने पनि आग्रह गर्दछु।

३‍.हामीले महासमितिको बैठकबाट आगामी चुनाव एक्लै लड्ने घोषणा त गरयौं, तर हाम्रो एजेन्डा के हो? भिजन के हो? देशलाई रुपान्तरण गर्ने गरी आगामी १० वर्षको भिजन बनाएर पार्टीलाई चलायमान बनाउन र सरकारलाई निर्देशन दिन र देशव्यापी प्रशिक्षण आयोजना गर्न म आग्रह गर्दछु।

४.हाल प्रमुख प्रतिस्पर्धी दल एमालेसँग सत्ता सहकार्य गरिरहेको नेपाली कांग्रेसको प्रमुख एजेन्डा संविधान संशोधन हुनुपर्छ। संविधान संशोधन गर्न सामान्य प्रक्रियाले सम्भव नहुने भएकाले पहिले पुनरावलोकनका लागि विशेषज्ञ सम्मिलित एक उच्चस्तरीय कार्यदल (टास्क फोर्स)बनाउन कांग्रेसले प्रस्ताव अघि बढाउनुपर्छ। समितिले तयार पारेको प्रतिवेदनमा दलहरू सहमत भएपछि संविधान संशोधनको प्रस्ताव विधेयकको रुपमा अगाडि बढाउन कांग्रेसले पहलकदमी लिनुपर्छ। पुनरावलोकन गर्दापनि गाउँगाउँ र दुरदराजसम्म पुगेर जनमत संकलन गर्न पनि म सुझाव दिन चाहन्छु।

५‍. विशेषगरी मौलिक हक, राज्यका निर्देशक सिद्धान्त, निर्देशक तथा दायित्वको प्रगतिशिल कार्यान्वयन, तीन तहका सरकारमलाई संविधानले दिएको अधिकार कार्यान्वयन भए नभएको, मुलुकको शासकीय स्वरुपमा परिवर्तन, राष्ट्रपति र उपराष्ट्रपति पदमा भिन्न लिंग हुने नहुने, निर्वाचन प्रणालीमा सुधार, मन्त्रिपरिषद गठन र विश्वास अविश्वासको प्रावधानलगायत दर्जनौं विषयमा पुनरावलोकन गर्न कांग्रेस तत्पर हुनुपर्छ। आम निर्वाचनमा प्रत्यक्षतर्फ पनि ५० प्रतिशत महिला उम्मेदवारी दिनै पर्ने व्यवस्था गरिनु पर्छ।

६. संसदका ठूला दुई दलले सरकारको नेतृत्व गरिरहेकाले यसमा नेपाली कांग्रेसको भूमिकाका बारेमा आम जनताले प्रश्न गरिरहेका छन्। जनता सरकार निरंकुश बन्छ कि भन्ने त्रासमा छन्। यसका लागि कांग्रेसले खबरदारी गर्नेदेखि सरकारमा प्रतिनिधित्व गरिरहेका मन्त्रीहरूलाई बेलामौकामा प्रशिक्षण, छलफल र अन्तर्क्रिया गरिनुपर्छ। सेवा प्रवाह, कार्यशैली र योजनाका सवालमा कांग्रेसका मन्त्रीहरूको मूल्यांकन गर्न एक समिति नै खडा गरे।

तस्बिर परिवर्तन गरिएकाे छ।

प्रकाशित: २५ साउन २०८१ १०:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + three =